बिज्ञापन
काठमाडौं । राजधानीको सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने काम कहिल्यै सहज हुँदैन। बढ्दो जनसङ्ख्या, अनियोजित शहरीकरण र दैनिक लाखौँ सवारी साधनको चापबीच सडक डिभिजन काठमाडौंलाई निरन्तर चुनौती आउँछ। तर २०८० साल असोज १४ गतेदेखि डिभिजन प्रमुखको जिम्मेवारी सम्हालेका नारायण दत्त भण्डारीले आफ्नो कार्यकालमा यी चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरेका छन्।
बिज्ञापन
भण्डारीको नेतृत्वमा ४७२ किलोमिटर सडक सञ्जालमा नियमित मर्मत सम्भार, स्तरोन्नति र नयाँ निर्माणका कामहरू गतिशील बनेका छन्। तथ्यांकले मात्रै नभई, सडकमा चल्ने सामान्य यात्रुले समेत ‘खाल्डाखुल्डीमुक्त सडक’ को अनुभव गर्न थालेको डिभिजनको दाबी छ।
बिज्ञापन
आधारभूत काममा उल्लेख्य प्रगति
भण्डारीको कार्यकालमा ९० किलोमिटर सडक कालोपत्रे (ओभरलेसहित) गरिएको छ। खाल्डाखुल्डी टाल्ने काम मात्र ८६ हजार वर्गमिटरमा सम्पन्न भएको छ भने २५ हजार वर्गमिटर सडक सुरक्षाका लागि रङरोगन गरिएको छ। यी कामसँगै दुई वटा पुल पनि निर्माण सम्पन्न भएका छन्।
समग्रमा हेर्दा, बार्षिक लक्ष्यको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्नु आफैंमा डिभिजनका लागि महत्वपूर्ण उपलब्धि हो।
राजधानीलाई जोड्ने महत्वका आयोजना
भण्डारीले प्राथमिकताका साथ अघि बढाएका आयोजनामा दीर्घकालीन महत्व देखिन्छ।सडक विभागको अत्याधुनिक केन्द्रीय भवन निर्माण कार्य ६० प्रतिशत प्रगतिमा पुगेको छ। लक्ष्यअनुसार फागुनभित्र यो सम्पन्न हुनेछ।थानकोट–चित्लाङ सडकमा सम्पूर्ण पिच गर्ने ठेक्का सम्झौता भइसकेको छ।महाराजगञ्ज–धोबीखोला सडक खण्डमा चाइनिज शैलीमा ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।मिनभवन र बबरमहलमा आकाशे पुल निर्माण थालिएको छ।कलंकी–नागढुङ्गा सडकलाई जापानी सहयोगमा बनेको खण्डसँग मिल्दोजुल्दो गुणस्तरमा ओभरले गर्ने तयारी छ।
यी आयोजनाहरूले राजधानीको यातायात प्रवाहलाई सहज बनाउन मात्र होइन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक पूर्वाधार निर्माणतर्फको प्रतिबद्धता पनि देखाउँछन्।
विशेष पहल र सफलताहरू
भण्डारीको कार्यकालमा केही सडक खण्डले विशेष ध्यान पाए। साँखु–भोटेचौर सडकमा विश्व बैंकसँग सहकार्यमा साइट निरीक्षण गराई स्तरोन्नति गरिएको छ। २०७३/७४ देखि रुग्ण अवस्थामा रहेको पेप्सीखोला–ब्रह्मखेल सडक अन्ततः सम्पन्न भएको छ।
असोज १०–१२ को वर्षातमा क्षतिग्रस्त भएका सडकहरूलाई छोटो समयमै पुनःस्थापना गरिएको छ। साथै, सडक क्षेत्राधिकारबारे जनतालाई सजग बनाउन सडकका पोलमा “स.वि.” लेखिएको छ, जसले गुनासा र सुझाव दिने प्रक्रिया सहज बनाएको छ।
दक्षिणकाली, सितापाइला–धार्के, बालाजु–मुड्खु लगायतका सडक खण्डमा ओभरले गरिएको छ। खाल्डाखुल्डीमुक्त सडक बनाउने डिभिजनको अभियान यात्रुले प्रत्यक्ष महसुस गर्ने उपलब्धि बनेको छ।
भविष्यका लक्ष्य र सम्भाव्यता
भण्डारीले थालनी गरेका केही अध्ययनले भविष्यको दिशा देखाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटोमा फ्लाईओभर निर्माण सम्भाव्यता अध्ययनले सकारात्मक प्रतिवेदन दिएको छ। यसलाई छिट्टै निर्माणतर्फ लैजाने तयारी भइरहेको छ।
त्यस्तै, धुलोमुक्त सडक बनाउन नागढुंगा–कलंकीको बल्खु खोलामा “भेहीकल वासिङ सेन्टर” को सम्भाव्यता अध्ययन भइसकेको छ। पाइलट प्रोजेक्टका रूपमा यसको कार्यान्वयनले राजधानीका सडक सफा राख्ने अभियानलाई नयां मोड दिने अपेक्षा गरिएको छ।
सडक निर्माणसँग सम्बन्धित सबै कामलाई एउटै निकायमार्फत कार्यान्वयन गर्ने सुझावसमेत डिभिजनले अघि सारेको छ, जसले प्रक्रियागत जटिलता कम गर्ने र कामको गति बढाउने देखिन्छ।
जनताको विश्वासतर्फ
सडक डिभिजन प्रमुख भण्डारीका अनुसार, “सडक जनता सबैको साझा सम्पत्ति हो। यसलाई मर्मत, स्तरोन्नति र विस्तार गर्न सरकार मात्र होइन, जनताको सुझाव र सहकार्य अपरिहार्य छ।”
उनी सहयोग गर्ने सबै निकाय, कर्मचारी र स्थानीय सरोकारवालाप्रति आभारी छन्। भण्डारीको विश्वास छ– काठमाडौंका सडकलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन अझ निरन्तर प्रयास आवश्यक छ, र त्यो यात्रामा अहिलेको उपलब्धि एउटा महत्वपूर्ण आधार हो।