सन्दर्भ निजामती सेवा दिवस २०८२
बिज्ञापन
निजामती सेवा कुनै पनि राष्ट्रको मेरुदण्ड हो। यो राष्ट्रको नीति–नियमलाई कार्यान्वयन गर्ने, जनतालाई सेवा दिने र सुशासनलाई व्यवहारमा उतार्ने प्रमुख संयन्त्र हो। नेपालमा प्रत्येक वर्ष मनाइने निजामती सेवा दिवस केवल औपचारिकतामा सीमित हुने दिन होइन, बरु आत्ममूल्याङ्कन, सुधार र भविष्यतर्फको प्रतिवद्धता व्यक्त गर्ने अवसर हो। यस अवसरमा निजामती सेवामा सबभन्दा बढी जोड दिनुपर्ने कुरा के हो भने योग्यता प्रणालीलाई क्षयीकरण हुन नदिनु।
बिज्ञापन
आज विश्व प्रतिस्पर्धात्मक छ। राष्ट्रको विकासका लागि दक्ष, इमानदार र प्रेरित जनशक्तिको अपरिहार्यता बढ्दो छ। यस सन्दर्भमा मानव संसाधन व्यवस्थापन र प्रतिभा व्यवस्थापनको मूल आधार नै योग्यता प्रणाली हो। तर नेपालमा विभिन्न कारणले यो प्रणाली बारम्बार आघातमा परेको छ। राजनीतिक हस्तक्षेप, गुटबन्दी, आसेपासे संस्कृतिले योग्य जनशक्ति अवमूल्यन भई संस्थागत क्षमतामा कमी आएको देखिन्छ। यदि अब पनि यो प्रवृत्ति रोकिएन भने प्रशासनको मेरुदण्ड नै भाँचिने खतरा छ।
मानव संसाधन व्यवस्थापन कुनै पनि संगठनको आत्मा हो। यसले कर्मचारीको योजना, छनोट, तालिम, मूल्याङ्कन, प्रोत्साहन र विकासको सम्पूर्ण प्रक्रिया समेट्छ। तर यो प्रक्रिया परिणाममुखी बनाउन योग्यता प्रणाली अपरिहार्य हुन्छ।
योग्यता प्रणाली भन्नाले ज्ञान, सीप, दक्षता, अनुभव र क्षमता का आधारमा कर्मचारी छनोट, पदस्थापन र पदोन्नति गर्ने प्रणालीलाई जनाइन्छ। यस प्रणाली लागू हुँदा –
बिज्ञापन
• योग्य र सक्षम व्यक्तिहरूलाई अवसर प्राप्त हुन्छ,
• पारदर्शिता र निष्पक्षता कायम हुन्छ,
• पक्षपात र भेदभाव न्यून हुन्छ,
• कर्मचारीमा आत्मविश्वास, प्रेरणा र उत्तरदायित्वबोध बढ्छ,
• संस्थाको कार्यसम्पादन क्षमता निरन्तर सुधार हुन्छ।
यसैले, योग्यता प्रणाली केवल प्रशासनिक प्रक्रिया मात्र होइन, संस्थागत सुशासन र लोकतान्त्रिक अभ्यासको प्राण हो।
नेपालमा निजामती सेवामा योग्यता प्रणालीलाई बलियो बनाउन कानुनी, प्राविधिक र संस्थागत प्रयास नभएको होइन। तर व्यवहारमा यस प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति बलियो छ। प्रमुख समस्याहरू यसप्रकार छन्:
राजनीतिक प्रभाव र हस्तक्षेप – लोक सेवा आयोगको संलग्नता हुने बाहेकका क्षेत्रका नियुक्ति, पदस्थापन, सरुवामा वादगत स्वार्थले हस्तक्षेप गर्दा योग्यता प्रणाली बिथोलिन्छ।
गुटबन्दी र कृपापात्र संस्कृति – आसेपासे वा नातावादका कारण योग्य भन्दा अयोग्यलाई अवसर दिने प्रवृत्ति मौलाउँदै जानु।
पारदर्शी मूल्याङ्कन प्रणालीको अभाव – कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा वस्तुनिष्ठता नभई व्यक्तिगत धारणा र मनपरीपनाले वर्चस्व जमाएको छ अझ भन्ने हो भने कार्यसम्पादन मूल्याङ्कनमा सवैले समान अंक दिने परम्परा कायम छ ।
अवसरको असमान पहुँच – तालिम, अध्ययन वा पदोन्नतिको अवसरमा असमानता हुँदा कर्मचारीबीच असन्तुष्टि बढ्छ।
यी समस्याले निजामती सेवामा नैराश्य बढाएको छ। प्रतिभाशाली जनशक्ति विदेशतिर पलायन हुने वा सेवाभित्रै मौन बस्ने प्रवृत्ति देखिनु भनेको राष्ट्रकै ठूलो क्षति हो।
संविधान २०७२ पछि नेपाल एकात्मक राज्यबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको छ। संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार गठन भइसकेका छन्। यी सबै तहबीचको सम्बन्धलाई सबल बनाउन योग्य जनशक्ति अनिवार्य छ।
संघीयता सफल हुनका लागि:
• दक्ष र प्रेरित जनशक्ति,
• पारदर्शी सेवा प्रवाह,
• प्रतिस्पर्धामूलक पदपूर्ति,योग्यता र अनुमानमा आधारित पारदर्शी सरुवा र पदस्थापना
• निष्पक्ष मूल्याङ्कन प्रणाली आवश्यक हुन्छ।
तर यदि योग्यता प्रणाली कमजोर पारियो भने संघीयता बलियो नभई कमजोर हुने निश्चित छ। किनभने संघीयता कार्यान्वयन गर्ने प्रमुख संयन्त्र नै कर्मचारीहरू हुन्।
यस विषयलाइ प्रतिभा व्यवस्थापनको अवधारणाको सन्दर्भमा समेत हेरिनु पर्दछ। प्रतिभा व्यवस्थापन भन्नाले संस्थामा उपलब्ध दक्ष जनशक्तिलाई प्राप्ति, विकास, उपयोग र टिकाइराख्ने प्रक्रिया जनाइन्छ। यसको मूल आधार नै योग्यता प्रणाली हो।प्रतिभा व्यवस्थापनका प्रमुख चरणहरू:
जनशक्ति योजना – संगठनलाई आवश्यक जनशक्ति कुन उमेर समूह, योग्यता र सीपमा चाहिन्छ भन्ने विश्लेषण।
जनशक्ति प्राप्ति (पदपूर्ति) – प्रतिस्पर्धा र निष्पक्षताको आधारमा योग्य जनशक्ति छनोट।
उपयोग – योग्य कर्मचारीलाई उनीहरूको क्षमता, दक्षता र रुचिअनुसार उचित कार्यमा प्रयोग।
विकास (तालिम) – कर्मचारीलाई समयानुकूल सीप र ज्ञानमा अद्यावधिक गर्ने तालिम।
प्रेरणा र टिकाइराख्ने रणनीति – आकर्षक वृत्ति मार्ग, उचित सुविधा र सम्मानद्वारा योग्य जनशक्ति टिकाइराख्ने।
अवकाश व्यवस्थापन – सेवापश्चात पनि अनुभव र ज्ञानको सदुपयोग गर्ने नीति।
यदि यी सबै चरणमा योग्यता प्रणालीलाई आधार बनाइएन भने, प्रतिभा व्यवस्थापन अधुरो हुन्छ।
योग्यता प्रणाली कमजोर हुँदा पर्ने असरहरु
• दक्ष कर्मचारी पलायन हुन्छन् – अवसर नपाएको आभासले उनीहरू अन्यत्र रोजगारी खोज्छन्।
• मध्यम वा कमजोर क्षमता भएका कर्मचारी हावी हुन्छन् – जसले संस्थागत दक्षता घटाउँछ।
• निराशा र असन्तोष बढ्छ – योग्य जनशक्ति मौन बस्छन् वा आत्मविश्वास गुमाउँछन्।
• प्रशासनिक विकृति र भ्रष्टाचार बढ्छ – जब पदोन्नति योग्यता नभई कृपापात्रतामा आधारित हुन्छ।
• जनविश्वास घट्छ – अन्ततः नागरिकले सार्वजनिक प्रशासनलाई निष्पक्ष ठान्दैनन्।
यसरी योग्यता प्रणाली कमजोर हुनु भनेको केवल कर्मचारीलाई मात्र होइन, राष्ट्रकै भविष्यलाई जोखिममा पार्नु हो।यस वर्षको निजामती सेवा दिवसमा हामीले आत्ममूल्याङ्कन गर्दै निम्न ठोस प्रतिवद्धता गर्नु आवश्यक छ:
योग्यता प्रणालीलाई सर्वोच्च प्राथमिकता दिने – नियुक्ति,र पदोन्नतिमा पारदर्शी प्रतिस्पर्धा सुनिश्चित गर्ने। पदस्थापन र सरुवालाई पारदर्शी र नियमसम्मत बनाउने ।
हस्तक्षेपलाई रोक्ने – नीति तहमा स्पष्ट प्रावधान बनाएर प्रशासकीय निर्णयलाई गैर पेशागत स्वार्थबाट जोगाउने।
पारदर्शी मूल्याङ्कन प्रणाली विकास गर्ने – कार्यसम्पादन मूल्याङ्कनलाई तथ्य र परिणाममा आधारित बनाउने।
तालिम र विकासमा समान पहुँच – सबै कर्मचारीलाई क्षमतावृद्धिको अवसर दिने।
संघीय निजामती सेवा ऐनलाई शीघ्र लागू गर्ने – संघीयताको आत्मा बचाउन कानुनी ढाँचा तुरुन्तै ल्याउने र यसलाइ योग्यता प्रणालीको जगेर्ना हुने गरि कार्यान्वयन गर्ने ।
प्रतिभा टिकाइराख्ने रणनीति बनाउने – आकर्षक वृत्ति मार्ग, सुविधा र सम्मानद्वारा योग्य जनशक्ति देशभित्रै राख्ने।
निजामती सेवा केवल सरकारी संयन्त्र होइन, यो राष्ट्रको मेरुदण्ड हो। राष्ट्रको नीति कार्यान्वयन गर्ने, सेवा प्रवाह गर्ने र सुशासन सुनिश्चित गर्ने सम्पूर्ण जिम्मेवारी यसकै काँधमा छ। तर यसको मेरुदण्डलाई बलियो बनाउन योग्यता प्रणालीलाई कुनै हालतमा क्षयीकरण हुन नदिने हाम्रो साझा दायित्व हो।योग्यता प्रणालीको संरक्षण गर्नु भनेको प्रजातान्त्रिक शासन प्रणालीको संरक्षण गर्नु हो।
अब समय आएको छ निजामती सेवामा योग्यता प्रणालीलाई मजबुत बनाएर सुशासन, समृद्धि र विकासतर्फ अघि बढ्ने। यसमा सवै निजामती कर्मचारीहरु र राजनीतिक नेतृत्व दुवैको सकारात्मक भूमिकाको अपरिहार्यता छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्