आजको विश्व प्रशासनिक प्रणाली तीव्र रूपमा विकास हुँदैछ । नयाँ प्रविधि, ज्ञान र वैज्ञानिक दृष्टिकोणले प्रशासनलाई प्रभावकारी र पारदर्शी बनाउन ठूलो भूमिका खेलेको छ । तर, यो विकासक्रमले पारंपरिक मूल्य र संस्कारहरूलाई पनि चुनौती दिएको छ । समकालीन प्रशासनमा पारंपरिक र आधुनिक मूल्यहरूको समायोजन आवश्यक छ ताकि प्रणाली दिगो, सन्तुलित र जनमुखी हुन सकोस्।
बिज्ञापन
पारंपरिक मूल्यहरूमा नैतिकता, सदाचार, जनसेवा, सम्मान, अनुशासन र सामाजिक उत्तरदायित्वको विशेष स्थान हुन्छ। यी मूल्यहरूले प्रशासनलाई मानवीय संवेदनशीलता र सांस्कृतिक पहिचान दिन्छन्। विशेष गरी नेपाली समाजमा परम्परागत संस्कारहरूले सामाजिक सद्भाव, मेलमिलाप र समुदायमा सहकार्य प्रवद्र्धन गरेका छन्। यस्ता मूल्यहरू बिना प्रशासन केवल औपचारिक र यान्त्रिक मात्र हुनेछ, जसले जनताको विश्वास गुमाउने सम्भावना बढ्छ।
बिज्ञापन
त्यसैगरी, आधुनिक मूल्यहरूमा दक्षता, पारदर्शिता, जवाफदेहिता, नवप्रवर्तन, सूचना प्रविधिको उपयोग, समयबद्धता र परिणाममुखी कार्यशैली मुख्य छन्। आधुनिक प्रशासनले प्राविधिक सुधारमार्फत सेवा प्रदानमा छिटो र गुणस्तरिय बनाउन खोज्छ। यसले भ्रष्टाचार कम गर्ने, निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने र जनताको सहभागिता वृद्धि गर्ने भूमिका निर्वाह गर्छ।
समकालीन प्रशासनले यी दुई मूल्यहरूको सन्तुलन गर्न सक्नुपर्छ। केवल परम्परागत मूल्यहरूमा अडिग रहेमा प्रशासनले नयाँ चुनौतीहरू सामना गर्न सक्दैन। त्यस्तै, केवल आधुनिक प्रविधि र विधिलाई मात्र अपनाएमा मानवीय मूल्यहरू कमजोर पर्न सक्छन्। यसैले, दुवै पक्षलाई अपनाएर एउटा समन्वित प्रणाली विकास गर्न जरुरी छ।
बिज्ञापन
उदाहरणका लागि, नेपालको प्रशासनिक प्रणालीमा परम्परागत संस्कारहरू—जस्तै सम्मान, सहिष्णुता, समुदायमा मेलमिलाप—महत्त्वपूर्ण छन्। यी संस्कारहरूले भ्रष्टाचार र दुरुपयोग रोक्न मद्दत गर्न सक्छन् यदि आधुनिक व्यवस्थापन र नियमन संयोजनमा ल्याइए। सूचना प्रविधिको उपयोगबाट नागरिक सेवामा छिटो सेवा दिन सकिन्छ, तर सेवा प्रदायकले सदैव आदर, विनम्रता र मानवता नबिर्सनुपर्छ।
त्यसैगरी, समकालीन प्रशासनमा कर्मचारीहरूको मनोवृत्तिमा पनि यी मूल्यहरूको संयोजन आवश्यक छ। उनीहरूले पारंपरिक संस्कारले सिकाएको निष्ठा र समर्पणसँगै आधुनिक कार्यशैलीमा दक्षता र नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्छ। यसले प्रशासनलाई चुस्त, सक्षम र जनसरोकारमा जवाफदेही बनाउँछ।
समाजको गतिशीलताले पनि प्रशासनिक प्रणालीलाई परिष्कृत बनाइरहेको छ। वैश्वीकरण, प्रविधि र सूचना क्रान्तिले परिवर्तन ल्याइरहेका बेला प्रशासनिक संस्कार र कार्यशैलीमा लचिलोपन आवश्यक छ। यसले समाजको सांस्कृतिक विविधता र विकासका मागहरूलाई समेट्न सक्ने प्रशासन निर्माण गर्छ।
प्रशासन सुधार भनेको राज्यको संगठनात्मक संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिमा गुणात्मक सुधार ल्याउन गरिने सुनियोजित प्रयास हो। यो राज्य पुनर्संरचनाको महत्वपूर्ण अङ्ग हो र सार्वजनिक कार्यको गुणस्तरमा वृद्धि ल्याउने उद्देश्य राख्छ। सुशासन प्रशासनको अग्रभाग हो, जसले शासनको दक्षता र वैधानिकता बढाउँछ।
कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो। सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । प्रत्येक पदाधिकारीबाट सेवाग्राहीले खास व्यवहारको अपेक्षा गछर्न् । त्यो अपेक्षा पूरा गर्न सके मात्र सार्वजनिक प्रशासनमा प्रभावकारिता आई सर्वसाधारण सन्तुष्ट हुन्छन् । राज्यलाई सधैं इमानदार मानिसहरूको खाँचो पर्दछ ।सर्वसाधारणहरूको अनुभूतिमा नैतिक आचरणको स्तर निकै कमजोर रहेको अवस्था छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन। संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ ।
सदाचार र सुशासन एक अर्काका परिपूरक हुन् । सदाचार राम्रो आचरणसँग सिमित नभइ जीवनमा गति र दिशा दिन्छ, जसले राष्ट्रको समृद्धि र प्रगति सुनिश्चित गर्छ। नागरिकमा सदाचारको विकासले सुशासनलाई सहज बनाउँछ र यसले राष्ट्रलाई समृद्ध बनाउन मद्दत पुर्याउँछ।
सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदाचारीता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण राष्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ । राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठुलो महत्व छ ।मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता जस्ता बिषयहरु पर्दछन् ।जसले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्रयाउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ ।
प्रशासन सरधारका लागि निष्ठा,आचरण , संस्कार, कार्यशैली र व्यवहारमा रूपान्तरणको खाँचो छ । सार्वजनिक क्षेत्रका पदाधिकारीले कार्यसम्पादन गर्दा निष्ठा,आचरण , संस्कार, कार्यशैली र व्यवहारमा सकारात्मक सोंच देखिनुपर्छ ।सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।
नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो । बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ ।
नैतिकता वा आचरण ठिक र बेठिक, असल र खराब चालचलनका सिद्धान्त वा व्यवहार हो। सदाचार र आचरण प्रायः समानार्थक रूपमा प्रयोग गरिन्छ, र यी मूल्य र मान्यताका आधारमा व्यक्तिको व्यवहारलाई निर्देशन दिन्छ। नैतिकता मानवीय मूल्यहरूको व्यवस्थापन हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। सार्वजनिक जीवनमा सीप र दक्षताका साथ नैतिकता, इमानदारी, र सदाचार आवश्यक छन्। जिम्मेवार व्यक्तिहरूका व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्नुपर्छ। लोकतन्त्र, शान्ति, र सुशासनको आधार सदाचार हो, जसले प्रभावकारी शासन व्यवस्थाको निर्माण गर्न मद्दत गर्दछ। सदाचार भनेको नीति, नियम र व्यवहारमा उच्च सतर्कता र इमानदारीको पालन गर्नु हो। यसले सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
आचरण व्यक्ति दैनिक जीवनमा अपनाउने मूल्य, मान्यता र नैतिकताको समष्टि हो, जसले ठिक र बेठिकको निर्धारण गर्दछ। प्रशासकीय आचरण भनेको प्रशासकीय कार्यलाई प्रभावकारी र दक्षतापूर्वक सम्पन्न गर्न आवश्यक मूल्य, नियम र कानुनको समष्टि हो। नैतिक आचरणले व्यक्तिलाई उच्च मूल्यांकनको अवसर दिन्छ र यसमा पवित्रता, धैर्य र सहनशीलता आवश्यक हुन्छ। समाजिक मर्यादामा राखेर इच्छाहरू र कर्मको पालन गर्नुपर्ने हुन्छ, जसले व्यक्तिको चरित्रलाई मजबुत बनाउँछ।
सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ । सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।
नैतिक आचरण र सदाचारलाई प्रोत्साहित गर्न सार्वजनिक प्रशासनमा विविध संयन्त्रहरू, जस्तै कार्यसम्पादन सूचक, सेवा बडापत्र र नागरिक पृष्ठपोषण अपनाउनुपर्ने हुन्छ। प्रविधिको प्रसार र नागरिक चेतनाले प्रशासनलाई नैतिक र व्यावसायिक बनाउन मद्दत पुर्याउँछ। नैतिक आचरणले सार्वजनिक सेवामा आत्मनियंत्रण र निष्पक्षता ल्याउँछ, जसले भ्रष्टाचार र लापरबाहीलाई रोक्छ र सेवा वितरणलाई छिटो र प्रभावकारी बनाउँछ।
अहिले सार्वजनिक प्रशासनमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक—अर्कामा अन्तर—आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ ।
नेपालको निजामती सेवामा नैतिक आचरण र सदाचार कमजोर रहेको पाइन्छ। यसको कारण राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरिता, दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था नहुनु, आचार संहिता कार्यान्वयनको अनुगमन नहुनु, र दण्डहीनता बढ्नु हो। यसले सरकारी सेवा र विकास कार्यमा असर पुर्याउँछ र सुशासन कायम गर्न चुनौती पुर्याउँछ।
अन्त्यमा, सार्वजनिक प्रशासनमा हाम्रा संस्कार, कार्यशैली, आचरण र व्यवहारमा सुधारको कमीले आजको समाजमा गम्भीर समस्याहरू उत्पन्न गरेका छन्। यसको प्रत्यक्ष प्रभाव भनेको आम जनताको प्रशासन संयन्त्रप्रति बढ्दो वितृष्णा र निराशा हो। जब प्रशासनिक प्रणाली प्रभावकारी, पारदर्शी र नैतिक दृष्टिले कमजोर हुन्छ, तब नागरिकको विश्वास कमजोर पर्छ र शासन व्यवस्थामा असंतोष फैलिन थाल्छ। यसले न केवल सार्वजनिक प्रशासनको छवि बिगार्छ, अपितु राष्ट्रको समग्र विकास र सुशासनमा पनि विघ्न पुर्याउँछ। प्रशासनिक प्रणालीको सुधारको लागि संस्थागत सुधार र सशक्त नेतृत्वको आवश्यकता छ। सबै स्तरका अधिकारीहरूलाई नैतिक मूल्यमान्यता र उच्च आचरणका साथ काम गर्न प्रेरित गर्नुपर्नेछ। यस्तो वातावरणमा भ्रष्ट्राचार र अन्य अनियमितताहरू स्वतः कम हुनेछ। प्रशासन सुधार र सार्वजनिक प्रशासनमा सकारात्मक रूपान्तरण ल्याउनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रशासनिक प्रणालीमा निष्ठा, आचरण, संस्कार, कार्यशैली र व्यवहारमा सुधार गर्नु हो। प्रशासनलाई स्वच्छ, पारदर्शी, नागरिकमैत्री, भ्रष्ट्राचारमुक्त र नैतिक बनाउनु आजको आवश्यकता हो। यस्ता गुणहरूलाई आफ्नो प्रशासनिक कर्तव्यको अंश बनाउने कार्य प्राथमिकता हुनुपर्छ। यसका लागि, शासकीय व्यवस्थापनका सबै तहका पात्रहरू बीच सहकार्य, संवाद र समन्वयको संस्कृति बनाउनु पर्छ, जसले नैतिक आधारलाई मजबुत पार्न मद्दत पुर्याउँछ। यस्ता सुधारले मात्र प्रशासनमा विश्वास पैदा गर्न सक्छ र सुशासनको दिशा तय गर्न सकिन्छ। यस प्रकार, प्रशासन सुधारका लागि समर्पण, समन्वय र सामूहिक प्रयासले राष्ट्रको समृद्धि र विकासमा टेवा पुर्याउन सक्छ।
अन्ततः, समकालीन प्रशासनमा पारंपरिक र आधुनिक मूल्यहरूको सफल समायोजनले मात्र प्रशासनिक प्रणालीलाई सक्षम, सन्तुलित र दिगो बनाउनेछ। यसले जनताको विश्वास बढाउने, सेवा गुणस्तर सुधार्ने र समृद्धि तर्फ राष्ट्रलाई अग्रसर बनाउनेछ। नेपाली प्रशासनले पनि यस दिशा मा कदम बढाएर आफूलाई आधुनिक बनाउँदै पनि आफ्नै सांस्कृतिक र सामाजिक मूल्यहरूलाई संरक्षण गर्न आवश्यक छ।(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)