पश्चिमी क्षेत्रमा अवस्थित पर्ने साँखु मालपोतमा एउटै कर्मचारी १२ बर्षदेखि कसैले चलाउन नसकेको भेटिएको छ ।
बिज्ञापन
निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा दुई बर्षभित्र एउटा कार्यालयबाट अन्य कार्यालयमा सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ । तर ऐनको बर्खिलाप हुने गरी सो कार्यालयमा कार्यरत एक सुव्वा एक दशक भन्दा लामो समयदेखि एउटै कार्यालयमा जरा गाँडेर बसेको भेटिएको हो । उनको यो बीचमा दुई पटक सरुवा समेत भएको छ तर सरुवा उल्टाएर उनी त्यही कार्यालय बस्नु र अन्यन्त्र सरुवा हुनै नमानेको भेटिएको छ ।
यसरी एउटै कार्यालयमा एक दशकदेखि रजगज गरिरहेका सुव्वा हुन,रामेश्वर कुँइकेल । उनी तिनै पात्र हुन,जो ६ बर्ष अगाडि अर्थात ०७६ पुस २२ गते २ हजार घुससहित अख्तियारको फन्दामा परेका थिए । कुँइकेलले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टि बन्धकको लिखत पास गरे वापत २ हजार घुस लिएको भेटिएपछि अख्तियारले रंगेहात नियन्त्रणमा लिएको थियो । मुद्धा विशेषमा पुग्यो । त्यहाँबाट तीन महिना निलम्बनमा पुगेका उनी उम्केको माछो ठूलो भनेझैं पुन साँखु मालपोतमा पुगेर विगतका झैं गतिविधि दोह्रोर्यान थाले । निजामती सेवा ऐन ०४९ ले कुनै पनि कर्मचारीलाई बढीमा दुई बर्षसम्म एउटै कार्यालयमा बस्न सक्ने कल्पना गरेको छ । तर निलम्बनमा परेको समय बाहेकको उनी साँखु मालपोतमा बसेर एकछत्र राज गरिरहेका छन् ।
बिज्ञापन
कर्मचारी संकेत नम्बर १६९२७६ रहेका कुँइकेलले ०५३ चैत १८ गते खरिदारको रूपमा सेवा निजामती सेवामा पाइला राखेका हुन । त्यस पछि उनको पहिलो पोस्टिङ जिल्ला विकास समिति, ललितपुरमा भयो। त्यसपछि २०६५ असोज १० मा जिल्ला विकास समिति, काठमाडौं, २०७० भाद्र २८ मा भूमि व्यवस्था मन्त्रालय, र २०७० कार्तिक ८ मा मालपोत कार्यालय, बारामा खटाइएका त्यस यता निरन्तर एउटै कार्यालयमा कार्यरत रहेको पाइन्छ । २०७२ मंसिर ६ गते साँखु मालपोत कार्यालय पुगेका उनले त्यस यता उक्त कार्यालयको चौघेरा छोडेर अन्यन्त्र जानु परेको छैन । यस यता बीचमा उनको सरुवा नभएको पनि होइन तर शक्तिकेन्द्र प्रयोग गरेर सरुवा बदर गराउँदै आएका छन्,कुँइकेल । स्रोतका अनुसार कुँइकेलको सरुवा ०७७ चैत ५ मा भूमि विभागमा भएको थियो । यस्तै ०८० साउन २३ मा गृह मन्त्रालयमा खटाइयो। गृह मन्त्रालयले पुनः २०८० साउन ३१ मा उनलाई जिल्ला प्रशासन कार्यालय, बारामा पठायो।
बिज्ञापन
तर, असोज २ गते उनले विभिन्न शक्तिकेन्द्रमार्फत पुनः भूमि मन्त्रालय फर्कने वातावरण बनाए र अन्ततः २०८० मंसिर ५ गते फेरि साँखु मालपोतमै जागिर थमौती गराए। काठमाडौं उपत्याकामा रहेका मालपोत कार्यालयहरुमध्ये साँखु मालपोत सबैभन्दा बढी जग्गा कारोबार हुने कार्यालयमध्ये अग्रपंक्तिमा पर्छ। सोही कार्यालयको जग्गा रजिष्ट्रेसन शाखामा कार्यरत छन्,उनी । कुँईकेल लामो समयदेखि यही शाखामा प्रभुत्व जमाउँदै आएको भेटिएको हो ।
मन्त्रालयको एउटा टोली हालैमात्र काठमाडौंका मालपोत कार्यालयहरुको स्थलगत भ्रमणमा जाँदा कुन मालपोत कार्यालयमा कुन तहका कर्मचारीहरु कहिले देखि कार्यरत छन् भन्ने विवरण सोध खोज गर्दा कुँइकेलले आफू ८० सालदेखि साँघु मालपोतमा कार्यरत रहेको भन्दै झूठो विवरण टिपाएर पठाएको भेटिएको छ । जबकी उनको पिआइएस हेर्ने हो भने ७२ साल यता ७७ फागुनमा भूमि व्यवस्था विभाग,८० साल साउन २३ मा गृह मन्त्रालयमा भएको देखिन्छ । त्यहाँबाट पर्सा सरुवा भएका उनी सरुवा उल्टाएर पुन साँखुमै पुगेको भेटिन्छ ।
मालपोत कार्यालयसँग नजिक रहेका स्रोतका अनुसार, कुँईकेल माथिल्लो निकायमा ‘माल बुझाउने’देखि लिएर मन्त्री, सचिव र राजनीतिक नेतासम्म पहुँच बनाउनेमा माहिर छन्। यसै आधारमा उनले सरुवा निर्णयलाई पटक–पटक निष्प्रभावी बनाएका छन्।
कुँईकेलले कार्यालयका लेखनदासदेखि कर्मचारी ट्रेड युनियनका केही नेतासम्म किनेर आफ्नो प्रभाव कायम राख्दै आएका छन् । एउटै व्यक्तिले एउटै कार्यालयमा दशकभन्दा बढी बस्नु नै यसको प्रमाण हो । सोही कार्यालयमा बसेर उनले काठमाडौं उपत्यका र बाहिर समेत घर–जग्गा जोडेका छन् । उनको सम्पत्तिको सूची हेर्दा सरकारी तलबले सम्भव नहुने कुरा स्पष्ट हुने उनलाई नजिकबाट चिन्ने र जान्नेहरु बताउँछन् ।
मालपोतका पावरफुल खरिदार, सरुवा वदर गरेर फर्किए उही कार्यालयमा