तीन चर्चित अनियमितता र भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ ।
बिज्ञापन
सिन्धुली कमलामाईका युवराज पौडेलले आइतबार अख्तियार कार्यालय पुगेर प्रमुख राईमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ । पौडेलले राईमाथि वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको भन्दै छानबिनको माग गरेका हुन् ।
बिज्ञापन
उनले उजुरीमा लेखेका छन्, “अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।”
विशेष अदालतले हालै मात्रै वाइडबडी विमान खरिद प्रकरणमा दोषी ठहर गरिएकामध्ये केही व्यक्तिलाई मात्र मुद्दा दायर गरिएको भन्दै ‘चयनात्मक अभियोजन’ भएको न्यायिक टिप्पणी गरेको थियो । अदालतको सो निष्कर्षसँगै यस प्रकरणमा संलग्न उच्च तहका निर्णयकर्ता, विशेषतः सचिवस्तरीय निर्णयकर्ता प्रेमकुमार राईको भूमिका विवादमा आएको हो ।
बिज्ञापन
उजुरीकर्ता पौडेलले आयल निगमको जग्गा खरिद प्रकरणमा राईको संलग्नता रहेको दाबी गरेका छन् । त्यतिबेला आपूर्ति मन्त्रालयको सचिव रहेका राई नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष थिए । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मुद्दा चलाइए पनि राईलाई छानबिनविना उन्मुक्ति दिइएको भन्दै पौडेलले तामेलीमा परेको फाइल पुनः खोल्न माग गरेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा गम्भीर आरोप
नक्कली भुटानी शरणार्थी प्रकरणका केही आरोपितहरुले तत्कालीन गृहसचिव राईको गाडीमा नगद राखिदिएको भन्दै बयान दिएका थिए । तर प्रहरी वा कुनै अनुसन्धान निकायले राईमाथि अनुसन्धान नगरेको उजुरीमा उल्लेख छ । पौडेलले सो घटनामा पनि निष्पक्ष छानबिनको माग गरेका छन् ।
निष्पक्षता र जवाफदेहिताको सवाल
तीनवटै प्रकरणमा नाम जोडिँदै आएको व्यक्ति अहिले भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक आयोगको प्रमुख पदमा रहँदा अनुसन्धान नै रोकिएको आरोप उठ्दै आएको छ । उजुरीकर्ता पौडेलले अख्तियार जस्तो संवैधानिक निकायको नेतृत्व गरिरहेको व्यक्तिविरुद्ध आफैँ आयोगमै उजुरी दिनु परिरहेको अवस्था ‘दुर्भाग्यपूर्ण’ भएको उल्लेख गरेका छन् ।
अब अख्तियार आयोगले आफ्नै प्रमुखविरुद्ध दर्ता भएको उजुरीमाथि के कदम चाल्छ भन्ने चासो बढेको छ । Integrity Watchdog (अख्तियार) ले आफैंभित्रको विवादमा निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउने हो भने सार्वजनिक विश्वास कायम गर्न सक्ने अवस्था बन्नेछ, नत्र आलोचना अझ चर्किने निश्चित देखिन्छ ।