उमेश दाइ

उमेश दाइ संग भेट नभएको डेढ महिना भै सकेछ । मिजासिलो, हक्की स्वभाव र हँसिलो अनुहार उमेश दाइको परिचय हो । उमेश दाइलाई मैले  जतनपुरे पोखरेल माल्दाइको चिया पसल दुलारीमा भेटेको हुँ । मर्निङ्ग वाक गर्नेहरुको बाक्लै भीड लाग्ने चिया पसल हो यो । सुरुका केही दिन अनौपचारिक गफगाफमै बिते । म कम बोल्ने भएको कारण धेरै संग परिचय भएकै थिएन । उमेश दाइ संग परिचय भएको करिब दुई वर्ष मात्रै भयो । उमेश दाइ स्पष्टवक्ता भएको कारण वहाँको आनि बानि प्रति म जानकार भै सकेको छु ।
म निवृत्त जीवन बिताइरेको छु । उमेश दाइ जेष्ठ नागरिक समाज सुन्दरहरैंचाको नगर समितिमा आवद्ध हुनु हुन्छ । म निवृत्त राष्ट्र सेवक समाज कोशी प्रदेश समितिमा आवद्ध छु । जीवनलाई क्रियाशील राख्न कतै न कतै आवद्ध हुनै पर्ने रहेछ । साथी भाइ संगको भेटले पनि जीवनमा सकारात्मक परिर्वतन ल्याउन मद्दत गर्ने रहेछ । भेला, बैठक, पिकनिक र अवलोकन भ्रमणले जीवन व्यस्त बन्दो रहेछ । व्यस्त जीवन नै उर्जाशील हुने रहेछ । उर्जाशील जीवन दीर्घायूको एउटा आधार हुन सक्छ । दीर्घ जीवन हाम्रो अभीष्ट पनि त हो नि ।
हामी कसैलाई सुइको नदिइ उमेश दाइ गछिया बसाइ जानु भएछ । चिया पसलमा दुई चार दिन नआए पछि हामी सबैले खै ग¥र्यौ । पहाड जानु भो कि ? शंका ग¥र्यौ । रामकुमार दाइले गछिया कान्छो छोराको घरमा उतै बस्तै जानु भएको भन्ने कुरा अल्प अल्प बताउनु भो । हामी सबैलाई जानकारी गराएकै भए पनि त हुन्थ्यो नि । के हामी वहाँको बाधक बन्थ्यौ र ? किन उमेश दाइले जानकारी गराउन चाहानु भएन ? के वहाँमा कुनै खुशीयाली थिएन ? वहाँ परिवन्धमा पर्नु भएको हो त ? दुलारी छोड्न मन नभएको भए छोरालाई दुलारी नै आइज भन्न सक्नु हुन्थेन त ? भन्ने प्रश्नहरु मनमा खेलाउदै म चिया पसलबाट फर्के ।
मेरो पनि बुवा, आमा वृद्ध हुनु हुन्छ । बुवा आमा संग म र मेरो परिवार बस्छ । हाम्रो व्यवहार कस्तो भै रेहेको छ ? के हाम्रो व्यवहार बाट आमा बुवा खुशी हुनु हुन्छ त ? बाध्यात्मक परिस्थितिमा जीवन गुजारी रहनु भएको त छैन ? कहिले कही आमा गुनासो गर्नु हुन्छ । पकाएर खान सकेको भए कर्जुना छोड्न मन थिएन । पकाएर खानै नसक्ने भए पछि पेसुवा लाग्नु पर्ने रहेछ । बुवा पनि कर्जुनाकै कुरा गर्नु हुन्छ । साथीभाइ इष्टमित्र सबै छोडेर आइयो । यहाँ त कोही चिनेको पनि छैन । कसैले कसैको चासो राख्दो रहेनछ । मराइ पनि कुकुर मराइ हुन्छ कि के हो ? आमा बुवाका कुराले वहाँहरुलाई दुलारीमा त्यति सहजता प्राप्त भै रहेको छैन भन्ने दर्शाउँछ । सायद वृद्धहरुको विवशता हो यो । सोचे जस्तो कहाँ हुन्छ र ? बाध्यात्मक परिस्थितिलाई पनि सहज मानेर जीवन गुजार्नु पर्दो रहेछ ।
म पनि अन्ठाउन्न पूरा भै सके । जीवन उत्तरार्ध तिर क्रमश ः ढल्कि रहेछ । मलाई म बुढो हुदै छु भन्ने लागेकै छैन । पैतिस, चालिस वर्षे उमेरमै छु जस्तो लाग्छ । मैले मलाई तन्नेरी ठाने पनि काम व्यवहारले त बुढ्यौलीपन तिरै डो¥याइरहेछ । म सेवा बाट निवृत्त भै सके । छोरा छोरीको विवाह गरि सके ।
म परिवारको जेठो सन्तान हुँ । मैले नै सबै व्यवहारको चाँजो पाँजो मिलाउनु पर्छ । भाइ काठमाण्डौ बस्छ । दाजु भाइको सल्लाहा अनुसार नै म आमा बुवाको साथमा छु । भाइ बुहारीको टेलरिङ्ग छ । छोरी मास्टर्स पढ्दै छे । नृत्यका क्लास लिने र नृत्य सिकाउने कुरामा उसको विशेष रुची छ । उ कथा कविता पनि लेख्ने गर्छे । उसको व्यस्तता बेजोडकै छ । खाने, बस्ने र बोल्ने फुर्सद समेत हुँदैन । भाइको कोठा र पसल जडिबुटी नरेफाँटमा छ ।
मैले दुलारीमा घर बनाएको छ वर्ष पूरा भयो । आमा बुवा बस्न थाल्नु भएको चार वर्ष भयो । म बस्न थालेको छब्बिस महिना मात्रै भयो । दुलारी मलाई पनि सहज लागिरहेको छैन । आत्मियता प्राप्त भएकै छैन । नयाँ ठाउँ, नयाँ परिवेश साथीभाइ बनाउनै गाह्रो । पहाडमा जस्तो कसैसंग घनिष्टता हुँदैन कि के हो ? पहाडमा त वल्लो पल्लो गाउँ चिनजान हुन्थ्यो । यहाँ त वल्लो घर पल्लो घर चिनजानै छैन । अइचो, पैचो, ऋण र सापटी समेत नपाइने रहेछ । कसैलाई कसैको विश्वास नै नहुने । मानवीयता  गुमाएको ठाउँ ।
म मधेश बिरोधि मान्छे । मलाई गर्मी पटक्कै मन पर्दैन । पानी मिठो छैन । भात तिहुनको स्वाद छैन। बारुलाको गोलो जस्तो मछ्छट लागेर सुत्दा झुल टाँङ्नै पर्ने बाध्यता । अर्गानिक खाने कुरा छ्रैन। सर्पको डर । चोरको डर । सवारी दुर्घटनाको डर । घमौराको डर । खर्चिलो आदि मलाई मधेश मन नपर्ने कारणहरु हुन ।
मेरो मधेश बसाई बाध्यात्मक परिस्थितिको उपज हो । बुवा र म मधेशको कुरा सुन्नै नमान्ने । आमा मधेश नआइ नछोड्ने । आन्तरिक द्वन्द्व केही वर्ष सम्म चलि रह्यो । जाने बुझेका  मानिसहरु मधेश बसाई झरि रहेका थिए । मधेश झर्ने क्रम बढिरहेको थियो । छिमेकीहरु सबै हिडे पछि हाम्रो बसाई एक्लो हुने भयो । अन्ततोगत्वा आमाको अडान सहि सावित भयो । हाम्रो परिवार पनि सत्ताइस  वर्ष पहिले मधेश बसाई झ¥यो ।
कर्जुनामा तेह्र कठ्ठा खेती थियो । त्यही एउटा काठको टाँडे घर बनाई आमा र कान्छी बहिनीको बसाई व्यवस्थापन गरियो । परिवारका सबै सदस्य भेला हुन दशै तिहार आउनु पथ्र्यो । बुवा बोयामै पढाउनु हुन्थ्यो । म साङपाङमा पढाउँथे । भाइ काठमाण्डौ थियो । ठूली बहिनी ललितपुर थिई । माइली बहिनी पोखरा थिई । मेरो परिवार म सँगै साङपाङनै बस्थ्यो । मेरी श्रीमती पनि शिक्षिका नै थिइन । हामीले अध्यापन गराउने विद्यालय फरक भए पनि दुबै जनालाई विद्यालय पायक हुने गरी मालबाँसेमा डेरा लिएका थियौँ ।
कर्जुनाको बसाई अलि अपायक भएको कारण दुलारीमा घर बनाइएको हो । इटहरी नजिकै छ । विराटनगर जान आउन सहज छ । जता जान पनि गाडी फुत्त पाइन्छ । छोरा छोरी र श्रीमतीका इच्छा अनुसारनै घर बनाइएको हो । आमा बुवा पनि भनिरहनु हुन्थ्यो घर बना । आमा बुवाको इच्छा पूरा गर्न पनि मैले घर बनाउन जरुरी थियो । घर बन्यो । आमा बुवा पनि आउनु भयो । तर छोरा छोरी फात्त फुत्त हिडे । छोरा बुहारी क्यानाडा तिर लागे । ठूली छोरी ज्वाइ फिनल्याण्ड तिर लागे । माइली छोरी पढ्दै छे । कान्छी छोरी स्व इच्छित विवाह गरी गौशला छे । उसले मास्टर्स सिध्याएँ भन्थी ।
मान्छेको जीवन र बसाई अस्थायी रहेछ । मान्छे प्राचिनकाल देखि नै बसाई सरि रहेको छ । जन्मनु , बसाई सर्नु र मृर्नु स्वभाविक प्रकृया जस्तै त रहेछ । मान्छे मृत्यु थाहा नपाएर लोभ र घमण्ड गर्दो रहेछ । काम, क्रोध, लोभ र मोहमा फसेर सेवा भाव बिर्सदो रहेछ । स्वार्थमा चुर्लुम्म डुबे पछि आफन्त पनि बिर्सदो रहेछ ।
म नै लोभि, पापि छु । जोगी बन्न सकिएन । आमा, बुवा, स्वास्नी, छोराछोरी भनेर हत्ते गरि रहेछु । मायाले पनि अल्झाउँदो  रहेछ जीवन । कर्तव्यले पनि भुलाउँदो रहेछ जीवन । सामाजिक बन्धनमा पनि बाँधिनु पर्दो रहेछ जीवन । मानिस स्वतन्त्र जन्मन्छ । ता पनि उ स्वतन्त्र बाँच्न नपाउँदो रहेछ । स्वतन्त्रताका नाममा ठूला ठूला आन्दोलन हुन्छन । नाराबाजी गरिन्छन । खोइ त स्वन्त्रता ?
म जिन्दगी हारेर बाँच्न चाहान्न । हार मृत्यु बराबर हो । मलाई थाहा छ । बार बार मलाई हराउने कोशिस गरिन्छ । मेरो पाइलै पिच्छे खेदो गरिछ । म दृढताका साथ प्रतिवाद गर्छु । मलाई हराउन तम्सेकाहरु आफै हारेर जानु पर्ने हुन्छ । गुरुहरु भन्ने गर्नु हुन्थ्यो । “प्रकाश तैले जीवन हार्न हुदैन । तेरो हार हाम्रो स्वाभिमान संग पनि गासिन्छ । हाम्रो शिर उँचो राख्न पनि तैले संघर्ष गर्नु पर्छ । क्रान्तिको झण्डा बोक । परिवर्तन अवश्य हुने छ ।” म गुरुहरुको वचन शिरोधार्य गरि रहेछु । मेरो उन्नति र प्रगतिमा गुरुहरु रमाइ रहनु भएको छ । म क्रान्तिको झण्डा बोकी परिर्वतनको  युद्धमा सामेल भएको हुँ।
 म दलाल घुसखोर हुनु परेन । म दलाल पँुजिपति बन्नु परेन । म तानासाह बन्नु परेन । म निरङकुश र भ्रष्ट बन्नु परेन । मेरा गुरुहरुले सिकाएको क्रान्तिको मार्ग सहि थियो । त्यही मार्ग चित्रले मलाई क्रान्ति र परिवर्तनको प्रेरणा दियो । म बामपन्थी राजनीति प्रति अकर्षित भएँ । म कम्युनिष्ट बनें ।
उमेश दाइ पनि बामपन्थी बिचारकै मान्छे हो रे । क्रान्ति र परिवर्तनका कुरा गर्ने मान्छे । हिजो आज अलि निराशावादी कुरा गर्नु हुन्छ । राजनीतिबाट सन्यास लिएको जस्तो बिचार व्यक्त गर्नु हुन्छ । पार्टीहरु र नेताहरुको शैली प्रति कडा कटाक्ष गर्नु हुन्छ । बामपन्थी पार्टीहरु बामपन्थी जस्तै नभएर नवपँुजिवादी जस्ता भए भन्नु हुन्छ । नेताहरुको आचरण ठिक छैन । भ्रष्ट शैली अवलम्बन गर्दै आसे पासेको मात्रै कुरा सुनिन्छ । वर्ग संघर्षको कुरा उठाउनै छोडियो । जातीय मुक्तिको नारा मात्रै पस्कने काम भयो । वर्गीय र जातीय मुक्ति संगै हुनु पर्ने हैन र ? जातीय मुक्ति मात्रै समाधानको बाटो हैन । वर्गीय चरित्र र वर्गीय मुक्ति प्रमुख कुरा हो ।
पीडा उमेश दाइको मात्रै हैन । आम कार्यकर्तामा निराशा छाउन थालेको छ । प्रतिवाद गर्ने शक्ति कमजोर भएको छ । शिर ठाडो पारेर हिड्न पनि ग्लानी हुने भएको छ । नेताहरु काम बिगार्ने । दोष जति कार्यकर्ताले बोक्नु पर्ने ? नेताहरुको बिलासी जीवन देखेर सर्बहारा वर्ग चिन्तित बनेको छ । के अब बामपन्थी बिचार च्यूत भएको हो त ? उमेश दाइ जस्तै पार्टी सदस्यहरु निष्कृय रहे के क्रान्ति सफल हुन्छ ?  समाजवाद खै ?  साम्यवाद खै ?
मेरो संगत अधिकांश राजनीतिबाट फ्रस्टेड भएका मान्छेहरु संग भै रहेको छ । चाहे त्यो समाजवादी खेमाको होस् । चाहे त्यो साम्यवादी खेमाको होस् । वहाँहरुको कुरा सुन्दा राजनीति प्रति ठूलो वितृष्णा देखिन्छ । पार्टी र नेताहरुले गतिविधि करेक्सन गरी आत्मालोचित हुँदै जनता संग माफि माग्नु नै उत्तम विकल्प हुने छ । म पनि राजनीतिबाट फ्रस्टेड भै रहेको छु । संसदीय पँुजिवादी व्यवस्थाले पनि जनताका सबै माग सम्बोधन नगर्दो रहेछ । फल स्वरुप जनतामा वितृष्णा पलाउँदो रहेछ । म आफू बामपन्थी भए पनि कुनै बामपन्थी दल संग आबद्ध छैन । म स्वतन्त्र बामपन्थी हुन रुचाउँछु । मलाई मतदान पनि एउटा प्रहसन हो कि जस्तो लाग्छ । सिद्धान्त र निष्ठा प्रति कोही विश्वस्त छ्रैन । चुनाव महङ्गो भएको छ । धनाढ्यहरुले मात्रै चुनाव जित्ने अवस्था छ । गरिब निमुखाको आवाज संसदमा कसले पु¥याउने ? आफ्नै पार्टीका नेताहरु प्रति जनताको विश्वास घट्दै गएको छ । यो व्यवस्था भन्दा राजतन्त्र नै ठिक भन्ने भ्रमहरु छरिन थालेको छ । पुनरउत्थानवादी र प्रतिकृयावादीहरु शिर ठाडो पार्ने कुचेष्ता गरि रहेका छन् ।
उमेश दाइ (उमेश चम्लागाई) निष्ठाको राजनीति गर्ने मान्छे । लप्पन छप्पन गर्न नजान्ने । सिद्धान्तनिष्ठ र कर्तव्यनिष्ठ मान्छे ।  निष्ठानै मरेपछि के राजनीति गर्ने ? पार्टीमा किन सक्रियता देखाउने ? सदस्यता नवीकरण किन गर्ने ? लेबि किन तिर्ने ? जस्ता प्रश्नहरुको उत्तर कसले दिने ? उमेश दाइ जस्तो निष्ठाको राजनीति गर्ने मान्छेहरु प्रति किन अन्याय ? के उमेश दाइ जस्ता मान्छेहरुलाई न्याय दिन सकिदैन ?
उमेश दाइको परिवार निम्न मध्यम वर्गीय परिवार हो । दुःख सुख खान लाउन पुग्ने । उमेश दाइ मधेश झर्दा पन्द्र वर्षको हुनु हुन्थ्यो रे । वहाँहरुको परिवार चौबिस सालमा संखुवासभाबाट मोरङको अमरदह बसाई आएको रहेछ । झापा छ वर्ष बस्नु भएका उमेश दाइ उनान्साठी सालमा दुलारी आउनु भएछ । उमेरले बहत्तर पार गर्नुभएका उमेश दाइलाई पायल्सको सामान्य समस्या बाहेक अरु दीर्घरोग छैन । दुलारीमा दुई जना (दाजु भाउजू) मात्रै बस्नु हुन्थ्यो । वहाँका दुई छोरा र दुई छोरी छन । छोराछोरी सबैको विवाह भै सकेको छ ।
उमेरले डाँडो काट्दै गए पछि कसै न कसैको सहारा लिनु पर्ने नै हुन्छ । छोरा बुहारीले जौ भने पछि जानै प¥यो । दुःख सुखका छहारी छोराछोरी नै त हुन नि । छोराछोरीको मन दुखाउन पनि त भएन नि । छोराछोरीले वेवास्ता गरे भने कहाँ जाने ? वृद्धाश्रम वा धर्मशाला ।
म वृद्धाश्रम बिरोधि हुँ । वृद्धाश्रमहरु बिल्कुल बन्नु हुदैन । आमा बुवाको पालन पोषण नगर्ने सन्तान प्रति राज्यले कठोर नीति अवलम्बन गर्नु पर्छ । उसलाई सजाँयको भागिदार बनाइनु पर्छ । आमा बुवाको पालन पोषण गर्ने जिम्मेवारी छोरा, छोरी, बुहारी, नाति र नातिनाले लिनै पर्छ । यो उनीहरुको नैतिक र सामाजिक दायित्वको विषय बनाइनु पर्छ । बुढा बुढीको मन दुखाउनु हुँदैन । वहाँहरुको श्राप लाग्न सक्छ । श्राप हैन आशीर्वाद पाउनु ठूलो कुरा हो ।
उमेश दाइ तपाई हाँसेर बाँच्नोस् । तपाई अभिभावकीय भूमिकामा हुनु हुन्छ । छोरा बुहारीलाई अभिभाकत्व प्रदान गर्नोस् । छोरा बुहारी तपाईहरु प्रति नतमस्त बन्नु हुने नै छ । उमेश दाइ, तपाईको जीवन दीर्घ रहोस । म दीर्घ जीवनको शुभेच्छा प्रकट गर्छु ।
                                      सुन्दरहरैंचा –६, दुलारी, मोरङ
                                        ९८४२०७३५२५

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

यता छानबिन,उता सँगसँगै सरुवा र बढूवा

यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

गुनासो भए पोख्न छुट्टै कुना

सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

बिशेष