ठूलो दुर्घटना जलविरे

लामो समय एउटै जिल्ला वा ठाउँमा बस्दा पनि मन एकतमासको हुन्छ, मतमत्याउँछ। कुनै चिज एकोहोरो खाइरहँदा झैं गरी एकहोरो कहीँ लामो बस्दा पेटमुख होइन, मनमस्तिष्क मतमत्याउँछ।यसलाई समेत मध्यनजर गर्दै सरकारी वा गैर-सरकारी कामकाजमा निश्चित समयावधिमा ठाउँ फेर्ने नियम छ, प्रचलन छ र त्यस क्रममा सरुवा गरिन्छ।

बिज्ञापन

सरुवाको यस्तै रित अनुसार गणेशको तत्कालीन जिल्ला विकास समितिको कार्यालय म्याग्दीबाट पर्वतमा सरुवा भयो।पर्वतमा हाजिर भएर दुई-तीन दिन बिताएपछि उनी दलदले- छत्तीसघरे घर आएको बेला थियो।उनकी दिदी बन्दना (बने) पनि आफ्ना दुई जना छोराहरू राजेन्द्र र सन्तोषलाई लिएर आफ्नो माइत छत्तीसघरे आइन्।वि.सं.2055 साल पुस मसान्तको कुरा हो यो।

बिज्ञापन

बन्दनाले आफ्नी आमा पुनमायालाई भेटिन्, आफ्ना छोराहरूको शुभ-उपनयन माघे सक्रान्तिका दिन देवघाटमा गर्ने आफ्नो योजना सुनाइन्।यसका लागि चाँजोपाँजो मिलाइन पनि।आमा-छोरीको भेट लामै समयपछि भएकाले यता छोरी पाएर आमा छक्क त, उता आमा भेटेर छोरी मख्ख ! निकै रमणीय क्षण सिर्जना हुन पुग्यो।  माघे सक्रान्तिको दिन बिहानै बन्दना आफ्ना छोराहरूलाई लिएर देवघाट गइन्।हिन्दु संस्कार अनुसार छोराहरूको ब्रतवन्ध गराएर बास बस्न उनी आफ्नो माइत नै फर्किन्।आफ्नो गक्ष र संस्कार अनुसार गणेश, उनकी आमा, दिदी, भान्जा र अन्य परिवारले त्यहीँ माघे सक्रान्ति मनाए, सकेको आनन्द लिए।

माघ २ गतेका दिन गणेश, उनकी दिदी र भान्जाहरू फर्किने सल्लाह भयो, योजना बन्यो।गणेश पर्वतको कुश्मा जाने र उनकी दिदी र भान्जाहरू गोरखाको निमेल जाने भए।आँबुखैरेनीसम्म बाटो उही भएकाले त्यहाँसम्म एउटै बसमा जाने कि भन्ने सोच समेत तिनीहरूले बनाएका थिए।पुग्ने ठाउँ फरक-फरक भएकाले नारायणघाटबाटै आ-आफू पुग्ने ठाउँका लागि छुट्टाछुट्टै बस समात्ने कि भन्ने पनि तिनीहरूले समानान्तरीय रूपमा सोचे, एक आपसमा कुरा गरे।यस्ता मानसिक द्वन्द्वकाबीच तिनीहरूलाई निर्णय गर्न समय लाग्यो।दलदले-छत्तीसघरेबाट बस चढेर नारायणघाट नआइपुगुञ्जेलसम्मको समय उनीहरूले यस निर्णयका लागि खर्चे पनि।

बिज्ञापन

नारायणघाटमा आइपुगेपछि भने उनीहरूले आ-आफूलाई अनुकूल हुने गरी पुग्ने ठाउँको फरक-फरकै बस समात्ने निर्णय गरे।सो मुताविक गणेशले पर्वत जान बाग्लुङको र बन्दना र उनका छोराहरूले निबेल जान गोरखाको बस समात्ने हिसाबले अघि बढे। गणेश पुल्चोकमा बाग्लुङको बस पर्खी बसे भने उनकी दिदी र भान्जाहरू रिक्सा चढेर गोरखाको बस लाग्ने ठाउँ नारायणघाटस्थित गोरखा बसपार्कतिर लागे।

‘अब दिदी र भान्जाहरू गोरखा आफ्नो घर कति खेर पुग्लान् ? म पर्वतको कुश्मा त साँझ हुन्छ पुग्दा ! पुस फासफुस भन्छन्।एक-दुई दिनले त यो पुसदेखि टाढा अर्थात् अगाडि छ नि !’ यस्तै सोच्दै गणेश एक्सप्रेस बसको फोल्डिङ सिटमा आफ्नो ढाडलाई मिलाएर अडेस लगाउँछन्।सिटमा बसेर सिट फोल्ड गर्ने बटन घुमाई सिटलाई विस्तारै पछाडि सार्दै मिलाउँछन्।र, वरिपरिका यात्रुहरूसँग समाहित हुँदै उनी आफ्नो यात्रा सुरु गर्छन्।

यसरी झ्यालको सिटमा बसेर एक्सप्रेस बसबाट यात्रा गर्दा गणेश निकै आनन्द लिन्छन्।बाहिर रुख हिडेको, मान्छेहरू दौडेको दृश्यले उनी थप रोमाञ्चित हुन्छन्।बीचमा नदी, पारी भिरपाखा, डाँडा, बुट्यानका हरियाली र त्यसबीचमा कतै-कतै घर तथा बस्ती देख्दा उनको मन थप तरङ्गित हुन्छ।यसले गणेशलाई आफ्नो जन्मस्थान गोरखा लाङदीको पाखो-पखेरीमा तत्कालै पुर्याउछ र त्यतै -त्यतै डुलाई उनको आफ्नो अतीतलाई कोट्याउन लगाउँछ, बाल्यकाललाई क्षणभरमा नै स्मरण गराउँछ।उनी आफ्ना तत्कालीन परिवार, साथीसङ्गी र परिवेश यसबेला स्वत: सम्झन पुग्छन्।

यस्तै सोच्दा सोच्दै उनको बस जलविरेदेखि केहीवर आइपुग्छ।अनि दिदी र भान्जाहरूको बस अगाडि वा पछाडि कता होला भनी सोच्छन् र ‘जता भए नि के भो र ! उनीहरू पुग्ने ठाउँ मेरो भन्दा धेरै नै नजिक छ के रे ! चाँडै नै पुगिहाल्छन्।’ भन्दै आफ्नो गन्तब्यतिर यात्रा र मनलाई गणेश एकाग्र गर्न थाल्छन् । यसै समय गणेशको बस जलविरेदेखि करिब पचास-सय मिटर मुग्लिनतर्फ के पुगेथ्यो, एउटा बस तल त्रिशुली नदीमा खसेको देखियो।गणेश चढेको बसका सबै कराउन थाले र भन्न थाले ‘लौ बस खसेछ, केही मिनेटअगाडि मात्रै खसेको रे !’ तिनैमध्येको कुनै एक यात्रीले भने।

‘लौ ! गोरखा जाने बस हो रे !‘ गणेशलाई यसपछि तनाब सुरु भइगयो।’वनमा बाघ कराउने, खोरमा बाख्रा हराउने‘ झैं भयो।उनी चढेको बस रोकियो, यात्रुहरू कोहीले झ्यालबाट त, कोहीले तल सडकमा नै ओर्लेर नदी तटमा नियालेर हेरे।गणेशको दिमाग भइपरी (Contingency) अवस्थामा प्रवृत्त भइ सोचमग्न हुन थाल्यो। गोरखा जाने बस पल्टिएर नदी तटमा पुगेको गणेशले देखे।बसको अगाडिपटिको भाग नदीमा डुबेको र पछाडिपटिको आधिभाग तटको बगरमा पानी बाहिर देखिएको थियो। ‘त्यो बस दिदी र भान्जा चढेको बस नभइदिए हुने‘ भन्दै गणेशले ईश्वरसँग पुकार गर्न थाले।’सत्यतथ्य के हो त ?आफ्ना प्रियजन चढेको बस हो कि होइन त त्यो ?’ भन्दै गणेश यथार्थ सूचना प्राप्त गर्नतर्फ यसपछि उन्मुख भए। बस सडकबाट करिब साठी मिटर तल बगरमा गुल्टदै पुगेको देखिएको छ।

गणेशले आफू आएको बसलाई तत्कालै छोडे।त्यसपछि उनी सडकबाट तल भिरालो पाखोमा झरे।गाडीले पाखोमा भएका बुट्यान र रुखलाई मडार्दै, भाच्दै, घस्रदै तल गएको डोब स्पष्टसँग देखिन्थ्यो।बस घिस्रेको डोब र त्यसको दायाँबायाँ चप्पल, जुत्ता, चुरा, मयत्रो, टोपी लगायत अन्य कपडाहरू छिरोलिएर रहेको थियो।कता-कता टाढा मानिसहरू रोएको आवाज पनि आएको थियो। पाखोमा डराउँदै र ‘हरे राम !’ भन्दै कराउँदै गणेश नदी तटतिर झरे।

उद्धारका लागि मानिसहरू आइरहेका थिए।तिनीहरूमध्ये कोहीले एकाध घाइते मानिसलाई समात्दै, झ्यालटुङ खेलाउदै सडक छेउमा लेराइरहेका पनि देखिन्थ्यो।
ब्रतबन्धमा भान्जाहरूको टाउकाको कपाल पूरै खौरिएको, मुडेको थियो।यदि त्यहाँ दुर्घटनामा परेको भए तिनीहरूलाई चिन्न त्यति गाह्रो नहुने गणेशलाई लागिरहेको थियो। तसर्थ गणेश नदीतर्फ जाने क्रममा उद्धार गरिएका हरेकको टाउकोमा छिटो-छिटो गरी हेर्थे।तर, मुडुलो कसैलाई पनि देख्थेनन्।

दश-बाह्र मिनेट त्यहाँ त्यसरी समय दिए गणेशले।त्यतिन्जेल पनि उनले आफ्ना मानिसलाई देखेनन्।दुर्घटनाग्रस्त बसभित्र जान भने गणेश डराए किनकि बसको आधा भाग नदीभित्र पानीमा डुबेको थियो।त्यहाँभित्र आफ्ना मान्छे भएको गणेशलाई आशङ्का मात्र लागेको थियो, निश्चित भने थिएन। आफ्नो मान्छे चढेको बस त्यो नभइदिए हुने भनेर परमेश्वरसँग गणेश बारम्बार पुकार गरिरहेका थिए।

यसै समय गणेशलाई लाग्यो ‘खोइ ! कतै देखिन दिदी र भान्जालाई।यसमा रहेनछन् क्यारे ! बचेछन् जस्तो छ।टाढा पुग्नु छ, अब जान्छु ।’ भनेर उनी माथि सडकमा आए र पोखरा जाने बसमा पुन: चढे।बसमा चढेपछि बसका यात्रीले ‘के भएको हो ?कसरी भयो यस्तो ?’ गणेशलाई बडो उत्सुकतासाथ करुणाभावमा सोधिरहे।

‘खोइ कसरी भयो ? त्यो त मलाई थाहा भएन।गोरखाको बस हो रे !’ गणेशले भने।अनि ‘तपाईँका कोही परे र त्यसमा ?’ तिनै यात्रीमध्ये कुनै एकले गणेशलाई सोध्छन्।’होइन ! मेरा दिदी र भान्जाहरू पनि नारायणघाटबाट गोरखाको बस चढेका छन्।यसमा नै परे कि भन्ने आशङ्का छ, त्रास र भयले सताएको छ।’ गणेशले आत्तिदै तर सम्हालिंदै उत्तर दिए। गणेश त्यसपछि मुग्लिनतर्फ आए।यसबेला उनको मनमा अनेक कुरा खेल्छ।त्यसबेला आजकालको जस्तो मोबाइल फोन थिएन कसैसँग पनि।यसको आविष्कार नै भएको थिएन कि ! मोबाइल भने नि वा जे भने पनि हामीकहाँ कतै-कतै वायरलेस फोन देखिन्थ्यो।केही मिटरको रेञ्जलाई यसले समात्थ्यो। बसमा चढेर अगाडि बढ्दा ठिक गरेँ कि बेठिक भनी गणेश पटक-पटक आफैँलाई प्रश्न गर्छन्।यस्तै सोचाइकाबीच उनी त्यहाँबाट आठ-दश किलोमिटरमा रहेको मुग्लिन बजार पुग्छन्।

होइन ! यदि त्यस बसमा दिदी र भान्जाहरू रहेछन् भने त बर्वादै हुन्छ नि ! एकैक्षण खोजतलास गर्दा नदेखेको त हो ! त्यसअगाडि नै उद्धार गरेर अस्पताल लगिएको पनि त हुन सक्छ।त्यसपछि पनि घाइतेहरूलाई जम्मा गरिँदै थियो, पछि जम्मा गरिएका घाइतेमध्येमा पनि त मेरा मान्छे हुन सक्छन्।यो अगाडि वा पछाडिकामध्येमा रहेछन् भने त बर्बाद नै हुन्छ नि ! मैले यहीँ मुग्लिनमा झरेर थप कुरा बुझ्नुपर्छ।म यस अगाडि बढ्नुहुन्न भन्दै गणेश त्यसपछि रोकिन्छन् र मुग्लिनमा झर्छन्। ‘जे गरे पनि धेरै छिटो-छटो गर्नुछ !’ भन्दै गणेशलाई लागेको छ।यसबीच उनी त्यस बसभित्र आफ्ना प्रियजन भए नभएको एकिन गर्न लागि पर्छन् ।

त्यस समयमा ठाउँ-ठाउँमा ल्याण्डलाइन फोनका बुथ भने देखिन्थे।मुग्लिन बजारमा रहेको यस्तै एउटा ल्याण्डलाइन बुथतिर उनी फटाफट हिँड्छन् र त्यहाँ पुग्छन् पनि।
आफ्नो खल्तीमा भएको सानो टेलिफोन डायरी झिकेर त्यसको पाना उनले पल्टाए।नारायणघाट बजारमा डेरा गरी बस्ने आफ्ना सहपाठी मित्र मोतीलाई उनले त्यहाँबाट फोन लाउँछन् र भन्छन् ‘ए मोति ! त्यहाँ जलविरेनेर गोरखा जाने बस नदीमा खसेको छ।मेरा दिदी र भान्जाहरू पनि नारायणघाटस्थित गोरखाबसपार्कबाट गोरखा जाने बसमा चढेका छन्। उनीहरू चढेको बस त्यही हो कि अर्को हो ? बुझ्न पर्यो, ल न प्लिज, त्यो काम बस काउण्टरमा गएर गरन यार प्लिज !’

‘ कति बजेको बस चढेको हो र ? ओके म गइहालेँ !’ मोतिले भने।

‘त्यस्तै आठ, साँढे-आठ बजेको बसमा चढेको हुनुपर्छ।दिदीको नाम बन्दना धिताल हो, भान्जाहरू राजेन्द्र र सन्तोष धिताल हुन्।छिट्टो गर है।म यहीँ बसी कुरिरहन्छु।’ गणेशले मोतिलाई आफू रहेको मुग्लिनको ल्याण्डलाइन बुथको फोन नम्बर टिपाउँदै भने। करिब पन्ध्र मिनेटपछि मोतिले गणेशलाई फोन गर्छन् ‘चलानी सिटमा उनीहरूको नाम लेखेको त देखिएन तर बिहानमा गोरखा एउटै मात्र बस गएको छ रे।अरू गएको छैन रे।’ भन्छन्।

‘ओ हो ! लौ, परे कि के हो ! यस्तो हुँदाहुँदै म अगाडि बढ्नु हुन्न।म अब उतै फर्कन्छु र सत्यतथ्य पत्ता लगाउँछु।’ भन्दै गणेश दुर्घटनास्थलतिर फर्किए।

मुग्लिनदेखि नारायणघाट जाने गाडी सेकेण्ड-सेकेण्डमै त्यतिखेर पनि पाइन्थ्यो।कुनै एक गाडी चढेर गणेश जलविरेतर्फ लागे।’के गर्ने ? कसो गर्ने ! परे कि जस्तै छ, परेको भए स्थिति के होला ? अघि पनि पाखोमा एकपटक सरर्र त हेरेको हुँ, देखिनँ।नभइदिएको भए हुने’ भन्दै उनले हजारौँचोटि भगवानसँग प्रार्थना पनि गरे।तर के गर्नु, परेको भए प्रार्थना गरेर रोकिने होइन, ‘हुने हार दैव नटार’ को लोकोक्तिलाई गणेशले पटक-पटक सम्झे र मुटु दह्रो बनाउँदै दुर्घटनास्थलतर्फ गइरहे।

दुर्घटनास्थल कट्ला भनी चनाखो हुँदै गाडीमा बसेका गणेशले सडकको साइडमा डिलतिर मान्छेहरूको भिड देखे र ‘ल त्यो दुर्घटनास्थलमा गाडी रोक्नु है।’ भने।गाडी रोकियो र उनी गाडीबाट ओर्ले पनि। गाडीबाट ओर्लनासाथ सडक छेउमा रेडक्रसको एउटा गाडी रोकेको थियो र केही घाइतेहरूलाई तलबाट झ्याल्टुङ खेलाउँदै सडकमा ल्याइँदै थियो।त्यसैमध्येमा एकजना टाउको मुडुलो भएको घाइतेलाई उनले देखे।त्यो देखेपछि उनले ‘आफ्ना तीन जना मान्छेमध्ये एउटा यिनै हुन्।’ टाढैबाट अनुमान लगाए र ‘ए भान्जा !’ भनी ती घाइतेलाई गणेशले बोलाए।

‘हजुर मामा।’ घाइते बोल्छन् ।

यस समय गणेशमा दु:खको ठूलो भार एकैचोटी पर्यो।सहन क्षमताभन्दा बढी दु:ख, पीडाको असह्य मार अकस्मात उनीमाथि बजारियो।तथापि, आफ्ना तीनजनामध्ये एकजनालाई भए पनि त्यहाँ सडक छेउमा ल्याएको देखेपछि गणेश निकै थोरै मात्रामा भएपनि खुशी भए।विशाल मरूभूमिमा एउटा वृक्ष भेटेर शितलतालाई आत्मसात् गरे झैं सूक्ष्म खुशीको अनुभूत गर्दै गणेशले तत्क्षण त्यो एम्बुलेन्सका चालकलाई ‘यी घाइते मेरा भान्जा हुन्।म पनि यही गाडीमा उनीसँगै जान्छु है ? ‘ भनी अनुमति मागे र गाडीमा चढे। जिउ, दारपात आदि हेरेर, यी भान्जा ठूला भान्जा राजेन्द्र हुन् भनी गणेशले चिनी हाले ।

‘राजेन्द्रको पछि लागेर सँगसँगै जाऊँ कि, बाँकी दुई जनालाई खोज्नतिर लागौं अझै केही बेठिक पो गरेँ कि !’ जस्ता मानसिक द्वन्द्वात्मक अवस्थामा उक्त एम्बुलेन्समा चढ्नासाथ केहीक्षण गणेशले गुजारे तापनि तत्कालै उनले सोच्छन्- आखिर मैले अघि यत्रो चाहर्दा पनि यिनीहरूलाई देखिन।अब फेरि, पाखोभरि चाहर्दा दिदी र सानो भान्जा सन्तोषलाई भेट्टाउँछु नै भन्ने के ग्यारेण्टी छ र ! फेरि मेरा आफ्ना घाइते र अन्य यी सबै घाइतेलाई यहीँका उद्धारकर्ताहरूले नै फेला पारेका हुन्, त्यसैले म त राजेन्द्रकै पछिपछि लाग्छु, बाँकी दुईलाई उहीँ अस्पतालमा खोज्नुपर्ला, भेट्टाईएला।

यसरी गणेश एम्बुलेन्समा चढेर अगाडि बढेकोमा ठिक गरेको पुष्टि गर्न पुग्छन्।यस्तोबेला निर्णय गर्न अत्यन्त गाह्रो हुन्छ।यो गरौं कि त्यो गरौंको अवस्थामा आई मानिस प्रशस्त दुविधामा पर्छन्।

एम्बुलेन्समा पाँचजना घाइतेहरू थिए।रुने, कराउने खासै गरेका थिएनन्।तिनीहरूलाई लस्करै सुताइएको थियो।राजेन्द्रले सर्टमाथि स्वीटर लगाएका थिए, तल पेन्टमा थिए उनी।पेन्ट च्यातिएको थियो।अनुहार भने स्पष्टैसँग देखिएको थियो।निधारमा देब्रे आँखामाथि ठूलै घाउ थियो र त्यस वरपर रगत लतपतिएको थियो।गणेशले बोलाउँदा उनी बोले।अरू गफ गर्ने मन नै भएन गणेशलाई।अरू घाइते पनि छन् तर इन्तु न चिन्तुको अवस्थामा ! स्वस्थ मान्छे एम्बुलेन्सको पछाडिपटि गणेश मात्रै छन्, अनि अगाडि चालक।
आफ्नो मान्छे भेटेका छन् गणेशले।एउटै भए पनि पहिचान गर्न सकेकोमा गणेशको हृदयमा कता -कता अत्यन्त थोरै भए खुशीको उदय त हुन्छ तर त्यो सूक्ष्म खुशी झन स-सानो हुँदै विस्तारै दु:खको त्यस महासागरमा बिलाउँछ।

बीचबीचमा गणेशले ‘भान्जा’ भन्दा ‘हजुर’ भनेका छन्।राजेन्द्रलाई अब सक्दो चाँडो अस्पताल पुर्याएर डाक्टकोमा पुर्याइहाल्नुपर्यो।के भएछ, कसो भएछ, कत्तिको डरलाग्दो अवस्था छ ? यी कुरा उहीँ पुगेपछि मात्र थाहा हुन्छ आदि कुरा मनमनै भन्दै, गम्दै ‘राजेन्द्र’ ! नआत्तिनू है ! हामी अब अस्पताल जाँदैछौँ ‘ भनेका के थिए गणेशले राजेन्द्रले ‘हुन्छ !’ भने।त्यसबाहेक त्यहाँ उनको शरीरमा कता-कता घाउ छ भनेर गणेशले हेर्न पनि सकेनन् र राजेन्द्रसँग अरू थप कुरा गर्न उचित पनि ठानेनन्, निकै डराए, भयले सतायो गणेशलाई। त्यस्तो डरलाग्दो दुर्घटना ! निकै अपर्झटको बेला ! एकपछि अर्को काम कैयौं त गणेशको कन्टेजेन्सी माइण्डले नै भए।केही मात्र भइपरी रूपमा योजनाबद्ध भए।अस्पताल पुग्न निकै समय लाग्यो जस्तो भयो उनलाई।यो सबै सकेसम्म छिटो पुग्नु परेको अवस्थामा निकै हतारको कारणले भएको थियो। अस्पताल पुगेपछि भने सहयोग गर्न त्यहीँ वरपरका नचिनेका अरु मानिस पनि आए।गणेशले अन्य घाइते सबैलाई सहयोग गर्न सक्ने अवस्था थिएन।त्यसैले उनी आफ्नो घाइते राजेन्द्रतर्फ मात्रै केन्द्रीत भए।त्यही एम्बुलेन्समा लगिएका अन्य घाइतेलाई को-कस्ले कता लगे उनलाई केही पत्तो भएन।

त्यहाँ दुर्घटनास्थलबाट राजेन्द्रको साथमा गणेश हुनु एउटा संयोग नै थियो।नत्र त्यहाँ कैयौं घाइतेहरूलाई अस्पताल पुर्याइए तापनि उनीहरूका नजिकका आफ्ना मान्छे उनीहरूलाई भेट्न त्यहाँ आईपुग्न भ्याएका थिएनन्, धेरैपछि मात्र तिनहरूले थाहा पाएर आफ्ना घाइतेलाई भेट्न, रेखदेख गर्न आए होलान्।तथापि, अस्पताल भने घाइते र हेर्ने भिडले खचाखच नै थियो। भरतपुरको त्यो सरकारी अस्पताल थियो।घाइते बिरामी, अन्य बिरामी र बिरामी हेर्ने मान्छेको भिडले त्यो खचाखच भरिएको थियो।बिरामी राख्ने वेड त्यहाँ कतै थिएन।भुइँमा समेत ओछ्यान बनाएर बिमारीहरूको उपचार गरिएको देखिन्थ्यो।

यसैबीच मुस्किलले छिँडीमा अलिकति ठाउँ भेटियो, जहाँ बिरामीका लागि एउटा कार्पेटमाथि ओछ्यान राखियो र राजेन्द्रलाई सुताए गणेशले र तुरुन्तै ‘अब फेरि मोतीलाई फोन गरेर बोलाउँछु र सहयोग माग्छु।’ भन्ने उनको मनमा आयो।राजेन्द्र भान्जालाई पानी पिलाईरहेका थिए बीचबीचमा, यतिखेर फेरि राजेन्द्रलाई केही घुड्को पानी खुवाए, बोत्तलको मिनलर वाटर र ‘म एकैछिन बाहिर गएर फोन गरी आउँछु है ! एकैछिन यहाँले हेरिदिनु होला है’ सहयोगी कसैलाई भन्दै गणेश बाहिर मेडिकलमा गए, ल्याण्डलाइनबाट फोन यस्तै एक-दुई रूपैयाँ तिरेपछि गर्न पाइन्थ्यो, गरे।

‘ए मोती ! दिदी र भान्जा त्यही बसमा परेछन् हेरन ! म त अहिले भरतपुर अस्पतालमा छु।तिमी केही पैसा लिएर तुरुन्त आउन प्लिज !’ गणेश यस्तै के-के भन्दै थिए ‘तिमी तिनीहरूको उपचारमा लाग ! म आइहालेँ, हिँडिहालेँ !’ मोतिले भने।

त्यसपछि गणेश डाक्टर खोज्नतिर लागे।बिरामी धेरै थिए।अस्पताल पनि त्यस्तो खासै ठूलो त थिएन ।बिरामीको वेड सङ्ख्याको आधारमा अस्पताल मझौला नै थियो।चितवन, नवलपुर, पहाडी जिल्लाहरू, तनहुँ, लमजुङ र गोरखातिरका बिरामी समेत त्यतै लागिन्थ्यो।त्यसैले त्यसबेला राजेन्द्रलाई तत्काल हेर्ने डाक्टर पाउनै गाह्रो भयो।
परन्तु, गणेशले त्यस वरपरका एक-एक डाक्टरलाई यसरी अनुनय विनय गरे कि मानौं राजेन्द्रलाई उनले छोइदिए पनि बच्छन्, अन्यथा मरिसके भन्ने अभिनय गर्न सके।’प्लिज डक्टर प्लिज’ त कति-कति भने र बल्लतल्ल एउटा डाक्टरले ‘पख्नुस् है अब जाउँला !’ भने र त्यसको दुईचार मिनेटमा हातै समाएर लगे गणेशले, यस्तो गाह्रो थियो डाक्टर भेट्टाउन त्यहाँ त्यतिखेर।

छिँडीमा राजेन्द्रले के-के सोचे यसबारे गणेशलाई कुनै पत्तो भएन।गणेश भने ‘पहिला राजेन्द्रको अवस्था के हो ? ‘ एकिन गरी उनको न्यूनतम उपचार अर्थात् प्राथमिक उपचार सम्पन्न गरौँ, अनि अरू दुई जनाका बारेमा सोधखोज गर्नुपर्ला’ भनी लागिरहे।

यसैबीच डाक्टरले राजेन्द्रको कपडा खोले।कता-कता घाउ छ, सबै हेरे।गणेशले राजेन्द्रको कपडा खोलेर त्यतिञ्जेल यसरी हेर्न सकिरहेका थिएनन्।डाक्टरले यसरी कपडा खोल्दा दायाँ खुट्टामा ठूलो चोट देखियो।मासु खर्ल्याप्पै गएको रहेछ। एउटा निकै ठूलो चौटो मासु निस्की खुट्टा वरपर रक्ताम्य भएको रहेछ।खुट्टा चलाएर हेर्न खोजे डाक्टरले तर राजेन्द्रले ‘दुख्यो’ भनेर चिच्याए, कराए।त्यसबाहेक वायाँ आँखामाथि अनुहारमा ठूलो घाउ छँदै थियो।

डाक्टरले छिटो-छिटो गरेर तापक्रम, प्रेसर सबै हेरे।अनि तुरुन्तै स्लाइन पानी चढाए।र, केही औषधी पनि लेखिदिए, त्यसपछि दबाइ किनेर गणेशले खुवाए।
‘बिमारीको अवस्था कत्तिको गम्भीर छ डाक्टर साहेब ?’ गणेशले के सोधेथे ‘होइन धेरै सिरियस चाहिँ छैन, तर खुट्टा भने भाँचिएको जस्तो छ, किनकि यो यताउता गर्न खोज्दा दुख्यो भन्छन् बिरामी, एक्स-रे गर्नुपर्छ ।’ डाक्टरले भने।

‘त्यस्तो साह्रो सिरियस होइन भने मेरा अन्य दुईजना आफन्त पनि यही दुर्घटनामा परेका छन्।कहाँ छन् अझतक थाहा छैन।मैले एकछिन समय लिएर खोज्नुछ डाक्टर साहेब, के गरौं ?’ गणेशले दु:खीत मुद्रामा सोधे।दुर्घटना र यसको सन्तापले जाडो महिनामा पनि गणेशको घाँटीतिर पसिना छुटेको स्पष्टै देखिन्थ्यो।
‘हुन्छ, तपाईँ जानसक्नु हुन्छ केही क्षणका लागि।राजेन्द्रका लागि आत्तिहाल्नु पर्दैन।पहिला ती दुईजना कता छन् बुझ्नुहोस्।’ डाक्टरले भने।
अस्पतालको भुइँभरि बिरामी थिए।घाइतेहरू ल्याउने क्रम चलिरहेको थियो।त्यहाँको बेडले पटक्कै धानेको थिएन।’आमा हो ! बाबा हो ! लौन मरेँ।’ यस्तो आवाज जताततै सुनिएको थियो।यसैबीच एक-एक घाइतेका छेउमा गणेश पुगे।’यो हो कि, त्यो हो कि, आफ्ना मान्छे’ भनेर दिदी र कान्छा भान्जाको पहिचानका क्रममा एक-एक घाइतेमाथि उनले नजर लगाए र फटाफट तिनको सामान्य भौतिक परीक्षण पनि गरे।
त्यहीँ कतै बाटोमा मिल्काइएको अवस्थामा एकजना महिलालाई उनले देखे।उनको कपडा र अनुहार सबै धुलोले पोतिएको थियो।ती महिला आफ्नै दिदी हो कि जस्तो गणेशलाई लाग्यो।
गणेशले ‘ए दिदी’ भनेर बोलाए।ती महिलाले ‘हजुर’ भनिन् ‘नआत्तिनूस् है ! सबै कुरा ठिक नै छ ।’गणेशले अरू कुरा थपे।यति भएपछि बाँकी कुरा त बिस्तारै गरौंला नि भन्दै सन्तोषको खोजीमा गणेश लागे।अलिक पर अगाडि बढ्दै जाँदा अर्को टाउकाको कपाल खौरिएको एउटा केटो उनले भेटे।’ए भान्जा’ के भनेको थिए तिनले ‘हजुर’ भनिहाले।यति भएपछि गणेशले आफ्ना मान्छे पूरै भेटे र यसपछि भने एउटा ठूलै उपलब्धि भयो भनेझैं उनलाई लाग्यो।

सन्तोषलाई गणेशले वल्टाई, पल्टाई उनको शरीर पूरै हेरे।अन्त खासै केही थिएन, यद्यपि, अण्डकोषको जोर्नीमा एउटा ठूलै घाउ लागेको उनले देखे, त्यस ठाउँवरपर रक्ताम्मे भएको थियो, रगत बगेर सुकेको टाटो पनि देखिन्थ्यो।तथापि, उनी राम्रैसँग बोलिरहेका थिए। अब दिदीनेर जान्छु भनेर गणेश फेरि फर्किआए।यतिखेर फेरि ती महिला त उनकी दिदी नभएको जस्तो उनलाई लाग्यो।धुलोले लतपतिएकोले उनलाई आफ्नो दिदी चिन्न गाह्रो भइरहेको थियो।अब विस्तारै ती महिला उनकी दिदी होइनन् भन्ने कुरा उनलाई एकिन भयो।त्यपछि उनी फेरि त्यहीँ वरपर यसो हिँड्दै, नियाल्दै दिदी खोज्ने क्रममा अवलोकन गर्न थाले। अलिकति पर के पुगेथे ‘ए बाबु !’ भनेर दिदी आफैँले गणेशलाई बोलाइन्।उनी पनि भुइँमा नै लडाइएकी अवस्थामा थिइन्।बाहिरबाट हेर्दा दिदीको शरीरमा धुलो लत्पतिएको देखिन्थ्यो, त्यसबाहेक कुनै घाउ तथा चोटपटक कतै थिएन।तथापि, आत्तिएर ‘लौन बाबु ! भान्जाहरू कता छन् ? के भयो यस्तो ?’ भन्दै कहिले के भन्ने त कहिले के भन्ने, अर्धपागल अवस्थामा उनी रहेकी गणेशले भेट्टाए।’ दिदीलाई दोहोर्याई, तेहेर्याई हेरे किनकी त्यसपूर्व अर्कै आइमाई मान्छेलाई दिदी भन्नठानी उनी झुक्किएका थिए।त्यस्तै गरी फेरि पनि गल्ती होला कि भनी उनी यसपटक निकै सजग भएका थिए।
अब भने गणेशका मित्र मोति पनि आइपुगे।उनले गणेशलाई तीन हजार रूपैयाँ पैसा दिए।’दिदी र भान्जालाई फेला पारेँ।मैले सकेको गरिरहेको छु।तिमीले दलदले छत्तीसघरे घरमा गएर आमा र दाइभाइलाई खबर गरिदेऊ न, छिट्टो जाऊ न, प्लिज।’ गणेशले निकै हतारिँदै भने।
मोति त्यसपछि हत्तारिँदै दलदले-छत्तीसघरेतिर लागे।
दिदी र सन्तोषलाई तुलनात्मक रूपमा कम घाउ तथा चोटपटक भएको पाएपछि सख्त घाइते भएका राजेन्द्रको पछाडि गणेश धेरै लागे।दश-पन्ध्र मिनेटभित्रमा एकपटक दिदी र सन्तोषकहाँ उनी आउने गर्थे।बाँकी समय राजेन्द्रलाई केयर गरी उनी बस्थे।

‘राजेन्द्र ! नआत्तिनू है।अब छत्तीसघरेबाट मामाहरू आउनुहुन्छ।अनि हामी तिमीहरूलाई काठमाडौं लान्छौं।ममी र भाइलाई पनि मैले फेला पारेँ।त्यस्तो आत्तिनु पर्ने केही छैन।’ भन्दै गणेशले राजेन्द्रको मनोबल उच्च राख्न हरसम्भव प्रयास गरिरहन्छन्।अत्यन्त सिधा र सज्जन राजेन्द्रले प्रतिउत्तरमा ‘हुन्छ, हुन्छ मामा !’ भन्छन्।
यसैबीच राजेन्द्रसँग केही बोल्न मिल्ने देखी ‘तिमीहरू बसको कुन भागमा बसेका थियौ त भान्जा ?’ भनी गणेशले सोधे।

‘अगाडि र बीचतिरको सिट प्याक थियो, पछाडिको सिट भने खाली रहेछ, अनि हामी त्यहीँ पछाडि गएर बसेका थियौं मामा।’ भान्जाले भने।

आइ सि ! आइ गट द पोइन्ट ! गाडीको अगाडिको भाग नदीमा डुबेको थियो।पछाडिपटिको लगभग आधा भाग मात्रै पानी बाहिर देखिएको थियो।अगाडि भएको भए यिनीहरूले पानी पिउन पनि नपाउने रहेछन्।सत्तरी- पचहत्तर जना यात्रु थिए रे ! बीसजना जतिको त मृत्यु नै भयो भन्ने सुनेको छु।यसमै पर्ने रहेछन् हाम्रा मान्छे ! यही मनोवादकाबीच हाम्रा मान्छेलाई बचाइदिएकोमा गणेशले भगवानलाई लाखलाख धन्यवाद दिए, त्यस्तै अपार आभार प्रकट गरे।

धेरै आपत् पर्दा पनि मानिसले आफ्नो क्षमता अनुसार नै गर्नुपर्ने रहेछ।यहाँ यसक्षण पनि त्यही भएको छ।गणेश सकेसम्म सबैको हित रोज्छन्, नभए पनि धेरैको कल्याण खोज्ने मानिस हुन्।यसक्षण भने आफ्ना आफन्त मृत्युबाट जोगिएकामा भगवानलाई धन्यावाद दिँदा उनी स्वार्थी भएका देखिन्छन् भनौं वा आफ्नो क्षमताको परिवन्दमा परेर उनले यसो गर्नु परेको छ।उनले अस्पतालमा अरू घाइतेका लागि केही गर्न सकेका छैनन्।आफ्नै आफन्तमा पनि आलोपालो गरी उनीहरूको हेरचाह गरेका छन्, यसर्थ एकजना मानिसको सामर्थ्य सीमित हुने र उसले थोरै मात्र गर्न सक्ने यथार्थतालाई यसले उजागर गर्दछ।

करिब डेढ घण्टापछि साथी मोति हुर्रिँदै आइपुगे, उनीसँगै गणेशका दाइ विष्णु र भाउजू विन्दु र भाइ नरेश पनि गुरगुर्ति आए।यसरी आफ्ना मानिस आएपछि भने गणेशले अलिक सुबिस्ताको श्वास फेरे।

गणेशका परिवार प्राय: सबै काठमाडौंमा बस्ने थिए।तीन-तीन जना घाइते बिरामी, भरतपुरको अस्पताल, बिरामीले अस्पताल खचाखच भरिएको थियो।प्रारम्भिक परीक्षणबाट बन्दनालाई सख्त त्यस्तो नराम्रो केही भएको त देखिएन।तथापि, निकै आत्तिएको अवस्था भने थियो उनको।शारीरिक चोट देखिने गरी त्यस्तो केही नभए पनि उनीमा असैह्य पीडा र छटपटी भने थियो।आफ्ना दुई छोराहरू, आफ्नो सारा भविष्य त्यस त्रिशुली नदीमा बजारिँदा, मडारिँदै पुग्दा त्यस्तो क्षण गुजार्नु नै बन्दनाका लागि एउटा असोचनीय ठूलो कुरा थियो, यसले उनको मनस्थितिमा ठूलो खलल ल्याएको देखिन्थ्यो, उनको मानसिक अवस्था केही असन्तुलित भए झैं देखिन्थ्यो, सन्तोषलाई अण्डकोषमा घाउ लाग्नु बाहेक अरू शारीरिक चोटपटक केही थिएन।बाहिरबाट हेर्दा ठूलो चोट केवल राजेन्द्रलाई थियो।

तथापि, यस्तो दुर्घटना हुँदा बाहिरबाट नदेखिने गरी भित्र-भित्रै केही भएको भने हुन सक्थ्यो, गणेशलाई यसको ठूलो भय थियो।

काठमाडौं गएर उपचार गराउँदा ठाउँ पनि ठूलो, आफ्नै कोठाबाट आउ जाउ गरी हेरचाह गर्न पनि सकिने आदि देखेर गणेशले डक्टर साहेबलाई ‘डक्टर साहेव ! हामी काठमाडौंमा डेरा गरी बस्छौं।प्राय: सबै परिवार उतै छौं।हाम्रा बिरामी त्यति धेरै सिरियस तत्काललाई त देखिएनन्।यहाँ अस्पताल पनि सानो र साँघुरो छ, बिरामी धेरै भएकाले यहाँहरूलाई सेवा प्रवाह गर्न पनि गाह्रो भइरहेको छ।तसर्थ, हाम्रा घाइतेहरूलाई काठमाडौं रिफर गरिदिनुपर्यो ।’ भने।
‘ठिक कुरा गर्नुभयो।’ डाक्टर साहेवले जवाफ दिए।
‘उसोभए हामी गाडी खोजौं त डक्टर साहेब ?’ गणेशले हतास मिश्रित भावमा सोधे।
‘हुन्छ’ डाक्टरले भने।
‘राजेन्द्रलाई स्लाइन पानी चढाइरहेको छ।हामीलाई यो फेर्न आउँदैन।एउटा स्वास्थ्य सहयोगी वा नर्स पनि लानुपर्ला नि !’ गणेशले डक्टरको सहयोग माग्दै यी कुरा के राखेथे ‘हो, लानु राम्रो ! यतै वरपर त्यस्ता स्वास्थ्य सहयोगी मानिस पाइन्छन्, पैसा भने केही लिन्छन्, आपसी संवादद्वारा चार्ज टुङ्गयाउनुस् न !’ डाक्टरले सहयोगी भाव देखाउँदै सल्लाह दिए।
त्यसपछि विष्णु, गणेश र नरेश एकीकृत भई अस्पतालबाट तीन जना घाइते आफन्तलाई डिस्चार्ज गर्नतिर लागे।एकजना स्लाइन पानी चढाउने स्वास्थ्यकर्मीको जोहो पनि तत्कालै गरे र त्यसदिनको चार बजेतिर उनीहरू काठमाडौंतर्फ हानिए।
एम्बुलेन्समा तीनजना घाइतेका अलावा नरेश र गणेश बसेका थिए।विष्णु र विन्दु वाइकमा एम्बुलेन्सको पछिपछि आए।
राजेन्द्रसँगै उनको स्लाइन पानीको रेखदेख गर्न एकजना स्वास्थ्यकर्मी बसेका थिए।बेलाबेलामा गणेश र नरेशले ‘के कस्तो छ भान्जा अहिले ? ‘ भनेर राजेन्द्रलाई र सन्तोषलाई सोध्थे। ‘ठिकै छ मामा’ भनेर उनीहरूले उत्तर दिन्थे।
‘काठमाडौं पुर्याएर कतिखेर औषधी चलाउँला’ भन्ने ताल र सुरमा मामाहरू देखिन्छन्। यसैबेला थानकोट कट्न के लागेका थिए।’यो दुर्घटना नभएको भए म अझै कहिलेसम्म पो काठमाडौं आउन नपाउने थिएँ है मामा !’ सन्तोष भान्जाले आफू पहिलोपटक काठमाडौं आएको र त्यसको लागि त्यस दुर्घटनाले सहयोग गरेको बालपना प्रसङ्ग जोड्दै यी कुरा गरे।
यता काठमाडौंमा रामचन्द्र वीर अस्पतालमा हामीलाई कुरिरहेका थिए।घाइतेहरूलाई लिएर उक्त अस्पतालमा रातको करिब एघार बजेतिर पुर्याइयो।तीनै जनालाई त्यस अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरियो।रामचन्द्र पूरा तयारीका साथ बसेकाले घाइतेहरूको सघन उपचारको जिम्मा यसपछि उनले लिए।
गणेश त्यसपछि केही सुविस्ताको श्वास फेर्दै आफ्नो डेरा सानेपातिर लागे।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष