राजनीतिक दलहरू राजनीतिक विचार सहितका संगठन हुन्। यिनीहरूको जन्म संगै यिनीहरूको राजनीतिक र आर्थिक गन्तब्य तय हुन्छ। यिनीहरू राजनीतिक प्रतिस्पर्धा गर्न जनता समक्ष जान्छन् र यही प्रतिस्पर्धाबाट चुनिएकाहरूले स्थानीय र केन्द्रीय सरकार बनाउछन्, मान्यता यही हो।
बिज्ञापन
राजनीतिक दलको परिभाषा हेर्दा- A political party is a group of people who come together to contest elections and hold power in government . They share common political beliefs,ideologies or goals and work together to influence public policy and decision making. भन्ने बुझिन्छ।यसको अर्थ राजनीतिक दल हुनको लागि राजनीतिक गन्तब्य र त्यो गन्तब्यमा पुग्न अपनाउनु पर्ने सार्वजनिक नीति स्पष्ट हुन जरूरी हुन्छ। हाम्रा राजनीतिक दलहरूले दल दर्ता गर्दा कागजमा यी कुरा त उल्लेख गरेका हुन्छन् तर यस्ता सार्वजनिक नीतिको कार्यान्वयनमा ज्यादै चुक्ने गरेको स्थिति देखिन्छ।
बिज्ञापन
राजनीतिक दलको संख्या जति भए पनि यिनीहरूको गन्तब्य एउटै हुनु पर्ने हो तर बिडम्वना नै भन्नु पर्छ हाम्रा नेताहरूको गन्तब्य दश तिर फर्केको छ र यिनीहरू प्रष्ट सार्वजनिक नीतिको पनि अभाव छ। त्यसैले हाम्रा राजनीतिक दलहरु असफल भएका हुन्। हाम्रा राजनीतिक दलहरूको स्पष्ट गन्तब्य नभएको मात्र हैन यसका नेताहरूमा न भिजन छ, न मिशन छ, न प्रजातान्त्रिक संस्कार छ, न देश र जनताको चिन्ता छ, चिन्ता छ भने आफ्नो र आफ्ना आशेपासेको मात्र छ। यी नेताको भूमिकाले नेपालका राजनीतिक दललाई अपांग बनाएको पाईन्छ।
संसदलाई विभिन्न आरोप लगाउने नेपालका वाम पन्थी दलहरू छातीमा लोगो लगाएर संसदका नक्कली पहरेदार हुनु र खुला बजारमा बिश्वास गरेको नाटक गर्नु राजनीतिक ईमान्दारिता पक्कै हैन। त्यसै गरी निजी क्षेत्रको पक्षपाती मानिने र प्रजातन्त्रको पक्षपाति मानिने प्रजातान्त्रिक दल समाजवाद हुदै साम्यवाद सम्म जान्छु भन्नु र कथित साम्यवादी संग गला जोड्नु पनि ईमान्दारिता हैन होला। यी दुबै दललाई मलजल हुने गरी विभिन्न नामबाट देखा परेका राजनीतिक दलहरूको न त गन्तब्य स्पष्ट छ न त सार्वजनिक नीति, यिनीहरू पनि जनतालाइ अलमल पार्ने गरी बीच बाटो मै रूमलिएको अवस्था छ। यस प्रकार नेपालका राजनीतिक दलहरू असफल देखिएको पाईन्छ।
बिज्ञापन
राजनीति गर्न राजनीति बुझेको हुनु पर्छ तर हाम्रो देशमा कसले कति मर्न र मार्न सक्यो? को कति वर्ष जेल बस्यो? कसले बढी ढुंगा मुढा गर्न सक्यो? कसले कतिलाई अपहरण गर्न सक्यो? जस्ता प्रश्नलाई आधार बनाएर राजनीतिक मैदान खाली गरिन्छ। राजनीति समय अनुसार चल्न सक्नु पर्छ, मैले राजनीतिक शब्दकोषमा पढेको यही हो भनेर त्यसलाई लागू गर्न खोज्नु जडशूत्रवाद हो , यसलाई राजनीति भनिदैन।
राजनीति कलकल बहने खोला जस्तो हुनु पर्छ। जब यो जमेको पोखरी जस्तो हुन पुग्छ त्यो विषाक्त हुन जान्छ। नेपालको वर्तमान राजनीति जमेको पोखरी संग ठ्याम्मै मिल्न जान्छ। किनभने यहांका कुनै पार्टी ४ दशक सम्म एउटै ब्यक्तिको कब्जामा छन् र २ देखि ३ दशक सम्म पार्टी नेत्तृत्त्वमा बस्ने कुरा त यहाका पार्टीमा सामान्य भै सकेको छ। त्यसैले पनि यहांका राजनीतिक दलहरू सफल छैनन्।
प्रजातन्त्रमा आवधिक चुनाव एक महत्वपूर्ण आभूषण हो तर आवधिक चुनावले दिएको नतीजा भने त्यति सकारात्मक पाईदैन। हुन त परीक्षामा प्राप्त हुने प्राप्तांकले श्रेणीको निर्धारण गर्छ तर सो परीक्षा मर्यादित भएको हुनु पर्छ। यस प्रसंगमा हाम्रो चुनावी परीक्षा कति मर्यादित छ सोचनीय छ। जसरी अमर्यादित परीक्षाको प्राप्तांकले मेधावी विद्यार्थी छनौट गर्न सक्दैन त्यसै गरी अमर्यादित राजनीतिक परीक्षाले पनि गतिलो नेता छान्न सक्दैन। किन कि परिणाम मुखी सबै प्राप्तांकले गुणात्मक नतिजा दिन सक्दैनन्।
देशको विकासमा आन्तरिक साधन र श्रोतको अतिरिक्त वैदेशिक श्रोतको पनि उत्तिकै भूमिका हुन्छ। धनी र समृद्ध राष्ट्रलाई समेत बाहिरी सहायता अपरिहार्य हुन्छ भने नेपाल जस्ता अल्प विकसित राष्ट्रको लागि त झनै अनिवार्य हुन्छ वैदेशिक सहायता तर गन्तब्य बिहीन नेपालका राजनीतिक दलहरूलाई यस्तो सहयोग कमै प्राप्त हुन्छ। त्यसैले राजनीतिक दलको यस्तो धरमरको वैदेशिक नीतिका कारण वैदेशिक सहायता आशातीत रूपमा प्राप्त हुदैन र जसको असर देश विकासमा पर्छ।
राजनीतिक दलहरू कमजोर हुनुको असर सरकारले दिने डेलीभरीमा पनि पर्छ। यस्ता दलहरूले बनाएको सरकार द्वारा प्रदान गरिने सेवाको गुणस्तर कमजोर मात्र हैन अपारदर्शी पनि हुने गर्छ जुन वर्तमान नेपालले भोगी रहेको तीतो यथार्थ हो। अन्त्यमा, देशमा विद्यमान राजनीतिक दलहरूले आफ्नो गन्तब्यलाई भुलेर एक आपसमा लहसिएर आफ्नो अस्तित्व गुमाउदै गएको वर्तमान स्थितिलाई पुनरावलोकन गरी पार्टीलाई सही मार्गमा डोर्याउन राजनीतिक चेत भएका यूवाहरू यूद्ध स्तरमा अगाडि बढ्नुको विकल्प छैन। यी यूवाहरूले राजनीतिक चिन्तनलाई समसामयीक बनाई विगतका कमी कमजोरी सच्याएर अगाडि बढ्नु समयको माग हो।