प्रकाश अहिले छत्तीस-सैँतीस वर्षको छ।गणेशसँग प्रत्यक्ष भेटघाट हुँदा ऊ छब्बीस-सत्ताईस वर्षको थियो।करिब दशवर्ष अगाडिदेखि गणेश र प्रकाश सँगसँगै काम गर्छन्।
बिज्ञापन
त्यस अगाडि पनि गणेशले प्रकाशलाई अलिक टाढैबाट देख्दै आएको त थिए।तथापि, उसको आनीबानी गणेशलाई राम्रोसँग थाहा भने थिएन।
बिज्ञापन
मनमैंजुको लोकतान्त्रिक चोकतिर बेलाबखत ‘ ए साथी ! हेल्लो ! आउनुस्, सिट खाली छ, केही सिट त अलिक परबाट पनि खाली हुन्छ, ए हजुर ! बाटो यसो छोडिदिउँ न।’ भन्दै यात्रु महानुभावहरूलाई यसरी अत्यन्त आदर गर्दै आफ्नो माइक्रो बसभित्र बस्न आग्रह गर्ने थियो प्रकाश।शहरमा शहिदगेटबाट मनमैंजुको लोकतान्त्रिक चोकसम्म बेलाबखत गणेशले प्रकाशको माइक्रोलाई यस्तै अवस्थामा देख्थे।उसको खलासीकार्य यस्तो थियो कि ऊ निकै चर्कोसँग बोल्थ्यो, आवाज स्पष्ट थियो।ए आमा-बुबा, ए काका ! ए साथी ! हेल्लो हाई ! बाबु ! यस्ता आदरार्थी शब्द, प्रेमिल वाणी ‘मानिसलाई जाऊँ-जाऊँ त्यता, प्रकाश बोलिरहेछ जता’ भन्ने लाग्ने गरी प्रकाश र उसको गाडी शहरमा हुइँकिएको गणेश बेला-बेला देख्थे, भोग्थे।
गणेशलाई ‘यस्तो मान्छे को रहेछ ?’ भन्ने लाग्थ्यो ।संयोगले दुई-चारपटक गणेश पनि सोही माइक्रोमा यात्री भएका थिए।प्रकाश भाडा उठाउँदै आउँथ्यो, गणेशले भाडा दिन्थे, प्रकाश लिन्थ्यो।
बिज्ञापन
त्यसपूर्व प्रकाशका बारेमा गणेशलाई सिर्फ यति मात्र थाहा थियो -ऊ शहरमा सुनिने आवाज हो, मानौं कतै कुनै रितको बाजा बझिरहेछ, प्रफुल्ल मनबाट उद्दिपन भएको एउटा निश्चल आवाज, जसले मानिसको ध्यान सहजै खिच्छ।गणेशको ख्यालमा त्यतिञ्जेल आफूसँग काम गर्नु अगाडिको प्रकाश यस्तै थियो।
त्यही प्रकाश, खलासी प्रकाश वा कन्डक्टर प्रकाश पछि आएर त माइक्रो चालक भइसकेछ।रामचन्द्र र कृष्ण भाइका माइक्रो चलाउन थालेछ।पछि, भाइहरूले माइक्रो बेचेपछि पनि आकाशमा कर्याङकुरुङले मौसमी चक्रमा अभियान चलाएर आफूमुन्तिरका मानिसलाई जमिनमा बासस्थान सरेको सन्देश दिए झैं प्रकाश शहरमा आफू कहाँ छु र कता जाँदैछु भन्ने सन्देश उसको बेजोडको सोहोरिएको बोली, व्यवहार र चर्को हाँसोले दिने थियो।
त्यही प्रकाश पछि संयोगले गणेशको आफ्नो कार्यालयको सवारी चालक भयो, गणेससँग लगभग दश वर्षसम्म सँगै रह्यो।चाहे पुनर्निर्माण प्राधिकरण होस् वा प्रदेशको भौतिक मन्त्रालय सुर्खेतमा होस् वा गण्डकी प्रदेशको ऊर्जा मन्त्रालय, यी सबै ठाउँमा गणेशले आफ्नो सरुवा हुँदा प्रकाशलाई पनि सँगसँगै लाने मेसो मिलाए र लगे पनि।अझै सरुवा भएर पोखराबाट काठमाडौं फर्कन लाग्दा बिदाइको क्षणमा ‘सर मलाई पनि राजधानीतिरै तान्नु है !’ भन्ने प्रकाशको उद्गारलाई गणेशले सम्झिरहे।अनेक झन्झटका बावजुद पनि प्रकाशलाई आफ्नो कार्यालय काठमाडौंमा चालक भई काम गर्ने अवसर गणेशले पुन: मिलाए।
‘हा.., हा,..हा’ विलक्षणकासाथ हाँस्छ प्रकाश।यसरी हाँस्छ कि ऊ सय मिटर जति टाढा छ र हाँसेको छ भने ‘ए प्रकाश त्यहीँ रहेछ’ भनी सजिलै गरी थाहा पाउन सकिन्छ।लगभग सबै कुरामा ऊ हास्य रस भेट्टाउँछ।उसमा हाँसो स्थायीभाव अन्तरनिहित छ।हर कुरालाई सरल र सहज रूपमा लिन्छ।ऊ रक्सी पिउने, तास खेल्ने र केटीका पछि लाग्ने कुनै खराब आदत छैन।ऊ रकम खर्च गर्नमा अत्यन्त मितव्ययी छ।उसको बोलाई औसत भन्दा चर्को छ।र, त्यही स्तरको आवाज ऊ एकनास रूपमा बोल्छ।आवाजमा उतारचढाव छैन।चिन्ता, पीर केही लिन्न।उसको दिमागले राष्ट्रिय, अन्तर्राष्ट्रिय र माथिल्ला तह र स्तरका व्यक्तिहरूका कुरा र विषयलाई विश्लेषण गरी खेलाइरहन्छ।
‘ए सर ! रसुवाको टिमुरेमा ठूलो बाढी आयो।यसले स्थानीय बजारलाई सखाप पार्यो भन्नेदेखि लिएर इजरायलसँग केही लड्न सक्ने मध्यपूर्वमा इरानबाहेक कोही रहेनछ।’ भन्नेसम्मका कुरा गर्छ। स्पेसमा पछिल्लो समय भारतले गरेको चमत्कारदेखि हाम्रा यहाँका नेताले भारत-पाकिस्तान युद्ध रोक्न खेलेको भूमिका आदि सबैका बारेमा साङ्गोपाङ्गो गफ गर्दै एक हलको मेलो ‘हा,हा,हा..’ गरी हास्ने प्रकाश आज पनि गणेशसँगै काम गर्छ- एक सज्जन र अत्यन्त सिपालु चालकका रूपमा।
गणेश पुस्तकालयका सौखिन छन्।उनका पुस्तकालयमा नाना थरीका पुस्तक छन्, साहित्यिक र गैरसाहित्यक सबैखाले।नेपाली भाषाका पुस्तकहरू, अर्थात् साहित्यिक पुस्तकहरू चाहिँ प्रकाशले एक- एक गरी लगेर पढिसकेको छ।यस्तो अध्ययन र बोल्ने कला भएको प्रकाशलाई गणेशले सुर्खेततिर हुँदा ‘तिमी एघार-बाह्र पनि पढ न।’ यस्तै के भनेथे, त्यसलाई प्रकाशले कार्यान्वयन पनि गरिहाल्यो।रसुवाबाट उसले बाह्र कक्षा पास गरेको पनि एक वर्ष भइसकेको छ।
क्यारिकेचरमा माहिर प्रकाश बाँसुरी बजाउन पनि त्यतिकै सिपालु छ।हाँस्न र हँसाउन जानेको प्रकाशको शब्दकोशमा ‘रिस’ भन्ने शब्द छैन।लोभ मानिसमा हुनुपर्ने जति छ।महत्वाकाङ्क्षा ठूलो छैन। यसरी ऊ जिएको छ कि लाग्दछ, ऊ जत्तिको खुशी कमै मान्छे होलान्।पीर, चिन्तालाई उसको क्षण-क्षणमा छुट्ने ला-लामा हाँसोले भगाउँछ।प्रकाशको हाँसो उसको जीवन खुशी रहनुको एक मुख्य अस्त्र हो भन्दा अतिशयोक्ति नहोला।
पछिल्लो पटक काठमाडौं सरुवा भई आएपछि भने प्रकाश अलिक बढी नै घर जान थाल्यो।’होला नि त काम ! उसका परिवार पनि उतै छन्, जाओस्’ भन्दै गणेशले उसलाई छोडि नै रहे।कहिले बैङ्कको किस्ता तिर्नु छ भन्दै त, कहिले खानेपानी लाइन जोड्नु छ भन्दै प्रकाश अलिक छोटो-छोटो समय अन्तरालमा घर जान थाल्यो।प्रकाश घर नजाओस् भनी उसलाई सम्झाउने काम गणेशले गरे तर बोल्न सिपालु, तर्क र तथ्याङ्क पेस गर्न माहिर प्रकाशले ‘हुन्छ नि !’ भन्दै गणेशलाई एक हलको मेलो हाँसो छोडि नै रह्यो।
क्षण-क्षणमा खित्का छोडेर हाँस्ने प्रकाशले यस्तै एउटा हप्ताको बीचमा बुधबार र बिहीबार दुई दिन सार्वजनिक विदा देख्यो पात्रोमा।अनि फेरि शुक्रबार एक दिन छुट्टी लिँदा चारदिन छुट्टी बस्न मिल्ने पनि देख्यो।
गणेश यता मन्त्रालयमा सरुवा भई आएपछि त्यहाँ धेरै कुरा लठपत्र नै देख्छन्।भनौं कसलाई ? के भनौं ? यहाँ वर्षौं यसरी नै बितिरहेछ।उनका दुई-चार कुराको त्यहाँ कुनै मूल्य नहुने ठानी उनी आफ्नो निवृत्त हुने दिन तिथिमिति सहित कुरिरहन्छन्।
यसरी आफ्नो ड्राइभर पटक-पटक घर गई रहँदा गणेशलाई उसको ठाउँमा अर्को चालक मिलाउन सधैँ गाह्रो हुन्छ, सक्दैनन्।मन्त्रालयमा मन्त्री र सचिवबाहेक अरूका कुरा साधारणत: बिक्दैनन्।यो वा त्यो मन्त्रालय भन्ने छैन, हामीकहाँ प्राय: सबै मन्त्रालयको हालत यस्तै छ।त्यसैले प्रकाश सकेसम्म घर कम जाओस्, र जाँदा पनि सार्वजनिक बिदाको दिनमा मात्रै जाओस् भन्ने चाहना गणेश राख्दछन्।
यस्तै बेलामा ‘ए सर! फेरि घर जाने अनुरोध गर्नुछ मैले हजुरलाई!’ प्रकाशले आफ्नो महाशाखा प्रमुखतर्फ फर्केर खिस्स हाँस्दै भन्छ।सधैँ एक हलको मेलो क्षण-क्षणमा हाँस्ने प्रकाश अहिले भने एक फ्वाँकको फिस्स हाँसोमा नै खुशी भइरहेको देखियो।
त्यसपछि केही समय त्यहाँ तिनीहरूका बीचमा संवादशून्यको स्थिति हुन्छ।’सरले के भन्ने हो, जसरी पनि घर नगई भएको छैन, त्यत्रा दिन छुट्टी छ’ भन्ने प्रकाशलाई परिरहेको छ भने ‘छुट्टी मागिहाल्यो, कसरी दिउँ कसरी ! नदिउँ कसरी !’ यसको उपयुक्त उत्तरको खोजीमा गणेश केहीक्षण खर्चन्छन् र अन्तिममा जे पर्ला पर्लाको शैलीमा ‘ठिक छ नि त ! जाऊ ! तर कहिले फर्कन्छौ नि ? ‘ भनी सोध्छन्।
‘मङ्गलबार बिहान मै छोडिदिन्छु।बेलुकी घर फर्कन केही व्यवस्था गर्नुपर्ला।शुक्रबार र आइतबार दुई दिन पनि सरले गाह्रो-साह्रो व्यहोर्नु पर्ने भयो।सोमबार बिहानै म सरकोमा खाना खान आइपुग्छु, अनि अफिस लगिहाल्छु ।’ प्रकाशले हिसाब, किताब गर्दै एकदिन म बैङ्कको काम गर्छु र र अर्को दिन चाहिँ खानेपानीको काम गर्छु भन्दै दुई कार्यालयदिन चाहिनुका कारण प्रस्तुत गर्यो।
अफिस आउन अत्यन्त गाह्रो छ।कार्यालय समयमा सार्वजनिक यातायात चढ्नै सकिन्न।त्यति प्याक हुन्छ कि बोरा कोचेर लगे जस्तै गरी लान्छन् यात्रुलाई।चढिहाले पनि, सिटमा गई बसिहाले पनि ओर्लन त्यति नै सकस छ।केही रुट जस्तै: रत्नपार्कदेखि लगनखेल, बानेश्वर र नेपाल यातायात चल्ने रुटबाहेक अन्य रुटको हालत अत्यन्त खराब छ।विकसित देशमा खसी बोकालाई त्यसरी राखिन्न जसरी यहाँका सार्वजनिक यातायातमा यात्रुलाई कोचिन्छ।अफिसबाट अर्को चालक मिलाउन पनि नसकिने अवस्था छ, आफ्नै महाशाखाको पिकअप भ्यान पनि विग्रेर थन्केको छ।अब यस्तो अवस्थामा प्रकाशलाई छोड्ने कसरी ? उसले आफ्ना त्यस्ता जरुरी काम देखाएपछि नछोड्ने कसरी ? यस्तै धर्मसंकटकाबीच गणेशले ‘हुन्छ, जानू’ भनी प्रकाशको घर गमन प्रस्तावउपर सहमत जनाउँछन्।
मंगलबार गणेशलाई अफिस छोडेर प्रकाश आफ्नो घर रसुवा गयो।प्रकाश घर पुगेर आफ्नो काम गरिरहेको छ, भने अनुसारकै समयमा ऊ फर्कन्छ भन्ने पत्यार गणेशलाई लागेको छ।
घर पुगेर ‘म आइपुगेँ’ पनि भन्दैन प्रकाश ! ऊ फोन गर्ने मामलामा अलिक कमजोर छ।वा, मितव्ययी छ, यस्तै भनौं।ऊ आफ्नो मासिक आम्दानीको पाँच प्रतिशत अर्थात् करिब सय रूपैयाँ फोन खर्चलाई छुट्याउँछ।त्यसैले हतपत काम नपरी ऊ फोन गर्दैन।घर पुगेपछि ‘म आइपुगेँ’ भन्ने सूचना दिनुपर्ने काम प्रकाशलाई महतत्त्वपूर्ण ठहर्दैन।त्यसदिन मात्र होइन, त्यस उप्रान्त पनि ऊ आफ्नो यस्तो अवस्था जनाउ गर्न कहिल्यै फोन गर्दैनथ्यो।’ए प्रकाश तिमी पुग्यौ ? ‘ भनेर गणेशले नै फोन गर्थे।
यसपटक गणेशले प्रकाशलाई खुशीका साथ छोडेका थिएनन्, घर धेरै गएर प्रकाशले दु:ख दिइरहेको छ भन्ने उनलाई लागेकोले यसपटक उनले त्यस पूर्व झैं प्रकाशलाई घर पुगे नपुगेको फोन गरी सोधेनन्।
‘आउला त सोमबार प्रकाश !’ गणेशलाई यस्तै लागिरहेछ।
यस क्रममा सार्वजनिक बिदाका दुबै दिन बित्छन्।शुक्रबार पनि सकिन्छ।
‘अझैसम्म पनि प्रकाशले फोन गर्दैन।के कसो गर्यो होला ? यसरी त भए न नि !’ भन्दै गणेशले प्रकाशलाई अब फोन गरे।
प्रकाशले फोन उठायो।’ए के भयो ? कति काम गर्यौ ?’ गणेश उसलाई सोध्छन्।’आज धुन्चे गएको सर शुक्रबार ! बैङ्क म्यानेजर बिदामा रहेछ।काम केही भएको छैन ।’ प्रकाशले उत्तर दिन्छ।
‘ए ल ! अब आइतबार होला नि त’ ! भन्दै गणेशले फोन राखे।
‘ ए ! आज के भयो नि ? आज काम सक्यौ ?’ गणेश फेरि आइतबार साँझ सोध्छन्।
‘होइन सर ! आज बैङ्कको काम सकेँ।भोलि एकदिन खानेपानीको काम गर्नुछ।म मंगलबार बिहान मात्र आइपुग्छु हजुर !’ प्रकाशले प्रत्युत्तरमा भन्यो।
‘लौ मार्यौ !’
हनुमानस्थानबाट नेपाल यातायात चढेर महाराजगञ्जमा ओर्लँदै त्यहाँबाट चक्रपथको गाडीमा चढी गुणस्तर विभागअगाडि ओर्लिएर दश मिनेटको पैदलदूरी हिँडेपछि आफ्नो घर मनमैँजु पुग्ने गरी कार्यालय आउजाउको व्यवस्था मिलाएका गणेशले प्रकाशको यस्तो कुरा सुनेपछि दिक्क मान्छन् र थप धेरै कुरा नगरी ‘ए ल ल ! तिम्रो इच्छा गर।’ भन्दै फोन ढ्याप्प राख्छन्।
यसै समय मन्त्रालयले बिहान अपर्झट बैठक राख्दा उनी ‘पठाओ’ बाट जान्छन्।
प्रकाश घर जाँदा गणेशको अफिस आउजाउ यसरी नै चल्छ।यसपटक प्रकाश अलिक लामै समय घर बसेकोले गणेशलाई गाह्रै भएको छ।’कस्तो नबुझ्ने भएको होला यो प्रकाश आजकाल।’ भन्ने उनलाई लागिरहेको छ।
प्रकाशले भने ‘त्यत्रो पदको मान्छेले एउटा गाडी मिलाई हाल्छन् नि !’ भन्ने सोचे जस्तो देखिन्छ।सकेसम्म अरूलाई दु:ख नदिने बरू सामान्य नै भएर रहने, दु:ख व्यहोर्ने गणेशको स्वभावलाई यसबेला प्रकाशले बिर्सेजस्तो छ।साथै त्यसपूर्व जस्तो यसबेला गणेश अरूलाई खटनपटन गर्ने स्थानमा पनि छैनन् र मन्त्रालयमा मन्त्री र सचिवका बाहेक अरूका कुरा खासै नचल्ने कुरा प्रकाशले बिस्तारै बुझ्दै जाला जान त भन्ने गणेशलाई लाग्दछ।
‘मंगलबार बिहान आउँछु’ भन्ने प्रकाशले के गर्यो त !’ यस्तै सोची सोमबार बेलुकी ‘हेल्लो प्रकाश ! के छ खबर ? ‘ गणेश फोन गर्छन्।
‘होइन सर ! म त काठमाडौं आइपुगेँ ! भोलि बिहानदेखि हजुरको ड्युटी गर्छु।’ सोचाइ र बोलाइमा स्थिरता र एकरूपता नभएको श्रृङ्खलामा यी कुराहरू प्रकाश थपिदिन्छ।
गणेश दङ्ग पर्छन्।’के हो ? कहिले के भन्छ ? कहिले के ! यो मानिस पहिला त यस्तो होइन, अहिले किन यस्तो ? मैले बढी माया गरेकोले यो यसरी मातेको हो ? काठमाडौं आइसकेछ, हिँड्दा म हिँडे भन्नु नि छैन।आइपुगेपछि म आएँ त भन्नुपर्छ नि, त्यो पनि छैन।ए राम ! यसलाई के भएको होला ?’ गणेशलाई यस्तै लागिरहेछ।’मंगलबार बिहान आउँछु काठमाडौं भनेकोमा सोमबार बेलुकी नै आएर राम्रो त भयो तर किन जे गर्छ त्यही भन्दैन वा जे भन्छ त्यही गर्दैन ?’ भन्दै प्रकाशको काम गराइ र बोली व्यवहारबाट गणेश आश्चर्यबोध गर्छन्।
मंगलबार बिहान करिब पौने चार बजेतिर गणेशको म्यासेन्जरमा प्रकाशले भ्वाइस कल गर्यो ! अर्धनिद्रामा रहेका गणेशले निरन्तर रिङटोन बजिरहँदा आँखा मिच्दै मोबाइलमा यसो हेरे, प्रकाशले गरेको देखे।’हिजो हिँड्दा पनि फोन नगर्ने, आइपुग्दा पनि फोन नगर्ने, अहिले यतिखेर रातमा चाहिँ किन गर्ने ? यसको फोन म उठाउँदिन।’ भन्दै उक्त फोन नउठाई अरू एकाध घण्टा ओछ्यानमा नै सुते।पौने पाँच बजेतिर उठेर ‘होइन राति फोन गरेको थियो ?’ भन्दै प्रकाशलाई पुन : सम्पर्क गरे।
‘ए प्रकाश ! किन हो ? रातमै फोन गरेको ! के भयो ? ‘ गणेश केही रिस मिश्रित भावमा सोध्छन्।
‘होइन।मलाई समस्या पर्यो।म केही बिरामी पनि छु।म अझै रसुवामा नै छु।अब हिँड्छु सर !’ डर मिश्रित स्वर र अधैर्यशैलीमा प्रकाश आफ्नो कुरा राख्छ।
‘यो बदमासले के गरेको ? किन झुटो बोलेको ! राम ! राम ! यसलाई सकिने भएन ! अब फोनबाट अरू के भन्ने ? बाँकी कुरा भेटेरै गर्नुपर्ला।आफूखुसी गर्छ।यस्तालाई के भन्नु ? आए आओस्, नआए नआओस्।’ यस्तै मनोवाद पहिला गर्दै ‘ल ल तिम्रो इच्छा अनुसार गर’ भन्दै रिसाएर गणेशले फोन राखे।
गणेशलाई अब प्रकाशका कुराप्रति कुनै विश्वास लाग्दैन।ऊ मंगलबार बेलुका आइपुग्छु त भन्छ तर त्यस अगाडिका तीन-चार दिन उसले बोलेको कुरा कुनै पनि नपुगेकोले प्रकाश कहिलेदेखि यस्तो झुट बोल्न थालेको हो ? र किन यस्तो गरिरहेछ भन्दै विश्मय नै विश्मयमा गणेश हुन्छन्।प्रकाश मातेको, उसले आफूलाई टेरपुच्छर लगाउन छोडेको भन्ने निष्कर्षमा गणेश पुग्छन् र प्रकाश त्यसदिन बेलुका आउने कुरालाई उनले पत्याएनन्।
गणेशले त्यसपछि आफूले प्रकाशलाई फोन नगर्ने निधो गरे।त्यस्तो मातेको मान्छेलाई फोन किन गर्ने ? ऊ आफैंले मलाई फोन गरोस् भन्दै प्रकाशको तर्फबाट फोन वा म्यासेज कुरिरहन्छन्।यसैबीच प्रकाशले उनलाई ‘म आइरहेको छु सर। साथमा मेरो बाबा र पत्नी चमेली पनि मेरो हेरचाह गर्न आइरहेका छन् ! ‘ भनी एस्एम्एस् गर्यो।
यस्तो म्यासेज देखेर प्रकाशको हेरचाह उसको बाबा र पत्नीले किन गर्नुपर्यो ? भन्दै गणेश थप चकित पर्छन्। एकपछि अर्को चकित हुने कुरा सुनिरहनुपर्दा गणेश ‘ यो प्रकाश काम नलाग्ने भयो, यसलाई अब जागिरबाटै हटाउनुपर्छ’ भन्ने निष्कर्षतर्फ उन्मुख हुन्छन्।
यत्तिकैमा मंगलबार दिउँसो करिब साँढे तीन बज्दा ‘म यहाँ हजुरको घरमा छु अहिले।मेरा बाबा र चमेली पनि यहीँ सँगै छन्।सरलाई लिन आउन के गर्ने ? ‘ प्रकाशले फोन गर्दै गणशेलाई सोध्छ।’हुन्छ तिमी तुरुन्त आइहाल यहाँ !’ गणेशले प्रकाशलाई आफूकहाँ बोलाउँछन्।
पहिला कहिल्यै त्यस्तो झुट नबोल्ने प्रकाशले यसबेला यस्तो झुट धेरै बोल्यो।अस्वभाविक कुराहरू धेरै गरेको बदमास प्रकाशको अनुहार हेर्न गणेश आतुर भए।उसलाई भेटेर सुरुमा साफले कराउने र त्यसपछि सम्झाउने मुडमा गणेश देखिन्छन्।
यत्तिकैमा प्रकाश हस्याङफस्याङ गर्दै आइपुग्यो, मन्त्रालयमा गणेशको कोठामा छिर्यो र ‘नमस्कार सर’ भन्यो।
‘के भयो प्रकाश ? किन यति झुट बोलेको ?’ यस्तै, यस्तै के-के गणेश भन्दै थिए तर उनले आफ्नो भनाइलाई थप तन्काउन नपाउँदै ‘माफ गर्नुहोस् सर ! मलाई सञ्चो भएन, त्यही भएर बाबा र चमेली पनि म सँगसँगै आएका छन्।मलाई माफ गर्नुहोस् ।’ अलिक हतारिँदै, हडवड गर्दै प्रकाशले कुरा राख्यो।
‘प्रकाश अलिक दुब्लाएको पनि छ।केही हडवड पनि देखिन्छ।पहिला त यो यस्तो होइन।के भएछ यसलाई ?’ गणेश केही ठण्डा हुँदै ‘यो त साँच्चै बिरामी पो परेछ कि क्या हो।’ भन्दै सोच्न थाल्छन् ।’म त तिमीलाई जागिरबाटै हटाउनुपर्ने सोचमा पुगेको थिएँ।बाबा र चमेली किन आएका हुन् ? ल बताऊ त सविस्तार !’ थप विस्तार गर्न प्रकाशलाई गणेशले भने।
प्रकाशले घटनालाई यसरी विस्तार गर्यो-
यसपटक खानेपानीको लाइन घरमा जोड्ने मेरो मुख्य काम थियो।भूकम्पको अनुदानले मैले आफ्नो घर २०७८ सालमा बनाएको थिएँ।त्यतिखेर नै मैले खानेपानी लाइन जोड्न उपभोक्ता समितिमा निवेदन दिएको थिएँ।ईश्वरले अहिलेसम्म पनि लाइन जोडिदिएन।त्यो समस्या त छँदै थियो।बैङ्कमा गएको पनि म्यानेजर बिदामा बसेको रहेछ।दोस्रो पटक जाँदा पनि बैङ्क म्यानेजरलाई भेट्न सकिनँ।
‘अनि दोस्रो दिन त बैङ्कको काम भयो भनेको होइन तिमीले ?’ गणेशले प्रकाशलाई सोध्छन् र प्रतिउत्तरमा ‘कति काम भएन भन्ने भयो, के भनौं के भएकोले भयो भनिदिएको हुँ सर !’ प्रकाशले भन्यो।
‘अरू के-के छ ? सबै भन, नलुकाऊ’ प्रकाशका लागि गणेशले कुरा गर्न अनुकूल वातावरण सिर्जना गर्दै भने।
आत्तिँदै, छिटो छिटो बोल्दै प्रकाश पूरा अस्थिर देखिएको थियो।तर गणेशले भने यसपछि केही ठण्डा भएर सोच्न थाले र प्रकाशलाई त साँच्चै समस्या परेको रहेछ के रे भन्ने लागेपछि आक्रामक भएका गणेश प्रकाश उपर विस्तारै शान्त देखिन थाले।प्रकाश पनि केही राहत भएको महसुस गर्न थाल्यो।सधैँ हँसिलो, खुसिलो र फुर्तिलो देखिने प्रकाशमा तत्क्षण त्यो जोस र खुशी भने पटक्कै थिएन।उसलाई के भएको हो भनी जान्न यस क्षण गणेश क्रमश : उत्सुक भए।
प्रकाश पनि आफ्नो वास्तविक समस्याको पोको फुकाउने क्रममा त्यसपछि लागिरह्यो।
प्रकाशले थप्दै भन्यो-
पोखराबाट काठमाडौं आएको तीन महिना भयो, नियुक्ती पाएको छैन, तलब पनि पाएको छैन।कोठाभाडा दुई महिनादेखिको तिर्न बाँकी छ।सापटी माग्दा ड्राइभरलाई कसैले पैसा पत्याउँदैनन्।फेरि चार वर्ष हुन लागिसक्यो, खानेपानीको लाइन जोडिदिन्नन्।बैङ्ककको किस्ताले पनि त्यस्तै तनाव दिएकोछ।म त मर्ने भएँ सर, तनावै तनावले।खाना राम्रोसँग खाएको पनि छैन।निद्रा पनि राम्रोसँग लाग्दैन।अस्ति एकरात त खानेपानीको लाइन जोड्ने भनी राती एक बजे नै घर छोडेर निस्केछु।चमेली र बाबाले मलाई रोक्न बाटोमा आए र पुन: घर लगेर सुताए।
मेरो स्वास्थ्य खराब भएकोले बाबा र चमेली निकै चिन्तित छन्।चमेली पनि निकै मानसिक तनावमा छे, निकै आत्तिएकी छे।उसलाई पनि खाना नरुच्ने, निद्रा नलाग्ने भएको छ।मैले उसलाई नछोड्ने र उसले पनि मलाई नछोड्ने कसम खाएर ऊ मसँग आएकी छे।हामी दुवैलाई यस्तो भएको देखेर बाबा पनि हेरचाहका लागि सँगै आउनु भएको छ।सरले मेरा लागि धेरै कुरा गर्नुभयो।सरले गर्दा नै मैले नेपालको पैँसठ्ठीवटा भन्दा बढी जिल्ला घुम्ने अवसर पाएँ।भूकम्प प्रभावित बत्तीस जिल्ला त घुमेँ नै। सुर्खेत बस्दा हुम्ला बाहेक त्यताका सबै जिल्ला घुमेँ।पोखरा आएपछि त्यस्तै रमणीय ठाउँहरूमा जाने मौका जुर्यो।सरकै प्रेरणाले एसएलसी सकेर बसेको मैले अहिले बाह्र पास गरिसकेको छु।सरको लाइब्रेरीबाट धेरै ज्ञान लिएको छु। सरको बोली, व्यवहार र ज्ञानबाट म निकै दीक्षित छु। सर, म र हाम्रो परिवारका लागि हजुर त भगवान नै हो, गणेश भगवान ! भन्दै प्रकाश बेस्सरी भावनामा बग्न थाल्यो।गणेशको रिस र आवेगको पारो यसपछि उसले तत्कालै जिरोमा झार्यो।
प्रकाशको यति कुरा सुनेपछि गणेश झल्याँस्य भएर व्युँझन्छन् र सोच्छन् –
ला बित्याँस परेछ ! यसको मानिसक स्वास्थ्यमा गडबड भएछ ! कि एनजाइटी वा डिप्रेसन यस्तै केही भएछ ! यसले तीन-चार दिनदेखि जुन गडबड गरेको थियो, यही भएर रहेछ ! नत्र यो मान्छे त्यसपूर्व त यस्तो थिएन।अहिले आएर मात्रै यसले आफ्नो समस्या विश्वास लाग्ने गरी मलाई बतायो।मानसिक स्वास्थ्य विग्रेका मानिसहरूले उनीहरूको स्वास्थ्य विग्रिएको कुरा स्वास्थ्य विग्रिसकेपछि भने उनीहरू कहिल्यै स्वीकार गर्दैनन्।त्यस्तो भएको कुरा आफ्ना नजिकका मानिसले ख्याल नगर्ने हो भने त्यस्ता मानिसको जिन्दगी सदाका लागि सकिन्छ।यो प्रकाशले कम्तीमा आफ्नो समस्या स्वीकार गर्यो, बुझिने गरी मलाई बतायो।भगवान ! यसलाई मैले थप कडिकडाउ गरेर झण्डै आगोमा घ्यू थप्ने काम गरिनछु।
गणेश यस्तै के सोच्दै ‘ए ल जाऔं मनमैँजु घर, तिम्री चमेली र बाबा पनि भेट हुनुहोला।गाडी चलाउन त सक्छौ नि ?’ भनी प्रकाशलाई सोध्छन्।
‘हो सर ! चमेली र बाबा मनमैँजुमा नै छन्।गाडीमा बसेपछि गाडी चलाउन त गाह्रो भएको छैन मलाई।राम्रैसँग आएँ के रे !’ प्रकाश आफ्ना कुरा राख्छन्।
‘अब छिटो गरी घर पुग्नुपर्यो।उसकी चमेली र बाबालाई यसबारे सोध्नु पनि पर्यो र मानसिक समस्या भए नभएको निधोको लागि यस सम्बन्धी डाक्टरकहाँ जानुपर्ला ! कृपा फार्मेसी, नयाँ बजारमा लानुपर्ला !’ भन्दै गणेश गाडीमा चढे र प्रकाशले गाडीलाई हुइँक्यायो।
कतै गाडी चलाइमा गडबड त छैन भन्दै गणेश प्रकाशको गाडी हुइँकाइलाई बेलाबखत ख्याल गर्छन् र गाडी राम्रैसँग चलाएको देख्छन्।
आफ्ना कुरा राख्न थालेपछि एकोहोरो गरी चर्को-चर्को स्वरमा लामो बोल्ने भएको छ प्रकाश। बेलाबखतमा अत्तालिने, उत्तिखेरै यो गर्ने त, उत्तिखेरै त्यो गर्ने अधैर्य पनि देखिएको छ।
गणेश र प्रकाश दुवै मनमैँजु घर पुग्छन्।उसको बाबा र चमेलीलाई भेटेपछि गणेशले प्रकाशका बारेमा उनीहरूसँग जिज्ञासा राख्छन् र सोध्छन्- ‘प्रकाशलाई के भएको हो र ? आज आएर सञ्चो भएन भन्छ, हिजो अस्ति त कहिले के, कहिले के कुरा गरेर ढाँटेको थियो।पहिलाजस्तो छैन, के भएको हो ? ‘
चमेली खासै नबोल्ने, निकै लजालु छे।यसरी आफ्नो बुढोको हाकिमले सोधेको देख्दा ऊ थप लजाई, पटक्कै बोलिन। प्रकाशको बाबाले चमेलीकोसमेत कुरा समेट्दै मेरो जिज्ञासा उपर यसरी प्रस्ट्याए-
‘त्यही त सर ! अस्ति राति एक बजे पानी जोड्ने भनेर कराउँदै, चिच्याउँदै घरबाट यो निस्क्यो।हामी पछिपछि गएर समातेर फिर्ता ल्यायौँ।नसुत्ने ,कराउने, खाना कम खाने भएको छ।’
‘मानसिक समस्या हो कि जस्तो छ, अब छिटो-छिटो गरेर अस्पताल जाऔं। मैले यस सम्बन्धी एउटा डक्टरलाई चिनेको छु नयाँबजारमा उहीँ जाऔं।’ गणेशले कुरा राखे।
त्यसपछि प्रकाशलाई दुईवटा रोटी र तरकारी खुवाएर उसैद्वारा गाडी चलाउँदै चारजना कृष्ण डाक्टरकहाँ कृपा फार्मेसी गए।टोकन लिएर पालोमा बसे। पैसा रहेनछ प्रकासँग।गणेशले सोह्रखुट्टे बस्ने आफ्नो दाइ विष्णुलाई तीस हजार रूपैयाँ लिएर तुरुन्त आउन अनुरोध गरे। विष्णु तत्कालै पैसा लिएर त्यहाँ आइपुगे।पालो आएपछि बिरामी प्रकाशसहित पाँचैजना डाक्टरको कोठामा गए।चर्को बोल्ने, धेरै बोल्ने प्रकाशले त्यसक्षण झन् चर्को र झन् बढी बोलिरहेको थियो।
डाक्टरले ज्वरो, प्रेसर, नाडीको धड्कन आदि सबै जाँचे।प्रकाशलाई प्रश्नहरू पनि गरिरहे।प्रकाश एकोरिएर लामो-लामो बोल्दा डक्टरले उसलाई ब्रेक लगाएका थिए।गाडी चलाउँदा गेयरले गाडी नियन्त्रण गर्ने प्रकाशको गेयरले यसबेला भने केही काम गर्न सकेको छैन।डक्टरले नै उसलाई यसबेला लामो बोल्नबाट रोक्न आफ्नो डाक्टरी गेयर र ब्रेक लगाउन परेको छ।
‘यस्तो बेल्यो भने त सरकारी जागिर जान्छ नि प्रकाश !’ डक्टरले के भनेका थिए प्रतिउत्तरमा ‘ए हजुर ! म रसुवाको हुँ ! हिमालको काखमा बस्छु।जङ्गलको आडमा मेरो घर छ । हिमालको हावा नै काफी छ हजुर ! वनको हरियालीमा रमाउँदै त्यस वरपरको चिसो हावा खाएर नै म बाँच्न सक्छु।मलाई शहरको बाजागाजा चाहिन्न, मेरो गाउँघरको चराचुरुङ्गीको आजाव सुनेर नै रमाउँछु।सरकारी जागिर गए पनि मेरा यी हात र पाखुरालाई कसैले हडप्न सक्दैनन् नि हजुर !’ प्रकाशले भन्यो। प्रकाशले जागिरको विकल्पमा यस्तो दह्रो कुरा गरेकोमा सबै तीनछक परे।
यसपछि डक्टरले ‘एन्जाइटी हो, मैले दिएको दबाई खानूँ।पाँचदिन पछि के कस्तो हुन्छ फेरि आउनू।’ भन्दै हामीलाई बिदा गरे।
खाना थोरथोरै खाने र छिपछिपे निदाउने प्रकाश त्यो औषधी खान थालेपछि भने निदाउन थाल्यो।उसलाई खाना पनि विस्तारै रुच्दै गयो।उसलाई थप पच्चीस हजार रूपैयाँ चाहिएछ।त्यो पनि खोजेर दिइयो।खानेपानी जोड्ने समस्या पनि उपभोक्ता समितिका अध्यक्ष ईश्वरसँग फोनफान गरेर टुङ्याइयो।यता अफिसबाट उसले नियुक्ति पत्र पायो, त्यसपछि तलब पनि आयो।यसरी हाँसोबाट रमाउँदै हिँड्ने प्रकाश केही समय समस्यामा परे तापनि तुरुन्तै त्यसलाई छिचोल्दै त्यसबाट बाहिर निस्क्यो र पुन: साविक झैं हाँस्न थाल्यो।