कुलिङ पिरियडमा चलखेलको आरोप लागेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूले सो जिम्मेवारी छाड्ने बताएका छन् । कुलिङ पिरियड’ प्रावधानमा छलछाम भएका कारण छानबिन समिति बनाउने तयारी भइरहेसँगै समिति सभापति रामहरि खतिवडाले सो जिम्मेवारी छाड्ने बताएका हुन ।
बिज्ञापन
निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था गर्न नयाँ दफा थपियो तर पुरानै दफा कायम राखेर नयाँ व्यवस्थालाई निष्प्रभावी बनाइएको बिषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले सभापति र समितिका सचिव सुरज कुमार दुराले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।
बिज्ञापन
निजामती सेवासम्बन्धी विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ प्रावधान राखेको थियो । तर यो प्रावधान निस्क्रिय हुने गरी ५ नम्बरको उपदफामा संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था राखिएसँगै मस्यौदाको अन्तिम हस्ताक्षरकर्ताका नाताले सभापति खतिवडा र सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए ।
सो समितिमा रहेका माओवादी,राप्रपा,एकीकृत समाजवादीका सदस्यहरुले मात्र नभइ काँग्रेसकै सांसदहरुले चर्काे आलोचना गरेसँगै समिति सभापति रामहरि खतिवाडले आफूले जिम्मेवारी छाड्ने बताएका हुन ।
यो बदमासी छानबिन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएसँगै छानबिन समिति बनाउने तयारी छ । छानबिन समिति बनेसँगै सभापति खतिवडाले उक्त जिम्मेवारी छाड्ने बताएका हुन । सभामुख देवराज घिमिरेले संसदीय छानबिन समिति बनाउन विभिन्न दलहरुसँग सदस्यहरुको नाम माग गरिसकेका छन् । संसदीय समिति बनेपछि आफू समितिमा नजाने,सभापतिको हैसियतले गाडी पनि नचढ्ने उनको भनाइ छ ।
बिज्ञापन
उता समितिका सचिव सुरजकुमार दुराले आफूले जिम्मेवारी छाडिसकेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलको क्रममा विद्येयकको अन्तिम हस्ताक्षरकर्ताको हैसियतले सचिव दुराले राजीनामा दिनुपर्ने आवाज उठेको थियो ।
नेकपा एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेदेखि पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठका अलवा अधिकांश सांसदहरुले समिति सभापति खतिवडा र सचिव दुराले राजीनामा दिनुसर्ने आवाज उठाएका छन् ।बैठकमा कृष्ण गोपाल श्रेष्ठले सचिव सुरजकुमार दुरालाई भोलिदेखि बैठकमा देख्न नपरोस् भन्दै चेतावनी दिएका थिए । उनले तत्काल राजीनामा दिएर बाटो लाग्न आग्रहपूर्ण चेतावनी दिएका थिए । उनले भनेका थिए, दुराजी तपाईले यो समितिको सचिव रहिरहने नैतिक अधिकार गुमाइसक्नुभयो, भोलिदेखि हामी यता हेर्दा पनि हेर्दैनौँ, भोलिदेखि देख्न नपरोस् ।’
दुरा तीन साता अघिमात्र सहसचिवबाट सचिवमा बढुवा भएका हुन । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो । सोही रिक्त पदमा उनी बढुवा भएका हुन । सचिवमा बढुवा भए पनि उनी प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिवको जिम्मेवारीमा थिए । कुलिङ पिरियडमा भएको चलखेलमा संलग्न रहेको आरोप लागेपछि दुराले समितिको सचिव पदमा नरहेको बताएका छन् । दुराले आफूले बुधबारदेखि नै समिति छाडिसकेको बताएका छन् ।