दाइ पनि विचारका हिसाबले जेनजी हो– जेनजी पुस्ताका नवीन भाइले भने । नवीन भाइ मेरा गाउँले हुन् । उनले र मैले बाँचेको समय केही फरक छ । उनले र मैले समाजलाई बुझ्ने तरिका फरक छ । तर हामी हाम्रो चिया जक्सनमा भेटिएका छौँ । मलाई हिजोआज जेनजी पुस्तासँगको मित्रता मिठो लागिरहेको छ । म केही सिकिरहेको छु यो पुस्ताबाट ।
बिज्ञापन
जेठको पहिलो साता काठमाडौँ बर्सादीले भिजेको छ् । बर्सादी दिनमा काठमाडौँ गाउँको मकैबारीझैँ भिज्छ, निथ्रुक्कै । विष्णुमतीमा आउने सानोतिनो बाढीले वातावरणलाई केही सफा बनाएझैँ लाग्छ । विष्णुमतीको सघन बाढीलाई जेनजीसँगै हेर्न मज्जा लाग्छ ।
बिज्ञापन
प्रिय नवीन भाइ र म गाउँको चौतारीमा खेल्दै हुर्कियौँ । उसले बेत्रावतीको बोर्डिङ पढ्यो, मैले धारापानीको साधारण स्कुल । बोर्डिङ स्कुलमा पढेको शिक्षाले विश्व बजारमा उसलाई योग्य बनायो, मैले पढेको शिक्षाले मलाई नेपालमै अयोग्य बनायो । गाउँको चौतारामा मेरो पुस्ताले तितेपातीको चुङ्गी खेल्यो । कच्ची सडकका ढुङ्गाहरू टिपेर गट्टा खेल्यो । पात्लेको अम्बा टिपेर दिउँसो खाजा खायो । कुनै पर्यटकले फोटो खिच्दा खुसी भयो । रेडियोमा चिठी पठायो । गज्जब ढङ्गले बाल्यकाल बितायो ।
म लेखक साथी विश्वास नेपालीलाई सम्झिन्छु । उनले मटानमा बारेर सानो कोठा बनाएका थिए । एउटा खाट पनि राखेका थिए । उनको खाटमा केही साहित्यिक किताबहरू थिए । त्यसमध्ये थियो विश्व प्रसिद्ध उपन्यास लोलिता । मैले उनैसँग मागेर लोलिता उपन्यास पढेको थिएँ । तर त्यो समय मैले लोलिता उपन्यास कसरी बुझ्नु र खै ?
बिज्ञापन
कालिका ३ रसुवाका निवर्तमान वडा अध्यक्ष पुष्पराज न्यौपाने (वासु) ले मलाई बसाइँ उपन्यास पढ्न दिएका थिए । पुष्पराज न्यौपाने त्यति बेला प्रजातान्त्रिक शिविरका नेता थिए । उनको घरनेर परालको माच थियो । त्यही परालको माचमा मकैभटमास खादै बीपी कोइरालाको उपन्यास नरेन्द्र दाइको प्रसङ्ग कोट्याएका थिए उनले ।
नरेन्द्र दाइको प्रसङ्ग आएको केही वर्षपछि गाउँमा टेलिभिजनको संस्कृति आयो । गाउँमा टेलिभिजन फैलाउने कर्ममा स्वयम् पुष्पराजहरू लागे । हाम्रो पुस्ता गट्टा खेल्न छोडेर निखिल उप्रेती र राजेश हमालका सिनेमातिर लहसियो । हामी जुन ढङ्गले प्रेमलाई बुझ्थ्यौँ त्यो तरिकाबाट फरक बाटोमा आयौँ । प्रेम भनेको समर्पण हो, त्याग हो । तुलसी घिमिरेका सिनेमाबाट प्रभावित भएर साथीहरू भन्न थाले । दुस्मनका लागि फलाम बनेका हातहरूबीच ससाना ग्याङ फाइटहरू भए । कट्टी गरियो । केही दिनमा कट्टी फुकाइयो । कट्टी एकप्रकारको बहिष्करण थियो । अहिले बल्ल बुझ्दैछु । एउटा साथीमाथि सधैँ घात गरिरहेका रहेछौँ हामीले । यो बहिष्कारमा हामी प्रायः साथीहरू परेकै हौ । तर नमिठो लाग्छ अहिले सम्झँदा पनि ।
घडी थिएन । पात्लेको पीपलको बोटमाथि आइपुगेको घाम हेर्दै स्कुल जाने समय अड्कल्थ्यौँ हामी । घडी फूल फुल्ने समय दस बजे हुन्थ्यो । त्यही अनुसार पनि स्कुल उक्लेका हुन्थ्यौँ ।
निखिल उप्रेतीका सिनेमाहरू गाउँमा आइपुगेको समय हामीले केतुकेको पातमा केही नामहरू कुँदेका थियौँ । यो शैली मलाई साथी हरिशरण वस्तीले सिकाएको थियो । केतुकेको पातमा लेखेको अक्षर एक जुग रहन्छ–उसले मलाई उक्साएको थियो । हामीले हाम्रो नाम पनि फेरेका थियौँ । उसले आफूलाई आर्यन वस्ती बनाएको थियो भने मैले मिलन तिमल्सिना । ठाडो बाटोको केतुकेको पातमा हेर्ने हो भने अहिले पनि त्यो नाम भेटिन्छ । साथी हरिशरणले भनेजस्तै केतुकेको पातमा कुँदिएको नाम एक जुग रहने रहेछ । तर बिडम्बना ! म मिलन तिमल्सिना हुँ भनेर अब त्यो केतुकेको पातलाई मात्र थाहा छ । हरिशरणलाई एउटा पुस्ताले नै आर्यन वस्ती भनेर चिन्छ । आर्यन वस्ती अहिले मुलुकबाहिर छ । केतुकेको गाँजनेर उदास र उराठ साँझहरू ढलिजान्छन् । कहिलेकहीँ गाउँहरू त्यहीँ बसेर खुइयऽ गर्छन् ।
उपल्लोपौवाको लप्सीको बोटझैँ यो केतुकेको बोट नमासियोस् । यही चाहन्छु । साथी आर्यन मिठो सम्झना छ ।
……………..
मैले पछिल्लो समय नवीनलाई यही चौतारामा भेटें । उसले सामसुङ मोबाइल बोकेको थियो । ऊ स्वप्न सुमनदेखि भिटेनसम्मलाई सुन्न थालेको थियो । ऊ पोडकास्टबारे बुझ्ने भएको थियो । अन्तर्राष्ट्रिय सिनेमाहरूको नाम थाहा पाउन थालेको थियो । टेलिभिजन बिग्रिसकेको थियो । उसको हजुरबुबा मेरो (ठूलो बुबा) सम्म मोबाइल हेर्न थालेका थिए । इन्द्रेणी कार्यक्रमको उनी नियमित दर्शक थिए । उन (ठूलोबा) लाई नवराज घोरसाइनेका भाकाहरूले छुन्छ ।
अलि पछि भेट्दा नवीन राजनीतिक प्रणालीप्रति आक्रोशित थियो । यो स्वाभाविक थियो । मुलुकको राजनीतिक प्रणाली पूरै बिरामी थियो । रसुवाका नेताहरूले नौकुण्डको पानी कालिकास्थानमा झार्ने भनेर गफ दिएका थिए । रसुवागढी नाकालाई व्यवस्थित गर्ने कुरा गरेका थिए । उत्तरगया ५ मा रहेका भूकम्पपीडित विस्थापितलाई व्यवस्थापन गर्ने कुरा उनीहरूको प्रमुख राजनीतिक मुद्दा थियो । रसुवा जिल्लामा बनिरहेका थुप्रै जलविद्युत् आयोजनामा यहाँका युवाहरूलाई जोड्ने भन्दै उनीहरूले हात जोड्दै मत मागेका थिए । ती सबै मुद्दा सबै फलाखु खोलामा आएको बाढीले बगाइसकेको थियो । ऊ आक्रोशित हुनु स्वाभाविक पनि थियोे ।
………
क्याफेको छानामा पानी तप्किरहेको छ । मित्र सागरको चिया जक्सनमा स्वप्न सुमनको गीत बजिरहेको छ– भैरुम डाँडा मेसिन फोरेर । म यो प्रेमिल र उदासीले दुवैले हिर्काइरहेको मौसममा नवीनलाई सोध्छु– विवाहबारे तिम्रो धारणा के छ ?
ऊ भन्छ– ‘एक्काईसौँ शताब्दीमा विवाहपद्धति राजनीतिजस्तै धरापमा छ । मानिसहरू युरोपेली जीवन बाँच्न चाहन्छन् । दुई दिनको जिन्दगीमा बिहे, भुराभारी । छ्याः दाइ छोडनुस् यार यस्तो कुरा । मस्तले प्रेम गरौँ, मस्तले बाँचौं ।’
अनि करियर ?
‘दाइ, तपाईंको भाइ इन्जिनियर हो । ऊ करियरबारे मज्जाले बुझ्दछ । भैरुम डाँडो मेसिनले फोर्न ऊ सक्छ । उससँग माया गर्ने मान्छे सँगै भयो भने ऊ संसार जित्न सक्छ । यति हो छोरानातीलाई सम्पत्ति थुपार्ने कुरासँग भाइ कुनै हालतमा सम्झौता गर्दैन ।’
देश किन बिग्रियो ?
‘नेताहरूसँग देश बनाउने भिजन नै भएन दाइ । उनीहरूले हरेक कुरामा राजनीति हालिदिए । विद्यालय व्यवस्थापन समिति सदस्य काङ्ग्रेस क्रियाशील सदस्य, उपभोक्ता समिति एमाले अनि कुलो बनाउँदा माओवादीको भाग राख्न थालेपछि राजनीतिले खास बाटो पक्रेन । यो भागबन्डा भो दाइ । देश बनाउन भिजन चाहिन्छ । समाजवादी सपना चाहिन्छ ।’
मैले वैचारिक रूपमा खास नमानेको एकजना भाइबाट आएको यो उच्चस्तरीय जवाफले म हायलकायल हुन्छु । नयाँ पुस्ताले राजनीति बुझ्दैन भन्ने भाष्य खारेज भएको थियो सागरको चिया जक्सनमा ।
अरू भाइहरू पनि विवाह, करियर अनि राजनीतिलाई नवीनकै शैलीमा बुझ्दै थिए ।
सामन्तवादी समाजलाई जोगाउने मुख्य तत्व थियो निजी सम्पत्ति । निजी सम्पत्ति संरक्षण गर्न पितृसत्तात्मक संरचना बन्यो । पितृसत्तात्मक समाजको वैचारिक अस्त्र थियो विवाह संस्था । विवाह संस्थाले महिलाहरूलाई युगीन दासतामा जाकिदियो । भारतीय भूभागमा जीवित सती प्रथासम्मका प्रचलन हेर्दा पितृसत्ताको पराकाष्ठा देख्न सकिन्छ । जुन दासतावादी संस्था हो, त्यो संस्थाप्रति आजको पुस्ताको थोरै भए पनि असहमति हुनु गज्जबै कुरा हो ।
सहरमा भर्खरै एउटा जनवादी विवाह सम्पन्न भएको छ जुन विवाहका विषयमा बजारमा चर्चा छ । जसरी केही कमरेडहरूले गरेको विवाहलाई जनवादी भनियो यो कतिसम्मको जनवादी हो ? विवाहा गर्ने तरिकालाई मात्र जनवादी भनिएको हो भने ठिकै छ । नत्र विवाह संस्थाकै पैरवी गरिएको विवाह कसरी जनवादी हुन सक्ला ? जब कि यो विवाहपछि त्यो जोडीले बाँच्ने जीवन पनि आखिर पितृसत्तात्मक समाजलाई प्रवद्र्धन गर्ने खालको हुन्छ भने जनवादी विवाहका सन्दर्भमा पनि बहस गर्न सकिन्छ ।
पानी रोकिने छाँटकाँट छैन । जेनजी पुस्ताका भाइहरूले पारि मट्का चिया मगाएका छन् । चिनी कम दूध चियाप्रति लगभग सहमति जनाउँछौँ हामी ।
म भाइहरूलाई भन्छु– ‘पुराना र प्रतिबद्ध माक्र्सवादी लेखक हुनुहुन्छ अशोक सुवेदी । उहाँको गाउँ सिर्जनानगरमा रहेका जेनजी पुस्ताका भाइबैनीहरू साहित्य लेख्छन् । मिठो कविता सुनाउँछन् । उत्कृष्ट बुहारीहरू सम्मानित हुन्छन् ।’
मेघ गर्जिन्छ । बिजुली चम्किन्छ । नवीन भाइ भन्छन्– ‘नयाँ र पुराना पुस्ताबीच अन्तरक्रिया जरुरी छ दाइ । हामी पनि गाउँमा यो अभियान चलाऊँ न । अशोकजीले धन्यवाद दिनुहोला ।’
मलाई सबैभन्दा नजिक लाग्ने एकजना साथीले मेसेन्जरमा मुक्तक पठाउनुभयो । उहाँ पनि जेनजी पुस्ताकै थोरै अगाडि हो । तर उहाँको गति सराहनीय लाग्छ । समाजलाई बुझ्ने तरिकामा उहाँ सधैँ अगाडि हुनुहुन्छ । कोहीकोही खास मानिसहरू समाजमा हुन्छन् । उनीहरूलाई देख्दा पनि उत्साहित हुन मन लाग्छ । मलाई उहाँ त्यस्तै लाग्छ ।
‘अब झरी रहन्छ दाइ’, नवीनले यसो भन्दा सहरमा साँझ पर्न थालेको छ । सहरमा मानिसहरू तरकारी किन्न निस्कन थालेका छन् ।
एकजना भाइकी प्रेमिका यता आएकी छिन् । उनी भन्छिन्– ‘अहो दाइ पनि यहाँ ! तपाईंको स्टाटस नियमित पढ्छु । दाइले जुन ढङ्गले कुराहरू उठाउनुहुन्छ, त्यो कुरा हाम्रो पुस्ताको साझा कुरा हो । दाइ, बोल्ड ढङ्गले बोल्नुहुन्छ । दाइको नाम नै सिम्बोलिक लाग्छ । एक्काईसौँ शताब्दीमा पनि श्याम, हरि, लुमडी र अणप्रसाद मात्र किन हुनु ? कसो दाइ ? बेस्ट अफ लक दाइ ।’
लेखक न परियो । बैनीको कुराले खुब छुन्छ । भावुक हुन्छु ।
यो झरीको दिन सार्थक भएझैँ लाग्छ ।
आफू बाँचेको समयप्रति सधैँ विमर्श गर्न पाइयोस् मित्रहरू ।
अनि यो जक्सनमा हामी भेट्नेछौँ र भेटिरहनेछौँ ।