एउटा गाउँपालिकाले करोडौं लगानीमा आफ्नै प्रशासनिक भवन ठडाएको देखिन्छ तर सिंहदरबारभित्रैको एउटा यस्तो मन्त्रालय,जो मातहत ३१ दूतावास, तीन स्थायी नियोग,सातवटा महावाणिज्य दूतावास छन् । ती मध्ये अधिकांशको आफ्नै भवन,जग्गा जमिन छ तर डिम्लोम्याटहरु चलाउँदै आएको मन्त्रालयको हालत छ,कठैं !
चार सय बढी कर्मचारी कार्यरत रहेको सो मन्त्रालय आफ्नै भवन नहुँदा भृकुटीमण्डप, शीतल निवास,नारायणहिटीतिर डेरा सर्दै सिंहदरबार छिरेको थियो । उक्त भवनमा पनि अर्थ मन्त्रालयले आँखा लगाएपछि फेरि ‘डेरा’सर्नुपर्ने बाध्यता आइलागेको छ ।
बिज्ञापन
फाइभ स्टार होटलको झल्को मेट्ने गरी ५७ करोड लागतमा निर्माणधिन गृह मन्त्रालयको भवनको काम अन्तिम चरणमा पुगेको छ । सो भवन निर्माणको क्रम अन्तिम चरणमा पुगेकै समयमा परराष्ट्र मन्त्रालयलाई अर्थले भवन खाली गरिदिन औपचारिक छलफल भएको अर्थका अधिकारीहरु बताउँछन् ।
गृह मन्त्रालय नयाँ विल्डिङ्गमा सरेसँगै सिंहदरबारभन्दा बाहिर रहेको एक मात्र स्वास्थ्य मन्त्रालयलाई रामशाह पथबाट सिंहदरबारभित्र सार्ने योजना थियो तर अर्थ मन्त्रालयका कर्मचारीहरुले परराष्ट्रको भवनतिर आँखा लगाए पछि स्वास्थ्य बाहिरै रहने र परराष्ट्र मन्त्रालय अहिलेको गृह मन्त्रालयमा सिफ्ट हुने सम्भवना बढेको छ । अर्थले आफ्नो मन्त्रालय वनावट नमिलेको र मन्त्रालयका शाखा महाशाखा नआटाएको भन्दै परराष्ट्र मन्त्रालय बसिरहेको भवन खाली गरिदिन औपचारिक रुपमा आग्रह गरेको छ । यही आर्थिक बर्षभित्रमा परराष्ट्र मन्त्रालय पूरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भवन (हाल गृह) बसिरहेको भवनमा सिफ्ट हुने जनाइएको छ ।
अहिले गृह मन्त्रालय बस्नुअघि उक्त भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । भूकम्पपछि ध्वस्त भएको प्रधानमन्त्री कार्यालय झण्डै एक अर्ब खर्चेर अत्याधुनिक बनाइएसँगै त्यहाँ गृह मन्त्रालय बस्दै आएको छ । गृह अबको एक/दुई महिनाभित्रैमा नयाँ भवनमा सरेसँगै परराष्ट्रलाई त्यता सिफट् हुने अर्थका अधिकारीहरु बताउँछन् ।

























