नेपाल सरकारले भर्खरै जारी गरेको स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ, स्नातक तहभन्दा माथिको विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गरिनेछ, बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउदै पढ्दैको नीति लागु गरिनेछ अवधारणा ल्याएको छ । यो नीतिको कार्यान्वयनले युवालाई व्यावहारिक ज्ञान दिनुका साथै उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनेछ। यो घोषणालाई कार्यान्वयनमा ल्याउन स्पष्ट कार्ययोजना, संस्थागत संरचना, र अनुगमन संयन्त्रको आवश्यकता पर्दछ । यो नीतिले आगामी बजेटमा उपयुक्त स्थान पाइ कार्यान्वयनको सुनिश्चित वातावरण समेत खोज्दछ ।
इन्टर्नसिप (Internship) भनेको विद्यार्थी वा नयाँ सिक्ने व्यक्तिले कुनै संस्था, कार्यालय वा उद्योगमा काम सिक्ने र व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले गर्ने छोटो अवधिको तालिम वा काम हो। इन्टर्नसिपले शिक्षामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने मौका दिन्छ। इन्टर्नसिप आफूले पढिरहेको वा रुचि राख्ने क्षेत्रमा भविष्य निर्माण गर्न अत्यन्त उपयोगी माध्यम हो।
इन्टर्नसिपको मुख्य विशेषताहरू:
• सिकाइ केन्द्रित: इन्टर्नसिप मुख्यतः ज्ञान र सीप सिक्ने प्रक्रिया हो।
• सीमित अवधि: इन्टर्नसिप प्रायः केही हप्ता वा महिना मात्र हुने गर्छ (उदाहरण: १–६ महिना)।
• प्रायः अवैतनिक वा न्यून तलब: केही इन्टर्नसिप तलबसहित हुन्छन् भने केही पूर्ण रूपमा सिकाइमा केन्द्रित भएर अवैतनिक पनि हुन्छन्।
• व्यावसायिक वातावरणको अनुभव: विद्यार्थीहरूले काम गर्ने वातावरण बुझ्ने मौका पाउँछन्।
• वृत्ति विकासमा सहयोगी: भविष्यमा जागिर पाउन वा वृत्ति अगाडि बढाउन इन्टर्नसिपले राम्रो सिफारिस, अनुभव र आत्मविश्वास दिन्छ।
इन्टर्नसिपका केही उदाहरणहरु
• व्यवस्थापन संकायको विद्यार्थीले कुनै बैंकमा इन्टर्नसिप गर्दा, बैंकिङ प्रणाली, ग्राहक सेवा, लेखा व्यवस्थापन आदि विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्छ।व्यवस्थापन (Management) को विद्यार्थीले इन्टर्नसिपमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने मौका पाउँछ। यो अनुभवले उसलाई कार्यक्षेत्र बुझ्न, निर्णय क्षमता विकास गर्न र व्यावसायिक सीपहरू सिक्न सहयोग पुर्याउँछ। इन्टर्नसिपमा व्यवस्थापनका विद्यार्थीले सामान्यतः निम्न कुरा सिक्छन्:
• कम्पनीको संगठनात्मक संरचना (Organizational Structure) बुझ्ने।
• विभागीय कार्य प्रणाली, पद–जिम्मेवारी (Roles & Responsibilities) बुझ्ने।
• पत्र लेखन, बैठकको माइन्युट बनाउने, प्रस्तुतिकरण दिने अभ्यास।
• समूहमा कसरी समन्वय गर्ने भन्ने ज्ञान।
• वित्तीय रिपोर्ट, बजार विश्लेषण, ग्राहक प्रतिक्रिया जस्ता प्रतिवेदन तयार गर्ने अभ्यास।
• कर्मचारी भर्ना प्रक्रिया, तालिम व्यवस्थापन, उपस्थिति तथा कार्यसम्पादन मूल्याङ्कनको अनुभव।
• बजार अनुसन्धान, डिजिटल मार्केटिङ, ग्राहक सेवा रणनीति बुझ्ने।
• बिक्री रणनीति र ग्राहकसँग व्यवहार गर्ने शैली सिक्ने।
• साना समस्या समाधान गर्न सिक्ने।
• कार्यक्षेत्रमा व्यवहारिक निर्णय लिनुपर्दा के सोच्ने भन्ने अनुभव।
• समयपालन, पोशाक कोड, बैठकमा बोल्ने तरिका, प्रतिवेदन तयार गर्ने शैली।
• विभिन्न विभागका विशेषज्ञहरूसँग सम्पर्क।
• भविष्यमा कुन क्षेत्रमा विशेषज्ञता लिने भन्ने बुझाइ विकसित हुने।
• बैंक तथा वित्तीय संस्था: लेखा, क्रेडिट मूल्याङ्कन, ग्राहक सेवा आदि।
• प्रोजेक्ट/NGO: रिपोर्ट लेखन, अनुगमन तथा मूल्याङ्कन, कार्यक्रम व्यवस्थापन।
• उद्योग वा कम्पनी: उत्पादन व्यवस्थापन, आपूर्ति श्रृंखला, मार्केटिङ।
• इन्जिनियरिंगको विद्यार्थीले निर्माण कम्पनीमा इन्टर्नसिप गरेर, नक्सा, साइट सुपरभिजन, परियोजना व्यवस्थापन जस्ता सीप सिक्न सक्ने।
• कानूनको विद्यार्थीले इन्टर्नसिपमा धेरै महत्वपूर्ण कुरा सिक्छ, जसले उसलाई व्यवहारिक ज्ञान दिन्छ र भावी कानूनी पेशाको आधार तयार गर्छ।
इन्टर्नसिपका क्रममा सिक्न सकिने मुख्य क्षेत्रहरु:
• कानूनी मुद्दामा प्रयोग हुने कानुन, संविधान, ऐन, नियम, कानूनी दृष्टान्त (Precedents) खोज्ने तरिका।
• कानूनी लेख र पत्रिकाहरू प्रयोग गर्ने सीप।
• कानूनको मस्यौदा लेखन (Legal Drafting)
• निवेदन (Petition), प्रत्युत्तर (Reply), नोट, कानूनी मत (Legal Opinion), सम्झौता (Contract) तयार गर्ने अभ्यास।
• स्पष्ट, सटीक र विधिसम्मत ढंगले कानूनी कागजात लेख्ने सीप।
• अदालत प्रक्रिया बुझ्ने (Court Procedure Exposure)
• मुद्दा दर्ता, सुनुवाइ, मिति लिनेजस्ता प्रक्रियाको अवलोकन।
• वकिल र न्यायाधीशबीचको संवाद, बहस र निर्णय प्रक्रिया बुझ्ने।
• वकालत कला (Advocacy Skills)
• कानूनी भाषा प्रयोग, बहस प्रस्तुत गर्ने शैली, तर्क दिने तरिका सिक्ने।
• सार्वजनिक बोलचाल र प्रस्तुतीकरणमा आत्मविश्वास बढ्ने।
• गोपनीयता (Confidentiality), इमान्दारी, समयपालन र आचरणमा जिम्मेवारीबोध।
• वरिष्ठ वकिल वा कानूनी अधिकृतसँग व्यवहार कसरी गर्ने भन्ने ज्ञान।
• अनुभवी वकिल, न्यायाधीश, कानूनी अधिकृतसँग परिचय।
• वृत्ति विकासका लागि मार्गदर्शन प्राप्त गर्ने मौका।
• मुद्दाका कागजात क्रमबद्ध राख्ने, रेकर्ड राख्ने तरिका।
• नोट लेख्ने, केस समरी बनाउने अभ्यास।
सार्वजनिक प्रशासनमा इन्टर्नसिप
सार्वजनिक प्रशासन मा इन्टर्नसिप संघ र प्रदेशका मन्त्रालय तथा सरकारी कार्यालयहरू, विभागहरु, स्थानीय तह, विकास समितिहरु, आयोग, तथा सार्वजनिक संस्थानहरू जिल्ला स्तरका कार्यालयहरुमा प्रयोग गर्न सकिन्छ। इन्टर्नसिपले नीतिनिर्माण, प्रशासनिक प्रक्रिया, सेवा प्रवाह, योजना कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन, राजस्व र वित्त प्रशासन, सार्वजनिक खरिद, तथा अनुगमन मूल्याङ्कन लगायतका विविध क्षेत्रहरुमा विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सकिन्छ । सार्वजनिक प्रशासन शिक्षाले शासन, सेवा प्रवाह, योजना निर्माण तथा कार्यान्वयनमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको हुन्छ। तर, विश्वविद्यालयमा अध्यापन हुँदै गरेको धेरै विद्यार्थीहरू व्यावहारिक अनुभवविहीन र आर्थिक रूपमा निर्भर रहन्छन्। यो समस्या समाधान गर्नका लागि “कमाउँदै पढ्दै” नीति अनुरूप पेड इन्टर्नसिप कार्यक्रम लागू गर्नु सान्दर्भिक हुन्छ।
निजी क्षेत्रमा समेत इन्टर्नसिपलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ । यसले विद्यार्थीको सिकाइ, संस्थाको उत्पादकता, र दीर्घकालीन मानव स्रोत विकासमा सकारात्मक योगदान पुर्याउँछन्।निजी क्षेत्रमा इन्टर्न गराइदा व्यावसायिक कौशलता, लगानी, नाफा नोक्सान विश्लेषण, जोखिम विश्लेषण, बजारीकरण जस्ता विषयमा विद्यार्थीहरु जानकार बन्न पुग्दछन् । यस्ता अभ्यासहरूले निजी क्षेत्र र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँछ।
इन्टर्नसिपको उपादेयता
• कितावमा पढेका नीतिहरू व्यवहारमा कसरी लागू गरिन्छ भन्ने बुझ्न सकिने।
• फाइलिङ प्रणाली, निर्णय प्रक्रिया, सेवा प्रवाहका चरणहरू, नीति निर्माण प्रक्रिया, बजेट तर्जुमा प्रक्रिया आदि वारे सिक्न सकिने।
• भविष्यमा जागिरको लागि अनुभव प्राप्त हुने वा अनुसन्धानका लागि सहयोगी सम्बन्धहरू बनाउन सकिने।
• इन्टर्नसिपमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सोही संस्थाबाट कामको प्रस्ताव आउन सक्ने।
• स्नातकोत्तर वा अन्य तहका थेसिस, नीति समीक्षामा आधार तयार गर्न सहज हुन्छ।
इन्टर्नसिपको कार्यान्वयन तरिका
विश्वविद्यालयमार्फत:
– विश्वविद्यालय र सरकारी निकायहरुको वीचमा विषयगत कार्यालय वा मन्त्रालयहरु संग सम्झौता गर्ने र विश्वविद्यालय वा कलेजको सिफारिस वा सम्झौता भएको कार्यालयमा पठाउने।
स्वतन्त्र रूपमा आवेदन दिएर:
– विद्यार्थीले सम्झौता भएका कार्यालयमध्ये इच्छाएको सरकारी वा सार्वजनिक कार्यालयमा CV, निवेदन र प्रस्तावसहित पठाएर अनुमति लिने।
सरकारी कार्यक्रमहरू
– सरकारी कार्यालयहरुले आफ्नो चाहना बमोजिमका विषयगत क्षेत्र संग सम्बन्धित विद्यार्थीहरु माग गर्ने ।
कमाउँदै पढ्दैको अवधारणा
इन्टर्नसिपलाई कमाउँदै पढ्दै (Earn While You Learn) नीतिअनुसार सञ्चालन गर्नु भनेको इन्टर्नसिप गर्दा विद्यार्थीले सीप मात्र होइन, केही आर्थिक आम्दानी पनि प्राप्त गर्ने प्रणाली विकास गर्नु हो। सार्वजनिक प्रशासनमा यसलाई कार्यान्वयन गर्न विभिन्न नीतिगत, संस्थागत र कार्यान्वयन पक्षहरू मिलाएर अघि बढ्नुपर्छ।
नीतिगत संरचना तयार पार्ने
• प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सेवा समूह सञ्चालन गर्ने मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको समन्वयमा बनाउने।
• सार्वजनिक तथा निजी संस्थामा पार्ट-टाइम इन्टर्नसिपको नीति अवलम्बन गर्ने ।
• जनप्रशासन, व्यवस्थापन वा अन्य संकायका स्नातक र स्नातकोत्तरका कोर्षहरूमा “Earn While You Learn” नीति अनिवार्य बनाउने । आर्थिक र विद्यार्थी संख्या व्यवस्थापन गर्न सकिने क्षमताको आधारमा तल्लो तहमा ऐच्छिक वा अनिवार्य बनाउने ।
• सरकारी निकाय र निजी प्रतिष्ठानहरुमा ‘पेड इन्टर्नसिप’ को व्यवस्था गर्ने
• प्रत्येक कार्यालयहरुले वार्षिक बजेटमा इन्टर्नसिप शीर्षकमा प्रतिविद्यार्थी मासिक रु १०–१५ हजार मासिक भत्ता दिने व्यवस्था गर्ने।
• विश्वविद्यालयले सरकारी कार्यालय, विकास साझेदार र स्थानीय तहसँग सम्झौता (MoU) गरेर इन्टर्न राख्ने र तलबको व्यवस्था मिलाउने ।
• अर्थ मन्त्रालयले तदनुरुप बजेटको व्यवस्था मिलाउने ।
अनलाइन इन्टर्नसिप
• डाटा इन्ट्री, रिपोर्ट लेखन, केस स्टडी संकलन, नीतिगत विश्लेषण, वा सामाजिक सर्भेक्षणमा आधारित वर्क फ्रम होम इन्टर्नसिप कार्यक्रम बनाउने।
• इन्टर्नसिप सँगै अनुसन्धान वा डाटा विश्लेषण जस्ता उत्पादनमुखी काम पनि गराउने
• विद्यार्थीले पाएको इन्टर्नसिपले संस्थालाई उत्पादक नतिजा दिन सक्ने बनाइन्छ जस्तै: नीति विश्लेषण रिपोर्ट, MIS रिपोर्ट आदि।
नीतिका फाइदाहरू
पक्ष लाभ
विद्यार्थी सीपसँगै सानै मात्रामा भए पनि आर्थिक रुपमा आत्मनिर्भर
सरकारी कार्यालय सस्तो लागतमा दक्ष जनशक्ति उपयोग हुने
विश्वविद्यालय गुणस्तरीय व्यावहारिक शिक्षा उपलब्ध
नीति निर्माता युवामा सीप विकास, बेरोजगारी न्यूनीकरण हुने
युवाहरु देशभित्रकै रोजगारीमा आकर्षित हुने
उद्देश्य
• विद्यार्थीहरूलाई अध्ययनसँगै आर्थिक आत्मनिर्भरता दिलाउने।
• सरकारी तथा स्थानीय तहका कार्यहरूमा दक्ष जनशक्तिको प्रयोगमार्फत कार्यदक्षता अभिवृद्धि।
• विश्वविद्यालय, विद्यार्थी र राज्यबीच त्रिपक्षीय सहकार्यको विकास।
• नीति निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन लगायत क्षेत्रमा व्यावहारिक अभ्यासको अवसर प्रदान गर्नु।
कार्यान्वयनका मुख्य क्षेत्रहरू:
नीतिगत स्पष्टता र कानुनी आधार
• सरकारको यस नीति वक्तव्यलाई कार्यान्वयनको मार्गदर्शन निर्देशन (Implementation Guideline) मा रूपान्तरण गर्ने। यसको लागि “कमाउँदै पढ्दै नीति ” निर्देशिका निर्माण गर्ने ।
• यसको लागि कार्य क्षेत्र, कार्य समय, न्यूनतम पारिश्रमिक, इन्टर्नको भूमिका, इन्टर्न पश्चात प्रतिवेदन पेश गर्नु पर्ने र सो को आधारमा सो वापत पाउने अंकको व्यवस्था आदि प्रावधान स्पष्ट हुनुपर्ने।
छनोट प्रक्रिया
• छनोटको आधार: शैक्षिक संस्था/विश्वविद्यालयको सिफारिस, विद्यार्थीको रुचि र उपलब्ध क्षेत्र।
• योग्यता: स्नातक तह उत्तीर्ण भइसकेका वा स्नातकोत्तरमा अध्ययनरत।
• प्राथमिकता: अनुसन्धानमा रुचि राख्ने, स्थानीय विषयमा ज्ञान भएका युवाहरू पहिलो प्राथमिकता। सवै विद्यार्थी ले अनिवार्य रुपमा गर्नु पर्ने अर्को विकल्प ।
• इन्टर्न आवेदन पोर्टल: आवेदन, छनोट, तालिम, कार्य प्रगति र मूल्यांकन प्रणाली।
• इन्टर्नहरुले कहाँ, के गरिरहेका छन् भन्ने विवरण अद्यावधिक हुने Tracking System को व्यवस्था मिलाउने।
• काम सुरू गर्नु अघि प्रशासनिक प्रक्रिया, आचारसंहिता, रिपोर्ट लेखन आदि विषयमा ३ दिने अनलाइन/प्रत्यक्ष ओरिएन्टेसन दिने ।
• अन्त्यमा अनुभव साझा, मूल्यांकन र प्रमाणपत्र वितरण कार्यक्रम।
इन्टर्नसिप कार्यान्वयनमा ल्याउन सकिने असल अभ्यासहरू
• इन्टर्नहरूलाई सुरुमा प्रशासनिक संरचना, कार्य संस्कार, आचारसंहिता र अपेक्षित कामबारे तालिम दिने।
• इन्टर्नहरूको रुचि, क्षमता र अध्ययन क्षेत्र अनुसार कार्यस्थलमा उपयुक्त मिलान गर्ने।
• प्रत्येक इन्टर्नका लागि स्पष्ट ToR तयार गर्ने । कुन काम गर्ने, कसरी गर्ने, कसको प्रत्यक्ष निगरानीमा गर्ने, प्रतिवेदन प्रणाली, सो वापत प्राप्त गर्ने अंक र भुक्तानी प्राप्त गर्ने प्रक्रिया। यसले जिम्मेवारी स्पष्टता ल्याउँछ र मूल्यांकन सहज बनाउँछ।
• अनुभवी कर्मचारी वा अधिकृतले इन्टर्नलाई मार्गदर्शन गर्ने व्यवस्था मिलाउने।यसले सिकाइको गुणस्तर बढाउँछ र कार्यप्रति उत्तरदायित्व बढाउँछ।
• हप्तावारी वा मासिक रूपमा इन्टर्नले आफ्नो गतिविधिको सारांश पेश गर्नु पर्ने।
• अन्त्यमा सिकेका पाठहरू र अनुभव साझा गर्ने ।
• न्यूनतम पारिश्रमिकको व्यवस्था सँगै उत्कृष्ट इन्टर्नलाई प्रशंसापत्र पनि दिन सकिने भारतको नीति आयोगले उत्कृष्ट इन्टर्नलाई ‘Certificate of Appreciation’ प्रदान गर्ने गदर्छ।
• इन्टर्नको आवेदन, छनोट, कार्य प्रगति र मूल्यांकनका सबै प्रक्रिया अनलाइन प्रणालीमार्फत हुने गराउने। यसले पारदर्शिता, दक्षता र सूचनाको उपलब्धता सुनिश्चित गर्छ।
• महिला, दलित, जनजाति, ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने यसले सामाजिक न्याय र समान अवसरको प्रत्याभूति गर्छ।
• इन्टर्नसिपबाट संस्थाले के लाभ पाए, विद्यार्थीले के सिके भन्ने विषयमा प्रभाव मूल्यांकन (Impact Evaluation) गर्ने।
• विश्वविद्यालय र नीति संस्थाबीच सहकार्यको सम्झौता गर्ने — क्रेडिट ट्रान्सफर, शोधपत्र लेखन, वा प्रत्यक्ष परियोजनामा इन्टर्न कार्यक्रम समावेश गर्ने ।
• नियमित रूपमा इन्टर्न, सुपरभाइजर र समन्वयकर्ताबीच अन्तरक्रिया हुने व्यवस्था मिलाउने। Structured Feedback ले सिकाइमा गुणात्मक सुधार ल्याउँछ।इन्टर्नसिपको प्रभावकारिता मात्र अवसर उपलब्ध गराउनुमा नभई, त्यसलाई कसरी व्यवस्थित रूपमा व्यवस्थापन गरिन्छ भन्ने कुरामा निर्भर गर्छ।
इन्टर्नसिप अनिवार्य कि स्वेच्छिक
इन्टर्नसिप अनिवार्य हुने कि स्वेच्छिक यो प्रश्न नीति निर्माणको दृष्टिले अत्यन्त महत्वपूर्ण छ। दुवै मोडेलका आफ्नै फाइदा र समस्याहरु छन्।
अनिवार्य इन्टर्नसिप (Mandatory Internship)
फाइदा
• सबै विद्यार्थीले व्यावहारिक अनुभव प्राप्त गर्छन् विशुद्ध शैक्षिक ज्ञानमा मात्रै सीमित हुँदैनन्।
• श्रम बजार (Job market) का लागि अनुभवी जनशक्ति तयार हुन्छ।
• विश्वविद्यालय–सरकारी कार्यालय–श्रम बजारबीचको समन्वय मजबुत हुन्छ।
समस्या
• सबैलाई इन्टर्न राख्न उपयुक्त संस्था पुग्दैन , भीड बढ्न सक्छ , व्यवस्थापनमा समस्या आउंछ।
• तयारी नपुगेका निकाय मा इन्टर्नले व्यवस्थापनमा थप समस्या ल्याउन सक्दछ।
• कतिपय कार्यालय र विद्यार्थीले केवल औपचारिकता पूर्ति गर्ने सम्भावना हुन्छ। पुराना प्रतिवेदन सारेर बुझाइ औपचारिकता पूरा गर्ने संभावना बढ्छ ।
स्वेच्छिक इन्टर्नसिप (Voluntary Internship)
फाइदा:
• इच्छाशक्ति भएका वा विषयगत क्षेत्रका विद्यार्थी मात्रै सहभागी हुने भएकाले उनीहरुले राम्रो योगदान दिन्छन्।
• संस्था वा कार्यालयहरूले चासो देखाउने व्यक्तिलाई प्राथमिकता दिन सक्ने र यसले कार्यालयको काम र विद्यार्थीहरुको चाहनामा तालमेल हुन पुग्दछ।
समस्या
• धेरैजसो विद्यार्थीले इन्टर्नसिपको महत्त्व उपेक्षा गर्न सक्छन्।
• नीति कार्यान्वयनको विस्तार र समावेशीपन घट्न सक्छ।
नीति वाष्पीकरण
इन्टर्नसिप अवधारणा नीतिमा आएपछि नीति कार्यान्वयनमा आउन नसक्ने वा निरन्तरता नपाउने संभावना पनि रहन्छ यसर्थ नीति वाष्पीकरण (Policy Evaporation) हुन दिनु हुदैन । किनकी यस्ता सकारात्मक अवधारणाहरु यसपूर्व धेरै आएका थिए । नीति वाष्पीकरण भन्नाले कुनै नीति वा कार्ययोजना कागजमा त बनाइन्छ, तर व्यवहारमा कार्यान्वयन हुँदैन वा कार्यान्वयनका क्रममा त्यसको मूल उद्देश्य, प्रभाव वा प्रभावकारिता हराएर जानु भन्ने बुझिन्छ। यस्ता धेरै उदाहरणहरु विगतमा देखिएका छन् ।
इन्टर्नसिप नीतिको कार्यान्वयनमा आउन सक्ने समस्याहरु
• निर्देशिका नै नवन्न सक्ने
• नीति कार्यान्वयनको स्पष्ट योजना र कार्यविधिको अभाव
• आवश्यक बजेट विनियोजन नहुनु
• निकायगत समन्वयमा कमजोरी
• कार्यक्रमले निरन्तरता नपाउने ।
• सरकारी वा निजी संस्थाहरूले इन्टर्नलाई कामको भार त दिन्छन् तर सिकाउने प्रतिबद्धता र संरचना तयार नगरिन सक्दछ ।
• परिणामको मापन सूचक (KPIs) को अभाव– इन्टर्नशिपबाट के परिणाम आउँछ भन्ने कुरा मापन गर्ने सूचक र अनुगमन संयन्त्र नबन्नु।
• विश्वविद्यालय सरकार र निजी क्षेत्रबीच सरकार्यको स्पष्ट र प्रभावकारी प्रारुप नबन्नु ।
नीति वाष्पीकरण रोक्ने उपायहरू
o इन्टर्नसिप नीतिसँगै एउटा समय र जिम्मेवारी सहितको कार्य योजना तयार गर्ने
o सबै मन्त्रालय, निजी क्षेत्र र स्थानीय तहले अपनाउन मिल्ने एकीकृत इन्टर्नसिप कार्यविधि बनाउने
o बजेटको व्यवस्था गर्ने
o शिक्षण संस्थाले इन्टर्न पठाउने, कार्यालयले काम दिने र कामको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने।
इन्टर्नसिप नीति केवल घोषणापत्रको विषय होइन; यो युवा सशक्तिकरण, रोजगारी प्रवर्द्धन, र उद्यमशीलता विकासको वैकल्पिक माध्यम पनि हो। यसको कार्यान्वयन सक्रिय राजनीतिक इच्छा, बजेटवाट समर्थन र संस्थागत समन्वय बिना सम्भव छैन।
नीति वाष्पीकरण (Policy Evaporation) हुन नदिन नीति कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्दछ । प्रभावकारी नीति कार्यान्वयनको लागि नीति घोषणामा सीमित नगरी व्यावहारिक रूपले कार्यान्वयन हुन्छ र त्यसका उद्देश्यहरू पुरा गर्ने कदमहरू उठाइन्छ। यसमा स्पष्ट कार्ययोजना, उपयुक्त बजेट, समन्वय, अनुगमन प्रणाली र मूल्यांकन सूचक समावेश हुनु आवश्यक हुन्छ।यो लगायत अन्य सवै नीतिको प्रभावकारिता (Policy Effectiveness),का लागि नीति दृढता (Policy Rigidity) वा नीति स्थायित्व (Policy Stability) हुनु आवश्यक हुन्छ ।
डा. दामोदर रेग्मी प्रशासनविद, वरिष्ष्ठ गीतकार तथा प्रोलिफिक लेखक हुन्