राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
बिज्ञापन
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । मन्त्री बनेका पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ। पन्तलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाभन्दा वरीयता पछि छन् । आरजु ७ औं नम्बरमा छन् । यसअघिकी शिक्षामन्त्री भट्टराईको वरीयता भने १८औं नम्बरमा थियो।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
यता राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । उनी कुलमान घिसिङ बर्खास्ती गर्ने सरकारको निर्णयको खिलाफमा थिए ।
मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।उनी बर्खास्तीमा परेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् २४ सदस्यीय बनेको हो।


























