दर्शन वास्तविक र सत्य ज्ञानको सिद्धान्त हो जसले जीवन र जगतको व्याख्या गर्दछ। यो अनुसन्धानको प्रक्रिया हो जसले प्रमाण र सत्य तथ्यलाई स्पष्ट गर्दछ र मनका जिज्ञासाहरूको समाधान दिन्छ। दर्शनले सत्यको सिद्धान्त, ज्ञानका स्रोत, मूल्यका सिद्धान्त र तर्कहरूको विश्लेषण गर्दछ। यसलाई विभिन्न तत्व मिमांसा, ज्ञान शास्त्र, मूल्यशास्त्र, र तर्कशास्त्र जस्ता शाखाहरूमा विभाजन गर्न सकिन्छ । दर्शनले मानव ज्ञानका विभिन्न स्रोतहरू जस्तै ईश्वरीय वाणी, धर्मग्रन्थ, तर्क, र अनुभवलाई व्याख्या गर्दछ। दर्शनलाई पूर्वीय र पाश्चात्य रूपमा वर्गीकरण गर्न सकिन्छ, जहाँ पाश्चात्य दर्शन युरोप र पश्चिमी क्षेत्रबाट, र पूर्वीय दर्शन एशिया विशेष गरी भारत, पाकिस्तान, नेपाल र बंगलादेशबाट उत्पन्न भएको हो।
बिज्ञापन
पूर्वीय दर्शन मुख्य रूपमा पूर्वी र दक्षिण एसियामा उत्पन्न दर्शनहरूको समुह हो, जसमा हिन्दू, बौद्ध, जैन र अन्य धर्महरूको दर्शन समावेश छ। यस दर्शनमा सत्य, शक्ति, जीवनको अर्थ, आत्मा र परमात्माको सम्बन्ध जस्ता गहिरा विचार छन्। पूर्वीय दर्शनका अनुसार, जीवन र जगतमा संसार अडेको छ, आत्मा अमर छ र मानवता असल कर्मद्वारा जीवन र जगतमा नजिक आउन सक्छ। यस दर्शनमा मनुष्यको चरित्र, धर्म, संस्कार, नैतिकता, तथा सामाजिक आदर्शहरूको महत्त्व छ। नेपाल र भारतमा यस दर्शनको प्रभाव गहिरो छ, जहाँ योग, ध्यान, सत्य, अहिंसा र शाकाहारी जीवनशैली जस्ता आस्थाहरू प्रचलित छन्। विशेष गरी, गौतम बुद्धले अहिंसा र सत्यको सिद्धान्तका माध्यमबाट मानव सभ्यतामा योगदान दिएका छन्। पूर्वीय दर्शनले समाज, राज्य, परिवार र मानव जीवनलाई मार्गदर्शन दिने महत्वपूर्ण आदर्श प्रदान गरेको छ।
बिज्ञापन
पूर्वीय नीतिशास्त्रका प्रकाण्ड विद्वत् व्यक्तित्व चाणक्य पूर्वीय राज्यदर्शनका स्रोत हुन्। कार्यक्षेत्रअनुसार नाम र पहिचान भएका विष्णु गुप्तलाई आर्थिक दर्शनमा कौटिल्य, नीतिशास्त्रमा चाणक्य र न्याय अनि कामशास्त्रमा वात्सायन भनेर पनि चिनिन्छन्। प्राचीन तक्षशीलाका अर्थशास्त्रका मेघावी प्राध्यापक र मगध सम्राट चन्द्रगुप्त मौर्यका महामन्त्री चाणक्य शास्त्रशक्ति र शस्त्रशक्तिलाई राज्यकौशल मान्थे, असम्भव भन्ने शब्दलाई कातरको शब्द मान्थे अनि वीर र बुद्धिमानले आफ्नो मार्ग आफैँ बनाउँछ भन्ने मान्यता राख्थे। उनका विचार र दर्शनबाट आधुनिक संगठन र समाजले थुप्रै कुरा सिक्न सक्छ। जस्तो कि खास पदहरुमा त्यस्ता मानिसलाई नियुक्त गर्नुपर्छ जसले राजकीय कार्यहरु विशेष योग्यतापूर्वक सम्पन्न गर्न सक्तछ। त्यस्तै कुनै पनि पुरुषको सामर्थ्यको स्थिति उसका कार्यको सफलतामाथि निर्भर गर्छ अनि उसको त्यो कार्यक्षमता उनको विद्याबुद्धिका बलमा मापन गर्न सकिन्छ। नियुक्त गर्नुभन्दा पहिला राजाले उनीहरुको प्रामाणिकता, सत्यवादिता जाँच्नुपर्छ। जुन मानिस सन्तुष्ट छन्, तिनीहरुलाई अरु धन, मान आदिले सत्कार गरिरहनुपर्छ तर असन्तुष्ट व्यक्तिहरुलाई साम, दान, दण्ड र भेद जस्ता जुन नीति अपनाउँदा काम बन्न सजिलो हुन्छ, तिनैलाई प्र्रयोग गर्दै आफ्ना नियन्त्रणमा राख्नुपर्छ।यसर्थ आचार्य कौटिल्यका नीति सूत्रहरु आज पनि व्यवस्थापनका हरेक क्षेत्रमा उपयोग गर्न सकिन्छ। त्यस्तै सत्य, अहिंसा र सदाचारिताका पुजाारी मोहनदास कर्मचन्द गान्धी आफ्ना महान् मानवतावादी कार्यका कारण महात्मा गान्धी बन्न पुगे। पूर्वीय दर्शन र बुद्ध आदर्शका अनुयायी गान्धीले आत्मिक र नैतिक मूल्य आचरण, सत्य, निष्ठा, संयमता र स्वतन्त्रताका लागि जीवन उत्सर्ग गरे। उनले स्थापित गरेका कतिपय कुरामध्ये जीवनका सात पाप (क) कर्मविनाको सम्पत्ति (ख) चरित्रविनाको ज्ञान (ग) नैतिकताबिनाको व्यापार (घ) मानवताबिनाको विज्ञान (ङ) सिद्धान्तबिनाको राजनीति (च) मानवताबिनाको धर्म र (ज) विवेकबिनाको सुखलाई प्रमुखरूपमा लिन सकिन्छ, जसले जीवन व्यवस्थाका सबै पक्षलाई मार्गदर्शन गर्छ। गान्धीका अनुसार चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ, चरित्रको शुद्धि नै सारा ज्ञानको ध्येय हुनुपर्छ। गान्धीको जीवन दर्शनबाट सरल र क्रियाशील जीवन, निस्वार्थता, उदाहरणीयता, साद्गीपना, क्षमाशीलता, लगन जस्ता पक्षहरु जो कुनैले सिक्न सक्छ, जुन वैयक्तिक जीवन र कतिपय सार्वजनिक व्यवहारमा आवश्यक मानिन्छन्।
विभिन्न धर्म संस्कृतिजस्तै बुद्ध, हिन्दु, चिनियाँ, कोरियन, जापानी, मुस्लिमलगायत विभिन्न दर्शनहरुलाई पूर्वीय दर्शनका रुपमा विद्वानहरुले व्याख्या तथा विश्लेषण गर्दै आएको पाइन्छ । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । सनातनदेखि मान्दै आएको धर्म संस्कृतिको मूल आधारका रुपमा रहेका धर्मग्रन्थहरुमध्ये वेदलाई हरेक दर्शनहरुको आधारशिलाका रुपमा लिन सकिन्छ । हुन त वेदलाई अन्य पूर्वीय दर्शनको आधार मान्न सकिँदैन भन्ने विचारहरु नसुनिएका होइनन् तथापि विश्व वाङमयमा वेदभन्दा प्राचीनतम पुस्तकहरु अरु छैनन् । वेदले धर्म दर्शनको मात्र कुरा गरेको छैन, मानव सभ्यताको समेत व्याख्या गरेको छ । वेद ऐतिहासिक महत्वसहितको सबैभन्दा पुरानो ग्रन्थ पनि हो । यस अर्थमा सनातनदेखि चलिआएको धर्म दर्शन नै हरेक दर्शनको जननी हो । पूर्वीय दर्शनको आधार हो ।जो व्यक्तिले पूर्वीय दर्शनको रसपान गर्न सक्छ, उसले जीवन र जगतलाई बुझ्दै मानवीय जीवन जिउन सिक्दछ । जीवन जिउनु एक कला हो । हामीले वास्तविक जीवनको घडीलाई नियालेर हेर्ने हो भने जीवनमा जे हुन्छ भनेर सोचिएको हुन्छ, त्यो भइरहेको हुँदैन र जे भइरहेको छ त्यसको सम्बन्धमा सोचिएको पनि हुँदैन । जस्तैः भरपुर क्षमता भएका व्यक्तिहरु पनि सफल भइरहेका हुँदैनन् र सामान्य अवस्थाको व्यक्तिले निकै सफलता प्राप्त गरेको हुन्छ । वास्तवमा यो किन र कसरी भएको छ ? यी सबै कुराको ज्ञान केही हदसम्म पूर्वीय दर्शनले दिएको छ । कर्मले नै यस जीवन र परजीवनमा समेत व्यक्तिको भाग्य निर्धारण गरेको हुन्छ । जसलाई हामी भाग्य मान्छौं, वास्तवमा यो भाग्यभन्दा पनि विभिन्न जीवनमा हामीले गरेका कर्महरुको संयोजनको परिणाम हो । यही परिणामले नै हाम्रो वर्तमान जीवनलाई डो–याइरहेको हुन्छ । मानवीय जीवन, जन्म र जगतबीचको सम्बन्धलाई पूर्वीय दर्शनले अत्यन्तै सूक्ष्म रुपमा व्याख्या गरेको छ ।
बिज्ञापन
पूर्वीय दर्शनभित्रकै बुद्ध दर्शन आज विश्वभर फैलिएको छ । यस दर्शनको भाव पनि कर्मको कारण र प्रभावबीचको सम्बन्ध के हो ? कर्मको प्रभावका कारण पुनर्जन्म हुन्छ वा हुँदैन । कर्मको निवारण कसरी गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेको छ । जति भए पनि नपुग्ने तृष्णा नै दुःखको मुख्य कारक हो । दुःखबाट छुटकारा पाउन असल कर्म गर्नुपर्दछ र कर्मको निवारण अष्टमार्गको ज्ञान र सोको अवलम्बनबाट मात्र सम्भव छ । व्यक्तिको असल कर्म, सोच, बानी, व्यवहार, वचन, सम्बन्ध र स्मृतिले मानव जीवनलाई सार्थक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।मानिस जीवनयापनका लागि व्यक्तिगत रुपमा सदाचारी हुनुपर्दछ । व्यक्तिगत जीवन बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, विहार तथा गर्न हुने वा नहुने काम, कुरा र व्यवहारमा ध्यान दिन सकेमा यसले पारिवारिक जीवन सहज र माधुर्यमय बनाउँछ । यसरी सिर्जना भएको पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ । पूर्वीय दर्शनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । दर्शनका अनुसार मानिसले कुनै पनि कर्म गर्दा यी उल्लेखित सम्बन्ध र कर्तव्यबाट टाढा हुनु हुँदैन । जुन व्यक्तिले आफ्नो अधिकार, कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको पथमा सजिलै हिँड्न सक्छ ।
दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित भएरै गरेको हुन्छ । अझ शिक्षा क्षेत्रमा दर्शन नै मुख्य मियो र शैक्षिक गतिविधि त्यसमा घुम्ने वस्तु हुन् भनेर बुझ्न सकिन्छ ।यद्यपि विभिन्न प्रणालीहरूले आफ्नो–आफ्नो ज्ञानमीमांसाका अनुसार मोक्षको अलग अलग कल्पनाको छ, तथापि अज्ञान, दुःखबाट मुक्त हुन सक्छ। दर्शनमा टेकेर नै शैक्षिक उन्नति, प्रगति र विकास सम्भव भएको हो ।
पूर्वीय दर्शनबाट सार्वजनिक प्रशासनमा सकारात्मक ,नकारातमक दुवै प्रभाव पर्ने गरेको देखिन्छ ।भगवत गीतामा “पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन“ वेदमा “शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ“ भनिएको छ भने शंकरचार्यले “आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।“ आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा “शिक्षा स्वतन्त्रताको लागि हो“ भनेर उल्लेख गरिएको पाइन्छ । “निष्काम कर्म गर “को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ ।बुद्धका चार आर्य सत्यहरु– पहिलो–संसारमा दुःख छ, दोस्रो–दुःखको कारण छ । तेस्रो– दुःखको निवारण छ । चौँथो– निवारणका लागि अष्टंगिक मार्ग छ। बुद्धका अष्टांग मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प,सम्यक् वाक,सम्यक् कर्मान्त,सम्यक् आजीवन ,सम्यक् ब्यायाम सम्यक् स्मृति र सम्यक् समाधि हुन् । प्रज्ञा, शिल र समाधिलाई बुद्ध धर्मका त्रिरत्न तथा श्रेष्ठ मार्ग मानिन्छ । यी सत्य हुन् यीनिहरुले समग्र जीवनको यथार्थ बोकेको छ र गन्तब्य देखाएको छ । बुद्धको प्रमुख सिद्धान्त हो– कोहि अर्कोलाई स्वतः प्रमाण नमान, आफै बुझ्ने कोशिस गर । त्रिपिटकले कारण खोजी गर्न प्रेरित गर्छ । सहि विवेकको प्रयोग गरि स्वशिक्षा ग्रहण गर भन्छ । त्यति मात्र कहाँ हो र ? शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने यो दर्शन बैज्ञानिक दर्शन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ । मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य , शुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।
पुर्वीय दर्शनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
गुरुकुल र परिवारले बालबालिकालाई शिक्षा दिँदा र हुर्काउँदा नैतिक शिक्षा दिने चलन, नीति कथा आदिले मानिसलाई आफ्ना अधिकारका लागि लड्नभिड्न मात्र नभई उसले पूरा गर्नुपर्ने कर्तव्यसमेतको बोध गराएको छ । असल संस्कार, वातावरण र संगतमा हुर्किएको व्यक्तिमा गलत सोचको विकास हुने सम्भावना निकै कम रहन्छ । व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन दर्शनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय दर्शनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय दर्शनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ । मृत्युबाट अमरताको नजीक लैजाऊ। यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
अन्त्यमा, पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ । धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ । पूर्वीय दर्शनका अनुसार, मानव जीवनको मुख्य उद्देश्य असल कर्म गर्नु हो, जसले मानिसलाई जीवन र जगतको नजिक पुर्याउँछ। यी दर्शनहरूमा नैतिकता, सदाचार र धार्मिकता महत्त्वपूर्ण छन्, र व्यक्ति आफ्नो कर्म र आचरणमा स्वनियन्त्रण र अनुशासन राख्नुपर्ने हुन्छ। यस्ता दर्शनहरूले जीवनलाई भौतिक र आध्यात्मिक दृष्टिले सन्तुलित बनाउन प्रोत्साहन गर्दछ। पूर्वीय दर्शनले समाज र राज्यका लागि पनि मार्गदर्शन प्रदान गरेको छ। पूर्वीय दर्शन जीवनका प्रत्येक पक्षलाई सशक्त र सुसंस्कृत बनाउने एक मार्गदर्शक सिद्धान्तको रूपमा रहेका छन्।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)