अञ्जनकुमार
बिज्ञापन
गत साता मध्यभागमा पुगेका थिए राष्ट्रपति रामचन्द्र पौडेल । नेपालका राष्ट्र प्रमुखसँग भेटघाटको अपेक्षा राखेका कयौ आफन्तहरुलाई समेत सुरक्षार्थ खटेका शाही सेनाकै धङधङी नमेटिएका सेनाको व्यवहारले सर्वसाधारण मात्रै हैन राष्ट्रपतिकै भाइ भतिजहरु चिढिए ।मध्यनेपाल नगरपालिका सोतीपसल स्थित मगला माबिको हिरक जयन्ती समारोह ।
बिज्ञापन
नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको समापन राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट हुने तय भएको थियो । सोही कारण र युद्धकाल जस्तो दरो चेकचाज, अत्याधुनिक हतियारधारी सयौ संख्यामा सेनाका मान्छे सोतीपसलभरी छरिएका थिए । कतिसम्म कडाई थियो भने कालो माक्स लगाएका मान्छेलाई स्कुल वरिपरि आवतजावतमा समेत बर्जित थियो । सोतीपसल पारि तनहुँ रिस्ती । सोही रिस्तीका पौडेल कार्यक्रमको समापन समारोहमा आउने भएपछि गाउँलेहरु ओइरिए । तर राष्ट्रपतिको निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सवारी ।
अघिल्लो घेरामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षा । बिहानैदेखि खटिएका प्रहरीले खाजा खान त के कुरा पानी समेत पिउन नपाएर प्याकप्याकको स्थितिमा थिए ।
बिज्ञापन
कालो माक्स समेत बर्जित सो कार्यक्रममा कालो झोला बोकेको एक व्यक्ति फुत्त मञ्चमा पुगे । सुरक्षाका हाकिमलाई भनेर छुट्टाईएको स्थानमा गएर गजधम्म परेर बसे । सुरक्षाका हाकिम सगैको रो पत्रकारहरुका लागि छुट्टाइएको थियो । तर,सञ्चारकर्मीहरुको उपस्थिति उति धेरै देखिएन । युनियन लाइफ इन्स्योरेन्सको झोला बोकेका ती व्यक्तिलाई तपाईं को हो ? पछाडि बस्नुहोस त यो सुरक्षा प्रमुखहरुको लागि हो भन्दै आयोजक मध्ये कसैले भन्यो । उनले आफू पत्रकार भन्दै टसमस भएनन् । मोबाइल निकालेर फोटो खिच्न थाले ।
अनुसन्धान लमजुङका प्रमुख बिष्णु पण्डित र प्रहरी प्रमुख निशान्त श्रीवास्तव आमा समुहको लागि भरेर राखिएको कुर्चीमा निदाउरो अनुहार लगाएर बसे । आफुलाई पत्रकार भन्दै कालो झोला बोकेर मोबाइल तेर्साउने व्यक्ति कुनै पत्रकार नभएर युनियन लाइफ इन्स्योरेन्सका एजेन्ट कास्की सिसाघाटका शिव ढुंगाना रहेका थिए।
पत्रकारहरुले मोबाइलबाट फोटो भिडियो खिच्दा हकार्ने सेनाका मान्छे इन्स्योरेन्सको झोला बोकेर मोबाइल तेर्साएको भने देखेनन । मञ्चतर्फ जान लागेका मध्यनेपाल नगरपालिकाका मेयरलाई सेनाको जमदारले गेटमै रोकेर हकारेको झन गज्जब थियो । कता तपाईं भन्दै मेयर रमेशकुमार पाण्डेलाई हकारेपछि पाण्डे जंगिनु स्वभाविकै थियो । उनले पनि आसन ग्रहणका लागि गतिलो राम्रो आसन पाएनन् । आमा समुहकै छेउमा प्लास्टिक कुर्ची तानेर बसे ।
राष्ट्रपति समक्ष आफ्नो मन्तव्य राख्न पाइएला भनेर मुख मिठ्ठाएर बसेकी प्रतिनिधि सभाकी समानुपातिक सांसद उर्मिला माझी मात्रै हैन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री तथा नेपाली काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङले समेत बोल्न पाएनन् । मेयर पाण्डेलाई छोटो मन्तव्य राख्न भनियो । पाण्डेपछि आफ्नो पालो आउने आशा गरेका डा गुरुङको नाम काटकुट गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बोल्न दिएपछि माझी र गुरुङ ट्वाँ परेका थिए ।
मुख्यमन्त्री पाण्डेले संघीयतामा सबै सरकार स्वायत्त हुने भनिएपनि संघ सरकारले अझै अधिकार प्रत्यायोजन नगरेको गुनासो गरे । केही समयअघि मात्रै सोही मंगला माबिका एक शिक्षकले आफ्नै छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । घटनालाई त्यसै सामसुम पारेपनि त्यो दिन मञ्चासिन कसैले खासखुस कुरो उक्काएको सुनियो। तर चर्किन पाएन ।
त्यस पछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यालयबाटै तयार पारिएको रेडिमेट मन्तव्य वाचन गर्ने क्रममा केही ठाउँमा अक्मकिनु भएको थियो । शिक्षामा भन्दा कृषिलाई बढी जोड दिएर तयार पारिएको सो मन्तव्यमा कृषिमा क्रान्तिको बाढी ल्याउनु पर्ने भन्दै थोरै मिहिनेत र श्रम खर्चिएर धेरै आम्दानी दिने पेसामा रूपान्तरण गर्नुपर्ने, कृषिजन्य नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औधोगिक क्रान्तिको युग ल्याउनुपर्नेमा उहाँको जोड थियो। राजनीतिक परिवर्तन भयो । अब आर्थिक विकास र समृद्धिका लागि गुणस्तरीय शिक्षा अनि त्यसको जगमा कृषिमा आमूल परिवर्तन ल्याउन सकेमात्रै समृद्धिको यात्रा सफल हुने उहाँको भनाई थियो ।
पौडेल आफैले रिस्ती छाडेको कयौ वर्ष भयो । गाउँ रित्तिदै छ, उजाडिदै छ । गाउँ रित्तिएकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्दै गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदै गएका छन । बाटोघाटो बिजुलीबत्ती, घरघरमा खानेपानी, स्कुल तर गाउँ रित्तिँदै। शिक्षण संस्थामा विद्यार्थी घट्दोक्रममा छ। कति बिद्यालयमा विद्यार्थी शुन्य । ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि विदेशिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। गाउँबाट सहर र सहरबाट विदेशिने शृङ्खलाले आफ्नो मन पोलेको राष्ट्रपतिको दुखेसो पोखे ।
राष्ट्रपतिले कृषि क्रान्तिका लागि शिक्षालाई उद्यमशीलतासँग जोड्नु जोड दिनुभएको थियो । काङ्ग्रेसकै पालामा भएभरका कलकारखानाहरु निजीकरणका नाममा मासिएपनि गाउँमा समेत कृषि उद्यमको स्थापना गर्नुपर्नेमा बिशेष जोड थियो । युवाशक्तिलाई विदेशिनबाट रोक्नुपर्ने भन्दै कति युवाले मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौँ कमाउने गरेका दृष्टान्तले आशा र उत्साह जगाएको बताउनु भएको थियो ।
राष्ट्रपतिको मन्तव्यमा असहमति जनाउदै कुनैबेला उहाँसगै काग्रेस भएर झण्डा बोक्दै प्रजातन्त्रको लागि लडेका अलिअलि मापसेले तिरिमिरी भएका ७६ वर्षिय ददिराम परियार अहिले यो राजनीति परिवर्तनले झन सयौ सामन्ती राजा जन्माएको भन्दै कुर्लिएका थिए । पौडेललाई भेट्न भनेर आएका परियारलाई सेनाका मान्छेले ढिम्कनै दिएनन् । कार्यक्रममा विद्यालयका प्रअ बिष्णुहरि बास्तोलाले स्कुलको आर्थिक सहित प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।