यस कारण बढाइनुपर्दछ निजामतीको अवकाश उमेर- विज्ञ चेतन अधिकारीको विचार

प्रस्तावित निजामती सेवा विधेयकको बुँदा नं ५८ मा अनिवार्य अवकाश शीर्षकको १ नं. बुँदामा ‘निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउनेछ’ भन्ने प्रावधान रहेको छ।

बिज्ञापन

अवकाशको उमेरका हदका बारेमा नेपालको बदलिँदो जनसांख्यिक संरचना र स्वरूपअनुसार निजामती सेवालाई समयसापेक्ष र जनतामुखी बनाउनका लागि केही प्रबन्धहरू गर्नुपर्ने हुन्छ। निजामती सेवाको अवकाशको उमेर निर्धारण गर्दा निम्न ५ वटा पक्षलाई गहिरोसँग केलाउनुपर्दछ।

बिज्ञापन
क) जनसंख्याको विद्यमान बनावट,

ख) औसत आयु,
ग) श्रमिकको उपलब्धता,
घ) राज्यलाई पर्ने आर्थिक भार,
ङ) स्वास्थ्य सेवाको अवस्था र
च) सेवाको प्रकृति।

 

बिज्ञापन

१. सर्वप्रथम म नेपालको जनसांख्यिक परिदृश्य प्रस्तुत गर्न चाहन्छु। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २९१६४५७८ रहेको छ। जनसंख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ। ०–१४ वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको २७.७ प्रतिशत, सक्रिय उमेरको जनसंख्या (१५–६४ वर्ष समूह) जनसंख्या ६५.२ प्रतिशत र ६५ वर्ष भन्दा माथिको जनसंख्या ६.९ प्रतिशत छ। निजामती सेवामा प्रवेशको हालको उमेर अवधि १८–४० वर्ष हो। यो उमेर समूहको जनसंख्या करिब ४० प्रतिशत छ। जनगणनाले नेपालको कुल प्रजनन् दर घटेर प्रतिस्थापन तह भन्दा मुनि अर्थात प्रति महिला १.९ मात्र देखाएको छ। यो भनेको प्रजनन् उमेरका १०० जना महिलाले १९० जना मात्र बच्चा जन्माउने गरेका छन्।

२. जनसंख्याको यो दृश्य हेर्दा निजामती सेवा ऐन निर्माण हुँदाका बखतको जनसांख्यिक अवस्थालाई हेर्नुपर्ने हुन्छ। त्यसबेला नेपालको जनसंख्याको आकार सानो थियो। त्यतिबेला नेपालको जनसंख्या १८४९१०९७ थियो। त्यसबेला जन्मदर पनि उच्च थियो। कुल प्रजनन् दर ५.१ थियो। जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो। त्यस बेला नेपालमा सक्रिय  १५–६४ वर्ष उमेर समूहको  जनसंख्या ५४.१ प्रतिशत थियो।

३. जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था आँउदाका बखत नेपालीको औसत आयु ५१ वर्ष थियो। २०४९ सालमा निजामती सेवा ऐनले अवकाशको उमेर दुई वर्ष घटाएर ६० बाट ५८ वर्ष पारेको थियो। विद्यमान उमेरको ढाँचा किन घटाइयो भन्ने कुनै राजनीतिक कारण होला। तर अवकाशको उमेर ६० वर्ष बनाएको २००८ देखि नै रहेछ।

४. अहिले सन्दर्भ फरक भएको छ। हाम्रो शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, जीवनशैली, यातायात तथा सञ्चारका सुविधा आदिका कारण नेपालीको औसत आयु बढेको छ। पछिल्ला ३२ वर्षमा नेपालीको आयु करिब २० वर्ष बढेर ७१.३ वर्ष पुगेको छ। त्यसैले अवकाशको उमेरलाई वैज्ञानिक समायोजन गर्ने हो भने त ६३ वर्ष बनाए पनि हुन्छ भन्ने मेरो तर्क छ। किनकि, निजामती क्षेत्र भनेको शारीरिक श्रम गर्नेभन्दा पनि मानिसक र नीतिगत अभ्यास गर्ने ठाउँ हो। यस्तो ठाउँमा अनुभव प्राप्त कर्मचारीले राम्रो सेवा प्रवाह गर्न सक्दछन् जस्तो लाग्दछ।

५. अवकाशको समय बढाउँदा नयाँ रोजगारीको बाटो थुनिएला नि भन्ने प्रश्न आउन सक्छ। निजामती सेवा बृहत् रोजागरी उपलब्ध गराउने क्षेत्र होइन। यसले कुल रोजगारीको करिब २ प्रतिशत हिस्सा मात्र ओगटेको छ। यो त सार्वजनिक प्रशासनलाई क्षमतावान् र जनतालाई छिटो सेवा प्रवाह गर्ने एकाइ हो। त्यसैले यसलाई रोजगारी सृजनाको दृष्टिकोण मात्र लगाउनुहुँदैन।

६. लोकसेवा आयोगका एक दशकका प्रतिवेदन हेर्दा निजामतीमा दरखास्त दिने र जागिरमा सिफारिस हुनेको डेमोग्राफीको सामान्य झलक पाइनेछ। विद्यमान व्यवस्थाअनुसार पुरुषले १८–३५ र महिलाले १८–४० वर्षसम्म सेवा प्रवेश गर्न सक्दछन्। यो उमेर समूहको हालको जनसंख्या करिब १ करोड २० लाख जति छ। पछिल्लो एक दशममा लोक सेवामा दरखास्त दिने युवकयुवतीको संख्या करिब ५० लाख रहेको छ। लोकसेवामा भर्ना चाहनेको जनसंख्या उत्तारचढावपूर्ण छ। कुनै वर्ष अत्यधिक झुकाव राखेका छन्। कुनै वर्ष निकै कम संख्यामा। जस्तै आर्थिक वर्ष २०७३-०७४ मा हालसम्मकै उच्च संख्यामा आवेदन परेको रहेछ। उक्त वर्ष ८४४२९७ जना युवायुवतीले दरखास्त दिएका रहेछन्। अघिल्लो वर्षभन्दा त्यस वर्ष आवेदन दिनेहरू ४२ प्रतिशतले बढेका रहेछन्। २०८०-०८१ मा ४७३४९० मात्र रहेछ। गत वर्षभन्दा यस वर्ष लोकसेवामा दरखास्त दिनेहरू २ प्रतिशतले घटेका छन्।

७. जनसंख्याको संरचना परिवर्तन र शैक्षिक वर्षमा भएको फेरबदलसँगै लोक सेवा प्रवेश गर्ने उमेर समूहको बाहुल्य पनि बदलिएको छ। चालु वर्षमा यो उमेर समूहको हिस्सा घटेर ३२.५ प्रतिशतमा झरेको छ। दोस्रो ठूलो संख्यामा २६–३० वर्ष उमेर समूहका २९.१ प्रतिशत युवाहरूले लोकसेवामा रुचि राखेका छन्।

८. लोक सेवामा दरखास्त दिने उम्मेदवारहरू पहिलापहिला विवाह नगर्दै जाँच पास गर्ने चाहना राखेको देखिन्छ। जस्तै २०७४ सालको अभिलेख हेर्दा ६७.६ प्रतिशत आवेदक अविवाहित थिए भने ३२.३२ प्रतिशत विवाहित। तर चालु वर्षको तथ्यांक हेर्ने हो अविवाहित हुँदै लोक सेवामा आवेदन दिनेको संख्या घटेको छ। यस वर्ष ५१.३ प्रतिशत अविाहित, ३५.६५ प्रतिशत विवाहित र १३.०५ प्रतिशत एकलहरूले लोक सेवामा आवेदन दिएका छन्।

९. लोक सेवामा आवेदन दिनेमध्ये ५० प्रतिशत महिला छन्। यो खुसीको कुरा हो।

१०. पछिल्लो समयमा निजामतीमा अन्य पेसा छोडेर आउनेको लहर बढेको देखिन्छ। २०७४ सालमा आवेदन दिनेमध्ये ८७.४ प्रतिशतले आफू बेरोजगार भएको उल्लेख गरेकोमा यस वर्ष ७६.३३ ले मात्र बेरोजगार भएको उल्लेख गरेका छन्।

११. निजामती किताबखानाको अभिलेखमा हरेक वर्ष करिब २२ सयको संख्यामा कर्मचारी ५८ वर्ष पुगेर अवकाश पाउँदा रहेछन्। आर्थिक वर्ष २०७७-०७८ मा २४८० जना अवकाश भएकोमा यस वर्ष २११९ जना अवकाशमा जाँदै रहेछन्।

१२. संघीय निजामती ऐनमा श्रेणीविहीन, राजपत्र अनंकितको सेवा प्रवेश १८ वर्ष र राजपत्र अंकितको सेवा प्रवेश २१ वर्ष तोएिको छ। नेपालको संविधान अनुसार १६ वर्ष पुगेपछि कुनै पनि नागरिकले नागरिकता प्राप्त गर्ने हुनाले सेवा प्रवेशको न्यूनतम उमेर पनि १६ वर्ष नै कायम गरे हुन्छ भन्ने मेरो सुझाव छ।

१३. दक्षिण एसियाली देश र छिमेकी चीनको औसत आयु र अवकाशको उमेर निम्नअनुसार रहेको छ–

देश औसत आयु अवकाशको उमेर
अफगानिस्तान ६६ ६५
बंगलादेश ७५ ५९
भुटान ७३ ५७–६३
पाकिस्तान ६८  ६०–६३
श्रीलंका ७७  ६०
भारत  ७२ ६०
चीन   ७८ ६३
नेपाल  ७१.३ ५८
माल्दिभ्स  ८१ ५५–६०

१४. नेपालमा जुन कारणले निजामती सेवाका कर्मचारीलाई ५८ वर्षमा अवकाश दिइन्छ, यो विरोधाभासपूर्ण छ। जस्तै विश्वविद्यालयमा कडा मानसिक अभ्यास गर्नुपर्ने ठाउँमा अवकाशको उमेर ६३ वर्ष छ। मिहिन प्रमाण केलाएर ठूलाठूला फैसला दिनुपर्ने सर्वोच्च अदालतका न्यायाधीशको अवकाश उमेर ६५ वर्ष राखिएको छ। शिक्षक तथा स्वास्थ्यकर्मीको ६० वर्ष राखिएको छ। यहाँ प्रश्न उठ्छ, अन्य पेसाकर्मीभन्दा निजामती कर्मचारी चाँडै थाक्छन् भन्ने आधार के?

१५. यदि ५८ वर्षमा नै निजामती कर्मचारीको सृजनशीलता, शारीरिक तन्दुरुस्ती र कामप्रतिको लगाव कमजोर हुन्छ भनेर मान्ने हो भने सरकारले अवकाश दिनासाथ  संवैधानिक आयोगका प्रमुख तथा सदस्य, राजदूत वा अन्य महत्त्वपूर्ण जिम्मेवारीमा पुनः नियुक्ति किन गरिन्छ? निजामती सेवामा अब देशका लागि थप सेवा दिन सक्दैन भनेको व्यक्ति कसरी संवैधानिक आयोग हाँक्न सक्ने ऊर्जाशील बन्छ? त्यसकारण यो विरोधाभास हटाउन पनि निजामतीको अवकाश उमेर समयसापेक्षरूपमा बढाउनुपर्दछ।

१६. जसरी बाल्यावस्थालाई अर्ली चाइल्डहुड, चाइल्डहुड र लेट चाइल्डहुड भनेर विभाजन गरिन्छ। त्यसैगरी एजिङलाई पनि अर्ली एजिङ, एजिङ र लेट एजिङ भन्ने गरिन्छ। ६०–६४ वर्ष उमेर समूहलाई अर्ली एजिङ भनिन्छ। यो उमेरलाई एक्टिभ एजिङका रूपमा पनि व्याख्या गरिन्छ। त्यसैले हामीले कम्तीमा तीन दशकलाई उपयुक्त हुने गरी निजामतीको अवकाशको उमेर ६३ देखि ६५ वर्ष कायम गर्न माथि उल्लेख गरेका सूचकहरूले अनुमति दिन्छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।