बिषय प्रवेश
विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्। जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ। विश्वमा जलवायु परिवर्तन एउटा गम्भिर समस्याको रुपमा आएको छ ।जलवायु परिवर्तनमा देखिएका समस्या समाधानका लागि विभिन्न प्रयासहरु भएता पनि ति प्रयासहरु पर्याप्त छैनन । जलवायु परिवर्तनको बिषयलाई विश्वव्यापी शासकीय प्रणालीको मान्यताबाट अघि बढाउनु पर्ने देखिन्छ ।
जलवायु परिवर्तन के हो ?
कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो । संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको तापमान र मौसमको प्रकृतिमा आउने दीर्घकालिन फेरबदल हो । खनिज इन्धनको बढ्दो प्रयोग र वन विनाश जस्ता मानवजन्य क्रियाकलापमार्फत हरितगृह ग्यास उत्सर्जनका कारण विश्वको औसत तापमान बढ्दो छ ।जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन् । बारम्बार दोहोरिहने चरम मौसमी गतिविधिहरू, बढ्दो समुद्र सतह, वर्षा हुने समय र मात्रामा फेरबदल भैरहने र ध्रध्रुवीय क्षेत्र तथा हिमाली भेगमा तीव्रगतिमा हिउँ पग्लिने अवस्था आउन सक्छन्।
सामान्यतया जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मानवीय क्रियाकलापसँग सम्बन्धित भइ विश्व वायुमण्डलीय संरचनामा परिवर्तन गर्न र तुलनात्मक समयावधिभित्र प्राकृतिकरुपमा परीक्षण भएको जलवायुलाई जनाउँछ। मानव जीवनमा भइ रहेका विभिन्न क्रियाकलापका कारण पृथ्वीमा हरितगृह ग्याँस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भइ वातावरणीय अवस्थामा परिवर्तन भइरहन्छ। जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ। पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो। जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।
जलवायु परिवर्तनका प्रभाव
अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पु¥याउँदछन् ।ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।१९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।
विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।
नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन् । तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्गट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउँ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउँ मरुभूमिमा परिणत हुन सक्छन्।
समुन्द्रको सतह बढ्न गइ होचा स्थानहरुमा भएका राष्ट्रहरु डुबानमा पर्न सक्ने खतरा पनि जलवायु परिवर्तनको कारणले बढेको छ। मौसममा आएको परिवर्तनले गर्दा समयमा पानी नपर्नाले उत्पादनमा कमी, विभिन्न सरुवा रोगहरुको प्रकोप बढ्न गएको छ । पृथ्वीको सौन्दर्य बिस्तारै संकटमा पर्न थालेको, जीवजन्तुका लागि योग्य वासस्थानको अभाव हुनु, औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण हरितगृह ग्या“सको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीब्रता आएको छ। यी असरहरु जलवायु परिवर्तनको कारणले मानवय जीवनमा देखा पर्दै गएका छन्।
हिन्दूकुश क्षेत्र अफगानिस्तानदेखि पाकिस्तान, भारत, चीन, भुटान र वर्मासम्म फैलिएको छ। यस क्षेत्रमा पर्ने अफगानिस्तानको करिव पुरै क्षेत्र र पाकिस्तान र भारतको केही क्षेत्र जलवायु परिवर्तनका कारण ज्यादै सुख्खा र पथ्थरमात्र भएको उजाड क्षेत्र भइसकेको छ र यहाँ पानीको ज्यादै नै अभाव हुन थालेको छ।हिमाली क्षेत्रमा पनि सामान्य भन्दा बढी र अहिलेसम्म कै अधिक तापमान यो वर्ष रेकर्ड गरिएको छ। फलस्वरुप हिमनदी पग्लेर तालहरू बन्न शुरु भएको छ। हिमालको हिउँ पग्लेर बन्दै गएका तालहरू फुटेर तल्लो भेगमा अप्रत्याशित बाढी र पहिरो जान सक्छ भने त्यस्ता तालमा हिमालबाट हिउँका ठूला ठूला पहिरो खसेर पानी छछल्किन गई बाढी र पहिरो जाने सम्भावना पनि उत्तिकै हुने गर्दछ।हाल क्षणिक रूपमा मनोरम ताल बन्न गएको भएता पनि पछि यस्ता तालहरू सुक्दै जान्छन्। यो नै मरुभूमिकरणको पहिलो चरण हो। यो क्रम रहिरहेमा वा बढ्दै गएमा केही दशक भित्र हिमालको हिउँ झनै पग्लेर ताल बनेका यस्ता क्षेत्रको पानी सुक्दै जाने र पथ्थरै पथ्थरको मरुभूमि बन्ने क्रममा हिमालय पुग्न सक्दछ। यो एक अति विकराल स्थिति हो।
अर्को तर्फ चुरे पर्वत श्रृखलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन–जंगल मासिने र ढुंगा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसङ्ख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
पुरै मुलुक तथा दक्षिण एशियाको नै वातावरणमा ह्रास आउन थालेकोले पनि जलवायु परिवर्तन हुनमा थप बल पुगेको छ। मनसुनको कुनै ठेगान नहुने, कुनै वर्ष लामो अवधिसम्म पानी पर्ने त कुनै वर्ष खडेरी लाग्ने, प्रत्येक वर्ष तापक्रममा वृद्धि हुँदै जानाले जनजीवन नराम्ररी प्रभावित हुने तथा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा महामारीहरू बढ्दै गएका छन्।वैज्ञानिकहरूको एक आँकडा अनुसार आउँदो ५० वर्षमा दक्षिण एशियामा गर्मीमा अप्रत्याशित वृद्धि भएर वर्षेनी करोडौं मानिसको मृत्यु हुन सक्ने अवस्था आउने छ। यसको शुरुवात भइ नै सकेको संकेत पाउन थालिएको छ।वर्षभरका विभिन्न समयका मौषमसँग नेपालका चाडपर्वहरूको अकाट्य सम्बन्ध कायम रहेकोमा जलवायु परिवर्तनले गर्दा केही समय यता चाडपर्व र सोसँग सम्बन्धित मौषमको बीचमा तालमेल नहुने अवस्था सिर्जना हुँदै गएको देखिन्छ।
विश्वको तापमान बढ्दै जानाले हिमालय जस्तै पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धमा रहेको विशाल हिउँको भण्डार पनि छिटो छिटो पग्लन थालेको अवस्था विधमान छ । विश्वका अन्य क्षेत्रभन्दा उत्तरी गोलाद्र्धको तापमान तिव्र रूपले बढ्दै गएको छ भने दक्षिणी भागमा अवस्थित एन्टार्कटिका पनि ज्यादै प्रभावित हुँदै गएको अवस्था विधमान छ । जलवायु परिवर्तन कै कारण पानीको सतह ह्वात्तै बढ्न थाल्नुका साथै विभिन्न क्षेत्रमा भूमिगत जल भण्डार घट्दै जानाले विश्वका धेरै टापु राष्ट्रहरू डुब्दै जाने तथा समुद्रको किनारामा अवस्थित विशाल शहरहरू भित्र पानी पसेर जटिल समस्या निम्तने गरेको अवस्था विधमान छ । घना र अव्यवस्थित शहरीकरणको कारण जमीन बिस्तारै भासिँदै जाने क्रमको शुरुवात भइसकेको अवस्था विधमान छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्क, भारतको मुम्बइ र कोलकाता, भियतनामको हो चिह्मीन सिटी, थाइल्याण्डको बैंकक, इन्डोनेशियाको जकार्ता आदि पानीको वहाव र सतह बढ्दै जानाले खतरामा पर्दै गएको अवस्था विधमान छन्।त्यस्तै बंगलादेशको समुद्री किनारा, माल्दिभ्स आदि डुब्दै जाँदै छन् भने मेक्सिको शहर तथा कैयन् अन्य घना बस्ती भएका शहरहरू भासिँदै गएको अवस्था विधमान छन्। यस्ता शहरहरूमा हुने दैवी प्रकोपहरूबाट शहरी गरीव समुदाय नै बढी प्रभावित हुने गर्दछन्। त्यस्ता मानिसहरू घरबार विहिन हुन पुगेर वातावरणीय शरणार्थीको रूपमा बाँच्न वाध्य हुने गर्दछन्। हावामा कार्वन डाई अक्साइडको मात्रा अधिक हुन थालेकोले यसले एकातर्फ सबै प्रकारका जिवहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ भने अर्को तर्फ समुद्रको सतह तथा जमीनमा पनि यसले अम्ल वर्षा गराएर वातावरणलाई झनै दुषित बनाइरहेको छ। समुद्रको समेत तापमान बढ्न थाल्नाले पानीमा जिउने जिवहरू पानीको सतहमा भन्दा पनि निकै गहिराई भित्र बस्न थालेका छन्।
जलवायु परिवर्तनको पहिलो शिकार कृषि क्षेत्र हुने भएकोले खाद्यान्नको संकट हुनुका साथै कृषि क्षेत्रमा आश्रित जनसंख्याको आर्थिक र सामाजिक जनजीवनमा ठूलो फरक पर्न थाल्दछ। त्यसरी नै मुलुकको समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्न थालेर यसले रोजगारी र आर्थिक गतिविधि तथा खासगरी मुलुकको कृषिमा आधारित उद्योगधन्दा र व्यापारलाई समेत शिथिल बनाइदिन सक्छ। अप्रत्याशित बाढी पहिरोले गर्दा बनिसकेका र निर्माणाधीन पुर्वाधारहरू ध्वस्त हुन जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ । जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको अवस्था विधमान छ ।
हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्। तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले विरुवामा फूल लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पक्षी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्को पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको अवस्था विधमान छ । तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको अवस्था विधमान छ । वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्। पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स–साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्कु इन्सेफलाईटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ। तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ। हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ। नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्दछन्। जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ। उदाहरणका लागि, दक्षिणपूर्वी एसियामा करिब २२ करोड १० लाख जनसंख्या गरीबीको रेखामुनी रहेको छ । यस क्षेत्रका गरीब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचा भू–भागमा बसोबास गर्दछन्। यी गरीब मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन छ अथवा यिनीहरू ज्याला मजदुरी र सामुद्रिक निर्भरताबाट जीविका चलाउँछन्। यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन।
जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन । नेपालको तापक्रम वर्षेनि ०.०६ डिग्रीले बढिरहेको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । विश्व जनसंख्याको करिब ०.४ प्रतिशत जनसंख्या बसोबास गर्ने नेपालले विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२७ प्रतिशतमात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई ४ हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको एक प्रतिशत पनि पुग्दैन । भूमिका यति न्युन भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका हिसाबले नेपाल विश्वकै चौथो जोखिमपूर्ण राष्ट्रको रूपमा रहेको छ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा हिमगलन बढ्दा हिमनदी खुम्चिँदै जाने र हिमताल विस्फोटको खतरा बढ्दैछ । मनसुनको समय, दर तथा प्रकृतिमै फरकपना आएको तथा तापक्रमको वृद्धिले गर्दा रोगको महामारी साथै कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ । विभिन्न खाले प्राकृतिक प्रकोप वृद्धि भएको अवस्था छ । वार्षिक वर्षा चक्रमा हेरफेर, खडेरी, अतिवृष्टि तथा अनावृष्टि र खण्डवृष्टि अनि मनसुनको समय र अवधिमा परिवर्तनको कारक तत्त्व पनि जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनका कारण बढेको जलोत्पन्न प्रकोपले कृषि तथा खाद्यान्न, जलस्रोत, वनजंगल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पारेको छ ।
वातावरणको परिवर्तनले संसार तातेको छ र यस शताब्दीको अन्त्य वा सन् २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका कारण सन् २०५० मा सागरको पानी २१ सेमीमाथि आउनेछ । सागरको छेउछाउ बस्ने १० करोड बेगर हुनेछन्, ३ करोडमा भोकमरी र १७ करोडमा पिउने पानीको समस्या देखिने भविष्यवाणी वैज्ञानिकले गरेका छन् । खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।
खडेरी, बेमौसममा भारी वर्षा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातहरूको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धिका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परिरहेको छ । रोगको प्रकृतिमा पनि परिवर्तन आएको छ । जैविक किटाणुमा पनि औषधि पचाउन सक्ने क्षमता बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वास प्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ । पानीजन्य, कीटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोषणजस्ता नसर्ने रोगहरूको १० देखि १५ गुणासम्म तीव्र वृद्धि भएको पाइन्छ । नेपालमा पनि सन् १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म किटाणुजन्य रोगमा वृद्धि भएको पाइन्छ । नेपालमा बिरामी हुनेमा ५१ प्रतिशत कारण सरुवा रोग नै पर्छ, जुन जलवायु परिवर्तनसँगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गौलाको पत्थरी, अन्धोपना, कुपोषण र त्यसबाट उत्पन्न जटिलताहरू पनि लगातार बढिरहेका छन् । जर्मन वैज्ञानिकका अनुसार विश्वमा भएको बढ्दो तापक्रमले भविष्यमा जन्मने बच्चाहरूमा रांैको संख्या बढ्नेछ । पुरुष रौंमा हुने पुरुष क्रोमोजोमले महिलामा हुने रांैभन्दा बढी गर्मी सहन सक्छ । तसर्थ, अबका बच्चाहरूमा पुरुष रांैको मात्रा बढ्नेछ । जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपहरूमा वृद्धि भएको छ । तराईमा शीतलहर तीन÷चार दिन चल्थ्यो । तर, हाल दुई÷तीन हप्तासम्म लम्बिएको छ । जनसंख्या विस्थापन, धनजनको हानि—नोक्सानीले मानसिक तनाव वृद्धि भएको छ । घाउ, चोटपटक, मृत्युजस्ता समस्या आइरहेका छन् । बाढी प्रकोपपछि देखापर्ने झाडापखालालगायतका पानीजन्य रोग बढ्छन् । खानपान, स्वास्थ्य संस्था, बाटो ध्वस्त, आवागमनमा अवरोध, दूषित पानी र सरसफाइमा कमीको कारण पनि स्वास्थ्य समस्या तथा संक्रमण प्रकोपका बेला बढ्छन्, जुन जलवायु परिवर्तनसँगै दिनप्रतिदिन बढ्दो छ । साथै, महाप्रलयको आशंका पनि छ । पुगनपुग १ लाख पीडित र ४ सयको मृत्यु भएको कालिकोट, जाजरकोटमा फैलिएको झाडापखाला, चितवनको डेंगु, अन्य स्थानका स्वाइनफ्लु, बर्डफ्लु पनि यसैसँग जोडिएको पाइन्छ । दसैंपछिको वर्षा, बाढी तथा पहिरो यसैको परिणाम हो ।
वातावरण संवेदन मानिएका टाइफाइड, रातो आँउ, हैजा १०आंै गुणाले बढेका छन् । सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विषालु सर्प नपाइने ठाउँमा विषालु तथा पहाडमा पनि तराईमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । कालाजार नेपालको दक्षिण क्षेत्रबाट अहिले उत्तरतिर विस्तार छ । उन्मुलनको अवस्थामा रहेको औलो तराई क्षेत्रबाट पहाडतिर उक्लेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ । तराईमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाडौंमा छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाडौंकै बासिन्दामा पनि देखिइसकेको छ । घरपालुवा तथा जगंली जनावरको पिसाबबाट मानिसको नांगो खुट्टा हुँदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखापरिसकेको छ । तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीउ चिलाउने, घाउ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोस हुने र मर्ने बढ्दै छन् । हिमालवासीका अनुहारका छाला डढ्ने, आँखामा असर परेर मोतियाबिन्दु र मोतियाबिन्दु भई अन्धोपन हुने सम्भावना रहने भएकाले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली बासिन्दाले पानी कम पिउँछन् तर जलवायु परिवर्तनको कारण पानीको स्रोतहरू कम हुँदै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भई मिर्गौलाको पत्थरी हुने सम्भावना बढ्छ ।सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडौं मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ ।शीतलहरको बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पक्षघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यु हुनेको संख्या बढ्दै छ ।
एसिया र अफ्रिकी क्षेत्रका गरिब देशहरू जलवायु परिवर्तनसँगै बढेका प्राकृतिक प्रकोप, खडेरी, जलस्रोतको विनाश तथा प्रतिकूल मौसमका कारण भोकमरी र विभिन्न रोगब्याधीको महामारीबाट गुज्रिनुपरेको छ । जलवायु परिवर्तनको असर भूधरातलीय तथा आर्थिक–सामाजिक हिसाबले कमी वा बढी देखिएला, तर यसको असर विश्वव्यापी छ । फरक यत्तिमात्र हो कि धनी देशहरूसँग जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्ने तागत छ भने गरिब देशहरू बित्थामा मार खेप्न बाध्य छन् र उनीहरूसँग जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक प्रभावसँग जुध्ने सामथ्र्य पनि छैन ।वैज्ञानिकहरूले १.५ डिग्री सेल्सिअससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि सुरक्षित हुने बताएका छन्। त्योभन्दा बढ्यो भने चाहिँ प्राकृतिक वातावरणमा खतरनाक परिवर्तनहरू आउने र त्यसले मानव जीवन बदल्ने उनीहरू बताउँछन्। धेरै वैज्ञानिकहरूको अनुमानमा यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सिअससम्म बढ्न सक्छ। यसको असर विश्वभर फरक–फरक हुनेछ। यूकेजस्ता देश अतिवृष्टिका कारण बाढीको जोखिममा हुनेछ, समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने छन्,थुप्रै अफ्रिकी देशहरूमा खडेरी र खाद्य अभाव हुने छ,उत्तर अमेरिकी महादेशको पश्चिम अमेरिकामा खडेरीको सम्भावना हुनेछ भने अन्यत्र अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन्,अस्ट्रेलियामा चरम गर्मी र खडेरी देखिने छ।तापक्रम र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तनका कारण सन् २०३० सम्ममा १० करोड मानिस गरिबीको रेखामुनि धकेलिने विश्व बैंकको अनुमान छ । हाम्रो भूगोल, न्यून आर्थिक विकास र हाम्रो ताजा हावा र जलस्रोतमा आएको कमीका कारण जलवायु परिवर्तनको विनाशकारी नतिजाबाट हामी बढी पीडित हुनेछौं। यस कुराको जानकारी त हालकै स्थिती बाट आंकलन गर्न सकिन्छ।
निष्कर्ष
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा संकटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्ने छ। हाम्रो मुलुकमा रहेका हिमशृखला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।सन् २०२४ को नोभेम्बरमा अजरवैजानको वाकुमा भएको कोप २९ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।सन् २००७को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ। तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ।
जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ।मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ।यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक ’ग्रीनहाउस ग्यास’ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन् ।पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ ।जलवायु परिवर्तनको हेक्का नराखी ठूला आयोजना बनाउनु घातक हुने चेतावनी जलावायुविज्ञहरुले दिने गरेका छन् ।तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी वेला वेलामा बिज्ञहरुले दिने गरेका छन् ।ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण वनविनाश हो। जब रुखहरू काटिन्छन् वा बालिन्छन् त्यसमा सङ्क्रहित कार्बन मुक्त हुन्छन्।
नेपालजस्तो कृषिप्रधान देशमा यसले आफ्नो सबैभन्दा बढी आम्दानी गर्ने स्रोतहरू जस्तै बाली, खेत र प्राकृतिक जडिबुटीहरु गुमाउन सक्छ। तसर्थ, जलवायु परिवर्तनले व्यक्तिगत जीविकोपार्जनमा पार्ने असरका अतिरिक्त त भान छँदैछ त्यस माथि हामीजस्ता अविकसित राष्ट्रको संघर्षरत अर्थतन्त्रमा पनि यसले गम्भीर असर पार्नेछ । कुन नीति र सुधारहरूले विकासोन्मुख अर्थतन्त्रहरूको त्यस्ता बाह्य झट्काहरूप्रति लचिलोपन बढाउँछ ? कुन संस्थागत व्यवस्था र नीतिगत ढाँचाहरूले तिनीहरूलाई सबैभन्दा छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया दिन अनुमति दिनेछ ? अन्तर्राष्ट्रिय नीति समन्वय र उदीयमान अर्थतन्त्रका लागि के भूमिका छ ?
हालको जलवायु परिवर्तन र ग्लोबल वार्मिङले विश्वका धेरै देशहरूमा विद्यमान पानीको सरसफाइको संकटलाई अझ बढाउँदै लगेको छ। तसर्थ जलवायु परिवर्तनका समस्याहरूसँग लड्नका लागि कानुनी संरचनाको उचित कार्यान्वयनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्छ । कानुनको लामो इतिहासको बिरूद्ध विश्वव्यापी वातावरणीय परिवर्तन एउटा नयाँ र जटिल समस्या हो जसको लागि हामी नयाँ कानुनी शासनको फेसन गर्दैछौं। नयाँ कानुनी व्यवस्थाहरूले जलवायु परिवर्तन, विश्वव्यापी चिन्ताको बृद्धि र समसामयिक कानुनी विकासका लागि कमन्स (समुहको भु उपयोग र प्राकृतिक स्रोतहरुको उपयोग) त्रासदीलाई नेपालले पनि वातावरणीय हानिको लागि दायित्वको मापदण्डहरू विकास गर्न, मूल्यांकन गर्न आवश्यक छ। अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्य मै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्पसमेत निम्त्याउँदै छ । सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडांै मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ । पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।