निजामती कर्मचारीमा ट्रेड युनियन :आवश्यक्ता र औचित्य

Trade Union लाई अंग्रेजी शब्द कोषले यसरी परिभाषित गरेको रहेछ- A Trade Union is an organized association of workers formed to protect and promote their rights , interests and welfare.
यो परिभाषा अनुसार आफ्नो अधिकार, कर्तब्य,रूची र कल्याणको बृद्धी र रक्षाको लागि गरिने कामदारहरूको एउटा संगठनलाई ट्रेड युनियन  भनिन्छ । अर्थात यो कुनै पनि संस्थाको कामदारको एउटा संस्था हो जसको काम तिनीहरूको अधिकार, रूची र भलाईको रक्षा र अभिबृद्धी गर्नु हो।
हाम्रो निजामती सेवा ऐन,२०४९ ( संशोधन सहित ) को दफा ५३ मा यो ऐनको अधिनमा रही निजामती कर्मचारीले ट्रेड युनियन गठन गर्न सक्ने छन् भनी कर्मचारीहरूलाई ट्रेड यूनीयनमा आवद्ध हुन छुट दिईएको छ।
सरकार र ब्यबस्थाको सुक्ष्म आलोचना गरे पनि पद मुक्त हुन सक्ने राजनीतिक ब्यबस्था (पंचायती ब्यबस्था ) बाट उन्मुक्ति पाए संगै नेपालका राजनीतिक दलहरू संगै निजामती कर्मचारीहरू समेत बढी स्वतन्त्र हुन चाहन्थे। त्यसो त तत्कालीन राजनीतिक दलहरूले बहुदलीय प्रजातन्त्रको आन्दोलनमा तत्कालीन निजामति कर्मचारीहरूको सहयोग भूमिगत रूपमा लिएकै थिए र सो ब्यबस्था परिवर्तनमा निजामती कर्मचारीहरूको भूमिका पनि महत्वपूर्ण नै थियो। यसरी दुबैको भूमिकाबाट बदलिएको राजनीतिक वातावरणमा निजामति कर्मचारीले आफ्नो स्वतन्त्रता खोज्ने नै भए। यसैको परिणाम स्वरूप २०४९ मा बनेको निजामती सेवा ऐनमा ट्रेड यूनीयनको प्रावधान राख्न सफल भए निजामती कर्मचारी।
ट्रेड युनियनको मर्म के हो? यसको कसरी उपयोग हुनु पर्ने हो? भन्ने विषयमा निश्चित अवधारणाहरू प्रतिपादन भएका छन्, ती मध्ये मुख्य अबधारणाहरू निम्न बमोजिम छन्-
(१)- Collective Bargaining – कामदारहरूको काम गर्ने वातावरण, ज्याला र सेवा सुविधाका बारेमा रोजगारदाता संग मोलमोलाई गर्ने सामुहिक क्षमताका लागि यस्तो यूनीयन आवश्यक पर्छ भनेर यो अवधारणाको विकास भएको पाईन्छ।
(२)-Advocacy-कानूनी विषयका बारेमा कामदारका पक्षबाट रोजगारदाता संग वहस छलफल गर्नु परेमा सक्षम प्रतिनिधित्व गरी निकास दिने काममा अग्रसरता देखाउने।
(३)-Protection of Rights- कामदारहरूका आफ्ना अधिकारको संरक्षणका लागि आवश्यक पहल गरी तिनीहरूलाई अतिक्रमण हुनबाट जोगाउने। यसरी आफ्ना अधिकारको संरक्षणका कुराहरू गरी रहदा आफ्ना कर्तब्यबाट किमार्थ विचलन हुने छुट भने यूनीयनकर्ता संग हुदैन।
(४)- Work Place Safety- कामदारको कार्यस्थल सुरक्षित हुन नसकेमा प्रतिफल आउने गरी काम गर्न सकिदैन। काम गराइका हरेक पाईला सुरक्षित हुनु पर्छ, भनिएको पनि छ “ Safety First “ यसको अर्थ पहिला आफू सुरक्षित भएमा मात्र अरूलाई सुरक्षा दिन सकिन्छ। त्यसैले आफ्नो काम गर्ने स्थललाई असुरक्षित पार्ने तत्वहरूबाट हरेक कामदारले सुरक्षित बनाउनु पर्ने हुन्छ। यसको लागि यूनीयनको ठूलो भूमिका हुने गर्छ।
(५)-Skill Development- हरेक कामदार उपभोक्ता मैत्री हुनु पर्छ। त्यसै गरी हरेक कामदार प्रविधि मैत्री र क्षमतावान हुनु पर्छ। यसको निम्ति आफूमा रहेका सीपलाई सेवा ग्राहीको चाहना , वर्तमान नीति नियम र प्रविधि अनुसार विकसित गराउनु पर्ने हुन्छ। यस्तो भूमिकामा युनीयनले आफूलाई उतार्न सकेको हुनु पर्छ।
यस प्रकार ट्रेड युनियनका भूमिका देहाय बमोजिम हुने गर्छन्-
(१) कामदारहरू बीच पक्षपात र भेदभाव नगर्ने,
(२) रोजगार दाता र कामदार बीच समन्वय गर्ने,
(३) कार्य स्थलमा हुने विविधतालाई सन्तुलन गर्ने,
(४) आर्थिक र सामाजिक न्यायको अभिबृद्धि गर्ने,
यी त भए ट्रेड युनियनका सैद्धान्तिक पक्ष र हामीले समीक्षा गर्नु पर्ने विषय भने नेपालमा हाल खेस्रा हुदै गरेको निजामति विधेयकमा ट्रेड युनियनका बारेमा उठ्न गएका टिप्पणीहरू र तिनीहरूको सम्बोधन नै हो।
हाम्रो देशमा ट्रेड युनियनको जन्म देशमा हुदै गरेको राजनीतिक परिवर्तन संगै भएको हो। निजामती सेवा ऐनले त्यतिबेला कल्पना गरेको ट्रेड युनियनमा त्यति बेला कै राजनीतिक रंग देखिएको छ। जसरी राजनीतिक क्षेत्रमा सस्तो लोकप्रियताले ठाऊ पाएको छ, ट्रेड युनियनमा पनि त्यसकै छाया देखिएको छ। वास्तविक कुरा के हो भने ट्रेड युनियन र बहुदलीय प्रजातन्त्रको जन्म एकै पटक र एउटै पृष्ठभूमिमा हुन गएको भए पनि यी दुई समानान्तर तवरले जान मिल्ने विषय हुदै हैनन्। यी दुईमा राजनीतिक क्षेत्रले दिशानिर्देश गर्ने, नीति बनाउने हो भने त्यसलाई कार्य रूपमा उतार्ने काम निजामती कर्मचारीको हो तर ब्यबहारमा त्यस्तो भै रहेको पाईदैन। यो नै वर्तमानमा देखिएको समस्या हो। यसैले यतिखेर हाम्रा केही विधायकहरू ट्रेड युनियनको नामै सुन्न चाहदैनन् र यसलाई भावि निजामती सेवा ऐनमा स्थान दिनै चाहदैनन्। त्यसै गरी ट्रेड युनियनका पदाधिकारीहरू हालका गतिविधि र ब्यबहारबाट टसमस हुनै चाहदैनन्। ट्रेड युनियनका वारेमा आएका यी दुवै सोचहरू अतिवादी सोच हुन्।

बिज्ञापन

Trade Union को ईतिहास हेर्दा यूरोपमा भएको औद्योगिक क्रान्ति संगै १८ औं र १९ औं शताब्दी बीच यसको अवधारणा आएको पाईन्छ। यसरी हुन गएको औद्योगिक क्रान्ति संगै विभिन्न सीप युक्त कामदारहरूको रोजगारीमा अशर पर्न गएकोले यो बेरोजगारीबाट जोगिन बेलायतमा ट्रेड यूनीयनको शुरूवात भएको हो। हाल विश्व मै कृत्रिम विद्वता ( Artificial Intelligence ) को बाढी आई रहेको सन्दर्भमा ट्रेड यूनीयनको महत्व अझै बढ्ने निश्चित छ। यो परिवेशमा नेपालमा चर्चा भै रहेको ट्रेड युनियनको विषयले सान्दर्भिकता पाउनु स्वभाविकै हो।नेपालमा भएको ठूलै राजनीतिक परिवर्तन संगै बन्न लागेको निजामति विधेयकले पनि निजामति कर्मचारीको ट्रेड युनियनको अवधारणालाई समय सापेक्ष बनाएर अगाडि बढ्नुको बिकल्प देखिदैन। तर यसको निम्ति निम्न ब्यबस्था सहितको ट्रेड यूनीयन राख्न वान्छनीय देखिन्छ।

बिज्ञापन

क. संघीय निजामती ट्रेड युनियन- हाल विभिन्न राजनीतिक दलका भातृ संगठनको रूपमा रहेका ट्रेड यूनीयनको सट्टा एक मात्र ट्रेड यूनीयन राख्ने जसमा मुलुक भरका निजामती कर्मचारीबाट निर्वाचित पदाधिकारी रहने ब्यबस्था गर्ने,
ख. कार्यालय प्रमुख र विभागीय प्रमुखहरू ट्रेड युनियन कुनै पनि पदाधिकारीमा उठ्न नपाउने तर मतदान गर्न पाउने ब्यबस्था गर्ने,
ग. ट्रेड युनियनका माथि उल्लेख गरिएका सैद्धान्तिक अवधारणाहरू समावेश गरी ट्रेड यूनीयनको विधान सामान्य प्रशासन मन्त्रालयले बनाई मं प बाट पारित गर्ने,
घ. निजामति कर्मचारीले कुनै पनि नामबाट कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र लिएको पाईएमा अवकाश दिन मिल्ने गरी कानूनी ब्यबस्था गर्ने।
निकट भविष्य मै संसदमा प्रवेश हुदै गरेको निजामती विधेयकले ब्यबहारिक ट्रेड युनियनको ब्यबस्था सहित छिट्टै नै मूर्त रूप पाउन सकोस , शुभकामना छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।