सहसचिव गणेशराज वस्तीका कविता :-उनीहरू बदलिऊन्

सिधा अगाडिको पर्खाललाई
यसो हेरेँ
र, सोचेँ
आज त्यो पर्खालको चित्र कोर्ने कहाँ छ?
चित्र कोर्नेले फेदबाट कोर्यो वा टुप्पाबाट!
जताबाट कोरेपनि
आखिर उसले चित्र त कोर्यो !
उसको सीप त्यहाँ प्रकट भयो
चित्रकारको सीपलाई मिस्रीहरूले
आफ्ना सीपमा जोडे
थपथाप गरे
बढाए, बिस्तार गरे।
र, अन्ततः
यौटा चित्रले मुर्तरूप पर्खाल पायो
ढुङ्गा, इंटा र मसलाको मिलापमा
हावापानीसँग सन्धि गरेर
घामसँग दोस्ती बढाएर
गारो ठढियो,
चित्रकार
मिस्री
प्रकृतिको अवयब
सर्जक
र सिर्जनाको हेतु
यी सबैको जोड र एकीकृतभावबाट
निर्मित पर्खाल
जो ठढिएको छ आज
मेरा सिधा अगाडि नब्बे डिग्रीमा
हाजिर छ ऊ आफ्ना काममा
अरूका मेहनतमा ब्युत्पन्न ऊ
अब आफ्नो कर्तव्य सम्झिरहेछ
आफूलाई आफू बन्न बनाउन
सम्लग्न अवयब सम्झिरहेछ
र त होला ऊ
हर्दम होशियार देखिन्छ
सयंम देखिन्छ
वरपरबाट
यताउति गर्ने जोकोहिलाई
हेर्न त हेर
हेरेरै त के नै बिग्रन्छ र?
भन्दै तर हल्लाउने, भाँच्ने काम चाहिँ नगर भन्छ ऊ!
ऊ ठाढो छ, उभिएको छ
उसको आडमा
अरू उभिएका छन्
अरू ठढिएका छन्
उसलाई थाह छ कि
जसरी ऊ गारो
चार- पाँचवटा तत्त्वबाट
बनेको छ
ती छिन्नभिन्न भए
उसको अस्तित्व
सदाका लागि समाप्त हुन्छ
त्यसै गरि
उसको भरमा पनि
कयौं अरू बाँचेका छन्
त्यसैले बुझक्कड ऊ
ज्ञानी ऊ
उसले,
परस्पर सहयोग गर्ने विचार बोकेको छ
ऊ (गारो) बोल्दैन
तर धेरै गर्छ
उसले गरेको सिधै देखिन्छ
हामीले यहाँ गारोबाट
धेरै सिक्नुपर्ने देखिन्छ
नबोल्ने वा थोरै बोल्ने
र धेरै सोच्ने र गर्ने
हे बौद्धिक गारो
हे कामयावी गारो
तिमीलाई हामीले
आफ्नो आइडोल बनाउन सकूँ
यहाँ आफूलाई आइडोल भन्नेहरूले
तिमीबाट धेरै सिकून्
उनीहरू बदलिऊन्।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।