दशैँलाई नेपालीहरुकै सबैभन्दा महान चाडका रुपमा मनाउने गरिन्छ । किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ । दशैँ मनाउने विषयमा मूलत दुइ विश्वासहरु रहेका छन् एक नवदुर्गा भवानीको विजय संग सम्बन्धित र अर्को मर्यादा पुरुषोत्तम रामले रावणमाथि हाँसिल विजय संग सम्बन्धित छ ।
बिज्ञापन
यसै गरि भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिमाथि सत्यको सदा जीत हुन्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रुपमा मनाइएको हो । तथापि यो दशैंको सम्झना विशेष रुपमा चैते दशैंको वेलामा गर्ने गरिन्छ भन्ने विश्वास पनि रहदै आएको छ ।
बिज्ञापन
चैते दशैंका दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
दशैँमा विभिन्न दिनहरुमा नवदुर्गा भवानीको विभिन्न रुपको पूजा गर्ने गरिन्छ । जसमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको गरी घटस्थानाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ । नवदुर्गा भवानीले राक्षसहरुको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय परम्परा रहदै आएको छ । सप्तमी अर्थात फूलपातीका दिनका दिन बेलपत्र, धानको बाला, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भित्राउने गरिन्छ । यसैगरी नवरात्रको आठौं दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ ।
बिज्ञापन
दशैंमा जमराको विशेष महत्व हुन्छ ।
नेपालमा दशैंका लागि घटस्थापनाको दिन जमरा राख्ने गरिन्छ । जौ को बिज छरेर उम्रिएको जमरालाई दशमीको दिन मान्यजनले लगाइदिने गरिन्छ ।
माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको भनाइ रहदै आएकोछ । जमरा मकै, गहुँ तथा जौ का दाना उमारेर तयार गरिन्छ । तरपनि यसमा जौ का दाना वढी मात्रामा प्रयोग गर्ने गरिन्छ । घाम नलाग्ने ठाउँमा उमारिने भएकोले जमरा पहेँला हुन्छन । नवरात्रको सातौं दिनलाई फूलपाती भनिन्छ । दशैंमा यो दिनको महत्व अधिक रहेको छ ।
गहुँ, जौ आदिको बीजद्वारा अंकुरित नयाँ पुष्पको रुपमा जमरा दसैँमा नयाँ फूलका रुपमा घटस्थापनादेखि नौ दिनसम्म विशेष पूजा गरी विजया दशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।
नौदिनसम्म राखेको जमराको रस बनाएर ग्रहरण गरेमा असाध्यभन्दा असाध्य रोगहरू निको हुन्छन् । औषधीय गुणका रुपमा जमरालाई महौषधि पनि भनिएको छ ।निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने यसले शीतलता प्राप्त गराउँछ विभिन्न प्रकारका रोगव्याधी र कष्टहरू मेटिएर जान्छन् भन्ने जनविश्वास छ।जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ ।
वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।यसैकारणले यज्ञादीमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।केरा ,धान, हलेदो, दारिम, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । नेपाल एकिकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्याउने गरिन्थ्यो । काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ । यस दिन विभिन्न जिल्लाहरुमामा कर्मचारीहरु , ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ । दशैंको प्रतिपदाबाट आजको कोजाग्रत पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
कोजाग्रत पूर्णिमाको दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले पृथ्वीको भ्रमण गरी ‘को जागेको छ रु’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिने प्रचलनछ ।दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । कतै दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकालगाउने चलन छ भने कतै दशमीको दिन मात्र टिका लगाउने चलन छ ।
नवविवाहित पुरुष र महिलाका लागि दशैं पर्व विशेष उत्सवको रुपमा रहन्छ।यस दिनमा बेहुलीको माइतीघरमा दही केरा लगायतका खाजा ल्याउने गरिन्छ ।
तराईमा बडादशैँलाई दुर्गापूजा वा दशहरा भन्ने गरिन्छ। दशहरा सुरु हुनुभन्दा एक दिन अगावै मध्यरातमा खासगरी घरका बालबालिकालाई दुष्ट प्रवृत्तिको प्रभावबाट जोगाउन भन्दै नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल/छिमेकमा हिँडडुल नगर्न सुझाव दिइने प्रचलन पहिलेको तुलनामा कम भए पनि अझै पाइन्छ।
त्यस्तै दशहरा सुरु भएको दिन घटस्थापनादेखि दश दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन रहेको छ। झिझिया घटस्थापनादेखि दशमीसम्म देखाइने लोकनृत्य हो।
तराईमा दशहराको अवसरमा खासगरी ग्रामीण भेगमा कतिपय स्थानमा देवस्थानको सामूहिक पूजा गर्ने परम्परा रहिआएको छ भने नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा जमरा राख्ने चलन रहेको छ। दशैँ अर्थात् दशहराको पहिलो दिन घटस्थापनाको अवसरमा तराईका प्रायस् हरेक स्थानबाट कलश यात्रा निकालिन्छ।कलश यात्रामा विशेष रूपमा कन्या तथा गाउँघरका महिलाले जलाशयबाट घैँटामा जल भरेर, आँपको पल्लो, नरिवल, रातो कपडा बेरेको घैँटो टाउकोमा राखेर, देवी दुर्गाको मन्दिरमा कलश स्थापना गर्ने गरेका छन्।
जानकारहरूका अनुसार नेपालमा जाति, भूगोल र परम्परा अनुसार दशैँमा रातो, सेतो, पहेँलो र कालो रङ्गको टीका लगाउने चलन छ।दशैँलाई प्रमुख चाडको रूपमा मनाउने हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरैजसोले यो चाडमा रातो टीका लगाउँछन् भने राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायका अधिकांशले दशैँमा सेतो टीका लगाउने गरेका छन्। तामाङ समुदायका केहीले सेतो टीका लगाएर दशैँ मनाउने गरेका छन्। पछिल्लो समय कतिपय जनजातिहरूले पनि दशैँमा रातै टीका लगाउने गरेका छन्।
नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने त्रिपुरासुन्दरी मन्दिरमा परापूर्वकालदेखि नै डोल्पाको त्रिपुराकोटवासीले घटस्थापनादेखि दर्शैँका दिनसम्म सबै विधि र प्रक्रिया पूरा गरेर देवी देवताको पुजाआजा गर्ने चलन छ । डोल्पा त्रिपुराकोटवासीको दशैँ टीकाको आफ्नै साइत रहने र परम्परा तोडे गाउँमा अनिष्ट हुने विश्वास रहेको छ।
भारतको उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलीलाको प्रर्दशन गर्ने गरिन्छ ।
यो चाड नेपालको अतिरिक्त भारत, बङ्गलादेश, बर्मा, मलेसिया लगायतका देशहरुमा पनि उल्लासपूर्वक मनाउने गरिन्छ ।
भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले नवरात्री पर्वको रूपमा दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदश्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ ।
गुजरात क्षेत्रमा नवरात्रीको नामले दशैं परिचित छ । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । दुर्गाको मूर्ति, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग गर्ने गरिन्छ ।
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । उनीहरूले नौ दिन मध्ये तीन(तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । पहिलो ३ दिन लक्ष्मीको, त्यसपछि ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पूजा गर्ने गरिन्छ ।
हिमाञ्चल प्रदेशका जनताले दुर्गा र स्थानीय देवता रघुनाथको पनि भव्य पुजा गर्ने गर्दछन । हजारौं भक्तजनहरु सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ ।पश्चिम बंगालमा दसहराको नाममा ५ दिन दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मीठामीठा परिकार पकाएर खाने चलन छ ।
बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन दुर्गाको मूर्ति नदीमा लगेर विसर्जन गर्ने चलन छ ।महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।
इरानमा पनि जमरा राखिन्छ । इरानमा जमरालाई पनि नौ दिन राखेर तयार गरिन्छ त्यसैले यसलाई नौरोज भनिने गर्दछ र दशौं दिन जमरालाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ । नेपालमा जस्तो जमरा लगाउने भन्दा पनि त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको दशौं दिन आफन्तका नाममा मैनवत्ती बाल्ने प्रचलन रहेको छ ।
पूर्णिमामा जमरालाई नदीमा सेलाएको जस्तै इरानमा जमरा १३ दिनको दिन नजिकको नदीमा लगेर सेलाउने प्रचलन रहेको छ । नौरोजलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यो चाड इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ । अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा नौरोज मनाइने युनेस्कोको वेबसाइटमा उल्लेख गरिएको छ ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएका आशिर्वादहरु हुन् ।
आशिर्वाद दिने व्यक्तिले स्पष्टसँग उच्चारण गर्ने हो भने सामान्य रुपले पौराणिक पात्रहरुको बारेमा जानकारी भएका व्यक्तिलाई यो श्लोक त्यति कठिन छैन । तर, यसले बोकेको भाव भने निकै गहन मान्न सकिन्छ ।
श्लोकस्
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
अर्थस्
आयु द्रोण सुते – द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।
६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।
श्रेयं दशरथे – दशरथ राजाको जस्तो मान(सम्मान फैलिइ रहोस् ।
दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।
यस्तै अर्को श्लोक –
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।
जसको अर्थ हुन्छ–
ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी, जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी १ यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।दशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ ।
पूर्वी नेपालको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा देवी मन्दिरमा दशैंमा भक्तजनहरूको घुइँचो लाग्छ । पूर्वको पशुपतिनाथका रूपमा चिनिने खोटाङको हलेसी गुफाको प्रसिद्धि नेपालमा मात्र नभई भारत, बंगलादेश र भुटानमा समेत छ । यहाँको महादेव गुफा आकर्षक मानिन्छ । गुफामा बौद्ध, किराँत र हिन्दूहरूले उत्तिकै श्रद्धा एवं सम्मान गर्ने गर्छन् । विशेषगरी शिवरात्रि, बालाचतुर्दशी तथा रामनवमीका दिन यस मन्दिरमा भक्तजनको ठूलो संख्यामा भीड लाग्ने गर्छ । दसैंका बेला यहाँ विशेष मेला लाग्ने गर्दछ ।
नुवाकोट जिल्लामा पर्ने जालपा देवी मन्दिरमा दशैंका बेला विशेष भीड लाग्ने गर्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएको नेपालको इतिहासमा उल्लेख छ । सप्तरी जिल्लामा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा विशेष गरेर दशैंका बेला भक्तजनहरूको धेरै भीड लाग्छ । दशैंका बेला पशुपंक्षीको बलि दिनलाई धेरै भक्तजन यहाँ पुग्छन् । मन्दिरभित्र मूल देवीको कालो रङको मूर्ति छ । मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । जसका कारण पनि साक्षात देवीका रूपमा भक्तजनहरू यहाँ पुग्छन् ।
कालीकोट जिल्लाको बडिमालिका मन्दिर चाडबाडका समयमा धेरै घुइँचो लाग्ने मन्दिर हो । बडादशैं तथा चैते दशैंमा विशेष मेला लाग्ने भएकाले यसलाई ठूलो शक्तिकेन्द्रका रूपमा मान्ने गरिन्छ । १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ । धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा पनि दशैंमा बढाइँ दिने प्रचलन छ । प्रसिद्ध शक्तिपीठका रूपमा यहाँ भक्तजनहरू आइपुग्छन् ।पाल्पाको तानसेनको श्रीनगर डाँडामा रहेको मन्दिरको मध्य भागमा रणउजेश्वरी भगवतीको मूर्ति रहेको छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुने गर्छ । अंग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ सैनिकहरूले भव्य पूजाआजाको आयोजना गर्ने गर्थे भन्ने इतिहास पाइन्छ । बडादशैंका बेला पनि भगवतीको दर्शनका लागि भक्तजनहरू पुग्ने गर्छन् ।
डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने उग्रतारा मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्ये उग्रताराको दर्शनका लागि पनि हजारौं भक्तजन यहाँ पुग्ने गर्छन् । प्रत्येक वर्षको महाअष्टमीका दिन यहाँ भव्य मेला लाग्ने गर्छ । किंवदन्तीअनुसार २५ सय वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली बस्ने सार्की जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ बलि दिने प्रचलन पनि छ ।
डोल्पाको त्रिपुरा सुन्दरी भगवतीमा दसैंमा भीडभाड हुन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले महत्वपूर्ण त्रिपुरा भेरी नदीको किनारमा पर्छ । पञ्चबलिका लागि प्रख्यात यस मन्दिरमा चैतेदशैं र बडादसैंमा भव्य मेला लाग्छ । त्रिपुरा नामको राक्षसलाई मारिएको हुनाले मन्दिरको नाम त्रिपुरा सुन्दरी रहन गएको विश्वास छ । यसको प्रवद्र्धनका लागि खप्तड स्वामी शंकराचार्यले ठूलो योगदान पुर्याएको मानिन्छ । बागलुङ जिल्लामा रहेको बाग्लुङ कालिका देवीको मन्दिर चाडबाडका बेला विशेष भीडभाड हुने मन्दिर हो । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोका रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति मन्दिरमा राखिएपछि मन्दिरले चर्चा पाउन थालेको र भक्तजनहरूको भीड लाग्न थालेको मानिन्छ ।
पर्सा जिल्लाको वीरगन्जमा रहेको गहवामाई दसैंका लागि प्रख्यात धार्मिक स्थल हो । गहवामाई मन्दिरमा बली चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पशुबलि नचढाउनेहरू मिठाई, फलफूल र नरिवल चढाउने गर्दछन् भने उनीहरूले जमरा कोठामा घिरौंला, कुभिण्डो, मुला आदि बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खीर तथा नरिवल चढाउने गर्दछन् । प्रत्येक वर्ष बडादशैंको सप्तमीदेखि महानवमीसम्म ठूलो मेला लाग्ने गरेको गहवामाईमा विभिन्न कामना र भाकल गरिएका बोका, कुखुरा, हाँस र परेवालगायतका पशुपंक्षीको बलि चढाइन्छ ।
नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिर चाडबाडका समयमा भीडभाड हुने मन्दिर हो । १ हजार ८९२ वटा सिँढी चढेपछि भगवतीको मन्दिर पुग्न सकिन्छ । उकालो सिँढी पार गर्न करिब ४० मिनेट लाग्छ । यहाँ एउटा पोखरीको बीचमा गाडिएको काठको खम्बा र सामुन्ने कालीको मन्दिर छ । मन्दिरभित्र रहेको कालीको मूर्ति भने छुन पाइँदैन । दसैंका बेलामा यहाँ नारायणगढ बजारसहित नवलपरासी, चितवन, रूपन्देही तथा मकवानपुरबाट समेत भक्तजनहरू दर्शनका लागि पुग्ने गरेका छन् ।
बडादशैंमा विशेष महत्वका साथ पूजा–आरधना गरिने गोरखाको गोरखकाली मन्दिरको आफ्नै विशेषता छ । गोरखा दरबारस्थित मन्दिर दसैंघरमा घटस्थापनाको दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गरी देउता सार्ने प्रचलन छ । सोही अवसरमा हर्षबढाइँ गरी दसैं प्रारम्भ भएको घोषणासमेत गरिन्छ । गोरखा दरबारसँगै रहेको मन्दिरमा वर्षौंअघि देखि बडादशैंका अवसरमा विशेष पूजाआजा हुने गरेको छ ।
पोखराको विन्ध्यवासिनीको मन्दिरमा पनि चाडबाडका बेला विशेष भीड लाग्ने गर्छ । भगवतीलाई विन्दुवासिनी पनि भनेर पूजा गर्ने गरिन्छ । बडादशैंको फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्र्याउने प्रचलन छ । यहां दशैं अवधिभर पूर्णिमासम्म धुमधामका साथ मेला लाग्ने गर्छ ।
सुर्खेतको ऐतिहासिक धार्मिकस्थल देउती बज्यै मन्दिर मा देवीका दुवै पाइला रहेकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मनले चिताएको पूरा हुने विश्वासका साथ कुलदेवीको पूजा गर्ने गरिन्छ । मन्दिरमा बोका बलि दिने, परेवा उडाउने र घण्टी चढाउने परम्परा छ ।
गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ । बडादशैंका बेला यहाँ राँगा र बोकाको विशेष बलि दिने प्रचलन छ । गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यो शक्तिपीठ चर्चित शक्तिपीठ हो ।
गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ ।काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलाञ्चोक भगवतीको मन्दिर चर्चित शक्तिपीठ हो । मन्दिर लिच्छवी कालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । काठमाडौंको नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । यहाँ दशैंमा भक्तजनहरूको भीड लाग्छ ।
भीमेश्वर मन्दिरमा नित्य पूजाबाहेक भीम एकादशी, बालाचतुर्दशी, चैतेदसैं, बडादशैमा मेला लाग्ने गर्दछ । काठमाडौंको पुरानो बसपार्कबाट १३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट मन्दिर पुग्न चार किलोमिटरको यात्रा तय गर्नुपर्छ ।राजा प्रताप मल्लद्वारा निर्माण गरिएको दक्षिणकाली मन्दिर मन्दिर कालीदेवीको हो । यहाँ दसैं अवधिभर धुमधामका साथ मेला लाग्ने गर्दछ । राजधानीवासीहरूको दशैंमा यहाँ भीड लाग्ने गर्दछ ।
पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरीमा पर्ने वनशक्ति माईको मन्दिरमा दशैंको सुरु दिन घटस्थापनादेखि नै भव्य पूजा आराधना हुने गर्दछ । यहाँ भारतीय क्षेत्र पटनादेखिका भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् । घरमा जमरा नराख्नेहरूले समेत यस मन्दिरमा जमरा राख्ने वा त्यहाँबाट घरमा लैजाने गर्दछन् । यस शक्तिपीठमा बलिसमेत दिइने गरिन्छ ।
चार बाराहीमध्ये ललितपुरको बज्रबाराही मन्दिरको बेग्लै महत्व छ । दशैंमा यहाँ बोकाको बलि दिने प्रचलन छ । कात्तिक शुक्ल अष्टमी, नवमी र दशमीका दिन यहाँ विशेष जात्रा देखाउने प्रचलन छ ।कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत सात भगवती दिदी बहिनी हुन् भन्ने किंवदन्ती रहेको छ । यस मन्दिरमा दर्शन गरेमा चिताएको पूरा हुने, रोग व्याधी नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्ति वृद्धि हुने जनविश्वास रहेको छ । चाडबाडको समयमा यहाँ भक्तजनहरूको भीड लाग्ने गर्छ ।
नेपालको प्राचीन सहर साँखुमा रहेको बज्रयोगिनी मन्दिरको विशेष महत्व रहेको छ । यस मन्दिरमा विशेषगरी माघ महिनामा श्रीस्वस्थानी व्रतकथा मेला लाग्ने गर्छ । बज्रयोगिनी देवीलाई बौद्ध परम्पराअनुसार बुद्धशक्ति ‘तारा’का रूपमा मानिन्छ । यसकारण बज्रयोगिनी देवीलाई उग्रतारा पनि भनिने गरिन्छ । चैतमा बज्रयोगिनी जात्राकै आयोजना गरिन्छ । जात्राका बेला अन्डा, हाँस, बोका र राँगाको बलि दिने गरिन्छ ।चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा पर्दछ । नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीका रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्ने गर्दछन् । दशैंका बेला यहाँ सयौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
दशैंको पारम्परिक तर धार्मिक सांस्कृतिक महत्वको साथसाथै स्व सुधार गर्ने र आफू भत्र रहेका काम क्रोध लोभ मोह अहंकार जस्ता विकृतसंग माथि विजय प्राप्त गर्ने तथा हाम्रा ५ कर्मेन्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्गतिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने दृष्टिले दशैं लाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गरिन्छ । यसका अतिरिक्त आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरुको आशीर्वाद ग्रहण गरेर सुकर्ममा लाग्ने एकप्रकारको अभिलाषा सवैमा रहेको हुन्छ ।
देश भित्रै पनि र विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर दशैंले जुटाइदिने गरेको छ । विविधताका वीच सामाजिक, धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्ने पर्वको रुपमा समेत यस चाडको विशिष्ट पहिचान रहेको छ । सम्पूर्ण दृष्टिकोणबाट सबैमा आफ्नो उत्कृष्ट पहिचान रहेको छ । यसैले सबै नेपालीमाझ दशैंको गहिरो प्रभाव रहदै आएको छ ।
(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्)