असोजको ७ गते मौसम पूर्वानुमान विभागले मौसमको भविष्यवाणी गर्दै असोज ११ गते शुक्रबार देखि ३ दिन नेपालको वागमती, कोशी र गण्डकी प्रदेशमा मुसलधारे पानी पर्न सक्ने हुदा सचेत रहन विज्ञप्ति नै जारी गर्यो। यस किसिमका पूर्वानुमान यो विभागले धेरै अगाडि देखि गर्ने गर्दथ्यो तर त्यति खेर यसका अनुमान विषयगत हुने गर्दथे, यसैले त्यतिखेरको मौसमको भविष्यवाणिलाई न त सर्वसाधारणले न त जिम्मेवार निकायले गम्भीर पूर्वक लिने गर्दथे। तर हाल विज्ञान र प्रविधिमा आएको विकासको क्रम संगै सो विभागलाई यस्ता पूर्वानुमान गर्न सहज हुदै गयो र यसका पूर्वानुमान भर पर्दा हुन थाले। यो विभागद्वारा यसरी गरिएका मौसमका पूर्वानुमान वस्तुगत र भर पर्ने हुन थालेको पनि करीव १ वर्ष हुन थाल्यो होला। यसरी भर पर्ने र विश्वसनीय सूचना आउदा पनि जनता र जिम्मेवार निकाय भने यस तर्फ गम्भिर थिएनन्। यही गम्भिरताको अभावका कारण नै यही असौज ११ र १२ गते परेको भीषण र अविरल वर्षाद्को अपूरणीय क्षति सम्बन्धित परिवार र राज्य स्वयंले बेहोर्नु पर्यो जुन अती दुःखद् पक्ष हो।
बिज्ञापन
यो अवधिमा घटेको दैवी आपत्ति र यसले गरेको क्षतिका विषयमा अध्ययन गर्दै जादा यस्ता घटना घट्नुमा प्राकृतिक कारणहरू हुन सक्छन् तर यस्ता घटनाहरू रोक्न मानवीय पक्ष असमर्थ हुने भए पनि यसबाट हुने क्षति कम गर्न मानवीय पक्ष समर्थ हुन सक्छ। उक्त घटना किन भयो भन्ने विषयमा भन्दा पनि यसबाट हुन गएको क्षतिमा हाम्रो मानवीय त्रुटी कहा कहा रह्यो भन्ने विषय उजागर गर्न सकियो भने भविष्यमा हुने यस्ता घटनाबाट हुने क्षतिहरू कम गर्न सकिन्छ भन्ने तर्फ केन्द्रित रहौं।
बिज्ञापन
क) मौसम पूर्वानुमान विभागको सूचना उपर गम्भिर हुन नसक्नु
विभागबाट प्राप्त उक्त सूचनालाई गृह मन्त्रालयले सबै प्रजिअ र सेना समेतका सुरक्षा निकायहरू र सबै प्रदेश सरकारमा पठाएकै थियो होला। यसरी पठाएर पनि स्थानीय प्रशासनले कार्यान्वयन नगरेको अवस्था हो भने तिनीहरूको लापर्वाही हो। यदि उक्त सूचनालाई गम्भिरता पूर्वक लिन गृह मन्त्रालयले नसकेको हो भने सो मन्त्रालयको लापर्वाही हो। त्यसैले यस विषयमा सत्य तथ्य बाहिर आउनु पर्छ र भविष्यमा यस्तो गल्ति नदोहोरिने ब्यबस्था मिलाउनु पर्छ।
ख) अनुगमन गर्ने
मौसम पूर्वानुमान विभागको उक्त सूचनालाई सार्वजनिक सन्चार माध्यमबाट मात्र जानकारी दिईयो कि गृह मन्त्रालयबाट समेत त्यसको अपनत्व लिएर परिपत्र गर्यो त्यो खुलेको छैन तर पनि प्राकृतिक प्रकोपको अनुगमन गर्ने केन्द्रीय निकाय भएको नाताले उक्त प्रकोपको क्षति कम गर्न स्थानीय तहमा चालिएका कदमहरूको अनुगमनमा सो मन्त्रालय कति संवेदनशील रह्यो, प्रश्न त्यहां नेर छ।यदि प्रभावकारी अनुगमन गरिएको भए यस्तो क्षति पक्कै हुने थिएन। यसैले उक्त घटना घट्नुमा अनुगमनको पाटो कमजोर रह्यो भन्न सकिन्छ।
ग) सवारी साधन चल्न नदिने
देशका विभिन्न स्थानबाट काठमांडौ प्रवेश गर्ने र काठमांडौबाट देशका विभिन्न गन्तब्यमा जाने सवारी साधन खासगरी यात्रु वाहक बसहरू मध्ये रात्री बसहरू २ दिन रोक्ने भन्ने निर्णय सुनियो जुन सकारात्मक थियो र यसबाट सरकारले उक्त सूचनालाई गम्भिर रूपमा नलिएको भन्न मिल्दैन तर यति हुदा हुदै पनि सो घटनामा रात्री बसका यात्रुहरू परेको सुनियो। त्यसैले यसमा सम्बन्धित ब्यबसायी, सुरक्षा निकाय र स्थानीय प्रशासनले यो निर्णयलाई गम्भीर रूपमा लिएको देखिएन, जसका कारणले सम्बन्धित यात्रुहरूको अनाहकमा ज्यान जान पुग्यो।
घ) यात्रु स्वयंमा गम्भिरता नदेखिनु,
अती जरूरी काम नपरी उक्त २ दिन यात्रामा ननिस्कनु भनेर सार्बजनिक सूचना प्रकाशित भएकै थियो, यो सूचनालाई महत्व नदिएर हो वा अति जरूरी काम परेरै हो यो अवधिमा सार्वजनिक यातायातबाट यात्रा गर्नेको संख्या पनि उल्लेख्य रहेको पाईयो। यसैका कारण मृतकको संख्या पनि धेरै देखियो र त्यही तवरले वेपत्ता हुने र घाईते हुनेको संख्या पनि अधिक नै देखियो। त्यसैले यस्ता प्राकृतिक प्रकोपहरूमा स्वयं जनता पनि सजग रहनु पर्ने हुन्छ।
ङ ) कमजोर धरातल,
नेपाल भूकम्पीय क्षेत्रमा पर्ने हुदा भू कम्प पश्चातका पराकम्पनहरू बारबार आई रहने गर्छन्। यी पराकम्पनले कमजोर भै रहेको जमीनमा सडक बनाउन प्रयोग गरिने विष्फोटक पदार्थ, ठूला मेशिनको प्रयोगले नेपालको धरातल कमजोर भै रहेको पाईन्छ। त्यस माथि विना ईन्जिनियरिंगबाट डोजर लगाईने ग्रामीण भेकका सडकहरू त झनै तरलीय अवस्थामा रहेको पाईन्छ। यस्तो कमजोर धरातलमा मुसलधारे पानीको दवाव परे पछि भू- स्खलन सजिलै हुन्छ र बाढी पैह्रो जान्छ। त्यसैले हामीले सडक जस्ता संरचनाहरू बनाउदा जमीनको सहन गर्ने क्षमता सहितको ईन्जिनियरिंग र वातावरणीय पक्षलाई ख्याल गर्नु पर्ने हुन्छ।
च) अब्यबस्थित बसाई सराई,
हामीहरू पहाडबाट तराई, गांऊबाट शहर, जिल्ला सदर मुकामबाट राजधानी सरेर आफ्नो बसाइलाई सहज बनाउन खोज्छौ। यसरी पहाड, गाउहरू रित्तिदै छन् र शहर बजारहरू घना बस्तीमा परिणत हुदै छन्। यसरी बस्ती बढ्दै जादा पक्की घर र सडकको क्षेत्र पनि बढ्दै छ। यसरी शहरी क्षेत्रको जमीनको क्षेत्रफल बिस्तार हुदै जादा स्थानीय जल सम्पदाले चर्चने क्षेत्र क्रमशः सांघुरिदै जान्छ। जब ठूलो पानी पर्छ त्यो पानीको आयतनलाई सांघुरिएको नदीको मार्गले थेग्न सक्दैन र बढेको पानी बाढीको रूपमा घर, बस्ती र सडकमा प्रवेश गरेर ती संरचनाहरू भत्काउन थाल्छ।
छ) उद्धार कार्यमा समस्या
प्राकृतिक प्रकोपका कारण हुन जाने क्षति त्यति बेला धेरै हुन्छ जब समय मै उद्धार गर्न सकिदैन।साच्चै भन्ने हो भने हामी संग उद्धार कार्यका लागि दक्ष जनशक्तिको अभाव छ। गत असारमा चितवनको सिमलतालमा भएको बस दुर्घटनामा उद्धार त गर्न सकिएन नै त्यस माथि ती बसका अवशेष पनि भेटाउन सकिएन। स्वदेशमा दक्ष उद्धारकर्ता नभएकै कारण वंगलादेशबाट गोताखोर समेत झिकाउनु परेको तीतो यथार्थ कसैबाट छिपेको छैन। हामी संग तालिम प्राप्त उद्धारकर्ता र उद्धार सामग्रीको सर्बथा अभाव छ। यति खेर कै घटनामा समेत उद्धार सामाग्री कै अभावका कारण नख्खु खोलाको डूबानमा परेका ब्यक्तिहरूको समय मै उद्धार हुन नसकेर एक जनाको ज्यान गुम्न पुग्यो। यसैले हामीले सुरक्षा निकायमा तालिम प्राप्त उद्धारकर्ताको पुल दरवन्दी सृजना गरेर आवश्यक सामग्रीको ब्यबस्था गर्नु पर्छ।
ज) राहत तथा पुनर्निर्माण
प्रकोपका घटनाबाट हुन जाने अपूरणीय क्षति पूरा गर्न नसके पनि यथा समयमा प्रदान गरिने राहतले मल्हम पट्टीको काम गर्छ। यसमा खाना पिना, लत्ता कपडा, अस्थायी आवास, औषधोपचार आदि पर्छन्। पहिलो चरणमा उद्धार, दोश्रो चरणमा राहत र तेश्रो चरणमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरे पछि यसको चक्र पूरा हुन्छ। यसरी नेपालमा वर्षेनी हुने यस किसिमका घटनाहरूलाई न्यूनीकरण गर्न र यसको क्षति कम गराउन मानवीय प्रयास जरूरी छ र यस्ता घटना पश्चात गरिने उद्धार तथा राहत कार्यलाई शीघ्रता दिई हुन सक्ने पींडालाई न्यून गर्न सकिन्छ।यस्ता कार्यमा सरकारको समन्वयमा सामाजिक क्षेत्र, नागरिक समाज, निजी क्षेत्र समेतको सहयोग लिएर उद्धार, राहत र पुनर्निर्माणको काम गर्नु पर्ने हुन्छ।