कतार एयर वेजको जहाज काठमांडौमा अवतरण भयो जसमा अधिकांश नेपाली यात्रु थिए, दोहाको ट्रान्जिट देखि गफगाफ हुदै गयो, नेपालमा घर कता हो, विदेशको वसाई आदि आदि विषयमा प्रसस्तै कुरा भए। जहाज ल्याण्ड भए पछि अध्यागमनको म उभिएको लाईनमा उनीहरू भेटिएनन्, उनीहरू भीषा लिने लाईनमा पो खडा भएका रहेछन्। नेपाली भाषा र पहिरन भएकाहरू पनि विदेशी जस्तै भीषा लिने लाईनमा देख्दा मलाई अचम्म लाग्यो। अघि भरखर सम्म मेरै देशका भनेर गफगाफ गरेका १५-२० जना यात्रुहरू डलर तिर्दै भीषा लिदै गरे।
बिज्ञापन
विदेश जादा नेपाली राहदानीमा प्रस्थान छाप लगाएका कतिपय नेपाली नेपाल फर्किदा विदेशी राहदानीमा पर्यटक भीषा लिदै थिए, अर्को शब्दमा भन्नु पर्दा आफ्नै मातृभूमिमा हिडडूल गर्न, बसोबास गर्न पनि शुल्क तिर्नु पर्ने भयो। ती मध्ये यूवा जति विद्यार्थी भिषामा गएर थप अध्ययन पछि उतै काम गरेर कामबाट प्रकृया पूरा गरेर उतैको नागरिक भएर आएका होलान् भने कति बृद्ध बृद्धाहरू छोराछोरीले आवश्यक कागजात बनाएर नागरिकता लिएर आएका होलान्, कति यूवाहरू पैदल गएर आश्रय लिएका मध्ये होलान्। यी सबैले आफ्नू मुलुक छाडेर जानु पर्नाका कथाहरू आफ्ना आफ्ना होलान् तर हरेक कथा रोजगारीका सम्भावना संग जोडिएका हुन्छन्।
बिज्ञापन
भाषा एउटै, गन्तब्य एउटै, संस्कार र संस्कृति एउटै तर नागरिकता फरक, नागरिकता फरक हुदा साथ राज्य फरक, कानून फरक,वसाई फरक, हेराइ फरक कस्तो बिडम्बना ! स्वदेशमा काम पाईएन, द्वन्दका कारण स्वदेशमा बस्न सकिएन, उच्च अध्ययनका लागि स्तरीय शिक्षा स्वदेशमा पाईएन र विदेशिनु पर्यो तर यसरी विदेशिनु रहर थिएन वाध्यता थियो, उता पुगे पछि काम नगरी बस्ने कुरा भएन, काम गर्ने अनुमति चाहियो, यही अनुमति लिदै गर्दा कतिको हरियो पत्र भयो, हरियो पत्र पछि नागरिकता भयो, अन्त्यमा विदेशी भईयो तर पनि रहरले हैन वाध्यताले हो।
यसरी उनीहरू जस्ता नेपालीको संख्या झण्डै नेपालको आधा जति होला। जसरी घ्यू निकाल्न दुधको तर ( क्रिम) निकालिन्छ त्यसै गरी विदेशिएका नेपाली यूवाहरू दूधका तर हुन् जो संग पर्याप्त क्षमता छ, ज्ञान छ, देश बदल्ने सोच छ तर तिनीहरू सबै राज्यका दृष्टिमा अछुत भए, संगत गर्न नहुने भए, रहरले देश छाडेर गएकामा गनिए। मतावान जनशक्ति विदेशिए पछि यहा रहेका छोक्राहरूले राजनीति गर्ने भएको हुदा हाल देशले दुर्गति बेहोर्नु परीरहेको कुरा यथार्थ हो। हरेक ५ वर्षमा हुने चुनावका आधा मतदाता विदेशिएको सन्दर्भमा बाकि रहेका मतदाताको छनौटबाट कथित जन प्रतिनिधि चुनिएका छन्। यसरी चुनिएका प्रतिनिधिहरूमा राजनीतिलाई सेवा हैन पेशा बनाउने होडवाजी चलेको छ। देशको ३ खम्बे अर्थतन्त्रमा सहकारीलाई सबै राजनीतिज्ञले दुरूपयोग गरेका छन्, सहकारीको मर्म र भावना विपरीत सहकारीको दोहन गरेका छन्, थोपा थोपा संकलन गरेर जम्मा गरेको रकम विदेश पुर्याएका छन्,राजनीतिलाई अपराधीकरण गरेका छन्, गुण्डा र चोरहरू पार्टी प्रवेश गरेर राजनीतिमा हर्ताकर्ता भएका छन्। कानून हातमा लिन सक्नेहरू राजनीतिमा सफल देखिएका छन्।
बिज्ञापन
वास्तवमा राज्यले यस विषयमा हेक्का राखेको छ वा छैन सोचनीय स्थिति छ। विदेशिएका नेपालीले विदेशमा सिकेको ज्ञान, सीपलाई नेपालले पूंजी बनाउन चाहन्छ कि चाहदैनरु यदि चाहन्छ भने नेपाल प्रवेश गर्ने ढोकामा किन चुकूल लगाएको छ ? देशका ऐन कानून संशोधन गरेर किन परवासी नेपाली मैत्री बनाउन नचाहेको ? नेपालको विकासमा वैदेशिक सहयोग चाहिने हो भने यो सहयोग यिनै नेपालीबाट लिन मिल्ने गरी किन सहज बनाउन सकिदैनरु कि यी विदेशिएका नेपाली भित्रिए भने आफ्नो भाग खोसिन्छ कि भन्ने चिन्ता छ कि राज्यको डाडू पन्यू लिएकाहरूलाई ?
विदेशिएका नेपालीलाई नेपालमा लगानीको वातावरण सहज बनाउन भनेर हालै गैर आवासीय नेपाली नागरिकताको ब्यबस्था भएको छ तर नेपाली नागरिक भै सके पछि पनि भीषा लिएर मात्र नेपाल प्रवेश गर्न पाईने ब्यबस्थाले यिनीहरूलाई विदेशी सरह तुल्याईएको छ। बाहिरी रूपमा अन्य देशको राहदानी लिए पनि ती सबैको मनमा केवल नेपाल छ तर नेपाल चलाएर बस्नेहरूले उनीहरूको भावना बुझ्न सकेको पाईदैन। विदेशिएका नेपालीहरू विदेशमा पाएको काम छोडेर आए नेपालमा रोजगारी पाईदैन, रोजगारी सृजना गर्ने भूमिकामा उनीहरू छैनन्, नीति बनाउन उनीहरूले पाउदैनन्,आफ्नो सीप र पूजी लगानी गर्न खोजेमा त्यो वातावरण छैन। यस्तो अवस्थामा न यहां बसेकाले गर्छन् न त बाहिरबाट आउने नेपालीको विश्वास गर्छन्। यही कारणले नेपालको विकास हुन सकेको पाईदैन।
देशका बलिया पाखुराहरू निर्यात गरेर खेतबारी बांझो राखेर नेपाललाई विदेशी सामानको बजार बनाएर राजनीति गर्नेहरूलाई बिस्थापित नगरे सम्म नेपालको बिकास हुन सक्दैन। त्यसैले नेपाली यूवाहरू चाहे ती देश भित्र बसेका हुन् वा बाहिर सबैले देश बनाउनमा एक ढिक्का भएर लाग्नु पर्छ। देश बनाउन देश भित्र बसेर मात्र सकिन्छ भन्ने हैन बाहिरबाट पनि बिभिन्न किसिमले सहयोग गर्न सकिन्छ। यसैले बाहिर गएका नेपालीलाई पनि विदेशी जस्तो ब्यबहार नगरौ र देश विकासमा सहभागी हुन प्रेरित गरौ।