हाम्रो पूर्वीय दर्शनमा आमा बाबुलाई देवताको रूपमा मानिन्छ, त्यसैले हाम्रा धर्म शाश्त्रले मातृ देवो भव, पितृ देवो भव भनेका छन्। हाम्रो दर्शनले आमा बाबु प्रतिको श्रद्धालाई मात्र उल्लेख नगरेर आफ्ना सन्तान उपर निर्वाह गर्नु पर्ने भूमिकालाई पनि स्पस्ट पार्दै भनेको छ किः- “ माता शत्रुः पिता वैरी येन बालो न पाठितः ! न शोभते सभामध्ये हंसमध्ये बको यथा !! त्यसैले आफ्ना सन्तानलाई जुन अभिभावकले उचीत शिक्षा दीक्षा दिदैनन् उनीहरू शत्रु सरह हुन भनेर सन्तान उपर आमाबाबुले गर्ने कर्तब्य उल्लेख गरिएको छ। हाम्रो दर्शनले हामीलाई यो लोक मात्र हैन परलोकको समेत अस्तित्व छ भनेर सिकाएको छ।
बिज्ञापन
हाम्रो भौतिक देहको अन्त्य भए पनि हाम्रो आत्मा अमर रहन्छ भन्ने सन्देश दिएको छ। त्यसैले मृत्यु पर्यन्त पनि पितृको सेवा गर्नु पर्छ भन्ने मान्यता रही आएको छ। मृत्यु पश्चात आत्मा कसैमा प्रवेश गर्छ र ऊ पुनर्जन्म हुन्छ भन्ने हाम्रो सनातनी मान्यता रहेको हुदा जीवित हुदा मात्र हैन मृत्यु पश्चात पनि सेवा, श्रद्धा पुर्याउनु पर्ने दायित्व सन्तानहरूको हुन्छ। हाम्रो शरीर पांच तत्वले बनेको हुन्छ र मृत्यु पछि ती मध्ये जल, स्थल र अग्नी तत् स्थानमा बिलिन हुन पुग्छन् भने बाकि दुई वायु र आकाश आत्माको रूपमा कुनै जीवमा प्रवेश गरेर पुनर्जन्म हुन्छ भन्ने मान्यता छ। ती पुनर्जन्म भएका जीब जन्तु को समेत श्राद्ध विधिबाट श्रद्धा गरिने चलन रहदै आएको छ। यही चलनलाई निरन्तरता दिदै सदा झै यस वर्ष असौज २ गते बाट अर्थात भाद्र शुक्ल पूर्णिमा बाट सोह्र श्राद्ध आरम्भ हुदै छ। श्राद्ध २ किसिमको हुन्छ- पहिलो हो पार्वण श्राद्ध वा सोह्र श्राद्ध।
बिज्ञापन
यसमा भाद्र शुक्ल पूर्णिमाबाट औंसी सम्म १६ दिन हुन्छ र मृत्यु भएको तिथि अनुसार श्राद्ध गरिन्छ। त्यसै गरी दोश्रो हो एकोतिष्ठ श्राद्ध जसमा मरेको तिथिका दिन गरिने श्राद्धलाई एकोतिष्ठ श्राद्ध भनिन्छ। हाम्रो जस्तो संयुक्त परिवार हुने समाजमा आमाबाबु वा पाका नागरिकको हेरचाह वा श्रद्धा सन्तानबाट गरिने चलन छ भने एकल परिवारका रूपमा रहने पाश्चात्य मुलुकहरूमा सन्तानहरू १८ वर्ष वा वालिग भै सके पछि आमाबाबु संग छुट्टिएर बस्ने चलनले गर्दा उमेर पुगेका पाका नागरिकहरूलाई सामाजिक सुरक्षा अन्तर्गत बृद्धाश्रममा राखेर तिनीहरूको संरक्षण सरकारले गर्ने गरेको पाईन्छ। आजभोली हाम्रो जस्ता देशमा समेत सन्तानहरू अध्ययन वा रोजगारीका कारण घर परिवारमा संयुक्त रूपले बस्ने चलन क्रमशः हराउदै गएको छ। यस्तो अबस्थामा बुढा आमाबाबुलाई सन्तानबाट स्याहार सम्भार गर्न कठिन्याई देखिदै गएको छ। आजभोली सन्तानहरू आफूबाट टाढा रहनु पर्ने बाध्यता संगै बृद्ध बृद्धाको हेरचाह गर्ने दायित्व सरकार वा राज्यले लिनु पर्ने स्थिति देखा पर्दैछ।
अब आयो श्राद्धको विषय, जुन विषय सन्तान मात्रले गर्ने विषय हो र यो आस्थाका आधारमा गरिने हुदा अन्यत्र हस्तान्तरण गर्न मिल्ने देखिदैन। श्राद्धको लागि स्वदेश मै बस्नु पर्छ भन्ने छैन। श्राद्ध भनेको पितृको नाममा गरिने दान, पुण्य, श्रद्धा आदि आफ्नो अनुकूलतामा गर्न सकिन्छ। श्राद्ध जुन तवरले गरे पनि सच्चा मनले गरिन्छ भने हाम्रा पितृ जहां जसरी रहे बसेका छन् जुन रूपमा उनले उपभोग गर्न सक्छन् त्यही रूपमा पाउछन् भन्ने मान्यता छ। हाम्रो संस्कार बमोजिम गरिने हरेक कार्य पुण्यात्मक हुने हुदा श्राद्ध सम्बन्धी कार्यवाट पनि पितृहरूको उद्धारका साथै दान आदि कार्यबाट असहाय र गरीवको पनि उपकार हुन्छ, सामाजिक संस्थाहरूको पनि जीवन चल्छ, पितृ सेवाको रूपमा राखिने अक्षय कोष जस्ता कार्यले गरीव तथा जेहन्दार विद्यार्थीले उचित शिक्षा दीक्षा पाउन सक्छन्, कर्म काण्डी पढाईले बेरोजगारीमा कमी आउन सक्छ, भविष्यका पिंढीमा नैतिक शिक्षा आर्जन हुन सक्छ, समाज अनुशासित र मर्यादित हुन जान्छ। यसैले हाम्रो हिन्दू र सनातनि संस्कार अन्तर्गत गरिने श्राद्धलाई पर्वको रूपमा मनाउदै हाम्रो संस्कृतिको जगेर्ना गर्ने प्रेरणा यो पितृ कार्यले दिई रहोस् भन्ने कामना गर्दछु।