विगत केही दिन यताका छापा एवं दृश्यहरुमा पदमा रहेका अधिकांश नेताहरू उपर जन आक्रोस बढ्दै गएका खवरहरू पढ्न एवं हेर्न वा सुन्नु परेको छ जुन सन्तोषजनक विषय हैन। जनताहरूमा किन धैर्यता गुम्दै गएको छ? पछिल्लो पटक स्थानीय तथा संघीय जन प्रतिनिधि चुनेको ३ वर्ष पुग्दै छ। यिनै चुनेर पठाएका जन प्रतिनिधिहरू उपर किन असन्तुष्ठी बढ्दो छ?
बिज्ञापन
हालसालै घटेका गतिविधि हेरौं- भरभरै समापन भएको गौरा पर्वका अवसरमा काठमांडौको टुडिखेलमा भै रहेको कार्यक्रममा वर्तमान एवं भूपू प्रमं उपर ब्यक्त भएको असन्तुष्ठी, स्थानीय बासिन्दाको असन्तुष्ठीबाट बच्न स्थल यातायातबाट यात्रा तय गर्न सकिने छोटो दुरीमा हेलिकोप्टरको प्रयोग, सडक अनुगमनमा गएका सांसदको टोली उपर आक्रमणको प्रयास आदि घटनाहरूलाई प्रतिनिधिका रूपमा लिन सकिन्छ। जनताहरू जन प्रतिनिधिहरूको ब्यबहारबाट सन्तुष्ठी हुन नसकेको छनककै रूपमा यी घटनाहरूलाई लिन सकिन्छ। यस्ता गतिविधिहरूले भोलीका दिनमा तीब्रता पाउन सक्छन् र यस्ता गतिविधि हिंसात्मक पनि हुन सक्छन्, त्यसैले सबै जन प्रतिनिधिहरू यस तर्फ सजग देखिनु पर्छ।
बिज्ञापन
आफैले चुनेका जन प्रतिनिधिहरू उपर यसरी जनता आक्रमक हुनुका पछाडि २ वटा कारण हुन सक्छन्- पहिलो – चुनाव भएको ३ वर्ष बितिसक्दा पनि जनताका समस्याहरू उपर कुनै समाधान हुन नसक्नु । जनताका चाहना धेरै ठूला छैनन्। चाहनाहरू मध्ये खानेपानीको सहजता, स्वास्थोपचारको ब्यबस्था, महंगी नियन्त्रण, सेवा प्राप्तिमा सहजता, भ्रष्टाचार नियन्त्रण,शिक्षाको गुणस्तर, बेरोजगारीको सम्बोधन आदि तर्फ सरकारले पाईला चाल्न सकेको भए जनता विश्वस्त हुने थिए तर त्यस तर्फ लामो समय बिती सक्दा पनि सरकारले सन्तुष्ठी दिन सकेन। आज होला छैन, भोली होला छैन, क्रमशः दिन, महिना र वर्ष बित्दै गए, अर्को चुनाव आउने बेला भै सक्यो तर पनि सरकार त्यस तर्फ केन्द्रित भएको छनक पाईएन, त्यसैले जन आक्रोस बढ्दै गयो।
दोश्रो- ठूला पार्टीहरूको कांधमा चढेर कांध फेर्दै सत्तामा रमाई रहेको पार्टी अचानक प्रतिपक्षमा पुग्नु पर्दा ऊ तिलमिलाएको छ। उसले आफू र आफू संग रहेका अन्य दलका कार्यकर्ताहरूलाई दुरूपयोग गरेर सत्तामा रहेका दल र यिनका नेताको बिरोधमा उक्त कमी कमजोरीलाई उपयोग गरेका कारण पनि यो स्थिति देखा परेको हुन सक्छ। कारण जे भए पनि नेताहरूको कार्यशैली जनतालाई मन परेको छैन। जनताले हाल सत्तामा वा प्रतिपक्षमा रहेको सबैलाई चाखी सकेका छन् र ती कसैको भूमिकाबाट जनता सन्तुष्ठ देखिएका छैनन्। यो कुरा पनि पक्का हो कि सरकारमा रहेका र नरहेका जुन सुकै नेताको विरोध गर्न कसैलाई धक मान्नु पर्ने अवस्था छैन। अर्थात कुनै नेता पनि पानी माथिका ओभाना छैनन्। विरोधै गर्ने हो भने त्यस भित्र सबै नेता पर्छन्। यसरी राजनीति गर्ने सबै नेताहरू उपर जहां भेट्यो त्यही कारवाही गर्ने अवस्था कदापि राम्रो होईन।
बिज्ञापन
यस्तो असुरक्षित वातावरण सुधार्ने जिम्मेवारी निर्विवाद रूपमा सरकारकै हो तर सरकार केवल कुरा मात्र गर्छ, काम भने केही गरेको पाईदैन। देशमा उठ्ने राजस्वले यिनीहरूको तलब भत्ता र साधारण खर्चलाई नै थेग्न सक्दैन भने विकास निर्माण के ले गर्ने हो ? जनताहरू वर्षै पिच्छे बढ्ने करले सताईएका छन्। खेती योग्य जमीन बांझै छ तर त्यसको करले जनताको ढाड सेकिएको छ। देशमा उद्योग धन्दा छैनन्, देशको आय श्रोत सीमित छ, त्यसैले खर्चको भार किसान कै जग्गामा परेको छ। जनताले सरकारलाई कर तिरे पछि सरकार संग अपेक्षा गर्नु स्वभाविकै हो। सरकार जनताको संरक्षक पनि हो र संरक्षक संग अपेक्षा गर्नु अस्वभाविक हैन तर सरकारले जन अपेक्षालाई सम्बोधन गर्नु परैको कुरा भयो, जनतालाई सरकार सकारात्मक छ भन्ने सन्देश सम्म पनि दिन नसक्नु बिडम्बना हो।
माओवादी द्वन्दको बेला अधिकांश जिल्ला स्तरीय सरकारी निकाय सदरमुकाममा सीमित भए जस्तै जनताको डरले हाम्रा नेताहरू सिंह दरवारमा कैद भएर बस्ने हो भने सरकार भएको छनक कसले दिने हो? बाहिर निस्कदा साथ असन्तुष्ठ जनताले घेर्ने अवस्था लामो समय रहने हो भने देश पूनः द्वन्दमा जान सक्छ। त्यसैले यो अवस्था आउन नदिन जनतामा सरोकार रहेका अती आवश्यक कामको सूची बनाएर त्यसको कार्यान्वयन यथा शीघ्र गर्न सक्नु पर्छ।