२१ औं निजामति सेवा दिवसको सम्बन्धित सम्पूर्णमा शुभकामना।
मलाई सरकारले निजामति नमानेपछि मैले गर्व गरिरहनु मेरै मुर्खता हुन्छ जस्तो लाग्छ।
– स्थानीय तहमा स्थायी नियुक्त भएर कार्यरत कर्मचारी।
स्थानीय तहमा रहनु भनेको दुनियाँको नजरमा त सरकारी जागीरे बन्नु हो तर आफू खुसी कुनैपनि हालतमा हुनै सकिएन। आखिर कतिन्जेल परिवार बिहिन भई बस्नुपर्ने हो थाहा छैन।
बिदा-संघीय कानून बमोजिम
तलब-संघीय कानून बमोजिम
पोशाक-संघीय कानून बमोजिम
सजाय-संघीय कानून बमोजिम
फेरी सरुवा किन संघीय कानून बमोजिम हुन सक्दैन?
अनि २ वर्षे जागीरे अवधीपछि अध्ययन बिदा लिन्छु भन्दा त्यो पनि मिल्दैन। सायद म नै आणे भएर होला के के मिल्या केके नमिल्या। तर,
निकै मेहनत गरेर पढेर लोकसेवाको खुला प्रतिस्पर्धामा पास भएर प्रयोगात्मक समेत गरीसकेर दक्ष ठहरीएर प्रदेश लोकसेवा आयोगको सिफारिसमा स्थानीय तहमा नियुक्त भएको २ वर्ष बित्न आँटिसक्दा समेत न त सिटरोल बनेको छ, न कुनै तालिम, न घर नजिक सरुवा, कम्तिमा सट्टा बिदा दिएपनि सार्वजनिक बिदामा काम गरेर २ महिनामा १५ दिनको लागि घर जान हुन्थ्यो परिवार सँग समय बिताउन हुन्थ्यो।
आफ्नो घर परिवारदेखी धेरै पर बसेर थोरै तलब अनि अन्य सुविधा शू्न्य भएर आत्मसम्मान नै हराएको जस्तो महसुस हुँदै काम गर्नुपर्ने एउटा सहायक कर्मचारीको पिडा संघ र प्रदेशका सुविधा सम्पन्न ठाउँमा (र स्थानीय तहमै पनि सिमित व्यक्तित्वहरू) एक्लै होइन सिंगै परिवार नै सरकारी बजेटमा गास बास र यातायात गरेर बस्नेहरूलाई महसुस हुने कुरै भएन।
गाउँगाउँमा सिंह दरबार भन्ने नारा सहित आएको गणतन्त्र र सोसँगै परिवर्तन भएको राज्य संरचना। राज्य शक्ति र जनताकै सुविधाका लागि ३ तहमा बाँडिएको सरकार र सोसँगै ३ तहमै बिभाजन गरिएको कर्मचारी प्रशासन तर,
– ललितपुर भैँसेपाटीमा संघीय मन्त्रालयका मन्त्रीहरूको लागी अरबौं खर्च गरेर क्वाटर बनाउने DPR तयार हुँदा ३ तहकै कर्मचारी प्रशासनलाई सम्बोधन हुने कानूनको आवश्यकता देखिएन।
– राष्ट्रिय सभा र प्रतिनिधी सभामा गणपुरक संख्या नपुगेर कैयौं पटक बैठक स्थगित गरिदै गर्दा कर्मचारी नपुगेका/प्रमुख प्रशासकीय बिहीन भएका देशका दुर्गम स्थानीय तहमा कर्मचारी खटाउने कार्यविधी आवश्यकता देखिएन।
– माननीय ज्यूहरू नै कागजमा हाजिर गरेर बैठकमा उपस्थित नभई फर्किदै गर्दा खटाइएको स्थानीय तहमा हाजिर हुन नदिने प्रवृत्तिलाई रोक्न कानूनी उपचारको आवश्यकता देखिएन।
– मन्त्रीहरूले २ महिनामा २ करोड भ्रमणमा मात्रै खर्च गर्दै गर्दा दुर्गमका स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई आफ्नै खर्चमा आफ्नै परिवार भेट्न जान भौगोलिक क्षेत्रका आधारमा बिदा र काज बारे निर्देशीका/परिपत्रको आवश्यकता देखिएन।
– संसद भवनमा माननीय ज्यूहरू एकर्कालाई आरोप प्रत्यारोप र जुहारी खेल्दै गर्दा ३ तहका कर्मचारीहरू बीचमा भईरहेको द्वन्द्व/विभेदको जुहारी अन्त्य गर्ने गरी एकिकृत निजामति ऐनको आवश्यकता देखिएन।
– गठबन्धन र समिकरणको अस्वस्थ खेल खेल्दै सत्ता मोहमै लिप्त भईरहँदा विशुद्ध देश र जनताकै भौतिक, सामाजिक, आर्थिक, शैक्षिक पक्ष जोडिएको सार्वजनिक प्रशासन ICU मा भर्ना भएको बिरामी जस्तै थला परेको थाहा भएन र उपचारको आवश्यकता देखिएन।
यी त लेख्दा लेख्देै स्मरणमा आएका नैराश्यता मात्र हुन् फुर्सतमा अरु पनि लेखौला सुनाउँला। युवाशक्तिको उर्जा, हौसला र उत्प्रेरणामा दिनप्रतिदिन ह्रास आउँदै गर्नुको मुख्य कारणहरू यीनै माथि उल्लेख गरिएका बुँदाहरू हुन जसका लागि स्थानीय तहका कर्मचारीले गत वर्षको ठ्याक्कै यति नै बेलातिर आन्दोलन समेत गरेका थियौं। आवश्यक परे अझै आन्दोन गर्न सक्छौं, पेन डाउन भन्यौं तर लुकीलुकी काम गर्यौं, निराश छौं तर काम गर्न छोडेका छैनौं, घर नजिक सरुवाको आशा छैन तर राजिनामा बुझाउन पनि सक्दैनौं, संघीय कर्मचारीले स्थानीय कर्मचारीलाई हेर्ने नजर विभेदकारी छ तर हामीले सहयौं, तस्बिरमा जस्तै मुस्काएरै सेवा गरिरह्यौं।
बिगत ७ वर्षदेखी निजामति सेवा दिवसमा पुरस्कृत गर्न उत्कृष्ट कर्मचारी नै भेटिएको छैन अरे। कस्तो मापदण्ड बन्यो १ जना मात्रै उत्कृष्ट खोज्दा नभेटिने या यो राजनितिक स्वार्थ बाँझिएको कुरालाई थोत्रो डसनामा खोल हालिएको हो? ‘देश प्रधानमन्त्री बिहिन भएको २ महिना भयो’ यस्तो समाचार नेपालको इतिहासमा हामीले कहिल्यै सुन्न पाएनौ कि म नयाँ पुस्ताको भएर पनि होला। तर वर्षौदेखी निमित्तको भरमा चलेका स्थानीय तहले राजधानीका बरण्डामा घाम ताप्ने कर्मचारीलाई होच्याउन कहिल्यै सकेन न त झक्झकाउनै सक्यो सम्बन्धित मन्त्री र मन्त्रालयलाई।
“व्यवसायीक र सिर्जनशील प्रशासनःविकास, समृद्धि र सुशासन” २१ औं निजामती सेवा दिवस, २०८१ को नारा।
सम्माननीय नेपाल सरकार,
-जनताबाट कर उठाउनु र कर्मचारीलाई तलब दिनुलाई मात्र त कसरी व्यवसायीक मान्ने?
-लोकसेवा तयारी गर्दाखेरीको उत्साह, जागीरको ६ महिनामै डिप्रेसनमा परिणत हुनुलाई कसरी सिर्जनशीलता मान्ने?
-बाँकी रह्यो विकास, समृद्धि र सुशासन – यी शब्दहरू साँच्चै सुन्दर देखिन्छन् हरेक लेखहरूमा, हरेक भाषणहरूमा र हरेक नाराहरूमा।
बिज्ञापन