मुख्यसचिव पदको शुभकामना र चुनौतीहरू

सन् १९९१ को साहित्य तर्फको नोबल पुरस्कार दक्षिण अफ्रिकाकी ६९ वर्षीय नादिन गोड्डी मेयरले पाइन्। बिहानै पसलबाट दुध लिएर फर्किदा उनको घरको ढोकामा थुप्रै गुलाफका फूलहरू र बुकी थिए। उनी प्रसिद्धि कमाइसकेकी लेखिका थिइन्। योग्य थिइन्। तर बिहान उनले नोबेल प्राइज पाएको कुरा उनलाई भन्दा बढी पहिले छिमेकीलाई थाहा भयो। यस्ता थुप्रै घटना छन्। कसैले पद र पुरस्कार पाए। कसैले स्वीकारे। नस्वीकार्नेहरुको इतिहास स्वीकार्नेको भन्दा बलियो छ । समाज ,परिवार, साथीभाइ देश सबैको लागि पद र पुरस्कार सम्मान हो। पदको गौरव र चुनौती व्यक्तिको मात्र हुँदैन संस्थागत हुन्छ । जसले पद र चुनौतीको स्वीकार गर्छ ऊ व्यक्तिभन्दा माथि हुन्छ र फोटोमा मात्र सीमित हुँदैन। व्यक्ति जति अमर फोटो हुँदैन भन्ने मान्यता अहिले गलत छ। तर ,फोटो नझुण्ड्याउनेहरु पनि त्यो भन्दा बढी काबिल छन्। यद्यपि पद मात्र होइन यसको चुनौतीलाई स्वीकार गर्न सक्ने व्यक्तित्व सम्भवत अहिले हामीले मुख्य सचिव पाएका छौं।
वरिष्ठ सचिव एकनारायण अर्याल मुख्य सचिवमा पदोन्नति हुनुभएको छ। उहाँलाई बधाई र शुभकामना पनि। कर्मचारीमा मुख्य सचिवको पद स्वप्न हो। जतिसुकै योग्य र काबिलहरूले पनि यो पद नपाउन सक्छन्। भाग्यवादीहरूको दुनियाँमा यो पद पुनर्जन्मको प्राप्ति हुनसक्छ। जे होस् , यसपालि पनि वरियता नागेर मुख्य सचिव पदको नियुक्ति गरियो। विगत झैँ वरिष्ठताको असन्तुष्टिले राजीनामा दिने सचिव हरु यसपालि पनि परे। सायद उनीहरूको योग्यता राजनीति नीति माथि थिएन। राजनीतिलाई योग्यतातन्त्र भन्दा बढी व्यक्तिको भरोसा मनपर्छ । उनीहरु सबैलाई योग्य देख्छन् तर कमैमा भरोसा गर्छन् । अहिले पनि वरियता नागेर मुख्य सचिवको पदमा भरोसा गरिएको छ। विगतका व्यक्तिप्रतिका भरोसाहरु त्यति फलदायी भएनन् ।उल्टै राजनीतिले नै खप्की खानुपर्यो। यसको मुख्य कारण हाम्रा पद हरू नतिजामुखी नहुनु हो। नतिजा र परिणामको आधारमा योग्य मान्ने हो भने अहिलेका योग्य पद र व्यक्तिहरू पछिल्लो बेन्चमा पुग्न सक्छन्। तर अहिले यो मूल्याङ्कन गर्ने समय छैन । हामी सबैतिर हतारोमा छौँ। उमेरमै पद पाउने र केही गर्नुभन्दा राजनीतिको भरोसा गरेर बस्नेहरूको सङ्ख्या पछिल्लो क्रममा बढ्दो छ । यसबाट निजामती सेवाको उत्प्रेरणा सम्मान, आत्मविश्वास र सन्तुष्टिमा थुप्रै नीतिगत चुनौती मुख्य सचिवले बुझ्नुहुनेछ भन्ने विश्वास छ।
मुख्य सचिव पदका थुप्रै चुनौती छन्। अहिले यो चुनौतीको चाङमा बसेको पद हो। निजामती सेवा सर्त र सुविधा टेकेर मुख्य सचिव पदमा पुगिन्छ। तर सङ्घीय निजामती सेवा नआउँदा निजामतीका सेवाका शर्त ,सुविधाहरू नै अन्योलमा छन्। सरुवा बढुवाका नीतिगत विषय गतिहिन छन्।थुप्रै पदहरु बढुवा नपाएर शुभकामना लिन छुटेका छन्। अनिश्चित वृत्ति विकास र अनुत्प्रेरित कार्य वातावरणले दक्षिण एसियाकै कमजोर कर्मचारीतन्त्र अहिले नेपालकाे छ। मूल्याङ्कन बिनाको बढुवा, सरुवा, वृत्ति विकासले निजामती सेवाको नतिजा झन् कमजोर बन्दैछ। यसको थोरै हेक्का पनि राजनीतिले लिन सकेको छैन। निजामती सेवाको सर्त भित्र मुख्य सचिवसम्म पुग्दा उनी अहिले जति खुसी छन् यस्तै १ लाख कर्मचारी निजामती सेवा नआउँदा पीडित छन्। यो मियो नीतिले सरकारी, सार्वजनिक, संस्था सबैलाई असर गरेको छ। अब के मुख्य सचिवले आफू जस्तै खुसी हुन अरुका वृत्ति विकास खुलाउन निजामती सेवा ऐन ल्याउलान्। यो आवधिक मात्र होइन शताब्दीकै उपलब्धि हुनेछ। किनकि २०१३ सालपछि नेपालमा अग्रगामी निजामती सेवा ऐन आएकै छैन। अब आउने संघीय निजामती सेवा अग्रगामी हुनेछ भन्ने विश्वास गरौं।
आरक्षण र समावेशीकरणले निजामती सेवा ३६ जातको फूलबारीमा परिणत भएको छ। यो राम्रो पक्ष हो। तर आरक्षणको विरासतले तत् वर्गका सीमान्त क्षेत्रहरू पलायन हुँदैछन् ।कुनै पनि संरक्षण आवधिक हुने गर्छ। यसको अध्ययन हुने गर्छ। आरक्षण र समावेशीकरण नीतिको पुनरावलोकन र अध्ययन जरुरी छ। राजनीति र प्रशासनको सुझबुझभित्र यो चुनौतीको सामना गर्नु मुख्य सचिव पदको ठूलो भूमिका हुन्छ। आरक्षण र समावेशीकरण बाट आएका कर्मचारीहरू तत् क्षेत्रमा सेवा गर्न किन उत्सुक भएनन्? समावेशीकरणको फल तत् वर्गले पाउन सकेन । आरक्षणको विषय मा नविनतम सुधार गर्न मुख्य सचिवको पद महत्वपूर्ण हुन सक्छ।
कुनै पनि पदको प्रभाव र दबाबको सरुवाले कर्मचारीतन्त्र आतङ्कित भइसकेको छ । राजनीति नेताहरु कर्मचारी कै नेतृत्वमा यी विषयहरू सुधार होस् भन्ने चाहन्छन्। राजनीति नेतृत्वहरू कर्मचारीतन्त्रको आधुनिकपन प्रति सजग हुन्छन्। र सुधारका पक्षमा प्राय नाइ भन्दैनन्। कर्मचारीतन्त्रभित्रको जरुरी सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने उनीहरूको भित्री आग्रह हो। तर आफ्नै सुधार गर्न हामी राजनीतिको मुख हेर्छौं। राजनीतिले यसको जवाफ राजनीति आँखाबाटै दिन्छ किनकि उनीहरुसँग प्रशासनिक विज्ञता हुँदैन । के निजामती सेवालाई नतिजामुखी र दबाबबाट मुक्त गर्न मुख्य सचिवले सक्लान्? ट्रेड युनियन, दलाल मध्यस्थकर्ता र राजनीतिक स्वार्थ समूहले कर्मचारीतन्त्रलाई आफ्नो अनुकूल बनाइसके। केही अंश छोडेर प्राय कर्मचारीहरु प्रभावमा काम गर्छन्। अनुगमन र मूल्याङ्कन छँदै छैन भन्दा हुन्छ। यस्तो पेचिलो अवस्थामा पुरानो कर्मचारीको हिसाबले उनी सब कुरा बुझ्छन्। अब यी विषयबाट केही सुधार हुनेछ भन्ने हामी विश्वास गरौं।
राजनीति र प्रशासनको सम्बन्ध कटाक्ष छ। सौहार्दपूर्ण छैन। सरकार परिवर्तन पिच्छे एक हुल कर्मचारी सिंहदरबार भित्रिन्छन् र एक हुल बाहिरिन्छन्। के उनीहरु योग्य थिएनन् । के लोकसेवाको योग्यतातन्त्र यही हो । निजामती सेवा ऐनले यही कुराको माग गर्छ। प्रशासनिक नेतृत्वले नै प्रभावमुक्त भएर काम गर्न नसक्दा यो परिणाम आएको हो। राजनीतिक आस्था र दबाबभन्दा बाहिर नतिजामा राखेर कर्मचारीको मूल्याङ्कन हुन सके स्थानीय र सिमान्त तहका कर्मचारी सम्म काममा उत्प्रेरित हुनेछन्। तर अहिले कर्मचारीतन्त्रमा निराशा थुप्रै छ। वरिपरि घुम्ने, चाकरी गर्ने सुविधा दिन सक्ने, खर्चमा प्रतिबद्धता दिने, बिहान बेलुका धाउने र हस हजुर भन्ने परम्परा चुनौती मात्र होइन कर्मचारी तन्त्रभित्र संस्कृति जस्तै भएको छ। यो विषयमा अहिलेका मुख्य सचिव ज्यू जानकार हुनुहुन्छ। राम्रो संस्कृति निर्माण गर्न उहाँको योगदान महत्वपूर्ण हुनेछ।
अहिले कर्मचारी कामै गर्न डराउँछन्। निर्णय पन्छाउँछन्। एकातिर अख्तियारको डर छ ।अर्कातिर अपायक सरुवाको ।सेवा समूह र संगठन पिच्छे सेवा सुविधा फरक छन्। कतै राजसी ठाँट कतै अछुत व्यवहार । के यो हाम्रै प्रशासन यन्त्र र राजनीति स्वार्थले जन्माएको विषय होइन ।? नतिजामा आधारित सरुवा बढुवा वृत्ति विकास र उत्प्रेरणाको नीतिले मात्र हाम्रो कर्मचारीतन्त्र सुध्रन्छ । अहिले त त पद सोपानको अनुशासन नै भङ्ग हुँदैछ। यी विषयमा सुधार गर्नु समग्र प्रशासनिक नेतृत्वको चुनौती हो। मुख्य सचिवको पद यसको मियो हो। माटोबाट चोरेर होइन, कोट्याएर बाँच्छु भन्ने सोचाई राजनीति समाज ,कर्मचारीतन्त्र र नागरिकमा आउन जरुरी छ। यी सबै क्षेत्रमा अहिले निराशा छाएको छ। अहिले संसार यो भुमरीबाट मुक्त छैन। जे होस् मुख्य सचिवको पदलाई सबै तहका कर्मचारी, राजनीति नेतृत्व नागरिक समाज, सबैको सहयोगको जरुरी छ। किनकि समय पनि अनुकूल छैन। तर त्योभन्दा बढी हामीमा विकृति छ। स्वयं आफैबाट उदाहरणीय बनेर समग्र प्रशासनतन्त्रको सुधार गर्नुहुनेछ भन्ने मुख्य सचिवबाट हामी चाहन्छौं। सफल कार्यकालको शुभकामना ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।