पर्वतीय पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को अध्यक्षका लागि सागर पाण्डेले उम्मेदवारी दिएका छन्। नेपालको पर्वतीय पर्यटनमा तीन दशकभन्दा लामो समय विताएका पाण्डेले आगामी भदौ १७ गते (सेप्टेम्बर २) मा हुन लागेको टानको वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका हुन् । विस २०२८ सालमा जन्मिएका गोरखा भीमसेन थापा गाउँपालिका वडा नं ६ अस्राङ निवासी पाण्डेले विस २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट विएस्सी उर्तिण गरेपछि पर्यटन क्षेत्रमा लागेका हुन् । सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढेका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक टे«क्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाएका थिए । साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुल्नुभएका पाण्डेले सन् १९९८ मा आँफैले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गरे । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ । टे«किङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गरे । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौँ होटल, काठमाडौँ ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् । नेपालको पर्यटन क्षेत्रको विकासमा तीन दशकभन्दा लामो अनुभव हाँसिल गरेका पाण्डेले हाल ५०० भन्दा बढीलाई प्रतक्ष्य रोजगारी प्रदान गरेका छन् । टे«किङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गरेका थिए । महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गरेका पाण्डेले आगामी सन् २०२४ देखि २०२६ का लागि अध्यक्षको उम्मेदवारी दिएका हुन् । उनै पाण्डेसँग समग्र पर्यटन क्षेत्रको अवस्था, एजेण्डा, भावी कार्यदिशा लगायतको विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः
बिज्ञापन
एजेण्डाहरु
बिज्ञापन
टान व्यवसायीहरुको छाता संगठन हो । मेरो पहिलो सर्त नै व्यवसायलाई संरक्षण गर्ने हो । व्यवसायसँग जोडिएका कम्पोनेन्टहरु, गाइट, सहयोगी, क्लाइमरहरुको संरक्षण गर्ने हो । जति उहाँहरु संरक्षित हुनुहन्छ, त्यति हामी संरक्षित हुन्छौं । समग्रमा व्यवसायीहरुकै हक हितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने मेरो प्राथमिकताको विषय हो । दोस्रो जलवायु परिवर्तन, जुन हाम्रो पेसासँग जोडिएको छ । हिमाल पग्लियो, हाम्रा डाँडाहरु नाङ्गा भए, नदीनालाहरु सुके । यो हाम्रो जीवनसम्म प्राप्ति होला, तर भोलीका पुस्तामा यो पेसा हस्तान्तरण गर्दै गर्दा के होला ?, भन्ने चिन्ताको विषय बनेको छ । २०–३० वर्षमा नदेखिएला तर ५० वर्षपछि के हुन्छ ?, भन्ने प्रश्न अहिले आएको छ । हाम्रो सानो प्रयासले जागरुकता बढेर जाओस् भन्ने हो । त्यो सँगसँगै पर्यटन व्यवसायलाई मर्यादित, राम्रो व्यवसायको रुपमा लैजान राज्यले लिने नीति निर्माणमा टानले लविङ गर्न जरुरी छ । जस्तो उदाहरणका रुपमा अहिले ट्याक्सको विषय छ । पोलिसी एकातिर छ, हाम्रो खातामा पैसा आयो, हामीले भ्याट तिर्नुपर्छ, तर हाम्रो खर्चको भ्याट आउँदैन । हामीले खर्च देखाउन नपाउने अवस्था छ । अर्को हाम्रा पेसामा जोडिएका श्रमिकहरुहरु ‘वर्किङ फ्रेमवर्क’ मा हुनुहुन्न । समग्रमा यही विषयलाई लिड गर्ने हो । यसभित्र धेरै कुराहरु छन् । अर्को मैले कोषको कुरा उठाइ रहेको छु । यो व्यवसाय र श्रमिकको हितमा छ । कोषबाट थप क्षतिपूर्ति दिएर राहतको महसुस गर्ने बनाउने भन्ने हो । जोखिममा परेका बिच्चल्लीमा परेका उनीहरुका बालबालिकालाई आधारभूत शिक्षा दिने भन्ने हो । नयाँ व्यवसायीको दुर्घटना भयो, दिर्घ रोग लाग्यो त्यहाँ टान पुग्नेछ । उक्त कोषलाई मैले पहिलो वर्षमा एक करोड पुर्याउने योजना बनाएको छु ।
हामी टानलाई आशाको केन्द्रको रुपमा विकास गर्नेछौं । टानमा मेम्बर बन्न बोलाउने छैनौं । व्यवसायी नै आफैँ टानलाई खोज्दै आउनेछन् । अर्को अन्नपूर्ण पदमार्ग जुन छुट्टिएको छ, अस्तव्यस्त छ, यसलाई पुनर्जिवित बनाउन पाइलट प्रोजेक्ट गरिनेछ । यसमा सर्भे गर्ने र सम्भावित पदमार्गको रुपमा विकास गरिनेछ । अर्को प्राइज कम्पिटिसनको कुरा उठेको छ । यसलाई एउटा बेन्चमा लैजानुपर्छ भन्ने हो । सबैले फियर प्राइजको आधारमा बेनिफिट लिनुपर्ने हुन्छ । यसमा फेयर ट्रेड लागु गर्नेछौं ।अर्को सरकारसँग जोडिएका ट्याक्सको विषयहरु पनि छ । डलरमा हवाइ प्याकेज टिकटहरु हुने हुँदा १३ प्रतिशत भ्याट वान्छनिय छैन भन्ने हो । यसलाई शून्यमा ल्याउन राज्यसँग लविङ गर्नेछौं । एभरेष्ट एरियामा मात्र सेन्टरलाइज भएको मार्केटलाई डाइभरसिट गर्नुपर्ने अवस्था छ । त्यहाँ हुने ओभर क्राउड, होटलको समस्या, स्यानिटेसनको समस्या, फ्लाइटको समस्या म्यानेज गर्नेछौं । पर्यटकलाई सर्वसुलभ रुपमा राम्रो फ्लाइट कनेक्सन अहिलेको चुनौती छ, यसलाई समाधान गर्नेर्छौं । अब प्राइभेट टुरिजम सेक्टरले नेपाल एयरलाइन्सको ओभरल रिफमको लागि दबाब दिन आवश्यक छ । किनकी नेपाली एयरलाइन्सले ल्याएको टुरिन्टले नेपालको जिडिबीमा कति योगदान दिएको छ । त्यो प्रमुख कुरा हो । नेपाल एयरलाइन्सलाई रिर्फम गराउन सरकारलाई दबाब दिनु आवश्यक छ ।
बिज्ञापन
प्यानलमा को को
मेरो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दाबा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापा यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारी साथै सदस्यहरुमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङ हुनुहुन्छ ।
टिम जित्नको लागि आधार र समर्थन
म ट्रेकिङसँगै होटल, रेष्टुरेन्ट र पर्वतारोहण क्षेत्रमा पनि संलग्न छु । म राहत तथा उद्दार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाईको गठन, बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई स्थापना लगायतका एजेण्डाहरुसहित छन् । ट्रेकिङ क्षेत्रका सबै कर्मचारी तथा मजदुरहरुका लागि राहत तथा उद्धार अक्षय कोषको जरुरी छ । टानका सदस्य कम्पनीहरुका कर्मचारी, ट्रेकिङ गाइड, मजदुर जुनसुकै बेला घाइते हुने, मृत्युसम्म हुने अवस्था आउने गरेको छ । त्यस्तो समस्यामा पीडितहरुलाई सहयोग गर्नुपर्छ । त्यो गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्न राहत कोष त चाहिन्छ । अक्षयकोष उनीहरुको हकहितको लागि महत्वपूर्ण छ । यवसायीहरुलाई कुनै पनि बेला दीर्घ रोग वा महंगो उपचार गर्नुपर्ने बिरामी परेको अवस्थामा पनि अक्षय कोषले राहत दिने छ । टानमा एउटा अलगै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महशुस गरी त्यो इकाईको गठन गर्ने छु । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्यारा र कठिनाईहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने छन् । कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने छु । हाम्रो टिम विजयी गराउन साझा समूहले समर्थन गरेको छ । संस्थापक लोकतान्त्रिक पर्यटन संघ, रेखाबहादुर अधिकारी(कुमार), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), गतिशील पर्यटन व्यवसायी समूह(निरोज कर्माचार्य), पर्यटन व्यवसायी संगठन नेपाल(कुमार थापा), नेपाल पर्यटन व्यवसायी संगठन(नवराज पाण्डे) र शेर्पा पर्यटन व्यवसायी संघ(शोनाम ग्योल्जेन शेपा)ले साझा समूह बनाउने सहमतिसँगै समर्थन जनाएको छ ।
तीन वटा एजेण्डा
सबैभन्दा पहिले सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने छु । कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापीत र व्यबहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण ठानेको छु । त्यसका अतिरिक्त टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अवस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने यस कोषको लक्ष रहेको छ । कतिपय व्यबसायीहरु महंगो उपचार गर्नुपर्ने रोग लागेको अबस्थामा अहिले पनि उपचारबाट बंचित हुनुपर्ने अबस्था छ । त्यसो हुन नदिनका लागि यस कोषले व्यबसायीलाई सहयोग गर्ने छ । मुलत व्यबसायी र कर्मचारी दुवै पक्षलाई फरक ढंगको राहतका राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने लक्ष्य लिएको छु । एकवर्षभित्र कम्तिमा एक करोड बराबरको अक्षय कोषको व्यवस्थापन गरिने छ । यसको सुरुवाति एककरोड बजेट घोषणा गर्दछु । त्यसबारेमा अवधारणा बनाएर अघि बढ्ने कुरा यहाँ उल्लेख गर्न चाहन्छु । टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरि कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छु । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउनेछन् । समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल गर्नेछ। यस्तो व्यवस्थाले नयाँ वा भर्खर–भर्खर व्यवसाय सञ्चालन गरेका युवा तथा मेहनती उद्यमीहरुलाई विशेष सहयोग पुग्नेछ भने अरुलाई पनि सहजिकरण हुने छ । व्यवसाय गर्दा कतिपय कानूनी कुराहरुको ज्ञान नहुन सक्छ जसका लागि कुनै पनि कार्यमा कानूनी परामर्श जरुरी हुन्छ । कानूनी रुपमा कुनै पनि अफ्ठ्यारो अवस्था सृजना नहोस् भनेर यस्तो कानूनी इकाई गठन गरी समन्वयन तथा सहजीकरण गर्नुका साथै आवश्यक परामर्श उपलव्ध गराउन कानूनी परामर्श इकाई गठन गरिने छ । यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अबधारण पनि मैले अघि सारेको छु । प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्सरभ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेका छन् । त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने छ । यस इकाई समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रका बारे जानकारी गराउने, परामर्श दिने तथा आवश्यक प्रकृया पुरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ ।