शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको करिब ४ दशक भन्दा लामो राजनीतिक जीवन रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेतृको रूपमा रहेकी थिइन् भने सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् । उनले सन् १९८१ देखि अवामी लिगको सभापतिको दायित्व निर्वाह गरेकी थिइन्। सन् २००८ मा जनताको अधिक मतका कारण उनी प्रधानमन्त्री चुनावमा विजय भई पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन्। सन् २०१४ जनवरीमा उनी तेस्रो पटक जस्तै प्रधानमन्त्री पदमा निर्वाचित भएकी थिइन् तर त्यो निर्वाचनलाई विपक्षीले अस्वीकार गरेका थिए भने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि यसको बारेमा आलोचना गरेका थिए। सन् २०१६ मा उनी चौँथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् भने उक्त निर्वाचनलाई विपक्षीद्वारा धाँधली भएको आरोप लगाइएको थियो। हसिना विश्वका सर्वश्रेष्ठ क्षमताशाली महिला व्यक्तिहरूको रूपमा पनि चुनिएकी थिइन्। सन् २०१६ मा फोर्ब्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमतावान महिलाहरूको सूचीमा शेख हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्। यस बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकहरूको सूचीमा सामेल गरिएको थियो।
बिज्ञापन
पूर्व महिला अध्यक्षहरू तथा प्रधानमन्त्रीहरूको एक अन्तर्राष्ट्रिय सञ्जालको विश्व महिला नेत्री परिषद्की एक सदस्य पनि रहेकी छन् । शेख हसिनाले सन् १९७३ मा ढाका विश्वविद्यालयबाट स्नातकोत्तर सम्पन्न गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा उनको वाजेद मियाँसँग विवहा भएको थियो। हसिना र वाजेदका सजीव वाजेद जोय र सायमा वाजेल पुतुल नामक दुइ सन्तानहरू रहेका छन्। वाजेद मियाको सन् २००९ मा मृत्यु भएको थियो। सन् १९७५ अगस्ट १५ का दिन सैनिक विद्रोहमा उनी र उनको बहिनी शेख रेहाना बाहेक उनको परिवारका सबै सदस्यहरू मारिएका थिए । शेख हसिनाको नेतृत्वमा बंगलादेश विश्वभर कपडा उद्योगको एक महत्वपूर्ण केन्द्र बन्यो । हसिनाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि ठूलो जोड दिएकी थिइन् । बङ्गलादेशमा विद्यार्थीहरूले गरेको ‘आरक्षण’का विरुद्ध आन्दोलनको राप बढ्दै गएपछि उनी प्रधानमन्त्री पदबाट राजिनामा दिइ देश छोडेर भागेको समाचार आएको छ ।
बिज्ञापन
देशलाई प्रजातान्त्रीकरणको मार्गमा डोर्याउन प्रजातन्त्रका सेनानीहरुको भूमिका अवश्य नै महत्वपूर्ण रहेको हुन्छ। लामो परिश्रम त्याग र निष्ठाले देशले प्रजातन्त्रिक शासन प्रणाली पनि प्राप्त गर्दछ र जनताको मन मस्तिष्कमा आदर्श छवि निर्माण गरेका ती नेता सत्ताको बागडोर समल्हाने अवसर पनि पाउंदछन् र यस्तो अवसर पटक पटक दोहोरिने पनि गर्दछ । हिंजोका ती क्रान्तिवीरहरु क्रान्तिको अवसरमा होस वा सत्तामा प्रवेश गर्दा होस दुर्दिनको परिकल्पना कसैले गरेको हुदैन उनका समर्थकहरुले गर्ने त कुरै भएन ।
संसदीय राजनीतिमा आइसकेपछि सत्तामा रहनु र सत्ता बाहिर रहनु सामान्य अंकगणितीय नियम नै हो ।तथापि आफ्नो दल सत्तामा जाने र आफूले सो को नेतृत्व लिन पाउने आशा राख्नु र तदनुरुपको रणनीति बनाउनु शायद राजनीतिक रुपमा आवश्यक हुन पनि सक्दछ । तर यहां कहांनिर प्रश्न उठ्दछ भने सडकमा रहदाको त्यो आदर्श पात्रले जव सत्तारोहणलाई बढी महत्व दिन्छ तव उसको लागि सत्ताको यात्रा बढी महत्वपूर्ण हुन्छ जनता र जनजीविकाको सवालले कम महत्व पाउन थाल्दछ । शायद सत्ताप्राप्तिको लागि हरेक अंकगणितहरु र समीकरणहरु स्वीकार्य हुने गर्दछन् । जवकि हिंजोको दिनमा राजनीति गर्दा र अनेकौं पटकका भाषणमा आदर्शका ललिपप बाडिरहिएकै हुने गर्दथ्यो । जनता आफूले विश्वास गरेको र आफैले पटकपटक निर्वाचित गरेर पठाएको त्यो आदर्श पात्रको स्खलित आदर्श छवि सिध्दान्त र व्यवहारबाट मिच्छिन थाल्दछ र उ त्यसको विकल्प खोज्न बाध्य हुन्छ । हिंजोका दिनमा रहेका असंख्य समर्थकहरु समर्थनमा निस्कनु आवश्यक ठान्दैनन् । हिजोको विशाल जनमत बत्ती वालेर खोज्दै हिड्नु पर्ने अवस्थामा पुग्दछ । बंगलादेश र अन्य देशका केही यस्तै घटनाहरुबाट निकाल्न सकिने विभिन्न निष्कर्षहरु मध्ये यो पनि एक हो ।
बिज्ञापन
सत्ताका आफ्नै केही सीमितता हुन्छन् । नेतृत्व सुरक्षा व्यवस्था र सल्लाहकारको सानो घेरामा बाँधिन पुग्दछ । सचिवालय र आफन्तको सवै ब्रिफिंगलाई सम्पूर्ण सत्य मानि जस्ताको तस्तै बुझ्ने कमी कमजोरी नेतृत्वमा भैदियो भने ‘बादशाहको नयाँ लुगा’ को प्रशंसामा नेतृत्वले आफू नांगो भएको थाहै पाउंदैन । सही कुरा भन्नेहरुले या त प्रवेशै पाउंदैनन या नेतृत्व त्यो तीतो सत्य सुन्न तयार हुदैन या उ सचिवालयको स्क्रनिंगबाटै आउट हुन थाल्दछ । कतै यी घटनाहरु बंगलादेशमा पनि आएका त थिएनन् ।
हिजो जनताकाको नाममा गरिएको त्याग र राजनीति त्यतिवेला संकटमा पर्दछ जव कार्यकर्ताहरु नेताको आशिर्वाद र छत्रछायांमा परिरहन आफ्नो नेतामा रहेको वस्त्रविहीनतालाई प्रशंसा गरिरहन्छ र नेता त्यो स्वभक्तिबाट हर्षविभोर भैरहन्छ र जव एक अबोध बालकले सत्य खोलिदिन्छ त्यतिवेला समय घर्किसकेको हुन्छ अव नेतृत्वले पश्चाताप गर्नु वाहेकको विकल्प रहदैन । यसै गरि निहीत स्वार्थ बोकेका स्वार्थ समूहसंगको नियमित हेलमेल र अति नै बढी सौहार्ध्दताले नेतृत्वको त्यो त्याग निष्ठा र साखमा पूरै कालो पोतिइसकेको हुन्छ। शुरुमा अनुहारमा लागेका एकाध काला धव्वाहरुलाई समयमै धोइ पखाली गरेर सच्चिनुको साटो त्यसलाई सुन्दर श्रृंगार वा आभूषण बनाउने गल्ती त गरिनन् हसिनाले ? भनिन्छ आकाश छेड भुईँ नछोड । कतै आकाश छेडने उच्च मनोकांक्षा र अनुकुल परिवेशमा रहेको वातावरणले ती नेतृत्वहरुले यति नराम्ररी भुइ छोडेकी जुन भूमि अव आवश्यक भएन र अर्को देशको भूमि प्यारो बन्न पुग्यो ।
सत्ता आफ्नो लागि र विपक्षी दुवैको लागि अस्थायी हो । सत्तामा रहदा जनताकै पक्षमा काम गर्ने हो र कुनै कारणले सत्ताको अंकगणित तलमाथि हुदा सत्तामा जान नपाए जनतामै रहने हो यो राजनीति र सत्ता वीच रहने अन्योन्याश्रित सम्बन्ध हो । सत्ताबाट बाहिर रहने चाहना नरहनाले कतै आफ्नै भूमि आफू बस्न नसक्ने थलो त बन्न गएको त होइन ? हिंजो संगै क्रान्ति र राजनीति गर्दै हिंडेको आफ्ना समर्थकहरुको अगाडि मुख देखाउन लाज भएर देश छोड्ने चाहना त उव्जिएको होइन ? वा सत्तामा रहदा जनताको विरोधी रहियो, जुन स्वार्थ समूहको पक्षपोषणमा आफ्नो सारा शक्ति र सामर्थ्य लगाइयो अन्तमा तिनले जुम्राले लाशलाई छोडेजस्तै छोड्न थाले, जनतामा जाने कुनै सामर्थ्य भएन र अर्को मुलुक जानु पर्ने बाध्यता आएको हो ?
उसो भए देशै छोडेर जाने योजना कसरी बन्न सक्दछ यसवारे पनि विमर्श हुनु आवश्यक छ । यो सोचाइ सत्तारोहणका शुरुका दिनमा पनि नआउन सक्दछ । किनकी सत्तारोहणका शुरुका दिनमा भविष्यको यो भयावह दिनको कल्पना नै भएको नहुन सक्दछ । अन्तिम क्षण जुनवेला सत्ता पनि हातमा नरहने भयो देशभित्रै जनता अर्थात आफ्ना हिंजोका क्रान्तिका सहयात्रीसंग पनि मुख देखाउने हिम्मत भएन त्यसवेला पनि यस्तो योजना नबन्न सक्दछ । किनकी कहां जाने, कसरी जाने, कहां बस्ने, दिनचर्या कसरी विताउने र बस्नको लागि आर्थिक जोहो कसरी गर्ने यी प्रश्नको तत्काल उत्तर त संभव नै छैन । किनकी हामी जस्ता सामान्य मानिस त दुइ चार दिन कतै जानु परेपनि केही दिन अगाडी योजना बनाएकै हुन्छौं । त्यो पनि अनुकुल अवस्थामा र केही दिनको लागि मात्र । पदासीन व्यक्तिले पद, पदको शान सौकतको लामो अनुभव, लामो समयदेखि प्राप्त हुदै आएको विलासी जीवन त्याग्ने चाहने नहुदा नहुदै अन्यत्र जाने निर्णय तत्काल गर्नु छ त्यो पनि सदाका लागि र गन्तव्य पनि स्पष्ट नभएको अवस्थामा । त्यसो भए यस्तो योजना त धेरै अगाडी बनेको हुनु पर्दछ ।
यसको लागि धेरै अघि देखि नै म अलोकप्रिय बन्दै गैरहेको छु ।अव यो देशमा वस्न सक्दिन तसर्थ यो देशमा जान्छु यहां कमाएको आर्थिक साधन श्रोतको व्यवस्थापन त्यो देशमा गर्दछु । जुन दिन असहज अवस्था आउंछ यसरी त्यो देशमा जान्छु भन्ने पूर्व योजना बनेकै हुनु पर्दछ । जव यसरी कार्यरत रहेकै अवस्थामा पदासीन व्यक्तिहरु यस्ता निर्णय गर्दछन् उनीहरु जनमैत्री निर्णय भन्दा स्व लाभका निर्णयलाई प्राथमिकता दिएका त हुदैनन् भन्ने प्रश्न उठ्नु पनि स्वभाविकै छ । प्रजातन्त्र प्राप्तिका लागि गरिएको त्याग सेवामा समर्पित हुन सक्नु पर्दछ। सार्वजनिक पदाधिकारी भएपछि नियमानुसारका सेवा सुविधा स्वत प्राप्त हुने गर्दछ । तर विगतको त्यागको वदलामा जीवनभर व्याज खोज्न थालियो र यसको लागि आफू लाई महत्वपूर्ण भूमिकामा जनताले पुर्याएको त्यागलाई विर्सियो र आफू उठेको धरातललाई पनि सम्झनु आवश्यक ठानिएन भने यस्तो नियति यस्ता प्रवृत्ति अगाल्नेहरुमा पुनरावृत्ति हुन सक्दछ । नेतृत्वको अनुमोदन सधै मतको अंकगणित र आसेपासेहरुको रेडिमेड प्रसंशाले मात्र गर्दोरहेनछ नेतृत्वमा रहेको जनताको मनभित्र गुम्सिएर रहेको कसीले नेतृत्वको भविष्य निर्धारण गर्दोरहेछ । विगतको आदर्श विचारधारा, आदर्श जीवनशैली, जनता समक्ष व्यक्त गरिएका बाचा सोही रुपमा सार्वजनिक र व्यक्तिगत जीवनमा रुपान्तरण हुनु आवश्यक छ ।
(डा. रेग्मी प्रशासनविद तथा गीतकार हुन्)