गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध

 

बिज्ञापन

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुवे नमः“
अर्थात् “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।“
संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रुको अर्थ प्रकाश भन्ने हुन्छ । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ। गुरु शब्दको विग्रह गर्दा ँगिरति अज्ञानं इतिः गुरु अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्।गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा मनाइन्छ। वेद व्यासले वेद–वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्।अध्यापन गर्ने गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ।
गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान गर्ने गरिन्छ । यस अवसरमा बिध्यालयहरु र आश्रमहरुमा गुरुहरुका लागि पूजा–पाठ गर्न विशेष कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यस दिनमा विभिन्न क्षेत्रमा आफुलाई शिक्षा दिने तथा महत्वपूर्ण योगदान दिने वाला गुरु एव विभूतिहरुलाई सम्मानित गर्ने गरिन्छ । यस दिन गुरुको नामबाट दान–पुण्य गर्ने प्रचलन पनि छ । मनु स्मृतिका अनुसार, केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन । जीवनमा जसले सहि मार्गदर्शन गर्दछन् उ जो कोहि भए पनि उसलाई गुरु समान सम्झनु पर्दछ ।
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ। धार्मिक महत्व बोकेको यो पर्वमा प्रातः स्नान गरी आफ्ना गुरुका समिपमा गई सर्मपित भई गुरुको आर्शिवचन प्राप्त गर्ने चलन रहेको छ । यो समयमा एकै स्थानमा बसी ध्यान, योग, तप गर्नाले अधिक शक्ति उत्पन्न हुन्छ भन्ने कुरा शास्त्रमा वर्णित छ ।
अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न गाह्रो छ । कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ।त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर जो कोही हुन सक्छन्।त्यसरी सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा रहेकै छ ।
जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो । व्यास ऋषि चारै बेदहरुको व्याख्याता हुन् । उनले वेदको ज्ञान प्रदान गरेका थिए । यिनै बेदका रचियता एव व्याख्याताको आदिगुरु ब्यास ऋषिको अंश स्वरूप आफ्ना गुरुहरुलाई मान्दै गुरु पुर्णिमाका दिन पुजा एव दान –दक्षिणा प्रदान गर्ने गरिन्छ ।
“अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः “
आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ ।
हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिईएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरु पुर्णिमाको महत्व बिशेष रहेको हो । जीवनमा गुरुको महत्व धेरै रहन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ– एउटा देव गुरू बृहष्पति अर्को असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो– बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचरताले सुस्वादु परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन।
कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ।प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ।विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ।त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ।अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए।बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्।उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।
ॐ असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय ।मृत्योर्मा अमृतं गमय ।ॐ शान्तिः शान्तिः शान्तिः ।।
अर्थात् “हे भगवान मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।“
हिन्दू समाजमा मात्र नभएर बौद्ध समाजमा पनि बुद्धले सारनाथमा आफ्नो पहिलो उपदेश दिएको सम्झनामा गुरु पूर्णिमा मनाइन्छ । गुरु शिष्य परम्पराको औपचारिक सम्बन्ध शिक्षा, सँगीत, खेलकुद, लगायत विभिन्न प्रशिक्षण आदिमा पाउन सकिन्छ । विशेष शास्त्रिय सँगीतको क्षेत्रमा यो परम्परा अझै सम्मानजक रहेको देख्न सकिन्छ ।
गुरुपुर्णिमा व्यास जयन्तिको रूपमा पनि प्रसिद्ध छ । ‘कृष्णं वन्दे जगद्गुरू भनेर व्यासले श्रीकृष्णलाई जगद्गुरुको दर्जा दिई आफूलाई दोस्रो स्थानमा राखेका छन् । आदि गुरु श्रीकृष्णद्वैपायन व्यासको जन्म यसै दिन अर्थात् आषाढ शुक्ल पूर्णिमाको दिनमा भएको थियो । व्यासले समस्त वेदको विभाजन गरी ब्रह्मसुत्रको रचना पनि यसैदिनमा गरेका थिए । उनले नै वेदऋचालाई संकलन गरी वेदलाइ चार भागमा बाँडेका थिए । त्यस्तै महाभारत, अठार पुराण, अठार उपपुराणको रचना गरेका थिए । यसमध्ये श्रीमद्भागवत् महापुराण अतुलनिय ग्रन्थ मानिन्छ । यी सबका माध्यमबाट उनले भावी सन्ततिलाई ईहलोक र परलोक दुवैे जीवनलाई मार्ग प्रदान गरिदिएका छन् । त्यसैले उनको सम्मानमा यो पर्व प्राचीनकालदेखि नै मनाईदै आईएको हो ।
मर्यादा पुरुषोत्तम भगवान राम सदैव आफ्ना गुरु विश्वामित्रसामु संयम, शिष्ट र निवेदक भावले रहन्थे ।हरेक मार्गमा गुरुआज्ञा पालन गर्दथे । स्वामी विवेकानन्दलाई बचपनदेखि नै परमात्मासँग साक्षात्कार गर्ने तिव्र ईच्छा थियो । जव उनको भेट परमहंससँग भयो । तव नै उनै गुरु परमहंको आर्शिवाद र गुरुकृपाबाट उनी परमात्मासँग साक्षात्कार गर्न सक्षम भए । आचार्य चाणक्य भारतिय समाजका विभूती मानिन्छन् । उनको चाणक्य नीति हरकालका लागि त्यत्ति नै उपयोगी मानिन्छ ।उनले आफ्नो क्षमताले भारतिय इतिहासको धारा नै बदलिदिए । पछि आफूजस्तै योग्य शिष्य चन्द्रगुप्त उत्पादन गरे । उनले पनि भारतिय समाजमा ठूलो योगदान गरेका छन् । शंकराचार्य, कौटिल्य आदि सबैले गुरुको महत्तामाथि प्रकाश पारेका छन् ।मनु प्राचीन भारतिय समाजका पथ प्रर्दशक मानिन्छन् । उनले गुरुका विभिन्न भेदबारे उल्लेख गरेका छन् । उनका अनुसार “जो द्विजले शिष्यको उपनयन संस्कार सम्पन्न गरेर कल्पसूत्र र वेदान्त सहित उसलाई वेद पढाउँछ उसलार्ई आचार्य भनिन्छ ।
जसले जीविकाको लागि वेदको कुनै एक भाग अथवा वेदांग, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दशास्त्र वा ज्यातिष पढाउँछ उसलार्ई उपाध्याय भनिन्छ ।जसले विधि विधान अनुसार संस्कार सम्पन्न गराउँछ र अन्न आदि बालकलाई पालन पोषण गर्दछ उसलाई ब्राह्मण गुरु भनिन्छ । गुरु कस्तो हुनुपर्छ भन्ने विषयले पनि मानव समाज निकै महत्व राख्दछ । सबै गुरु गुरु हुन सक्दैनन् । गुरु जहिले निष्पाप कर्म गर्ने र अरूलाई पनि पाप कर्म गर्नलाई रोक्न सक्ने क्षमता राख्दछ, हरदम हित र कल्याणको कामना गर्दछ । मानवलाई समाजमा सार्थक रूपले जिउन सिकाउँदछ । शिष्यको आत्मवल जगाउने कार्य गर्दछन् । शिष्यमा निहित अन्र्तशत्तिलाई जागृत गराउने हरसंभव उपाय बताईदिन्छन् ।
सभ्य समाजको जीवनको आधारस्तम्भ गुरु नै हुन् । प्राचीन समाजका युगपुरूषहरू राम, कृण, बुद्ध, सन्त कवीर, सबैले आफ्नो जीवनमा गुरु धारण गरेका थिए । कवीरलाई अध्यात्म दर्शनको एक स्तम्भ मानिन्छ । उनका गुरु स्वामी रामानन्द थिए । कबीरका अनुसार “रामको नाम त सबैले लिन्छन् । तर त्यो नामको सारको महत्व थोरैले मात्र बुझेका हुन्छन् र्। राम नामको महत्व तत्वज्ञानलाई जान्नु हो र जीवनको सारा भ्रमलाई मेटाउनु हो । तर अज्ञानी गुरुले कहिले पनि आफ्ना शिष्यको संशय वा भ्रमलाई मेटाउन सक्दैनन् । जसले त्यो भ्रम मेटाउँछ त्यो सद्गुरु हो”। स्वामी महामति श्री प्राणनाथ सद्गुरु श्रीदेव चन्द्रजीका शिष्य थिए । उनले गुरुलाई कञ्चन, पारस र चन्दनको उपमा दिदै गुरु जहिले पनि चन्दन जस्तै आत्मिक ज्ञानको प्रकाशलेसुगन्धमय बनाउने हुन्छन् भन्ने भावलाई प्रकाश पारेका छन् । अझ अगाडी उनलेयीमध्ये पनि सद्गुरु स्वयं दिपक हुन् , जसको ज्ञानको ज्योतिले सारा जगतलाई उज्यालो बनाइदिन्छ”भन्दै यस्ता सद्गुरु निकै मिहिनेत गरेर खोजेमा मात्र प्राप्त हुने कुरा बताएका छन् ।
कविरलाई आध्यात्मिक समाजको एक स्तम्भको रूपमा लिइन्छ । उनले सच्चा गुरुको परिचय दिई भविष्यमा आउन सक्ने आडम्बरी तथा ढोङ्गी गुरुबारे समाजलाई सजग गराएका थिए । उनका अनुसार रामको नाम त सबैले लिन्छन् । तर त्यो नामको सारको महत्व थोरैले मात्र बुझेका हुन्छन्। राम नामको महत्व तत्वज्ञानलाई जान्नु हो र जीवनको सारा भ्रमलाई मेटाउनु हो ।
आजको वर्तमान समाजमा आफ्ना शैक्षिक गुरुलाई पनि यो दिनमा सम्झने प्रचलन बढ्दो रुपमा देखिन्छ । आधुनिक भौतिक तडकभडक र व्यावसायिक बन्दै गैरहेको शैक्षिक प्रणालीमा प्रशासनिक तथा अन्य विविध कारणले गुरु र शिष्यबिच अल्पकालिक सम्बन्ध मात्र देख्न सकिन्छ । तर प्राचीनकालको गुरुकुलिय शैक्षिक प्रणाली आजको भन्दा विल्कुल भिन्न थियो ।
वर्णाश्रम धर्ममा आधारित मानवजीवनको पहिलो ब्रहमचर्याश्रम विद्या अध्ययनको लागि छुट्टाईएको थियो । आफ्नो वर्ण अनुसार बाल्यकालमा नै उपनयन संस्कार सम्पन्न गरी गुरुले शिष्यलाई गुरुकुलमा लिएर जान्थे । मेखला वस्त्र धारण गरि, कडा अनुशासनमा बसी, भिक्षादान गरि श्रुति विज्ञानका माध्यमबाट आर्जन गरिने त्यस किसिमको आर्दश शैक्षिक प्रणालीमा प्रख्यात गुरुले आफ्ना योग्य शिष्यलाई सुर्यले प्रकाश छरेझैँ आफ्नो ज्ञानको ज्योती छरिदिन्थे । लामो समयसम्म गुरुकुलमा जीवन विताउन भएकाले उनीहरूबीच पिता र पुत्र, संरक्षक र संरक्षित, मित्रवत् व्यवहार, चिरस्थाई र जीवनभरको सम्बन्ध स्थापना हुन्थ्यो ।
गुरु पूर्णिमालाई आधुनिक शिक्षालयहरूमा पनि धूमधामसँग मनाउने गरिन्छ।यो दिनमा छात्रछात्राहरूले गुरु महिमा गाउने, उनीहरूको सम्मानका कार्यक्रम राख्ने तथा उपहार दिने समेत चलन चलेको छ।“अहिले आधुनिक तरिकाले गुरु पूर्णिमा मनाउने कुरामा कतिपय चलन राम्रै पनि छन् तर गुरु र शिष्यको पहिलेको जस्तो मान्यता अब रहन सकेको देखिदैन ।अहिले समाजमा हरेक कुरालाई आर्थिक कुरासँग जोडेर हेर्न थालियो त्यसले पूर्वीय सभ्यतामा गुरु–शिष्यको जुन खाले परम्परा थियो त्यसमा व्यापक परिवर्तन आएको छ।त्यस्तै हिन्दू मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने गुरुलाई यो दिनमा गुरु दक्षिणा दिने चलन पनि छ।त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा चढाउने पनि कतिपयले गर्ने गर्छन्।
संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र पनि हुन्, महाभारतका भिष्म र ब्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शान्तनुले सत्यवतीलाई बिवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फवाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको वाचा थाहापाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।गुरु व्यास सत्यवतीका बिवाह अघिका पुत्र हुन्, यिनका पीता परासर हुन् । परासर र सत्वतीको अध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तीनापुर दरवारसम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन्, कथेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका त्रानलाई बाँढेर वेदका प्रकारहरु र नाम छुट्याएको पवित्र दिनका रुपमा संझना गरिन्छ ।
गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।
आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, तारतम, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् । गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् । )

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।