टुप्पी कसेर पढेर,लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिमका सालो,नातेदार,गर्लफ्रेण्ड भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने ।
बिज्ञापन
यस्तै स्थिति दूरदराजका स्थानीय तहमा होइन सिंहदरबारभित्रै देखिन्छ । यस्तै रबैया देखाउने करारका एक कर्मचारीको बदमासी र धन्दा सार्वजनिक भएसँगै गृहले उनलाई सेवाबाटै हटाएको छ । भिजिट भिसाको धन्दा गृहका केही कर्मचारीहरुका लागि उठाउने राम्रो खेतीपाती थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा यो प्रकरणमा जोडिएका कर्मचारी,विचौलियाहरु उपर छानबिन चल्यो । सात जना कर्मचारीहरु अदालतमा जनही सात लाख धरौटी बुझाएर अहिले काममा फर्किसकेका छन् । यो धन्दा रोक्न गृहले अनेक मापदण्ड बनायो तर बदमासी गरेर खानेलाई मापदण्डले कहाँ छेक्छ र ?
बिज्ञापन
गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक करारका कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ बर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरत थिए निर्मल विष्ट । लामो समय उनी गृहको जिन्सी शाखामा कार्यरत थिए । रमाइलो चाहिँ करारको कर्मचारीको पनि सरुवा हुन्छ । उनी गृहको जिन्सी शाखाबाट सरुवा भएर पुगेका थिए गृह मातहतकै लागू औषध शाखामा । उनै विष्टले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परे,हिजो । मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन ।
उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको बिषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्ट पक्राउ परेका हुन । विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। ०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका छन् । गृहसचिव अर्यालले असार २५ गतेबाट विष्टलाई सेवाबाट हटाएका हुन । । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।
बिज्ञापन
उसो त गृह मन्त्रालयमा मात्र ७ जना कम्युटर अपरेटरहरु करार सेवाकै कर्मचारी राखिएको छ । त्यहाँको कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता समेत कर्मचारीलाई हर्ताकर्ता बनाएर राखिएको छ । पूर्व कृषि सचिव निकटको एक महिला कर्मचारी कृषिको हर्ताकर्ता कर्मचारीका रुपमा चिनिन्छिन् । त्यहाँ सात जना करार सेवाका कम्युटर अपरेटर कार्यरत छन्,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना,शहरीमा ८,शिक्षामा १०,कानुन मन्त्रालयमा २,भौतिकमा २ जना करार सेवाकै कम्युटर अधिकृतको रजगज चलिरहेको छ । अधिकांश मन्त्रालयदेखि स्थानीय तहसम्म करार सेवाकै कर्मचारीहरुको रजगज देखिन्छ । नियम अनुसार, कार्यालय सहयोगी, ड्राइभरलगायतका पदबाहेक करारमा कर्मचारी राख्न बर्जित छ । नियमअनुसार,बढीमा १ बर्षभन्दा बढी समय करार सेवामा काम लगाउन मिल्दैन तर विष्ट सात बर्षदेखि करार सेवामै गृहका महत्वपूर्ण शाखामा कार्यरत रहँदै आएका थिए ।