नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले इच्छा देखाएका छन् ।
बिज्ञापन
यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल भष्ट्रचारको मुद्दामा दोषी ठहरसँगै सरकारले उनलाई पदबाट बर्खास्त गरेसँगै त्यहाँ नियुक्तिका लागि गत जेठ तेश्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त मागेको थियो । ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेकाले आवेदन दिनसक्ने मन्त्रालयले जनाएको थियो । १२ वर्षको कार्यअनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव सँगै नेपाली वा अंग्रेजी भाषामा तयार पारिएको पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना पनि बुझाउनुपर्ने जनाएकोमा अन्तिम म्याद दिइएको मंगलबारसम्म १७ जनाले आवेदन दिएका छन् ।
जसमा निमित्त प्रबन्ध निर्देशक रहेकी संगीता पहाडी अर्याल, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुभाष साह, केदारनाथ कोइराला र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका छन् । चिन्तामणि बराल, रमेशप्रसाद जोशी र नागेन्द्रकुमार दासका अलवा टेलिकमका प्रबन्धक डा विमल आचार्य र हाल जनक शिक्षा समाग्री केन्द्रका महाप्रबन्धक रहेका अनिलकुमार झाले आवेदन दिएका छन् ।
सञ्चार मन्त्रालय स्रोतका अनुसार झा र अचार्यमध्ये एक प्रवन्ध निर्देशक बन्ने सम्भवना छ । कारण यी दुबैलाई हित हुने गरी नेपाल ‘दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८मा पहिलो संशोधन गरिएको छ ।
बिज्ञापन
नियुक्ति अघिको उक्त निर्देशिका संशोधनलाई चलखेलका रुपमा अर्थाएका छन् । संशोधित निर्देशिकामा प्रबन्ध निर्देशकका लागि दरखास्त दिने उम्मेदवारको उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्थासमेत हटाइएको छ । यो संशोधनले बुद्धि र झालाई फाइदा पुग्ने टेलिकमकै कर्मचारीहरु बताउँछन् ।
यस अघि यस्तै मापदण्ड नै संशोधन गरेर सरकारले टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्ति गरेको थियो । पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । पछि विशेषले भ्रष्ट ठहर गरेसँगै अहिले डिल्लीबजार कारागारमा पुगेका छन् ।