बीरगञ्ज भन्सार कार्यालयमा अधिकृत “अधिकारी”को पैसा आतंक

वीरगञ्ज भन्सार कार्यालयबाट व्यापक चोरी निकासी, अनियमितता र भ्रष्टाचार हुने गरेको छ । देशकै ठूलो भन्सार कार्यालबाट दैनिक करोडौं मूल्य बराबरको सामान तस्करीमा भारतबाट नेपाल भित्रिने गर्दछ । भन्सार कार्यालयमा विभिन्न ट्रान्सपोर्ट कम्पनी, भन्सारका एजेन्टहरु तथा कर्मचारीहरुको मिलेमतोमा ठूलो अनियमितता हुने गरेको छ ।

बिज्ञापन

भन्सार कार्यालयकै कर्मचारीका अनुसार भन्सार विभाग र अर्थमन्त्रालयका उच्च अधिकारी र मन्त्रीको समेत नाम लिएर दैनिक रकमको डिमाण्ड तोकिन्छ । केही ट्रान्सपोर्ट कम्पनीहरुसँग महिनावारी सेटिङ तथा भन्सार एजेन्ट र अन्य व्यापारीहरुसँग छुट्टै सेटिङ मिलाएर भन्सार मूल्याङ्कनमा समेत ठूलो मात्रामा चलखेल गरी अनियमितता र भ्रष्टाचार हुने गरेको पाइएको छ । प्रमुख भन्सार प्रशासक डिल्लीराम पन्थीले प्रमुख भन्सार अधिकृत भरतराज अधिकारी लगायतका कर्मचारीलाई समेत प्रयोग गरी दैनिक पैसा कलेक्सन गर्ने गरेको स्वयं वीरगञ्ज भन्सार कार्यालयका एक नासुले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनीहरूले केही भन्सार एजेन्ट, ट्रान्सपोर्ट कम्पनीहरु तथा व्यापारीहरुसँग ठूलै आर्थिक लाभ लिने गरेको पनि उनले बताए ।

बिज्ञापन

सुन तस्करमा जोडिएका चिनियाँ मूलका नागरिक दावा छिरिङ र भन्सार अधिकृत भरतराज अधिकारीबीच १० लाख रुपैयाँ लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई विभागीय कारबाहीको सिफारिस समेत गरेको थियो तर उनै अधिकृत अहिले वीरगञ्ज भन्सार कार्यालयमा पुगेका छन् । सुन तस्कर चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र भन्सार अधिकृत अधिकारीबीच १० लाख रुपैयाँ लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई अनुसन्धानको राडरमा राख्नका लागि सुन तस्करीसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित आयोगले प्रतिवेदन नै दिएको थियो ।

प्रतिवेदनमा दावा र अधिकारीबीच पटक–पटक भेटघाट भएको, दावाका गाडी कैयौं पटक प्रयोग गरेको, रसुवाबाट काठमाडौं बालाजुस्थित आफ्नो घर आउँदा जाँदा पटक–पटक दावाकै गाडी प्रयोग गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको थियो । अधिकारीले दावाकै गाडी चढेर सिंहदरबारमा समेत जाने गरेको आयोगसमक्ष बयानमा स्वीकार गरेका छन् । यसरी सुन तस्करी जाँचबुझ आयोगले पोलेको भरत अधिकारी अहिले वीरगञ्ज भन्सार कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

त्यहाँ पुगेर व्यापारीदेखि कर्मचारीहरुलाई त्रसित पार्ने गरेको कर्मचारी प्रेसको सम्पर्कमा आएका एक व्यापारीले बताए । वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीका अनुसार ट्रान्सपोर्ट कम्पनी, भन्सार एजेन्टलगायतसँग मिलेर सेटिङमा अतिरिक्त आर्जनमा केन्द्रित छन्,अहिले अधिकारी । सामान परिमाण, परिमाण अनुसारको मूल्यांकनमा चलखेल गरी दैनिक मोटो रकम लिने गरेको आरोप भन्सारकै कर्मचारीहरुले लगाउने गरेका छन् ।

यही बिषय केही अघि संघीय संसदमा समेत उठेको थियो । उनीहरुले वीरगञ्ज भन्सार कार्यालयलगयायत अन्य भन्सार कार्यालयहरू भ्रष्टाचार र अनियमितताको अखाडा भएको औँल्याएका थिए । वीरगंज भंसार कार्यालय ९आइसीपी० परिसरलाई प्रयोग गर्दा तस्करहरूको जस्तोसुकै माल सामान भए पनि मुख्य भन्सार प्रशासक डिलाराम पन्थीकै निर्देशनमा कर्मचारीहरूले ग्रीन च्यानलमार्फत जाँचपास गरी न्यून राजश्वमा करोडौं मूल्यका कपडा, महंगा मदिरा, फेन्सी सामग्रीलगायतका सामान सहजै नेपाल भित्रिने गरेको भन्सार निकट स्रोतबाट जानकारी हुन आएको छ ।

उसो त भरतराज अधिकारीको विगतमा अनेकन बदमासीमा मुछिदै आएका कर्मचारी हुन । मेची भन्सार कार्यालयमा रहँदा पनि उनले विभिन्न फण्डाहरू मच्चाएका उनलाई नजिकबाट चिन्ने साथीहरु बताउँछन् । ०७५ भदौमा सागर घिमिरे र विवश भण्डारीले ल्याएका सामानको जाँचकी थिए उनै भण्डारी । भन्सार छली गरी आयात गरिएका २ वटा ट्रक राजस्वले बरामद गरेको थियो । ट्रकमा ब्रान्डेड तयारी कपडा ल्याइएको भए पनि भन्सार न्यून बिजकीकरण गरी ल्याएकाले बरामद गरिएको थियो । सामान बरामद गरिसकेपछि भन्सार अधिकृत भरत अधिकारीले जाँच गरेका थिए । तर विभागले मुद्दा दर्ता नै नगरी उन्मुक्ति दिएको थियो । यस्तै, ४ करोड ५० लाख राजस्व चुहावटको मुद्धा अख्तियारले विशेषमा लिएर गएको थियो । उक्त समयमा अख्तियारले तत्कालीन महानिर्देशक दीर्घराज मैनालीका अलवा भन्सार अधिकृत पवित्रकुमार खड्का र नायबसुब्बा धिरजकुमार थापासहित मितेरी इन्टरनेशनलका सुमन श्रेष्ठ, रन्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका धनबहादुर तामाङ, आकाश श्रेष्ठ, निरन्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाइएकोमा विशेष अदालतले क्लिन चिट दिएको थियो ।

यसरी अनेकन फण्डामा मुछिएका कर्मचारीलाई न त विभागले स्पष्टीकरण समेत सोधेको पाइदैन । उनलाई बचाउनमा माथिसम्मकै नेक्ससले काम गरेको अधिकारीहरु बताउँछन् ।

यो बिषयमा प्रतिक्रियाका लागि कर्मचारी प्रेसले अधिकारीसँग पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।