पद मर्यादा होइन। मान मात्र हो। मानको इज्जत राख्नु मर्यादा हो। पदीय व्यक्तिको अनुशासन ले पदको मर्यादा राख्छ । मर्यादा शब्दले अनुशासित, नैतिक, सम्मानयुक्त, दृण सङ्कल्पित इत्यादि व्यक्तित्वको उपनामलाई जनाउँछ। पदीय मर्यादा औपचारिकता मात्र हो। यही औपचारिकताभित्र हाम्रो मर्यादाक्रम तयार भएको छ। सम्मानयुक्त व्यक्तित्वको मर्यादाक्रम शासकीय परिधिभन्दा प्राय बाहिर रहन्छ। महावीर पुन, सन्दुक्र रुइत जस्ताको मर्यादाक्रम अङ्कमा निर्धारण गरिँदैन। तर ती व्यक्तित्व जहाँ पनि प्रमुख अतिथिको रुपमा रहिरहन्छन्। यो पदले होइन, व्यक्तित्वले निर्धारण गरेको मर्यादा हो। मर्यादित व्यक्तित्वहरू मर्यादाक्रममा बस्न रुचाउँदैनन्। उनीहरु प्राय समानताको खोजी गर्छन्। जो मर्यादामा रहँदैनन् उनीहरू प्राय मर्यादाक्रमको ख्याल ,गर्छन्। यो असली व्यक्तित्व लुकाउने ठाउँ हो। मर्यादाक्रमको उच्च पदमा व्यक्तित्व गुम हुन्छ। व्यक्तित्व र मर्यादा घुलनशील भएमा त्यो पद मर्यादित हुन्छ। यो सरल अर्थलाई बुझ्न नेपालका शासक प्रशासक र राजनीतिज्ञलाई केही कसरत गर्नु पर्दैन ।पालना मात्र गरिदिए पुग्छ।
हामीले सम्माननीय राष्ट्रपति देखि वडाध्यक्षसम्मको मर्यादाक्रम तयार गरेका छौं। शासनभित्र अनुशासन राख्न मर्यादाक्रम चाहिन्छ। मर्यादाक्रम पदको गरिमा हो। पदले लिनुपर्ने उत्तरदायित्व र जिम्मेवारी हो। आफूभन्दा माथिल्लो पदमा निर्धारण गर्ने संस्कार हो। यो संस्कारले राजनीति ,समाज, प्रशासनमा संस्कृतिको निर्माण गर्छ। त्यो संस्कृति जति सुसंस्कृत हुँदै जान्छ त्यति देश विकसित हुन्छ। जति पद र यसको औपचारिकतामा सीमित हुन्छ। त्यति नै ती देशहरू अविकसित हुन्छन। मानक खोज्न धेरै विश्लेषण गर्नु पर्दैन। हाम्रै भित्रको मर्यादाक्रमको आचरण, व्यवहार र उपयोगलाई हेरे पुग्छ।
हाम्रा उद्घाटनदेखि समापनसम्म कार्यक्रममा मर्यादाक्रम र आसन ग्रहणले आधा समय लिन्छ। मर्यादाक्रम नमिलाई आसन ग्रहण गरेमा कुटाकुट भएका थुप्रै घटना पढ्न पाइन्छ। यस्ता घटना प्राय मनोरञ्जात्मक हुन्छन् ।स्व घोषित मर्यादा खोज्नेको कारणले कहिलेकाहीँ कार्यक्रम नै स्थगित गर्नुपर्ने स्थिति पनि आउँछ। आसन ग्रहणमा नाम नबोलाउँदा कार्यक्रम नै छोडेर हिँड्ने वक्ता हरुको दुःख सुनेर साध्य छैन। शुभकामना मन्तव्यमा ड्यासमा आसिनहरूको पद र मर्यादाक्रमकाे वाचनले आधा समय लिन्छ। सबैलाई पदअनुसारको सम्मान दिनैपर्यो। कसैको छुटेमा क्षमा समेत माग्नुपर्ने हुन सक्छ। यो औपचारिकतामा नरमाउने वर्ग राजनीति र प्रशासनमा प्राय कमै छन्। यसले शासकीय क्षेत्रमा व्यक्तित्व टक्रराउ, असहयोग, असहभागिता बढाएको छ । यो मनोवैज्ञानिक स्तरको असमानता हो। यो बाहिर देखिँदैन तर नतिजामा प्रष्ट छ। राजनीति नेतृत्व, निर्वाचित प्रतिनिधित्व भन्दा प्रशासकीय नेतृत्वलाई मर्यादा क्रममा तल राखिएको छ। यो गलत होइन। तर हाम्राे मा मर्यादाक्रम र आसन ग्रहणको प्रयोग गलत ढङ्गबाट भएको छ।
हाम्रा प्रशासकीय नेतृत्व स्वयं मर्यादाक्रममा छन। विषयगत ऐन कानुनहरूले स्पष्ट उत्तरदायित्व र जिम्मेवारी तोकेका छन्। निर्णय प्रक्रिया पदीय मर्यादा क्रमभन्दा बाहिर हुनै सक्दैन ।भएमा कानुनी चुनौती हुन्छ। कुनै पनि निर्णयहरू कसले गर्ने भन्ने अन्योलता मन्त्रालयदेखि स्थानीय तहसम्म छैन। संविधानले सम्माननीय राष्ट्रपति देखि सर्वोच्च अदालत र संवैधानिक निकायहरूको मर्यादाक्रम स्पष्ट पारेको छ। यो मर्यादाक्रम पदमा होइन, उत्तरदायित्व र जिम्मेवारीका आधारमा कानुनले तोकेको छ। पद त संगठनात्मक स्वरूप मात्र हो। हेन्री फेवलका अनुसार नियन्त्रण ,अनुशासन ,पदसोपान, वृत्तिविकासका विषयलाई सहज गर्न संगठनमा पदको संरचना निर्धारण गरिन्छ । समग्र देशको शासन व्यवस्था एउटा संगठन हो। यसभित्र पदहरू क्रमागत रूपमा रहन्छन्। तर यो औपचारिकतालाई हामीले आसन आसन ग्रहणमा जोडेर मनोवैज्ञानिक विभेदको सिर्जना गरेका छौ। यसले सूक्ष्म र बृहत दुवै रुपमा सुशासनमा असर गरेको छ। यसको विश्लेषण कतैबाट भएको देखिँदैन ।
सुशासन जनमुखी भएका देशहरूमा आशन ग्रहणको तरिकै छुट्टै छ। मुख्य व्यक्तित्व र उद्घोषक ड्यासमा देखिन्छन। अरु सबै श्रोता र दर्शक दीर्घामा रमाउँछन्। भाषणमा सम्मानित व्यक्तित्वलाई सम्बोधन गरी बाँकी “लेडिज एण्ड जेन्टलमेन” बाट मुख्य वक्तव्य सुरु हुन्छ । यसले कसैको मर्यादा तोड्दैन। कसैको मर्यादाक्रम भङ्ग हुँदैन। वक्ताहरु कोही छन् भने दर्शक दिर्घाबाटै बोलाइन्छ। यी कार्यक्रमहरू सहज हुन्छन्। प्राय कार्यक्रममा विज्ञहरूको धारणा सुनिन्छ। र राजनीति व्यक्तिहरूले यही धारणामा राजनीति गर्न सक्छन्। प्रशासकहरुले विज्ञको धारणालाई नीतिमा परिणत गर्छन्। र कार्यक्रमको महत्व र गहिराई हुन्छ। त्यहाँ विज्ञ र विशिष्ट व्यक्तिले कस्तो फरक विचार राख्छन् भन्ने कुरामा बढी चासो दिइन्छ। राजनीतिक नेतृत्वले समेत प्रशासकीय विश्लेषण गर्छन् र नतिजाको परिकल्पना गर्छन्। त्यस्ता कार्यक्रममा मर्यादा र रोलक्रमको ख्याल हुँदैन। कार्यालयदेखि रेस्टुरेन्टसम्म त्यहाँ कतै असमानता पाइँदैन।
हाम्रोमा विषय विज्ञ प्राय ड्यासमा देखिँदैनन। प्राय सबैका विचार एउटै हुन्छन् तर बोल्नै पर्ने हुन्छ। जो आफैँलाई विज्ञ ठान्छन्।भरिभराउ ड्यासका सबैले आफ्नो विचार राख्दा समय कहिल्यै पालना हुँदैन। हामी पनि संगठनको मुख्य वा कुनै सम्मानित व्यक्तित्वलाई ड्यासमा राखेर बाँकी सबैलाई श्रोता दीर्घामा राख्न सक्छौँ। “उपस्थित सज्जन वृन्द,” भनेर सम्बोधन गर्न सक्छौं। यो अति सरल र सम्मानित सम्बोधन हाे। ड्यासमा भन्दा श्रोता दीर्घाबाट विचारको राम्रो सम्प्रेषण हुन्छ। तर पदीयहरूलाई माथिल्लो दीर्घामा बसेर आफ्नो व्यक्तित्व छुपाउनु छ । प्राय समयको अभावले विशिष्टहरु पहिले नै बोलेर हिँडिदिन्छन्। विचार सुन्न र विश्लेषण गर्न धैर्यता चाहिन्छ।त्यो खल्लोपनालाई पछि सम्मका श्रोताहरुले सुनिरहनुपर्छ। यो कार्यक्रमको औपचारिकताले ठूलो अनौपचारिक विचार पैदा गरिराखेको छ । मर्यादाक्रमलाई पदले सम्बोधन गर्दा राजनीतिक र प्रशासनिक पदहरूमा योग्यताको अनादर भएको प्रशासकहरू बताउँछन्। योग्यताक्रम ,मर्यादाक्रम चाहिन्छ। यो कानूनी औपचारिकतामा सीमित हुनुपर्छ। हाम्रोमाआसनग्रहणको प्रयोगलाई मर्यादित, सरल र संक्षिप्त बनाउनु बुद्धिमानी हो। यो सानो सुधारले थोरै भएपनि जनस्तरमा नेतृत्वको प्रशंसा बढाउँछ। र सबै पदहरूमा समभाव पैदा हुन थाल्छ। क्रमश पदीय विभेद अन्त्य हुँदै जान्छ। बल्ल हामी शासकीय समानतामा पुग्छौं।