मन्त्रालयमै पुगेर नपरोस मर्न

डाक्टरलाई भगवानकै अर्काे रुप मानिन्छ तर कच्चा डाक्टरको मात्रा,यमपुरीको यात्राजस्तो बन्दो रहेछ । स्वस्थ हुने अभिलाषा बोकेर पाठेघरका अप्रेसनका लागि म कैलालीदेखि प्रसूतिगृहमा पुगें । तर,त्यहाँका कच्चा डाक्टरका कारण एकातिर आजीवन अस्वस्थ बन्नुपर्ने अबस्था भोगिरहेकी छु । कच्चा चिकित्सकको हेलचक्राई र लापरवाहीका मेरो हुँदाखाँदाको मेरो किड्नी गुम्यो,अपाङ्ग बनाएर छोडिदिएको छ । मेरो उपचारमा लाग्दा छोरीको जागिर गुम्यो,लोकसेवा र कोरियन भाषाको एकसाथ तयारी गरिरहेकी छोरीको भविष्य नै अन्योलग्रष्त बन्न पुग्यो । परिवारमा ऋृणमा डुबेका छौं,सिङ्गो परिवारै डिप्रेसनको शिकार हुन स्थितिमा पुगेका छौं । त्यस्ता नक्कली डाक्टरलाई कारवाही गर्नु त कता हो कता ढाकछोप गर्न उद्यत छ राज्य । म कमलादेवी कैनी,इन्सेकको क्षेत्रमा काम गरिरहेको एक सामाजिक अभियन्ता । कुखुरा पालन व्यवसाय थियो । ६ जनाको परिवार राम्रैसँग चलिरहेको थियो । बेलाबखत तल्लो पेट दुख्ने समस्याले पिरोल्थ्यो । पाठेघरमा ट्युमर पलाएको छ भन्ने थाहा पाएपछि उपचारको खोजीमा त्रिवि शिक्षण अस्पतालमा पुगें । १ वर्षसम्म फ्लो अप,परीक्षणमा रहँदा पाठेघरमा खासै समस्या छैन,आतिनुपर्दैन भन्ने जबाफ आयो चिकित्सकहरुबाट । सुनेको थिए,स्त्री रोगका लागि थापाथलीस्थित प्रसूति गृह,धेरै राम्रो छ । त्यहाँ विशेषज्ञ डाक्टर छन् ।

बिज्ञापन

उपचारको खोजीमा पुगें,थापाथली प्रसूति गृह । त्यहाँ पुग्नु नै मेरो दुःखको दिनको शुरुवात भयो । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीलाई भेटे । भदौ, २०८० मा उनले परीक्षण गराउँदा पाठेघरमा दुईवटा ट्युमर देखियो । उहाँले दुई पटकसम्म हातैले चेक गर्नुभयो । भन्नुभएको थियो, दुईवटा ट्युमर पलाएको छ । ट्युमर पिसाब नलीसँग जोडिएकाले अलि जटिल छ । असोज १६ गते अप्रेसनको डेट दिनुभएपछि सोही अनुसार तयारी गरेर अस्पताल पुगे । अप्रेसनका लागि १५ असोजमा अस्पताल पुग्दा तीन दिन पछि सारियो अप्रेसनको मिति । मैले निर्देशक अधिकारीलाई जिज्ञासा राखें ‘डा सा’ब हुजुरले नै हो नि मेरो अपरेसन’ उहाँले जबाफमा ‘हो’ भन्नुभएको थियो तर अप्रेसन गर्नका लागि बेहोस बनाउने समयसम्म डा. अधिकारी मेरो अगाडि थिएनन् । अपरेसन गर्दा नक्कली डाक्टर डा. तुसार जोशी र निशा भन्ने अर्का डाक्टरले गरे । त्यही पछि मेरो स्वास्थ्यमा समस्या देखिन थाल्यो । स्वास्थ्य राम्रो हुन्छ, निरोगी होइन्छ भन्ने आशा र भरोसा राखेर म अस्पताल पुगेको थिए तर पाठेघरको ट्युमरको अप्रेसन गर्न गएकी भए ट्युमर त फालियो,सँगसँगै पिसाबनली पनि काटेर फालिएछ । अप्रेसपछि पिसाब राम्रोसँग हुन सकेन । कहिले पेट फुल्ने, सास फेर्न गाह्रो हुने समस्या देखिन थाल्यो । यही समस्या देखिँदा देखिँदै डिष्चार्ज गरियो । त्यसपछि जहाँ,जुन समय पनि थाहै नपाई पिसाब चुहिन थाल्यो । भेट्न आउने आफन्तहरुलाई भेट्न लाज लाग्ने स्थिति बन्यो । ड्राइपर लगाएर बस्नुपर्ने भयो । समस्या बल्झिएपछि पुन अस्पताल पुग्यौ । मृगौलामा केमिकल हालेर सिटी स्क्यान गर्नुपर्छ । यस्तो अवस्थामा मिर्गौला फेल पनि हुन सक्छ’ भन्ने उल्टै चेतावनी दिइयो । यसरी पिसाबनली काटिएपछि डाक्टर अधिकारीकहाँ गुनासो राखे,उनले बदमासी गर्ने डाक्टरलाई कारवाही गर्ने कुरा गरेनन्,बरु डाक्टरसँग पंगा नलिन सुझाए ।

बिज्ञापन

अप्रेसन गरेको ठाउँमा टाँका लगाएपछि काटेको घाउ जोडिनुपर्दथ्यो तर टाँका नै नक्कली परेछ टाँका खुस्कियो र घाउ पाक्न थाल्यो । पछि वीर अस्पतालको डाक्टरलाई बोलाएर अर्काे अप्रेसन गरियो । अप्रेसन पछि पिसाबनलीमा दुईवटा स्टाण्ड राख्नुभयो । एक महिना दश दिन अस्पतालमा बस्यौं । यसरी साना ठूला गरेर छवटा अपरेसन ( पहिलो पाठेघरको अपरेसन, काटिएको पिसाब नली जोड्न अपरेसन, टाँका नजोडिएर संक्रमण भएपछि अपरेसन र पिसाब नलीभित्र राखिएको स्ट्यान्ड झिक्न अर्को अपरेसन) । मेरो उपचारका लागि वीर अस्पतालका डा रविन बस्नेतले सक्दो प्रयास गर्नुभयो । उहाँ र टिको प्रयासबाट आज अलिकति तङग्रिएको छु । कहाँको नर्कको जस्तो प्रसूति गृहमा उपचारको क्रममा बसाई र भोगाई, कहाँको घरकै सदस्यको जस्तो केयर र माया ममता वीर अस्पतालको डाक्टरहरुको । पाठेघरको ट्युमर त गयो,सँगै पिसाबनली र एउटा किड्नी समेत गुमेको छ मेरो अहिले ।
कच्चा डाक्टरको भर पर्दा अहिलेसम्म १६ लाखभन्दा बढी रकम सकियो । ऋृण गरेरै उपचार प्रक्रिया अगाडि बढाइएको छ । तर मजस्तो मध्यम वर्गीय परिवारका व्यक्तिका लागि यति विध्न धन खर्चिएर पनि न त रोग निको भयो,एकातिर किड्नी गुम्यो,अर्काेतिर पिसाबनली काटियो । हुँदाखाँदाको व्यवसाय धरापमा परेको छ । ऋण लिएर बनाएको दुईवटा कुखुरा फार्म थिए । त्यो पनि चौपट भयो ।

अनाडी डाक्टरका बदमासीका विरुद्धमा म मेडिकल काउन्सिलमा पुगें,उजुरी बोकेर । उजुरी दर्ता भएको तीन महिना पुग्न लाग्यो । सुनुवाई प्रक्रिया अगाडि बढ्दैन । ती डाक्टरलाई कारवाही हुनेवाला पनि छैन । केही दिन अघिमात्र म मेरो उजुरी के भयो भनेर सोध्न मेडिकल काउन्सिल पुगें । त्यहाँको अध्यक्षलाई भेटेर ‘डाक्टर मैले न्याय कहिले पाउँछु ?’ भनेर जिज्ञासा राख्दा उहाँले जबाफ फर्काउनुभयो –‘तपाईलाई के अन्याय भएको छ र न्याय पाउनलाई ?’ यस्तै हो मेडिकल काउन्सिलको अध्यक्षको कुर्सीमा बस्नेले दिने जबाफ ? मैले माग राखें,‘ पाठेघरका ट्युमरको उपचारका लागि प्रसूतिगृहमा पुग्दा त्यहँँका चिकित्सक डा. तुसार जोशी र निशाको टिमको लापरवाहीका कारण पिसाबथैली काटिएको,एउटा मृगौला नै गुमाउनुपरेको कारण ती डाक्टरमाथि कारवाही हुनुप¥र्यो । तर मेडिकल काउन्सिलको अध्यक्षले जबाफ फर्काए –‘ तपाईलाई कुनै अन्याय भएको छैन । एउटा किड्नीले पनि मान्छे बाच्छन,बाँचेका छैनन् । सरकारी डाक्टरलाई म केही कारवाही गर्न सक्दिन ।’उहाँसँगको भनाभनको कारण मेरो प्रेसर ह्वात्तै बढ्यो । एक जना मर्दा केही हुँदैन,सय जनालाई हामीले बचाउनु पर्दछ भन्ने जबाफ दिए मेडिकल काउन्सिलको अध्यक्षले । मेडिकल काउन्सिलबाट डाक्टरलाई कारवाही हुनेमा विश्वस्त छैन । किनकी डाक्टरले डाक्टरलाई कारवाही गर्दैनन्,मेडिकल काउन्सिलका टाउकाहरु डाक्टरकै बचाउमा लागेका छन् । त्यहाँबाट पार नलाग्ने भए पछि कहिले टेकु,कहिले नक्सालस्थित प्रहरी कार्यालयको ढोका ढकढकाए । उनीहरुले आफ्नो कार्यक्षेत्र होइन भन्दै पन्छिए ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,स्वास्थ्य मन्त्रालय हुँदै सरकारी वकिलको कार्यालयसम्म पुगें,निवेदन बोकेर र न्याय खोज्दै । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ इलाजसम्बन्धी कसुरको दफा २३१ र २३२ प्रतिकूलको कसुर गरेको दाबी गर्दै सरकारी निकायमा गएकी हुन् । तर, सोसम्बन्धी विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भनेर सरकारी वकिलको कार्यालयले पनि स्वास्थ्य मन्त्रालयलाई देखाएर पन्छियो । चिकित्सकउपर छानबिन गरी उचित कारबाहीको माग राखेर मेडिकल काउन्सिल, उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर, महानगरीय प्रहरी परिसर कार्यालय टेकुमा पुग्दा सबै सरकारी निकाय स्वास्थ्य मन्त्रालयलाई देखाएर पन्छिदै आएका छन् ।

यता स्वास्थ्य मन्त्रालय मेडिकल काउन्सिललाई देखाउँछ । आज बल्ल ४१ बर्ष लाग्दैछु, आधा जीवन भोग्नै बाँकी छ । म उपचारको खोजीमा पो पुगेको हुँ त प्रसूतिगृहमा । हुँदा छँदाको किड्नी फाल्न र मूत्रनली काट्न गएकी हो र, त्यहाँ ? के मेरो शरिर चिकित्सकहरुका लागि खेलौना हो ?अस्पतालमा रहँदा पशुसरह व्यवहार गरे । आधा जीवनमै मेरो ध्वस्त पारिदिए । लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गरेकी महिला हुँ । सरकारी निकायबाटै न्याय र निसाफ खोजौं भन्ने चाह हो । होइन भने मसँग पनि छन्,मान्छे । उर्तान सक्छु आफन्त र मानवअधिकारकर्मीहरु अस्पतालको प्रांगणमा । उत्रनसक्छु तोडफोडमा । क्षतीपूर्ति र गलत गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै आएको हुँ ।

तर सरकारी निकायले सुनेन भने विद्रोहको अर्काे स्वरुपमा उत्रन सक्छु । जब ट्युमरको उपचारको क्रममा मेरो पिसाबनली काटियो,मेरो श्रीमान र छोराहरुले त्यही हामी पनि त्यो डाक्टरको त्यसैगरी पिसाबनली काटिदिन्छौं भनेका थिए । त्यसरी उत्रिन हुँदैन भनेर उनीहरुलाई सम्झाउँदै आएको छु । यदि यी चिकित्सकमाथि कुनै कारवाही भएन र मैले क्षतीपूर्ति र न्याय पाइन भने ती डाक्टरको क्याविनमा नभए स्वास्थ्य मन्त्रालयमै गएर आत्महत्या गर्ने छु,यो मेरो चेतावनी भयो । ताकी ती नक्कली डाक्टरका अगाडि जाँदा कुनै पनि विरामीले सयौं पटक सोच्न परोस ।

–कमलादेवी कैनी

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।