अञ्जनकुमार
बिज्ञापन
माधब नेपाल र झलनाथ खनालहरु बाहिरिएसगै एमालेमा गुटबन्दीको डडेलो साम्य भएको वा निभेको विश्लेषण गर्नेहरु धेरै थिए तर गण्डकी प्रदेशमा देखिएको स्थानीय,प्रदेशदेखि संघको निर्वाचन हुँदै पार्टी अधिवेशनमा छताछुल्ल पोखिएको गुटको फसलले हावा खुवाएको छ ।
बिज्ञापन
सिङ्गै एमाले हुँदा माधव पक्षलाई पेलेर भित्तैमा पुर्याउन लागि पर्ने केपी ओली खेमाका मान्छे पार्टी विभाजनपछि खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ गुट बनाएर एकले अर्कालाई सेक्ने रेसमा देखिन्छन् । लमजुङका पृथ्वीसुब्बा गुरुङ गण्डकीको राजनीतिमा एकाएक उदाएपछि कास्की लगायत वरपरका जिल्लामा एकछत्र जस्तै प्रभाव जमाएका स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई दाँतमा ढुङ्गा लागे जस्तै भएको विश्लेषण गर्न थालिएको छ ।
गुरुङ ०७४ मा जब गण्डकी प्रदेशको मुख्यमन्त्री भए । त्यसपछि उनको विस्तारै गण्डकीमा प्रभाव जम्दै गयो । यसो त गुरुङले जो जसलाई आफ्नो मान्छे भनेर उकासे उनले मुख्यमन्त्रीबाट हात धुदै गर्दा ती पात्रहरुले साथ छोड्दै गए । जनमतबाट कहिल्यै अनुमोदित हुन नसकेका एमाले लमजुङमा लामो समय नेतृत्वमा रहेका मायानाथ अधिकारी हुन वा, बाग्लुङका गोबिन्द नेपाली वा किन नहुन गोर्खाका रामशरण बस्नेत नै । लमजुङका अधिकारीलाई गण्डकी अञ्चल पार्टी सचिवदेखि लिएर खस आर्यको एउटा मात्रै कोटामा समानुपातिक सांसद र पार्टीको प्रमुख सचेतक बनाएर सरकारी गाडी चढ्ने हैसियतमा पुगेका अधिकारीले गुरुङलाई बिचैमा लात मारे ।
बिज्ञापन
आफ्नो मुख्यमन्त्री कालमा भौतिक पुर्वाधार मन्त्री बनाएर गोर्खाका बस्नेतलाई गुन लगाए तर पछि उनै पाखा लागे । राजनीति कुनै अवसर नपाएका बागलुङका गोबिन्द नेपालीलाई मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति गरेर राज्यमन्त्री सरहको सुबिधा खाएका नेपाली पनि उछिट्टिए, केपी ओलीकै शब्दमा यस्तैलाई भनिने होला,बैगुनी केटाहरु ।
लमजुङका गुरुङ र कास्कीका अधिकारी दुवै पार्टी विभाजन पुर्व केपी खेमाकै । ०६४ पछि जातीय मुद्दा उठाएर तमुवान लिम्बुवानको पछि कुदेका गुरुङ झण्डैझण्डै अशोक राईको हालतमा पुगेका थिए । जातीय मुद्दामा बाहुन, क्षेत्रीको उछित्तो काड्दै एमालेबाटै पन्छिन पन्छिन लागेका गुरुङले प्रेम घलेदेखि उनका निकटस्थ धनन्जय दवाडीहरुले सम्झाएर थामिएका हुन । गुरुङलाई ०७० को आमनिर्वाचनमा त्यही मुद्दाले खाइदियो भन्दैछन्,एकाथरी एमालेहरु ।
परीक्षणको आरनबाट खारिदै निस्किएका गुरुङ पार्टीको शीर्ष ओहोदामा पुगे । गुरुङले प्रगतिको सिढि चड्दै गर्दा हिजो उनीसंगै रहेका सहयात्री भने लात मार्दै हिड्न थाले । गण्डकीमा अधिकारी र गुरुङ गुटले राम्रै लय समात्न पुग्यो । यतिसम्म कि गुरुङ अधिकारी एउटै मञ्चमासंगै देखिन त के बोलचालै हुन छाडेको थियो । यता कुनै गुटबन्दी छैन, गुरुङ आफ्नो आदरणीय नेता हुन भनेर अधिकारीले मुखको राम्रो राखेपनि गुरुङलाई छेक्न राम्रै कसरत गरेको देखिन्थ्यो ।
०७९ को निर्वाचनमा गुरुङ प्रदेश सांसद भएर गण्डकीको मुख्यमन्त्री हुन चाहन्थे । त्यो चाल पाएर अधिकारीले गोटि चाले । गुरुङको मुख्यमन्त्री बन्ने बाटो छेकियो । गुटबन्दीको लहरो तन्कियो भने गुरुङ अधिकारी सम्बन्धमा पैदा भएको दरारको गहिराई गत असोजमा सम्पन्न प्रदेश अधिवेशनमा राम्रै देखियो र त्यसले थप पुष्टि गर्यो । एमाले विभाजन पुर्व ओली गुटमै रहेरपनि पृथ्वीसुब्बा गुरुङ अलि ओलीलाई चुनौती नेतामा गनिन्थे । भने अधिकारी पेलेरै ठेलेरै जानुपर्ने मान्यता राख्थे । पार्टी विभाजनपछि एमाले गण्डकीमा पियस, खगराज बाहेक तत्कालीन मालेका स्याङ्जाली पद्म अर्याल र तनहुँका किरण गुरुङले तेस्रो धार निर्माण गर्न नखोजेका पनि होइनन् तर उनीहरुको गुट जम्न सकेन । अधिकारी गुरुङ दुईधार प्रष्ट देखियो । गण्डकी प्रदेशमा मायानाथ अधिकारीलाई अध्यक्ष बनाउन निकै जोडबल गरे पनि खगराज पक्षको केही लागेन । बढो मुस्किलले प्रतिनिधि छनौटमा परेका अधिकारीलाई म्याग्देली नवराज शर्माले (उर्फ गुरुङ गुटका) पानी भन्न समेत दिएनन् । प्रदेशमा गुरुङ पक्षधरले सर्लक्कै बाजि मार्यो ।
अहिले जिल्ला अधिवेशनको मेलो चलेको छ । म्याग्दी, गोर्खा, कास्की र लमजुङ गरि चार जिल्लाको अधिवेशन सकिएको छ भने यही चैत्र २३ देखि स्याङ्जाको शुरु हुँदै छ । गोर्खामा गुरुङ गुटले बाजि मार्यो भने कास्कीमा अधिकारी प्यानलले । म्याग्दी सहमतिमा निर्वाचन सम्पन्न हुँदै गर्दा लमजुङमा भने खगराज पक्षलाई धुलो चटाउने योजना साथ लागेका गुरुङ गुट बढो मुस्किलले सफल भयो ।
चैत्र १६ बाट शुरु भएको ११ औ लमजुङ जिल्ला अधिवेशन उपमहासचिव गुरुङको गृह जिल्ला भएकोले खगराज गुटलाई जसरी पनि डाम्नुपर्ने नैतिक दबाब थियो गुरुङलाई । जसका लागि जस्तो सुकै हत्कण्डा अपनाउन पनि तयार भएका उनीहरुले अधिवेशन प्रतिनिधिहरुलाई गोलबन्द गर्ने विभिन्न आश्वासनको चक्लेट बाड्ने काम गरेको अर्का पक्षले आरोप लगाए । हुन पनि अधिकारी गुटबाट प्रतिस्पर्धामा उत्रिएका निवर्तमान पार्टी जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारीले पदाधिकारीमा समेत पूरा उम्मेदवार पाएनन् भने राजकुमार विष्टको नेतृत्वमा बनेको गुरुङ गुटले अधिकारी पक्षका मान्छेलाई समेत टिपेर आफ्नो पक्षमा पारे । निर्वाचन निकै रोषपुर्ण थियो । निर्वाचन हुने भए पछि अधिकारी पक्षका नेता भनिएका अनेम संघ केन्द्रीय अध्यक्ष टुका हमाल, मायानाथ अधिकारी स्वंय खगराज लगायत कोही बसेनन भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ जिल्ला सदरमुकामको बरण्डा होटलमा बसेर अधिकारी गुटलाई ढिम्किनै नदिने तानाबाना बुनिरहेका थिए । राजनीतिका चतुर खेलाडी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी गुरुङ गुटको सारथी थिए ।
भन्न त १६ गते अधिवेशन उद्घाटनको दिन स्थायी कमिटी गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सदस्य खगराज अधिकारीले आफू र उपमहासचिव बीच कुनै तिक्तता नभएको पृथ्वीसुब्बा गुरुङ आफ्नो आदर्श र आदरणीय नेता भएको भन्दै गुटगत राजनीति बन्द गर्न आह्वान गरेका थिए। गुरुङ प्यानलबाट अध्यक्षमा राजकुमार बिष्ट उपाध्यक्ष, जित बहादुर गुरुङ सचिव राजेन्द्र बोहोरा उपसचिव बिबश बुढाथोकी र राममाया थापा मगर निर्वाचित भए ।
उपाध्यक्ष जित बहादुर गुरुङले गुट बदलेर चुनाव जितेपनि मन उतिसारो खुसी जस्तो देखिन्नथ्यो । आजसम्म अधिकारी टिमलाई साथ सहयोग गर्दै आएका गुरुङ उपमहासचिवको पन्जाबाट फुत्किन सकेनन् ।
पियस टिमले अधिकारी टिम लमजुङमा निल भयो भने पनि झण्डै आधा जसो सदस्य भने अधिकारी पक्षका छन । निष्पक्ष ढंगले निर्वाचन गरेको भए वा बन्दसत्र सकिन साथ निर्वाचन गराएको भए आफूले अत्याधिक मतले जित्ने कृष्ण अधिकारीको दावी छ । निर्वाचन मण्डल समेत पक्षपाती भएको निष्कर्ष निकालेका अधिकारी उपमहासचिव सहित प्रदेश र केन्द्रका सारा नेताहरूले आफुहरुलाई घेराबन्दी गरि हराउन लागेकोमा निकै दुखेसो पोखेका थिए ।
हुन पनि गुरुङ गुटले आफ्नो गुटको लिस्ट बाँडेर यी नाम बाहेक दायाँबायाँ नगर्नु भन्ने हुकुम आफूलाई मन नपरेको केही प्रतिनिधिहरुले सार्वजनिक गरेका थिए । एमालेको अझैपनि जिल्लामा राम्रो पकड र दह्रो संगठन छ । तर यस्ता अनावश्यक गुटबन्दी र आफैभित्र एकले अर्कालाई पछार्ने प्रवृत्तिले पार्टीलाई कता पुर्याउछ ? चासो र चिन्ता इमानदार कार्यकर्तामा बढेको छ । अधिवेशनले चार जना पत्रकारलाई पनि पार्टीको जिल्ला कमिटीमा पुर्याएको छ । आठौं जिल्ला अधिवेशनमै उपसचिवको दावा गरेका पुराना पत्रकार कृष्ण केसी खुला प्रतिस्पर्धा बाटै सदस्य जित्न सफल भएका छन भने कान्तिपुरकर्मी आश गुरुङ, नवीन कुइकेल र सरोज बिक सर्वसम्मत भएका छन ।