सहकारीमा सुशासन:- प्रविधि र एकीकरणको सार्थक वहस कार्यान्वनमा ल्याउन जरुरी

‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ देशभर आज चैत्र २० गते ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ। २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस दिवस मनाइन्छ। हाल मुलुकभर ३१ हजार ३ सय ७३सहकारी छन् । सहकारीमा करिब ७३ लाख बढी सदस्य, ९४ अर्ब बढीको सेयर पुँजी, झन्डै पौने ५ खर्ब बढीको बचत र सवा ४ खर्र्ब बढी ऋण परिचालन र झण्डै ९४ हजार प्रत्यक्ष रोजगारी सृजना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा करिब २० प्रतिशत योगदान सहकारी क्षेत्रको रहेको बताइन्छ। यसै गरी वित्तीय क्षेत्रका अतिरिक्त उत्पादन र सेवा क्षेत्रका सहकारीहरू जस्तै कृषि, फलफूल, दुग्ध, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत्, लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन्।सामाजिक पुँजी निर्माण र परिचालन एवं साना उद्यम र उत्पादन तथा वितरणलाई स्थानीय तहमा प्रभावकारी बनाउने भएकाले राष्ट्रिय पुँजी र समृद्धि यात्रालाई दिगो बनाउनसमेत सहकारीको भूमिका महवपूर्ण हुनेछ ।
“एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक हित र उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो । सहकारी एक अर्का बिचको सहकार्यात्मक अभ्यास हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धन गर्ने कार्य गरिन्छ । यो एउटा व्यावसायिक कौशलको उच्च अभ्यास हो ।    नेपालमा मात्रै नभएर विश्वका अधिकांश विकसित र विकासोन्मुख मुलुकको विकास प्रयाससँग सहकारी प्रत्यक्ष–परोक्ष रूपमा जोडिएको छ । बेलायतको रोचडेलमा श्रमिकहरूले सुरु गरेको यो अभियान अहिले किसान, कालिगढ र श्रमजीवीहरूको मात्रै नभएर समााजमा रहेका आर्थिक तथा सामाजिक सबै खालका मानिसको समृद्धि र सामाजिक न्यायको पर्याय बनेको छ ।वर्तमान समयमा नेपालमा सहकारी क्षेत्रमा विभिन्न समस्याहरुले सहकारी क्षेत्र प्रतिको विश्वास हराउदै गएको अवस्था विधमान छ । सहकारी क्षेत्र सुधारका लागि सरकारका सवै तह र पात्रहरुले प्रतिवद्धभई सुधारको थालनी गर्नु आवश्यक छ ।
सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ । यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो। सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छसहकारीको अवधारणा बुझ्न निम्नलिखित दर्शन बुझ्न आवश्यक रहेको छ ।
सहकारीता एक अवधारणा हो, दर्शन हो ।सहकारीता एक जीवन पद्दति हो । यस अवधारणा अनुसार सामुहिक सोच विचार गरेर सँगै कार्य गर्नु , र परिणाम पनि सामुहिक ग्रहण गर्नु सहकारिता हो ।सहकारिताको मान्यता अनुसार नै सहकारी संस्था सञ्चालन गर्नु पर्दछ । सवै सहकार्यहरु सहकारी हुँदैनन् तर सवै सहकारीमा सहकार्य हुनु अनिवार्य रहेको छ । सहकारीताविनाको सहकारी हुनसक्दैन । सहकारीता मिलीजुली कार्य गर्नु हो ।सहकारिताले विशेष व्यवसायिक विधि जनाउँदछ । सहकारी संस्थाहरूले सामाजिक सर्तमा व्यवसाय गर्दछन् । सर्वसाधारणको व्यवसाय, सामाजिक सर्तको व्यवसाय अथवा मानवीय मूल्यको व्यवसाय भन्दैमा सहकारिताको मर्म भने बोध हुँदैन । सहकारिताको मर्म त व्यवसाय गर्ने विधिभन्दा पनि जीवनयापन गर्ने विधिमा खुल्दछ, जसका दुईमध्ये पहिलो पक्ष स्वावलम्बन होसंगठनबाट प्रभावकारी पारिएको स्वावलम्बन नै सहकारिता होे । सहकारीकर्मीहरू स्वावलम्बी भएर बाँच्नु पर्दछ । सहकारी जीवनको दोस्रो पक्ष पारस्परिकता हो । सहकारीकर्मीहरू एक–अर्काका सहयोगी हुन्छन् । सहकारिता स्वावलम्बन र आपसी सहायताको योग हो ।सहकारीमा निश्चित, मुल्य मान्यता तथा आदर्श र सिद्धान्तहरुबाट निर्देशित भई व्यवस्थित प्रणाली मार्फत सञ्चालित हुन्छ । सहकार्य विषय केन्द्रित वा मुद्धा केन्द्रित अल्पकालिन वा दीर्धकालिन पनि हुन सक्दछ । सहकारिताको मर्म अनुरुप सहकारीमा सहकार्य हुन्छ । सहकारी भौतिक हो तर सहकार्य मानसिक क्रिया हा,े सहकारिता अवधारणा मात्र हो । सहकारीताको आदर्श तथा सहकार्यको भावना सहकारीमा प्रयोग तथा अभ्यास गरिन्छ । आधुनिक सहकारीको अभ्युदय पश्चात सहकारीका निश्चित मूल्य मान्यता र सिद्धान्तहरु प्रतिपादन गरिएका छन् । सहकारीका मूल्य मान्यता र सिद्धान्तहरु सहकारीताकै जगबाट विकसित भएको हो ।
आधुनिक सहकारीको इतिहास सन् १८४४ मा वेलायत बाट शुरु भएको मानिएको छ । यसरी सहकारी अभियानले झन्डै अठार दशक पार गरिसक्न लाग्दा यसले केही आदर्शहरु निर्माण गरेको छ । निश्चित मुनाफा मात्र सदस्य वीच वाँडफाँड हुने, पारदर्शिता, अरुहरुको पनि हेरचाह, सामाजिक उत्तरदायित्व, प्रजातान्त्रिक अभ्यास, स्वःउत्तरदायित्व, समानता,  सामेलीकरण जस्ता विषयले सहकारीका आर्दशको रुपमा मान्यता पाएका छन् ।सहकारीका आदर्श उपरको बुझाई जतिसक्दो समान हुन्छ र यसको व्यवहारिक अभ्यास ठीक ठीक किसिमले हुन्छ सहकारी अभियान उति उति परिस्कृत हुँदै अगाडी बढने छ । दार्शनीक पक्षलाई व्यवहारमा जुन स्तरमा प्रतिस्थापन गरिन्छ उपलव्धी पनि तदनुकल प्राप्त हुने तथ्यलाई विर्सनु हुँदैन ।सहकारी सांगठानिक पक्ष हो । सहकारीता सहकारीमा अवलम्वन गरिन्छ । यसर्थ सहकारी हार्डवेयर हो । वुझन सजिलोको लागि सहकारी पद्दति भन्नु नै सहकारीता हो । सहकारीताको सैद्धान्तिक पक्षलाई सहकारी संगठनमा पुर्ण रुपमा अभ्यास गरिन्छ । तर सहकारी सहकार्य भन्दा व्यापक र विशिष्ठ हुनु पर्दछ । सहकारी मूलत ः व्यवसायमूलक हुन्छ । व्यवसायिक चेत नभएको संगठन सहकारी हुन सक्दैन ।सहकारी संगठनले व्यवसायिकता सहितको क्रियाकलाप गर्नु पर्दछ । व्यवसायिक क्रियाकलाप गर्दा सहकारीताको अवधारणा अनुरुप सहकार्यलाई व्यापकता दिनु पर्दछ । सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्कठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकाङ्कक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो ।
मानव सभ्यताको विकास सहकार्य बाट नै संभव भएको हो ।सहकार्य शव्दको अर्थ निश्चित उद्देश्य प्राप्तीका लागि २ वा २ भन्दा वढि व्यक्ति वा निकाय एकसाथ मिलेर काम गर्ने, साथ साथ काम गर्नु भन्ने हुन्छ । सहकार्यमा सामाजिक र मानविय भावना प्रवल हुन्छ । बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर भुझेको पाईन्छ।  तर सबै मिलेर गरेको सबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन।  सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन। सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ ।  सामजिक वा साझा हितका लागि एकसाथ मिलेर काम गर्नु सहकार्य हो । साझा स्वार्थको लागि बाटो घाटो, पुल पुलेसा, मन्दिर, पाटि पौवा, धर्मशाला, चौतारा, स्वास्थ्य संस्था, शिक्षण संस्था, सार्वजनिक स्थल, सरसफाई, बृक्षारोपण, मेला जात्रा जस्ता सामाजिक कार्यमा दिनँहु सहकार्य गरिरहेका हुन्छौ । स्थायी र अस्थायी, आर्थिक र सामाजिक साथै प्राकृतिक विपत्तिजस्ता अनेकन विषयहरुमा सहकार्य भई रहेको हुन्छ । सरल रुपमा भन्नु पर्दा सह ं कार्य, मिलेर काम गर्नु नै सहकार्य हो । यस्तो सहकार्य आर्थिक, व्यबसायीक, सामाजिक, खेलकुद, पर्यटन जस्ता क्षेत्रमा हुन सक्दछ । सहकार्य गर्दा नाफा सहित वा गैर नाफामुलक दुवै हुन सक्छ ।
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ।समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय–अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्कठन भएकोले यसले मानिसहरूमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । समाजका पिछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरूलाई सामुहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ।
उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।
सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाई जात–जाति, धर्म, लिङ्क, वर्ण, वर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरूपले आर्थिक कारोवार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।
आफ्ना सदस्यहरूको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ।
सहकारी विश्वको सबैभन्दा ठूलो आर्थिक सामाजिक सञ्जाल, व्यवसाय र रोजगार क्षेत्र पनि हो । जापान, अमेरिका, क्यानडा, दक्षिण कोरिया, इन्डोनेसिया, भियतनाम ,सिंगापुर, चीन र भारतजस्ता मुलुकहरूको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको छ ।नेपालको संविधानले सहकारीलाई मुलुकको आर्थिक विकासको तेस्रो खम्बाको रूपमा सम्बोधन गरिएको छ । संविधान, आवधिक योजना र विकासका दस्ताबेज र अभ्यासमा सहकारीलाई नीतिगत रूपमा जोडिएको छ । हाम्रो जस्तो ग्रामीण र कृषि अर्थव्यवस्थामा आधारित मुलुकको राष्ट्रिय समृद्धिको लागि यो अत्यन्त सकारात्मक छ । सहकारीले उत्पादनका साधनहरूमा उपभोक्ता र श्रमिकहरूको पहुंच स्थापित गर्छ । आफ्नो व्यवसाय र उपभोगले सिर्जना गरेको लाभको हिस्सेदार सम्बन्धित व्यक्ति वा समुुदायलाई नै बनाउँछ ।सबैका लागि एक, एकका लागि सबैको लोकप्रिय सहकारी नारामा पारस्परिकताको सामूहिक आयाम प्रकट हुन्छ । आदान–प्रदान नभए पारस्परिकता हुँदैन । सहकारी भन्नेबित्तिकै बचत गर्ने र ऋण लिने भन्ने बुझिएको छ । सहकारी संस्थाहरू बचत तथा ऋण व्यवसायमा बढी केन्द्रित भएको अवस्था विधमान छ । संस्थाले सदस्यहरूलाई बचत  संकलन तथा ऋण प्रवाह गर्न मात्र सिकाएँ । तर, सहकारी संस्थाले सहकारीताबारे सिकाएन । यसले समाजमा अन्यायको वातावरण सिर्जना गरेको छ । मानिस एकलकाँटे र स्वार्थी भएका छन् । पैसा र पदका लागि मात्र सहकार्य गर्ने प्रचलन बढेको छ । मानवीय भावना र सहकार्यमा ¥हास आइरहेको छ । यो गम्भीर कुराको चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको अवस्था विधमान छ ।
सहकारीता हराएको सहकारीको अर्थ हुँदैन । यसले सदस्यको जीवनमा परिवर्तन आउँदैन । सहकारीको नेतृत्वले सदस्यका आवश्यकताहरू सुक्ष्मरूपले बुझ्नुपर्दछ । सहकारी स्थापना गर्नुको उद्देश्य र यसले जे काम गर्छ, त्यसबाट सदस्यको चेतनास्तर र जीवनस्तरमा विकास भएको छ छैन नेतृत्वले बुझ्नुपर्दछ । यदि ती कामले सदस्यको हितमा छैन भने त्यो काम गर्न छोड्नुपर्दछ । कुनै पनिकाम सुरुआत गरिसकेपछि त्यसले सदस्यको जीवनमा सकारात्मक परिवर्तन हुनुपर्दछ । मानिसमा परिवर्तन ल्याउन २ वटा विषयहरू धेरै महत्वपूर्ण छन् ः नियम र प्रेम । सहकारीको नेतृत्वले प्रेम गर्नुपर्दछ र प्रेम गर्न सिकाउनुपर्दछ । तर, यो सँगै मानवजीवनको असल आचरण र पद्धतिका नियमहरू पनि बसाउनुपर्दछ ।
सहकारीका  सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुन् ।संस्थापक र सञ्चालकहरूको संस्थामा लगानी निकै धेरै वा थोरै नभई स्वाभाविक हुन्छ ।सहकारी संस्थाले आफ्नो विनियम, सञ्चालन कार्यविधि र मापदण्डहरू तयार गरी सोको आधारमा कार्य सञ्चालन गरेको हुन्छ ।सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ ।सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित व्यवसाय हो ।सहकारीमा पुँजीको होइन सदस्यको महत्त्व हुन्छ । संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारीहरू स्थानीय व्यक्तिहरू नै हुन्छन् ।सहकारीमा नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्यहरू बिच मात्र ऋण लगानी गर्नुपर्ने हुन्छ । आदि ।सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । समुदायको हितका लागि संगठित भई सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्नु, पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु, समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य हो । यसरी सहकारी मूलतः आर्थिक, सामाजिक, न्यायिक एवं शैक्षिक उद्देश्यहरू राखेर स्थापना गरिन्छ ।
रोबर्ट ओवेनलाई सहकारीका जन्मदाता मानिन्छ । सन् १८४४ डिसेम्बर २१ मा बेलायतमा स्थापना भएको रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर नै पहिलो आधुनिक सहकारी व्यवसाय हो । त्यसै गरी जर्मनीमा रेफेइसनलाई बचत तथा ऋण सहकारी संस्थाका पिता भनेर चिनिन्छ । अहिले विश्व रोजगारीमा करिब १० प्रतिशत योगदान सहकारीको रहेको छ । नेपालमा सहकारी संस्थाको विकास क्रमलाई हेर्ने हो भने राणाकालको गुठी, पैँचो, पर्म, धर्म भकारी, ढुकुटी जस्ता अनौपचारिक संगठन हुँदै विकसित भएको देखिन्छ । चितवन जिल्लाको शारदा नगरमा वि. सं २०१३ साल चैत्र २० गतेदेखि “बखान ऋण सहकारी संस्था” स्थापना भई सञ्चालनमा आयो । जुन नेपालकै पहिलो सहकारी संस्था हो ।सहकारी पुँजीवादको विकास र समाजवाद तर्फक यात्रा दुवै हो । यसले पुँजी र व्यवसायको विकाससँगै समुदायको दिगो आर्थिक विकासमा योगदान पु¥याउँछ । सहकारीले ग्रामीण तहमा सामाजिक पुँजी निर्माण गर्नुको साथै सामाजिक संस्थाको रूपमा विभिन्न रचनात्मक गतिविधि गरिरहेको अवस्था विधमान  छ । स्थानीय विकास, सामाजिक न्याय र सुरक्षामा समेत सहकारीकोे प्रभावकारी भूमिका रहेको पाइन्छ । लोककल्याणकारी राज्य निर्माणको लागि सरकारलाई उत्पादन र वितरणलाई तीव्र बनाउन निजी क्षेत्रलाई सहकारीले महत्वपूर्ण योगदान गरिरहेको छ ।
थोरै–थोरै बचत संकलन र समूह भित्रकै सदस्यहरूलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्न तथा व्यक्तिलाई आइपर्ने साना ठुला गर्जो टार्ने राम्रो माध्यम सहकारी बनेको छ । सरकारले अर्थतन्त्रको तिन खम्बे नीति अन्तर्गत सहकारीलाई प्रमुख एक खम्बा मानी यसको महत्वलाई पुष्टि गरेको छ । संघियता कार्यान्वयनका सन्दर्भमा नेपालको संविधान बमोजिम २९ हजार सहकारी संस्था र व्यवस्थापन प्रणाली स्थानीय र प्रदेश तहमा हस्तान्तरण भई सकेको अवस्था विधमान छ । सहकारी संस्थालाई उत्पादन र बजारीकरणको कार्यमा सहभागी बनाउन संकलन केन्द्रहरू निर्माण भएका छन् । बित्तिय पहुँच अभिवृद्धि, महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवर्धन र गरिबी न्यूनीकरणमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।सहकारीका राम्रा पक्षहरूमा नागरिकहरूको बढ्दो सहभागिता रहेको , राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक योगदान दिएको ,संस्थागत जनसहभागितामा बढोत्तरी तथा दिगो विकासको आधार तयार गरेको ,स्थानीय स्रोतसाधनको परिचालनमा जोड दिएको , जाति, भाषा, धर्म, सम्प्रदाय र विचारका आधारमा विभाजित समाजलाई जोडेर सामाजिक एकीकरणमा सहयोग पु¥याएको , सहकारीले समाजको प्रजातान्त्रीकरणमा सहयोग गर्दै सामाजिक द्वन्द्व व्यवस्थापनमा भूमिका खेलेको ,समतामूलक समाज र समृद्ध अर्थव्यवस्था निर्माणमा सहयोग गरेको ,समाजको पुँजीकरणमा सहयोग गरेको ,महिला सशक्तीकरणमा सहयोग  पु¥याएको ,ग्रामीण क्षेत्रको पुँजीलाई चलायमान गराउन सहकारीले महत्वपुर्ण योगदान पु¥याएको छ ।
नेपालको राष्ट्रिय विकासको महत्त्वपूर्ण अंगको रूपमा सहकारी रहेको भन्ने भनाइलाई पुष्टि गर्ने संवैधानिक आधारहरू रहेका छन् । नेपालको संविधान भाग –४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राज्यको आर्थिक उद्देश्यमा समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारीलाई औँल्याइएको छ ।
राज्यका नीतिहरू अन्तर्गत अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने साथै सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै गरी नेपालको संविधानको भाग २० मा संघ प्रदेश र स्थानीय तह बिच अन्तर सम्बन्ध अन्तर्गत तिन तहहरू बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भन्ने उल्लेख गरिएको छ । संविधानको अनुसूचीहरूमा संघको अधिकार अन्तर्गत “सहकारी नियमन”(क्र.स.२८), प्रदेशको अधिकार सूची अन्तर्गत “सहकारी संस्था” (क्र.स.२), संघ र प्रदेशको साझा अधिकार सूचिमा “सहकारी” (क्र.स.७), स्थानीय तहको अधिकार सूची “सहकारी संस्था” (क्र.स.२), यसै गरी संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा “सहकारी” (क्र.स.१), मा राखिएको छ ।संविधान र ऐन कानुनका प्रावधानहरूलाई आधार लिई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक एवं दिगो सहकारीको सोचका साथ सहकारी संस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने । उक्त लक्ष्यप्राप्तका लागि विभिन्न नीति र कार्यक्रमहरू समेत किटान गरी कार्यान्वयनको क्रममा रहेका छन् ।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्न संलग्न व्यक्तिहरू जिम्मेवार हुनुपर्छ । राज्य, अभियान र सरोकारवालाहरू गम्भीर हुनुपर्छ । विशेषतः सहकारीहरूलाई व्यापक विस्तारको लागि राज्यले आवश्यक नीतिगत व्यवस्था गर्ने, प्रोत्साहन र कारबाही दुवैको प्रभावकारी व्यवस्था, एक कार्यक्षेत्रमा एकभन्दा बढी सहकारी हुन नदिने, भएकाहरूलाई निश्चित अवधि दिई एकीकरण गराउने, सेयर र बचतको जोखिम हल गर्न सहकारी सुरक्षण कोष र स्थिरीकरण कोषको व्यवस्था, उद्देश्यअनुरूप अनिवार्य काम गर्ने व्यवस्था, उत्पादनमुखी परियोजनाको लागि राज्यको रणनीतिक तथा आर्थिक ऐक्यबद्धता स्थापित गर्नुपर्छ । देश संघीयता कार्यान्वयनमा गइरहेको परिप्रेक्षमा यस क्षेत्रमा देखा परेका समस्याहरू उपर नियमन र व्यवस्थापनमा थप संवेदनशील हुनुपर्ने देखिएको छ ।सहकारीका आफ्नै सिद्धान्त, मूल्य मान्यताको अनुसरणको अवस्था कमजोर देखिएकाले सहकारी सुशासनको अभाव रहेको छ । सहकारी समस्याग्रस्त हुनुको अर्को कारण संस्था मूल्य–सिद्धान्तबाट विचलित हुनु हो। यो सदस्य केन्द्रित व्यवसाय हो। सदस्य नभएको व्यक्तिले बैंक तथा वित्तीय संस्थामा जस्तो कारोबार सहकारीमा गर्न पाउँदैन।सदस्यहरूमा सहकारी सम्बन्धी शिक्षा र चेतनाको कमी हुँदा पैसा सदुपयोग, हर हिसाबको कुरा सबै सदस्यहरूले जानकारी नपाउनु, पैसा उठाई गलत तरिकाले प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको अवस्था छ ।छिट्टै धनी हुने उद्देश्य लिएर सहकारीमा लागेका केही मानिसहरूको कारण समग्र सहकारी क्षेत्र नै बदनाम हुदै गएको अवस्था विधमान छ । सहकारीमा राजनीतिकरणले गर्दा सहकारीको गुणात्मक विकास हुन नसक्नु अर्को समस्या रहेको छ ।बचत तथा ऋण सहकारी संस्थाले बित्तीय तथा बैकिङ क्षेत्रको कारोवार विस्तार गरेकोमा सरकारको नियमनको दायरा विस्तार गर्न नसक्नु ,आफूले कारोबार गर्ने संस्थाबारे सचेत नहुँदा वा आफ्ना साथीभाइ नातेदार छन् भनेर ढुक्क बस्ने सदस्यहरूको प्रवृत्ति बढ्दै जानु ,अत्यधिक संख््यामा सहकारी संघसंस्थाको बिस्तार, दोहोरो सदस्यता, वित्तीय सुशासनको कमी जस्ता कारणले यस क्षेत्रमा वित्तीय जोखिम बढेर जानु ,सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोबारमा बढी देखिनु । सदस्यको निक्षेप घरजग्गा कारोबार लगायत क्षेत्रमा बढ्दै जानु , सहरमा रहेका मूलतः बचत र ऋण सहकारीहरूका समस्याहरू जस्तो गैर सदस्य कारोबार, कार्यक्षेत्र भन्दा बाहिर कारोबार, साधारण सभाको निर्णय विना सञ्चालक र कर्मचारीलाई तलब पारिश्रमिक वितरण, चक्रवृत्ति व्याज असुली, ऋण लगानी गर्दा विभिन्न नाममा चर्को शुल्क असुली, विना कारण सञ्चालकको नाममा ठुला रकम पेस्की, राष्ट्र बैकको स्वीकृति बेगर चेक, ओभरडाफ्ट लगायत रेमिटेन्स कारोबार, सदस्यहरूको बचत रकम विभिन्न कम्पनी खडा गरी लगानी गरेको, कुनैको तरलता अत्यधिक बढी रहेको भने कुनैको तरलता नै नराखी लगानी गरेको, एकै परिवारका सदस्यहरू सञ्चालक रहेको, वित्तीय क्षेत्रका कर्मचारी सहकारीमा सञ्चालक भएको, दलगत आधारमा सहकारी गठन र सञ्चालन, ग्रामीण क्षेत्रमा सहकारी ज्ञान, शिक्षाको कमी तथा पुँजी र प्रविधिको अभाव लगायतका सहकारी क्षेत्रमा देखिएका प्रतिनिधिमूलक समस्याहरू हुन् ।
सहकारी व्यवसाय वैयक्तिक उद्यमशीलता र कम्पनीका बजारवादी सिद्धान्तबाट पृथक् भई सामूहिक हित र समान आवश्यकता पूरा गर्नमा केन्द्रित हुन्छ। तर, आत्मसहयोग, जवाफदेही, लोकतान्त्रिक व्यवस्थापन, समानता, न्याय र ऐक्यबद्धता जस्ता मूल्यलाई व्यावहारिक पक्ष नबनाई औपचारिकतामा सीमित पार्ने प्रवृत्ति बढेको छ। स्वनियमनको दायित्व भुलिएको छ । सहकारीहरू प्राइभेट कम्पनी जसरी चलिरहेछन्।कतिपय सहकारीले कारोबारको लेखा नै दोहोरो राखेका छन् वा लेखा नै नराखीकन कारोबार गरेका छन्।सहकारी ऐन, २०७४ का प्रावधान कार्यान्वयन भएका छैनन्। कार्यान्वयन गराउनुपर्ने नियामक निकायसँगै सहकारी अभियान उदासीन छन्। कानूूनले निर्दिष्ट गरे अनुसार अघि बढ्दा नै संस्थाहरू समस्यामा नपर्ने हुन्। तर, सहकारीको आन्तरिक सुशासन पद्धति प्रतिदिन कमजोर बन्दै छ। जोखिम विश्लेषण नगरी कर्जा प्रवाह गरिएको छ। लगानी वित्तीय सिद्धान्त र सदस्य हितका व्यवसायमा केन्द्रित छैन। नाफा कमाउने लोभमा निजी कम्पनीको व्यवसाय गर्दै सहकारीका नाममा सञ्चालित छन्।कानूनको प्रावधान उल्लंघन गर्दै सञ्चालकहरू व्यवस्थापक बनी लगानी तथा बचतलाई प्रभाव पारिरहेछन्। यसले स्वार्थको द्वन्द्व देखिएको छ। राजनीतिक दलभित्र उच्च हैसियत राख्नेहरू संघसंस्थाका नेतृत्वमा रहन नहुने नैतिक दायित्व कुल्चिइएको छ। कानून र संस्थाको विधानभन्दा बाहिर गएर कारोबार भएको छ।सहकारी संस्थाहरुको सञ्चालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै डिजिटलाइजेशन, सदस्यको विवरण ,समितीहरुको निर्णय निर्माण, लगानीका लगि आवश्यक प्रकृयाहरु, इन्भेन्ट्री व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी रुपमा सम्पादन गर्न गर्न सफ्टवेयर  एप्लीकेशनहरू अपनाउनु आवश्यक छ । प्रविधिले सहकारी सदस्यहरू र नेतृत्वबीच सञ्चार र संलग्नता बढाउन महत्वपुर्ण सेतुको रूपमा काम गर्छ । मोबाइल एपहरू, वेबसाइटहरू र सोशल मिडिया प्लेटफर्महरूले सूचना तथा सहकारीका जानकारीहरु आफ्ना सवै सदस्यहरुमा  पुर्याउने सुविधा प्रदान गर्दछ । यसले आफ्ना सदस्यहरूलाई निर्णय प्रक्रियामा सहभागी हुन सशक्त बनाउँदछ । सहकारीहरूले पारदर्शिता र जवाफदेहिताको उत्कृष्ट नमूना दिने काम समेत प्रविधिको प्रयोग गरेर नै गर्न  सक्दछन् ।यसबाट  सदस्यहरूले सहकारीका गतिविधिहरू, वित्तीय कार्यसम्पादन र निर्णय प्रक्रियाहरू बारे सजिलै जानकारी हाँसिल गर्न सक्दछन्  ।
सरकारी निकायहरू, सहकारी संघहरू र अन्य सरोकारवालाहरूले सहकारीमा प्रविधिको प्रयोगलाई प्रोत्साहनमा  जोड दिनु पर्छ । सहकारी संचालनमा प्रविधिको सफल कार्यान्वयनले सदस्य र नेतृत्वको क्षमता निर्माणमा समेत महत्वपुर्ण सहयोग पु¥याउँदछ । यसका लागि सहकारी शिक्षा,तालिम  जस्ता कार्यक्रमहरु संचालन गर्न डिजिटल उपकरणहरू जस्तै इलरनिङ्ग पोर्टल, ज्ञान व्यवस्थापन एप्स आदिको प्रयोग गर्न सकिन्छ ।  । प्रविधिको प्रयोगले सहकारी सञ्चालनमा जवाफदेहिता बढ्ने,खर्चमा मित्तव्ययीता, पारदर्शिता, विश्वासमा अभिबृद्धि भई  सदस्यहरु सँगको सम्बन्ध मजबुद हुने साथै सरोकार निकाय र नियमन निकायहरुबीचको  सम्बन्ध मजबुद हुने भएकोले प्रविधिलाई आत्मसाथ गर्न आवश्क हुन्छ ।
सहकारीका सिद्धान्त र मूल्य संस्थागत गर्न संरचित विषयगत संघ÷महासंघको कार्यप्रभाव कमजोर छ। सदस्यको बचत डुबेपछि, सञ्चालक÷व्यवस्थापक हराएपछि यो मेरो सदस्य होइन वा यसो गरेको भए हुने भन्ने संघहरू र कारबाही गर्दै गरौंला भन्ने नियामकको प्रकृतिले सहकारी व्यवसायलाई सही दिशामा ल्याउनकदापी सकिँदैन। सहकारी अभियान र नियामकहरुबीच कतिपय कुरामा समान बुझाइ पनि छैन। यसर्थ, सहकारी शुद्धीकरणको आक्रामक अभियान अहिलेको सबैभन्दा ठुलो आवश्यकता हो। अन्यथा, सहकारी नै कुनै दिन वित्तीय संकटको कारण बन्नेछ।उल्लेखित समस्या सबै सहकारीमा छैनन । कतिपय सहकारीको बदनियतका कारणले गर्दा सम्पूर्ण सहकारी क्षेत्रको इमानमा प्रश्न उठेको अवस्था विधमान छ ।सहकारी ऐन २०७४ मा कारोबार प्रकृति अनुसार सहकारी संस्थाहरुलाई वर्गिकरण गरिएता पनि धेरै संख्यामा रहेका सहकारीहरु प्रति एउटै दृष्टिकोण राख्नु न्याय संगत मान्न सकिदैन । संघ र प्रदेशको हकमा समेत सहकारीहरुको नियमन प्रभावकारी हुन नसकेको अवस्था छ । यो अवस्थामा स्थानिय निकायमा दैनिक कार्य सञ्चालन गर्ने कर्मचारीहरुको अभाव भईरहको बेला सहकारी क्षेत्रको नियमन कमजोर रहेको अवस्था विधमान छ । स्थानिय तहमा सहकारी क्षेत्रलाई बिकास गर्ने कुनै योजना देखिँदैन र सहकारी सम्बन्धि जानकारहरुको न्युन उपस्थिति रहेको छ, जसले गर्दा नेपाल सरकारले अबलम्बन गरेको तिन खम्बे अर्थनीति र देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीको बुभाmइमा एकरुपता कायम गर्नु ठुलो चुनौती रहेको छ । देशमा आवश्यकता भन्दा बढि वित्तिय कारोबार गर्ने सहकारी संस्थाहरु छन् । केही सहकारीहरुको कुनै गतिविधि छैन । नाममा मात्र सिमित छन् । एकीकरण गर्न आवश्यक छ । तर एकीकरणको लागि नीतिगत व्यवस्था भएता पनि सम्बन्धित मन्त्रालय तथा विभागबाट कुनै प्रकारको ठोस र स्पष्ट नीति आएको देखिदैन न त प्रयास नै भएको छ ।
आज एकातिर देशको सहकारी अभियान द्रुत गतिमा अघि बढिरहेको छ । सेवा विस्तार भईरहेको छ । वित्तीय साक्षरता लगायतका अभियानहरु चलिरहेका छन् । उद्यमशिलताको विकास सहकारीले गरिरहेको छ । विपन्न तथा न्युन आय रहेको ठुलो समुदायमा ठुलो चुनौती र जोखिम मोल्दै सहकारी संस्थाहरुले सेवा प्रदान गरिरहेका छन् । तर, यस विषयमा राज्यबाट प्रोत्साहन हुने कुनै कार्यक्रम लागु गरिएको छैन । देशको अर्थतन्त्रमा विशेष गरी सहकारीमा कमजोर शुसासनको अवस्था छ । नियमन गर्ने राज्यका निकायहरुबाट हुने गरेको नियमन समेत कमजोर र फितलो हुने गरेको छ । यही अवस्था रहे सरकारको तिन खम्बे अर्थनितिबाट कस्तो उपलब्धी हासील होला सोचनिय विषय रहेको छ ।समुदायको विकास विना देशको विकास असम्भव छ भन्ने कुरामा विश्वस्त छन् । संस्थालाई समुदायको आवश्यकता अनुसारको सुविधा प्रदान गर्न परिमार्जित गर्दै सेवा प्रवाह गरिरहेका छन् । तर कहिलेकाँही केही भगौडे सहकारीहरु, नाम मात्रका सहकारीहरुको कारणले समग्र सहकारी क्षेत्र नै लज्जित बन्नु पर्ने अवस्था आउने गरेको छ । देशको कुनै एक ठाउ“को सहकारीले बदमासी दरेको खण्डमा सम्पूर्ण क्षेत्रका जनतामा सोही भ्रम पैदा भई आम जनमानसमा विश्वास प्राप्त गर्न कठीनाई हुने गरेको छ ।आगाामी दिनमा सहकारी संस्थाहरु सुसञ्चालनका लागि सुशासन केन्द्रत वहसको आवश्यकता रहेको छ । साथै सहकारी संघ संस्थाहरुको नियमन प्रविधीमा केन्द्रित अनुगमन र नियमन हुन जरुरी छ । सहकारी संस्थाहरुको सवलीकरणका लागि एकिकरण गर्दै आगामी सन् २०३० सम्ममा १० हजारको हाराहारीमा सहकारीको संख्या घटाउने महासंघको अभियानलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिनु आवश्यक छ ।सहकारीको सिद्धान्त , नीति, नियम र मापदण्डमा सञ्चालन हुनु पर्दछ ।सहकारीका आफ्नै सिद्धान्त, मूल्य मान्यताको अनुसरण गर्नु पर्दछ ।सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी अभियानका आन्तरिक संरचना, व्यवस्थापन, सदस्यहरूको कार्यदक्षता, कार्यब्यवहार प्रभावकारी बनाइनु पर्दछ । सहकारी सम्बन्धमा रहेका ऐन, कानुन, कार्यविधि, मापदण्ड निर्देशनहरू एकीकृत, स्पष्ट र सरल हुनुपर्दछ ।सहकारी संघहरुलाई जोखिम व्यवस्थापनमा जिम्मेवार बनाउने ,कर्जा सुचना केन्द्रको स्थापनागरी जोखिमको व्यवस्थापन गर्ने,सहकारी शिक्षा, चेतना र जागरण बढाउनुपर्दछ तथा नियमन निकाय प्रभावकारी बनाउने, सहकारीको मर्ज गर्ने कार्यलाई प्रोत्साहित गर्ने, बचत तथा ऋण सहकारीहरूको नियमनका लागि दोश्रो तहको नियमन निकायको गठनलाई तदारुकताकासाथ अघि बढाउने,सहकारकिो लगानी र कर्जा प्रवाह उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने कार्यलाई कडाईका साथ पालना गराउने, सदस्यहरूको रकमलाई जोखिममा पार्ने सञ्चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने,बस्तु उत्पादन, सेवा प्रवाह, प्रशोधन र बजारीकरणमा लागेका सहकारीलाई प्रोत्साहन गर्ने, लगानी मैत्री सहकारी कानुनहरू निर्माण तथा सोको प्रभावकारी कार्यान्वयन गर्ने,  प्रजातान्त्रिक विधिमा सञ्चालक समिति गठन गर्ने, सहकारी विकास सरकारका तिन वटै तह (संघ, प्रदेश र स्थानीय) बिचको साझा कार्य भएकोले संघीय निकायहरूले प्रदेश र स्थानीय सरकारका सहकारी निकायहरूलाई आवश्यक नियामक, प्रवर्द्धनात्मक र प्रशिक्षण वा शैक्षिक सेवाहरू समन्वयात्मक रूपमा हस्तान्तरण गर्नमा अग्रणी भूमिका खेल्ने कुरामा जोड दिन सकिएमा  सहकारी दिवस मनाउनुको सार्थकता सिद्ध हुन्छ ।
अन्त्यमा, संविधान र राज्यका नीतिहरूले नै उच्च महत्त्व दिएको सहकारी क्षेत्रलाई मर्यादित बनाएरै अगाडि बढाउनु आश्यक रहेको छ । सहकारीहरू स्वनियमनमा सञ्चालन हुने र आफ्ना सदस्यप्रति पूर्णरुपमा जिम्मेवार हुने निकाय हुन् । त्यस्ता संस्थाहरूलाई अधिक नियन्त्रणका प्रावधानहरूले बाँधी राख्नु भन्दा स्व्नियमन र सदस्यहरुको लोकतान्त्रिक नियन्त्रणमा रहन दिनु पर्दछ  । त्यसपछिको उपाय मात्र कसिलो नियमन हो । सहकारी क्ष्ोत्रको वर्तमान समस्या नियम, कानुन भन्दा पनि नियतमा हो । सदस्यहरूलाई जागरूक र उद्यमशील बनाउन राज्य र सहकारी अभियान दुवैले ध्यान दिनु आवश्यक रहेको छ । सहकारी संस्थाहरूलाई व्यवसाय गर्न लगानीको वातावरण राज्यले तयार गर्नुपर्दछ भने सहकारी संघहरुले व्यावसायिक नेतृत्व प्रदान गर्नुपर्दछ । एकले अर्कोलाई दोष दिएर उम्कने परिपाटीको अन्त हुनुपर्दछ । हामीले क्षणिक लाभ र निहित स्वार्थबाट मुक्त भएमा मात्र समस्याको समाधान निस्कनेछ । हामी सबै सरोकारवालाहरूले सहकारिताप्रति विश्वासको वातावरण सृजना गर्दै यस क्षेत्रमा प्राप्त उपलब्धिको संवर्धन तथा सहकारी आन्दोलनको स्वस्थ विकासलाई प्रोत्साहित गर्दैसहकारीमा  सुशासनः प्रविधी र एकिकरणको महान अभियानलाई व्यवहारमा रुपान्तरण गर्नु  नै आजको प्रमुख आवश्यकता हो । ६७औँ सहकारी दिवसको नाराअनुसार नै सहकारीमा सुशासनः प्रविधि र एकीकरणको आधारमा समुदायको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्वन्ध्ति सरोकारवालाहरु सवै एकजुटभई अगाडी बढ्न आवश्यक छ ।
 (उप्रेती सहकारी बिभागका उपसचिव हुन् । )

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।