श्री माननीय शिक्षा मन्त्री ज्यू,
नमस्कार
हाम्रो शुभकामना र आशा तपाई मन्त्री हुने हल्लासँगै उच्च थियो । अहिले बधाई सकिए पनि शुभकामना र आशा भने रहि रहेको छ । आशा छ पक्कै पनि हामीहरु निरासा हुने छैनौ । बाधा अडचनहरुलाई चिरेर नविनतम गतिमा यहाँका पाईलाहरु अगाडि बढि रहुँन, शिक्षाको कारणले भोग्न परेका तमाम बाधा, अडचन, अवसरबाट बञ्चित र आम जनताका दुख हजुरकै कार्यकालबाट हटुन । तपाईमाथि जनताको आशा र भरोसा कति रहेछ भन्ने कुरा सामाजिक संजालमा व्यक्त र अव्यक्त खुशीका साथ ओईरिएका बधाई तथा शुभकामनाले देखाएको छ । त्यसको गुण तपाईले शिक्षामा सुधार गरेर तिर्नु पर्ने देखिन्छ । शैक्षिक सत्र शुरु हुने र तपाई शिक्षा मन्त्री बन्ने संयोगले पक्कै पनि गरिब र असाहायहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट रोकिने छैनन् भन्नेमा पूर्ण आशावादी छौ ।
बिज्ञापन
हाम्रो देशमा सरकार परिवर्तन भै रहने कुरा कुनै नौलो होईन । सरकार परिवर्तन हुँदा मन्त्री भने सधै झै दलका प्रमुखलाई चित्त बुझाउन सक्ने मात्रै हुने गरेका छन् । जुन अपरिवर्तन नै जस्तो छ । मन्त्री पनि आकर्षक चाहिने, भनेको मन्त्रालय नपाए सरकार ढाल्ने र ढलाउने हाम्रो लागि नौलो विषय होईन । त्यसैले जुन सरकार बन्दामा पनि जनतामा उत्सुकता देखिदैन । मौसम भन्दा पनि छिटो र ऋतु भन्दा चाडै बदलिने सरकारमा हामी आशावादी भने हरेक पटक हुन्छौ र निरासा पनि त्यो भन्दा दोब्बर हुने गरेका छौ । केही समय अघि सम्म तपाई पनि आशावादी र निरासा हुनेमा पर्नु हुन्थ्यो तर समयले कोल्टे फेरेको छ । तपाई हामीले आशा गर्ने स्थानमा पुग्नु भएको छ । तपाई प्रति कति आशा गरेका छौ भन्ने कुरा तपाई नेपालको शिक्षा मन्त्री हुँदा तपाई प्रति दर्शाएको माया, सदभाव र स्वागतका साथै उत्साहले नै जाहेर गरि सकेको छ ।
हितोपदेशमा एउटा श्लोक छ ‘विद्या ददाति विनयम् विनयात् याति पात्रताम् पात्रत्वात् धनमाप्नोति धनात् धर्मः ततः सुखम्’ विद्याले विनम्र दिन्छ, विनम्रले चरित्रवान बनाउछ, चरित्रले धन प्राप्त गराउँछ, धनले धर्म र धर्मले सुख प्रदान गर्छ भन्ने यसको समग्र अर्थ हो । सारभूत रुपमा भन्नु पर्दा शिक्षाले मानवलाई मानव बनाँउने गर्दछ । शिक्षा समग्र विकासको लागि अपरिहार्य हो । अहिलेको आधुनिक विकास र सभ्यता पनि शिक्षाकै कारणले भएको हो । शिक्षा बेगर कुनै कुरा संभवन छैन तर हामीले सबै कुरा संभवन हुने शिक्षा पाउन भने सकि रहेका छैनौ । जसको ज्वलन्त उदाहरण हरेक दिन विदेशिने युवा युवतीहरुको भिडले प्रमाणित गरेको छ ।
बिज्ञापन
तर हाम्रो देशमा शिक्षा राज्य संचालकहरुको नजरमा कहिल्यै पनि प्राथमिकतामा परेको छैन । हामी कारागार, सुरक्षा निकाय, बृद्धा आश्रम, सहायता केन्द्र, लगायत धेरै कुराहरुमा जोड दिन्छौ । तर कहिल्यै पनि सोचेका छैनौ यदि शिक्षा सुधारिने हो भने उल्लेखित विषय वस्तुहरुमा राज्यले समय र अर्थ खर्च गर्नु पर्दैन भन्ने । न त हाम्रा वुवा आमा वृद्धा आश्रममा हुन्छन् न त जेल भरिने गरी कैदी र अपराधी । हाम्रोमा शिक्षालाई व्यवसाय र कमाउने माध्यम बनाईएको छ । शिक्षा सधै निशुल्क, सहज र पहुँचयोग्य हुनु पर्छ । जब शिक्षा पैसामा बिक्ने, सक्ने र नसक्नेले शिक्षा आर्जन गर्ने स्थान फरक फरक हुन्छ अनि कसरी हाम्रो शिक्षा राम्रो हुन्छ ? पहिलो शिक्षा ध्वस्त त्यहीबाट हुन थाल्छ, जुन हाम्रो मूलुकमा भै रहेको छ । आशा छ तपाईबाट यो सम्भव छ ।
धेरै कुरा नगरेर अब माननीय शिक्षा मन्त्री ज्यूलाई शिक्षा गुणस्तरीय, विश्वमा विक्री हुने जनशक्ति उत्पादन गर्ने, नैतिकवान नागरिक पैदा गर्ने, शिक्षामा विभेद लगायतका कुराहरु न्यूनीकरण तर्फ तपाईको ध्यान पक्कै पनि जाने छ भन्नेमा हामी आशावादी छौ । हाम्रो शैक्षिक सत्र बैसाख १ गतेबाट शुरु हुने तालिका छ । तर पाठ्य पुस्तक चैत्र मसान्त सम्म पुग्न सक्दैनन् । कम्प्युटर खरिद बिक्री हुन्छ प्रयोग हुदैनन् । योगा र कम्प्युटर बिना तालिम र पूर्वाधार शुरु गर्न भनिन्छ । अन्य सरकारी भवन सुविधा सम्पन्न बनाईन्छ जहाँ जीवनको पहिलो सिकाई हुने स्थान विद्यालयको अबस्था नाजुक छ । बस्ने सम्मको सुविधाबाट बन्चित भएर शिक्षा आर्जन गर्ने अबस्था छ ।
बिज्ञापन
शिक्षामा न आएको सुधारको कारणले हाम्रो देशको यो अबस्था हो भन्दा नै हुन्छ । त्यसैले हाम्रो विशेष अनुरोध सबै भन्दा पहिले तपाई निर्मम भएर शिक्षा सुधार्न तर्फ लाग्नुहोस । सबैलाई त्यस तर्फ लाग्ने वातावरण र पद्दती लागु गर्नुहोस । गुणस्तरीय शिक्षाको लागि भन्दै गाँउ रित्तिएका छन्, तर शिक्षा बजारमा पनि महंगाईको चरम चुलीमा पुगेको छ । पढ्न खोज्नेले पढ्न नसक्ने अबस्थाका विद्यालयहरु भएका छन् । सबै कुरा भए पनि पक्षपातपूर्ण व्यवहार र भनसुनको कारणले पढ्न पाउने अबस्था छैन । सरकारी शिक्षा ध्वस्त नै भएको छ भने निजी तथा संस्थागत विद्यालयहरुले डस्नु सम्म डसेका छन् । सरकारको हरेक क्षेत्रमा लगानी हुँदा हुँदै पनि सरकारी सामुदायिक शिक्षाको परिणाम किन यस्तो यस्को विशेष अनुसन्धान हुनु पर्छ ।
संविधान र मौजुदा कानुनले अहिले माध्यमिक सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । जुन मक्सदले दिएको थियो त्यो भने हुन सकेको छैन । खरिद बिक्री र औपचारिक कार्यक्रमहरुमा बाहेक स्थानीय तहबाट विद्यालय शिक्षालाई कुनै प्राथमिकतामा पारेको देखिदैन । सानो सानो बजेटको पूर्वधार निर्माणमा हुलका हुल मान्छेहरु अनुगमनम गर्ने स्थानीय तह छेउमै भएको विद्यालयमा अहिले सम्म शिक्षाका गुनासा, विद्यार्थीका गुनासा, विद्यालयको अबस्था, आदीका बारेमा अनगमन, निरीक्षण, सल्लाह सुझाव, सहजीकरण आदीमा कहिल्यै ध्यान दिएको देखिदैन । जब स्थानीय तहको नै प्राथमिकतामा पर्दैन भने झन प्रदेश र संघको कुरा टाढाको नै भयो ।
सर्व प्रथम माननीय मन्त्री ज्यू हाम्रो शिक्षा प्रणाली ट्रयाक भन्दा बाहिर गएको छ । यसमा तपाई -हामी कसैको प्राथमिकता छैन । यसलाई बिगारेका पनि हामीहरुले नै हो र सुधार्ने पनि हामीहरुले नै हो । यसलाई सही मार्गमा ल्याउन हामी केही समय निर्मम बन्नु आवश्यक छ । एउटा बच्चा पढाउन अभिभावकले सम्पत्ति सक्ने अबस्था छ । गुणस्तरीयता, नैतिकता, अनुशासन आदी फेरी छुट्टै खरिद गर्न पर्ने अबस्था भएको शिक्षाले कसरी सर्वागीण देश विकासमा योगदान दिन्छ ? एक पटक सोच्नु जरुरी छ । हजुरले देख्नु र सुन्नु भएकै होला, गोल्ड मेडल प्राप्तहरुले काण्ड मच्चाएको, मेघावीहरु पलायन भएको, शिक्षामा ब्यापार र राजनीति भएको, बुवा आमालाई वृद्धा आश्रममा लगेको, दाहासंस्कारको लागि भाडामा मान्छे खोजेको, आदी आदी ।
हाम्रो देशलाई प्राकृतिले धेरै कुराहरु दिएको छ । यसलाई हामी शिक्षामा जोड्न सक्यौ भने पनि हाम्रो विकास हुन केही दिन लाग्दैन जस्तो लाग्छ तर सुरुवात भने कहिल्यै हुन सकेन । विश्वका अग्ला हिमालहरु यही छन्, त्यहाँ अन्तराष्ट्रिय विद्यार्थीहरु तान्ने प्रयास गरौं, नदी नाला, हिम श्रृंखला, बन जंगल, बन्य जन्तु, धर्म, भाषा, भाषी, रहन सहन, आत्मिता, कला संस्कृतिलाई हामी अन्तराष्ट्रिय पाठ्यक्रममा समावेश गर्न तर्फ पनि लागौ भन्ने पनि अनुरोध छ ।
माननीय मन्त्री ज्यू तपाई मन्त्री भए पश्चात केही सुधारहरु देखिएका छन र देखिने छनक पनि छ । निर्देशनका निर्देशन आएकै आए छन् र लागु पनि होलान भन्ने आशा छ । हाम्रोमा माथिल्लो निकायबाट गर्ने र सक्ने भनेको निर्देशन र आश्वसन हुन जुन दुवैमा विश्वस्त हुन भने सकिएको छैन, जुन तपाईबाट हुने छैन । सरकारी सामुदायिक विद्यालयको सुधार र निजी तथा संस्थागत विद्यालयमा शिक्षक नियुक्ति, करको दायरा, शुल्कमा एकरुपता, सरकारी नियमनकारी पद्दतीमा एक्यैवद्दता अनिवार्य शुरु गर्नु पर्ने देखिन्छ यसै शैक्षिक सत्रबाट ।हरेक कुराहरुलाई सुधार गर्नको लागि पद्दतीको आवश्यक पर्दछ, तपाईको कार्यकालमा यो पद्दती लागु होस, हरेक विद्यालयको सघन अनुगमन, निरीक्षण, समन्वयन, सहजीकरण गर्ने पद्दती निर्माण होस। अभिभावक र विद्यार्थीहरु प्रति सरकारी विद्यालय प्रतिको मोह बढ्ने होस, शिक्षकको मिहेनत देखियोस । निजीमा कार्यरत शिक्षकहरुको श्रम शोषण नहोस ।
हामीले भन्दा यस विषयमा तपाई नै ज्ञाता हुनु हुन्छ । तपाईबाट शिक्षा सुधार हुने छनक देखेर र आशा लागेर यो अनुरोध पत्र लेखिएको हो । नत्र आज सम्म शिक्षा सुधार्ने कागजमा तपाई जस्ता धेरै आए पनि ठोस परिणाम भने हुन सकेको छैन । तपाईको ध्यान प्राथमिक शिक्षा देखि उच्च शिक्षा सम्म सुधार गर्नमा बितोस । आधा मान्छे त त्रि वि मा कागजात निकाल्न गए देखि त्यहाँको झन्झटिलो प्रक्रिया र त्यहाँका कर्मचारीको व्यवहारबाट नै विदेश जाने सोज बनाउछन जस्तो लाग्छ, त्यो सुधार होस ।
थप धेरै केही लेखिएन, के थाहा हाम्रो देशमा दैनिक फेरिने सरकारमा यो अनुरोध पत्र तपाईको साथमा नपुगुञ्जेल नै तपाईको कार्याकाल समाप्त भएको पनि हुन सक्छ । जे जसरी सुधारका प्रयन्तहरु गर्नु भएको छ, त्यो अत्यन्तै प्रसंशनीय छन । आगामी शैक्षिक सत्रको सुरुवातबाट नेपालको शिक्षा सुधारियोस, पाठ्यपुस्तसक समयमै पुगनु, ट्युसन र कोचिङ्ग बाहिर नभएर विद्यालयमै संचालन होउन, सघन अनुगमन विद्युतीय प्रणालीबाट बनोस, शिक्षक र कर्मचारीहरुको शिक्षा सुधारको लागि उठाईएका आवाजहरु सुनियोस, शिक्षाको लागि नागरिकहरु सुकम्बासी हुने व्यवस्थाको अन्त होस, गुणस्तरीय शिक्षा भन्दै हुलका हुल गाँउबाट शहर र शहरबाट विदेशिनेको संख्या घटोस । शिक्षाबाट अनुशासित, सदाचारी, नैतिकवान नागरिक र विश्वमा बिक्री हुने नागरिक उत्पादन होउन हाम्रो थप यही छ शुभकामना !
– कृष्ण वर्मा
धुर्कोट २ पीपलधारा, गुल्मी