नेपाली कांग्रेसले अब खेल्नु पर्ने भूमिका

गठवन्धनको सरकारबाट अलग भए पछि नेपाली कांग्रेस केही फुर्शदिलो भएको अनुभूति गरेको हुनु पर्छ। मुलुक राजनीतिक अस्थिरतामा गै रहेको बर्तमान सन्दर्भमा संसदीय हिसाबले मुलुकको सबभन्दा ठूलो पार्टी भएको नाताले यो अस्थिरता हटाउने जिम्मेवारी पनि यो पार्टी कै हो। नेपालको राजनीतिक ईतिहांस हेर्दा यस्ता अवस्थाहरू आई पर्दा नेपाली कांग्रेसले अहं भूमिका खेलेको कुरा बिर्सन सकिदैन। यस किसिमको राजनीतिक अस्थिरताको अवस्था देखा परेको समय लामै भएको थियो तर यसलाई दृष्टिगत गरेर पनि नेपाली कांग्रेसको नेत्तृत्वले यो समस्यालाई अनदेखा गरेर बस्यो र राजनीतिलाई सत्तारोहणको भर्यांग बनायो। यस कारणले देशको राजनीति देश विकासको माध्यम बन्न सकेन । त्यति मात्र हैन यो पार्टीले सत्तामा जान मरिहत्ते गरेर आदर्श र सिद्धान्त नमिल्ने दललाई कांधमा बोकेर निर्वाचन पूर्व नै गठवन्धन गर्न पट्टि लागेर नेपालको राजनीतिमा आफ्नो भूमिकै बिर्सन पुग्यो। संसदीय निर्वाचनको यस पटकको चुनावी परिणामले पनि यो पार्टीलाई सरकारमा जाने गरी जनताले चुनेका थिएनन् तै पनि यसको नेत्तृत्त्वका हठका कारण कुनै बेला आतंकको बिल्ला बोकाएको दल संग हाते मालो गरेर सरकारमा जान पुग्यो। पार्टी भित्रका अग्रगामी सोच भएका यूवाहरूले पार्टी नेत्तृत्वको यस्तो हठी ब्यबहार सुधार्न नाना थरी प्रयाश गरे,पार्टी सच्चिने कि सक्किने भन्ने बिकल्प पनि देखाए तर नेत्तृत्त्वका बाक्ला कानले केही सुनेन र सत्ता मै लिप्सा राख्दै गयो।यी र यस्तै काममा अल्मलिएका कारण नेपाली कांग्रेस राजनीतिक सुधारका काममा लाग्न सकेन।

बिज्ञापन

यही सन्दर्भ बीच नेपाली कांग्रेसको महासमितिको बैठक बस्यो र नीतिगत निर्णय हुने यो बैठकमा केही महत्वपूर्ण निर्णय भए त्यस मध्ये यस पटकको संसदीय चुनावमा भएको गठवन्धनको बिरोधका स्वर मात्रै उठेनन् कि अबका निर्वाचनमा अन्य दल संग गठवन्धन नगरी एक्लै उठ्ने निर्णय समेत गर्यो। यो निर्णयले अरूको सहारामा चुनाव जितेर गठवन्धनको सरकारको नेत्तृत्त्व गरेको पार्टी माओवादी केन्द्रको मनमा चिसो पस्यो, अवको चुनावमा त शुन्यतामा झरिने भयो भन्ने डरले कम्युनिष्ट एकताको नाममा एमाले संग मिलेर गठवन्धन फेर्यो। अब कांग्रेस फुर्सदिलो भएको छ।अब यसले संसदमा स-शक्त प्रतिपक्षको भूमिका खेल्दै अहिले राजनीतिक रूपमा देखा परेको अस्थिरतालाई सम्बोधन गर्ने किसिमका कामहरू अगाडि ल्याउन सक्नु पर्छ। यसको निम्ति सब भन्दा पहिला आफ्नै दलको संसदीय दलको नेता फेर्नु पर्छ। नेपाली कांग्रेसका हालका संसदीय दलका नेताले सो पदबाट आफैले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्छ। किनभने आफू अशक्त भै सके पछि एउटा परिवार भित्र पनि बृद्ध बाबुआमाले आफ्ना सन्तानलाई घर ब्यबहारको जिम्मेवारी सुम्पन्छन्। एउटा प्रजातान्त्रिक पार्टीको नाताले यो काम नेपाली कांग्रेसले गरेर उदाहरणीय बन्न सक्नु पर्छ। यो पार्टी भित्र वर्तमान समयलाई सम्बोधन गर्न सक्ने यूवाहरू प्रसस्तै छन्।

बिज्ञापन

त्यस पछि सरकार अस्थीर बनाउने र शासन ब्यबस्था असहज बनाएका संविधानका धाराहरू पहिचान गरी संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने काम नेपाली कांग्रेसले गर्नु पर्छ। यसै बीचमा अन्य पार्टी खासगरी नेकपा एमालेलाई साथ लिएर दुई तिहाई सांसदको समर्थन जुटाएर संविधान संशोधन गर्ने कामको अगुवाई यसले लिनु पर्छ। यो संविधान संशोधनको काम २०८४ को चुनाव अगाडि नै गरी सक्नु पर्छ र यो काममा अरू पार्टीले समस्या खडा गरेमा उनीहरू जनताबाट अलगिने छन्।हालको गठवन्धनको सरकार देश र जनताको हितमा नभएर गठवन्धनका दल र तिनका नेताको स्वार्थ पूर्तिका लागि भएको हुदा यिनीहरूको स्वार्थमा ठेस लाग्ना साथ यो सरकार विघटन हन जान्छ, त्यति बेला समेत नेपाली कांग्रेस सत्तामा जान हतारिनु हुदैन र जानै परे संसदको दोश्रो ठूलो दलको सहमतिमा दुई तिहाई समर्थन जुटाउने गरी मात्र जानु पर्छ ता कि संविधान संशोधन गर्ने संख्या पुगोस्। संविधानमा गरिने संशोधनले सत्तामा च्याखे थाप्ने साना दलहरू पाखा लाग्ने छन् र चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना हुन्छ। हाल संविेधानमा राखिएको अप्रत्यक्ष निर्वाचनको प्रावधानले सरकारलाई अस्थीर बनाएको कुरा सबैलाई अनुभूति भएकै छ। त्यसैले यो प्रावधानलाई संशोधन गरेर राष्ट्रिय सभालाई समावेशी बनाउनु उपयुक्त हुने देखिन्छ।

नेपाली कांग्रेस भित्र पार्टीको शक्तिको रूपमा रहेका यूवाहरूले देशमा देखिएको राजनीतिक अस्थिरतालाई कम गरी राजनीतिलाई देश विकासको माध्यम बनाउन एक रति पनि ढिला गर्न नहुने परिस्थिति देखा परेको छ। त्यसैले यो फुर्शदको समयलाई सदुपयोग गरौ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।