म सानो कक्षामा पढ्दै देखि खाना पकाउने गर्दथे। बिहानको खाना प्रायः मैले नै बनाउनु पर्थ्यो। परिवारमा म र मेरी दिदी मात्र थियौ। दिदी बिहानै काममा जाने हुदा मैले खाना बनाएर खाना खाएर स्कुल जानु पर्दथ्यो जुन मेरो दैनिकी जस्तै थियो। जानी नजानी पकाउदा पकाउदै निर्वाह हुन थाल्यो। पहिला पहिला वाध्यताले पकाउन थालेको पछि पछि रहरै पनि हुन थाल्यो भान्छामा काम गर्न। एसएलसी पछि थप अध्ययनका लागि पोखरा गईयो। त्यतिखेर बर्तवन्ध भै सकेकोले कपडा फेरेर पकाउने, अरूले छोएको नखाने भन्ने हुन्थ्यो। डेराका सहपाठीले त्यसको बारना नगर्ने रहेछन्।
अनि घर छोडेर गए पछि पनि भान्सा आफ्नै जिम्मामा पर्यो, हुदा हुदा म त भान्से जस्तै बन्न पुगेछु। आजभोली पनि छोराछोरीलाई मैले बनाएको खाना मन पर्छ। खासगरी तिजको दर खादाको चाम्रे,जसलाई हाम्रो स्थानीय भाषामा खाजा भनिन्छ, मैले नै बनाउने गरेको छु । त्यसै गरी साउनमा खाने खिर र माघमा खाने खिर्चो(खिचडी) बनाउन आजभोली पनि म कस्सिनै पर्छ। मैले बनाएको पिंडालु र मूलाको तरकारी, गहतको दाल, कोदाको ढिंडो, खसीको झोलिलो मासु मन पराउछन् परिवारले। मैले खाना बनाएको दिनलाई पर्व जस्तै मानिन्छ परिवारमा। मैले शुरू शुरूमा खाना बनाउदाको समयमा हरेक चिज अर्गानिक हुन्थ्यो। खानामा प्राकृतिक स्वाद हुन्थ्यो। तरकारीमा राखिने जीराको भान्साको बासना आंगन मै हरहर आउथ्यो।तरकारीमा प्रयोग हुने चिल्लोमा मिसावट थिएन तर पछि पछि भने घ्यूमा मिसावट हुने गरेको सुनिन्थ्यो तर दूरदराजका खानेकुराहरू अर्गानिक हुन्थे। वर्षमा मुस्किलले २ पटक खसीको मासु खाईन्थ्यो। मासुका लागि दशै कुर्नु पर्थ्यो। पछि पछि गांऊ घर तिर भाग लगाएको मासु बेच्न थालियो। मासु आजभोली जस्तो जोखेर खाने चलन कताकति थियो, प्रायः भाग लगाएर खाईन्थ्यो। हरेक भागमा भित्रमास (आन्द्रा भूंडी), टाउको, खुट्टा सबै मिलाएर भाग लगाईन्थ्यो। एउटा खसी वा बोका १०/१२ घरको निम्ति बाडिन्थ्यो। एक भागलाई रू ५/- पर्थ्यो यो करीव १ धार्नी हुन्थ्यो। मासु नगदै दिएर किन्न पर्दैनथ्यो, पछि मासुको पैसा वापत खेताला गए पनि हुन्थ्यो। एक धार्नी मासुको एउटा बाऊसे वा दुईवटा खेताला गए हुन्थ्यो।
आजभोली जस्तो मासु जोखेर दिने चलन थिएन। भाग लगाएर बाडिन्थ्यो।१ धार्नी बराबर करीव साढे दुई किलो हुन्थ्यो। यो मासु पकाउदा हरहर्ति बासना आउथ्यो। अरू तरकारी संग ढिडो, आटो खाए पनि मासु संग भात नै खाईन्थ्यो। आजभोली जस्तो मासु सर्वसुलभ थिएन। घरमा खासगरी मासको दाल र कोदोको ढिंडो पकाउदा र खादा लुगा फेर्नु पर्थ्यो। चोखो वा धोएको कपडा लगाएर भान्सामा जानु पर्थ्यो। चामलको भात पकाउदा थोरै घ्यू राखे पछि चोखो मानिन्थ्यो र थोरै राखे चोखो धेरै राखे खाजा भन्ने चलन थियो। पहाड तिर धान भन्दा कोदो बढी हुने हुदा प्रायः कोदाको ढिडो खाने चलन हुन्थ्यो र ढिडो संगै सानो कसौडीमा चामलको भात पनि पकाईन्थ्यो र ढिडो खान भन्दा अगाडि त्यही भातको वल( खाना खानु अगाडि पानी अचाउने, भात चढाउने चलन) हालेर देवतालाई चढाउने चलन हुन्थ्यो र ढिलो खाई सके पछि अन्त्यमा २/४ गास भात खाने हरिन्थ्यो र अन्तिममा कुकुरलाई कलो दिने भनेर थोरै भात बाहिर राखिन्थ्यो र कुकुरलाई बोलाएर दिईन्थ्यो। कोदोको परिकार धनीले खादैनन् भनेर आफूलाई सम्पन्न देखाउन बाहिर कुकुरलाई भात दिने चलन हुन्थ्यो। तर आजभोली यो भनाइलाई मान्यता नदिएर कोदोको परिकारलाई स्वस्थकर ठानेर धनी र सम्पन्नको खानामा कोदो,मकै रोजाईमा पर्ने गर्छ। पहिलाको जमानामा बिहानको खाना अली ह्याभ्भी नै हुने र साझको हल्का हुने गरी रोटो, मकै आदि खाईन्थ्यो जुन स्वास्थ्यप्रद हुन्थ्यो। प्रायः घरमा दुध मोही टुट्दैनथ्यो। गोरसलाई पैसा तिर्नु पर्दैनथ्यो। गाऊमा बिहे, व्रतवन्ध, पूजाआजा हुदा बारीको कान्लामा खाना, प्रसाद बनाईन्थ्यो।
निम्तालु पाहुनाहरूलाई बारीको डिलमा लहरै राखेर टपरीमा खाना पस्केर दिईन्थ्यो। बिहे व्रतवन्धमा मासको दाल,खसीको मासु र साग संग भातको भतेर लगाईन्थ्यो। त्यतिखेर होटलमा खाना खाने चलन कम थियो। शहर बजारमा मात्र यस्तो चलन हुन्थ्यो। होटल करीव सार्वजनिक हुने भएकोले होटलमा खाए जात जान्छ भन्ने चलन थियो। त्यसैले होटलमा खाना खानेहरू लुकी लुकी खान्थे। होटल ब्यबसाय भएकोले खाना बढी स्वादिलो र मीठो हुन्थ्यो तर त्यति स्वास्थ्यकर हुने थिएन होटलको खाना। अहिलेको पुस्तामा आफै खाना बनाएर खाने चलन हराउदै गएको पाईन्छ। जमाना अली ब्यस्त भएर पनि होला यूवा पुस्ताहरू बनीबनाऊ(रेडिमेड) खाना तिर बढी आकर्षित हुदै गएको पाईन्छ। बिहानको खाना पनि बाहिर, दिउस र रातीको खाना पनि बाहिर खाने गर्दा घरमा पकाउने चलन हराउदै गएको छ । यसले गर्दा अहिलेको पुस्ताको पेटमा नाना थरी रोगहरू लाग्ने गरेको पाईन्छ। यो प्रवृत्तिमा बिस्तारै सुधार ल्याउन जरूरी देखिन्छ। खाना र रोग एक अर्कामा सम्बन्धित देखिन्छन्, त्यसैले स्वस्थ खाना नै स्वस्थ जीवन हो भन्ने कुरा अहिलेको पुस्तालाई सिकाउनु जरूरी छ।