आज प्रकाशित एउटा खवर- अस्पतालको तेश्रो तलाबाट हाम फालेर बिमारीको मृत्यु। कतै अग्लो ठाऊबाट हाम फाले पछि जो कोही पनि अपांग हुन सक्छ वा मृत्यु नै पनि हुन सक्छ तर यो त्यति ठूलो समाचार बन्न सक्दैन। यो समाचारले भन्यो कि अस्पतालमा भर्ना भएको बिमारी सोही अस्पतालको छतबाट हाम फालेर मृत्यु भयो। अस्पताल मर्न जाने ठाऊ हैन, त्यो त कसरी जीवन बचाउन सकिन्छ भनेर जाने ठाऊ हो। मानिसलाई सबभन्दा ठूलो डर मर्नबाट हुन्छ। त्यसैले हरेक बिमारी र उनका आफन्त उसलाई बचाउन तर्फ लाग्छन्।
यसरी अस्पतालका छतबाट बिमारी हाम फालेर आत्म हत्या गरेका, घरबाट आफै हिडेर उपचारका लागि गएका बिमारीको उपचारको क्रममा मृत्यु भएका,गलत उपचार भएका कारण बिमारीको मृत्यु भएका समाचारका साथै गलत उपचारबाट मृत्यु भएका समाचार आई रहन्छन्। यस्तै घटनाको प्रतिकार गर्न मृतकका आफन्तहरूले चिकित्सकलाई हातपात गरेका, अस्पतालमा तोडफोड , आगजनी गरेका समाचारहरू हेर्न र सुन्न पर्ने परिस्थिति हप्तै पिच्छे बनेको हुन्छ। यसो हुनु राम्रो हैन र सुखद हैन तर पनि यस्ता समाचारहरू दोहोरिई रहन्छन्। अस्पातालमा गएर निको भएर फर्केका खवरहरू समाचार बन्दैनन्, किनभने यो स्वभाविक हो तर अस्पतालमा हुने गलत उपचारका कारण वा अस्पतालको लापरवाहीका कारण वा अस्पतालको धन कमाउने लोभका कारण बिमारीको ज्यान गएका खवरहरू समाचार बन्छन् जुन कदापि राम्रो हैन।
खासमा अस्पतालहरूमा ब्यापार हुने गर्छ कि सेवा? हाम्रा अस्पातालका ब्यबहार र बिमारी र बिमारीका आफन्तको अनुभव के छ भने अस्पतालमा सेवाको नाममा ब्यापार भै रहेको छ। किनभने उपचारका क्रममा सही औषधीबाट उपचार गर्नुको सट्टा आफूलाई बढी कमिशन आउने औषधी उपचारमा केन्द्रित हुनु, मृतकको शवलाई वन्धक राखेर मोलमोलाई गर्नु, कमिशनका आधारमा प्रेस्कृप्सन बनाउनु, बिमारीको परीक्षण सिकारूबाट गराउनु, मेडिकल परिषदको परीक्षा समेत उत्तीर्ण गर्न नसकेका चिकित्सकलाई सस्तोमा राखेर तिनीहरूबाट उपचार गराउनु, महंगा महंगा प्रविधि प्रयोग गरेर अनावश्यक खर्च गराईदिने जस्ता कामले सेवाको नाममा ब्यापार भै रहेको प्रतीत हुन्छ।
मानिसको जीवन संग सरोकार राख्ने औषधोपचारको ब्यबस्थाले पेशाको रूप लिदै जादा यसबाट सम्पन्न परिवारहरू मात्र लाभान्वीत भै रहेका छन्। गरीवहरू सिटामोल नपाएर मर्नु पर्ने स्थितिमा छन्। सुबिधा सम्पन्नताको नाममा राजधानी र प्रमुख शहरहरूमा केन्द्रित यस्ता अस्पताल नेपालका दुर्गम, ग्रामीण र गरीवहरूको पहुंचबाट टाढा छन्। यिनीहरूले सीमित र सम्पन्न बिमारीको मात्र उपचार गर्छन्। यिनीहरूको उपचार पद्दति पेशा र ब्यापार संग सम्बन्धित भएको पाईन्छ। नेपालका मात्र नभएर छिमेकी देशका धनी र सम्पन्नको लगानीको क्षेत्र बनेको यो ब्यबसायले औषधोपचारको नाममा लुट्ने गरेको भन्न कत्ति गाह्रो मान्न पर्दैन।
बिज्ञापन
छाना छानामा हेली प्याड बनाउने, हेलीकोप्टर राख्ने, दुर्गमबाट बिमारी ओसार्ने, हेली कोप्टरको भाडा चर्को असुल्ने,जांच्न मिल्ने जति जांचेर रकम असुल्ने, मर्ने बांच्ने दोसाधमा रहेकाहरूलाई वन्धक बनाएर रकम असुल्ने, अझै सन्तान विदेशमा भएको थाहा पाएमा आर्यघाट सम्मको रकम असुल्ने गरिन्छ। अनि यस्ता सेवालाई सेवा भन्ने कि पेशा?
यी निजी क्षेत्रको नाममा कलंक हुन्, यिनीहरूका गतिविधि राज्यले अनुगमन गरेर यसलाई आफ्नो दायरामा ल्याउनु पर्ने हो तर अनुगमनकर्तालाई निजी क्षेत्रले किनी सके पछि बोल बोल माछो मुखभरी पानी भने जस्तो भएन!
बिज्ञापन
यो त भयो गैर सरकारी वा निजी क्षेत्रबाट प्रदान गरिने सेवाको अबस्था। अब हेरौ सरकारी क्षेत्रको अवस्था-
नेपालको संविधानमा स्वास्थ्य संवन्धी हकलाई मौलिक हकमा सूचिकृत गरेर राज्य खूव कल्याणकारी छ भन्ने देखाईएको छ। हुन त सॅविधान मात्र हेरेर पुग्ने भए नेपाली जनतालाई एउटा राम राज्य दिएका छन् संविधान निर्माताले तर देशमा एक ट्याबलेट सिटामोल निःशुल्क पाउन पापड बेल्नु पर्छ। मौलिक हक भित्र राखिएका विषय त लोक सेवामा पढ्नका लागि मात्र हुन्। यस्ता विषय संगै अदालतका परमादेश त लत्याई दिन्छ सरकारले भने पछि निजी क्षेत्रलाई ढोका खोली दिएर आफूले भने ढोका बन्द गरेको छ सरकारले। सरकारी अस्पतालको हालत खराब छ, आफूहरू भने सामान्य खोकी लाग्दा पनि कम्तिमा दिल्ली पुग्छन्। हुन त यिनीहरू दिल्ली विना के नै गर्छन् र! तै पनि सरकार छ भने पछि आशा लाग्ने रहेछ। न यिनको शिक्षामा चासो छ न त स्वास्थ्यमा! केवल निजी क्षेत्रले प्रदान गरेका सेवाको अनुगमन गरेर त्यहाका खराबीहरू हटाउन नसके पनि कम गरीदिए हुने थियो। त्यसो त गरेन नै बरू निजी क्षेत्रमा बद्नाम कमाएका नै नीति निर्माण तहमा ल्याएर तमासा देखाएको छ सरकारले।
बिज्ञापन
सरकारी कोषबाट तलब भत्ता खाएर निजी अस्पातालमा काम नगर्ने चिकित्सक भेटिदैनन्, सरकारी क्षेत्रमा काम गरेर निजी अस्पतालमा लगानी नगरेको चिकित्सक भेटिदैनन्, सरकारी अस्पातलबाट सिफारिस गरिने औषधीहरू निःंशुल्कको सूचीमा वा अस्पतालको स्टोरमा पाईदैन तर निजी अस्पतालमा त्यही औषधी महंगोमा पाईन्छ भने कता गयो सरकारको अनुगमन? हुन त अनुगमन मै खटिनेको पनि निजी अस्पतालमा लगानी वा सेवा होला! यसरी हाम्रो स्वास्थ्य सेवाले संविधानको भावनालाई समेट्न सक्ला त? अहं कदापि सक्दैन।
हामी जीवनमा ३ वटा अवस्थामा अस्पताल जान्छौ- जन्मन,दैनन्दिन उपचार गर्न र अन्तिम उपचार गर्न। यसर्थ अस्पताल हाम्रो जन्मिने घर हो, आवश्यकता बमोजिम उपचार गर्ने घर हो र आर्य घाट जानु अघिको घर पनि हो तर हाम्रो स्वास्थ्य सेवाले यसलाई अन्तिम घरको रूपमा मात्र चित्रित गरेको छ। त्यसैले यस तर्फ हाम्रा नीति निर्माता र राज्यले बेलैमा यसलाई सच्याउनु पर्छ।