काठमाडौं — राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले घुस/रिसवत लिई उक्त रकम सम्पत्ति शुद्धीकरणमार्फत प्रयोग गरेको आरोपमा भएको उजुरीमाथि अनुसन्धान गर्दा ७० लाख रुपैयाँ घुस रकम विभिन्न बैंक खातामार्फत ‘तहिकरण’ गरी प्रयोग गरिएको तथ्य फेला परेको छ।
बिज्ञापन
प्राप्त विवरणअनुसार एच.के. इन्टरप्राइजेज प्रा.लि.सँग सम्बन्धित राजस्व चुहावटको छानबिन तथा अन्य सम्भावित कसुरबाट बच्न सहजीकरण गरिदिने सर्तमा अधिकारीले सो कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट जम्मा ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ।
अनुसन्धानका क्रममा उक्त रकम अधिकारीले विकास चापागाईं, देवेन्द्र के.सी. र रविन्द्र लामिछाने लगायतसँगको मिलेमतोमा विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गराई तहिकरण गरेको पाइएको छ। सो रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंकमा रहेको खातामार्फत घुमाइफिराइ गरी घुस रकमको स्वरूप परिवर्तन गरिएको अनुसन्धानबाट खुलेको छ।
यसरी तहिकरण गरिएको रकम प्रयोग गरी भक्तपुर जिल्लाको थिमी नगरपालिका साविक वडा नम्बर १७ (हाल वडा नम्बर २) स्थित दिव्यश्वरी आयोजनाभित्रको कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर क्षेत्रफल (०–५–०–२.५९) जग्गा खरिद गरिएको समेत पाइएको छ।
बिज्ञापन
त्यसैगरी सोही रकमको केही हिस्सा देवेन्द्र के.सी. समेत सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको तथ्य अनुसन्धानबाट पुष्टि भएको बताइएको छ।
उजुरीका आधारमा भएको अनुसन्धानमा अधिकारीसहित अन्य व्यक्तिहरूबीचको मतसल्लाह तथा मिलेमतोमा घुस रकम बैंकिङ प्रणालीमार्फत घुमाइफिराइ गरी वैध देखिने गरी प्रयोग गरिएको देखिएको स्रोतले जनाएको छ।
उक्त प्रकरणमा संलग्नता देखिएका व्यक्तिहरूमाथि घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रावधानअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।


























