बजारमा ग्यासको हाहाकारभएपछि केही विद्यार्थीहरुले सरकारी निकायलाई प्रतिवादी बनाउँदै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । विशेष गरी पेट्रोलियम पदार्थको आयात, भण्डारण, ढुवानी तथा वितरणसँगै गुणस्तर र मूल्य व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको नेपाल आयल निगमको व्यवस्थापन कमजोरीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव शुरु भएको छ ।
बिज्ञापन
पेट्रोलियम पदार्थको आयात, भण्डारण, ढुवानी तथा वितरणसँगै गुणस्तर र मूल्य व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको नेपाल आयल निगमको व्यवस्थापन कमजोरी र जालझेलपूर्ण कार्यशैलीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । गत माघको पहिलो हप्तादेखि नै बजारमा ग्यासको हाहाकार भए पनि आयल निगमले अभाव नरहेको दाबी गर्दै आएको तर वास्तविकतामा उपभोक्ता रित्तो सिलिन्डर लिएर पसल–पसल भौतारिनु परेको निवेदनमा उल्लेख छ ।
विगत करिब एक महिनादेखि ग्यास आपूर्ति सहज हुन नसक्दा उपभोक्ता ठूलो मर्कामा परेका छन् । यसरी बजारमा कृत्रिम अभाव सृजना गराइएको भन्दै सरोकारवालाहरु सर्वोच्च अदालतमा पुगेका छन् ।
नेपाल ल क्याम्पसमा बीएएलएलबी सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी र विवेक चौधरीले नेपालको संविधानको धारा ४६ र १३३ (२) बमोजिम उक्त रिट दर्ता गराएका हुन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम लगायतलाई विपक्षी बनाएका छन् ।
बिज्ञापन
निवेदकहरूले बजारमा तुरुन्त सहज रूपमा ग्यास उपलब्ध गराउन र आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिन विपक्षीका नाममा परमादेश जारी गर्न माग गरेका छन् । रिट निवेदनमा भोलि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


























