काठमाडौं । जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की ले आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिए देशको अवस्था परिवर्तन हुन सक्ने बताएका छन्।
बिज्ञापन
आइतबार प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई बुझाउँदै अध्यक्ष कार्कीले कुशासनकै कारण जेन–जी आन्दोलन भएको निष्कर्ष आयोगले निकालेको बताए। उनले नियमनकारी निकायहरूलाई कमजोर बनाइनु, राज्यका अंगहरूमा ढिलासुस्ती बढ्नु र न्यायाधीशदेखि संवैधानिक नियुक्तिसम्म दलीय भागबन्डाको प्रवृत्तिले जनआक्रोश बढाएको प्रतिवेदनले देखाएको उल्लेख गरे।
उनले आयोगले बुझाएको प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न सके शासन प्रणाली सुधार भएर मुलुकको समग्र अवस्थामा सकारात्मक परिवर्तन आउन सक्ने विश्वास व्यक्त गरे।
आयोगका सदस्य विज्ञानराज शर्मा ले आयोगले जाँचबुझ गरी तथ्य र आधार प्रस्तुत गरेको भन्दै अब सम्बन्धित निकायहरूले थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए।
बिज्ञापन
त्यस्तै अर्का सदस्य विश्वेश्वर भण्डारी ले सुशासनका लागि के–कस्ता कदम चाल्नुपर्छ भन्ने विषयमा प्रतिवेदनले महत्वपूर्ण सुझाव दिएको बताए। ती सुझावहरू कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै हदसम्म सुधार हुन सक्ने उनको भनाइ थियो।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आयोगका सदस्यहरूले सीमित स्रोत–साधन र समयका बाबजुद मेहनतका साथ काम सम्पन्न गरेको भन्दै धन्यवाद दिइन्। उनले प्रतिवेदनको अध्ययनपछि गृहमन्त्रीसँग छलफल गरी मन्त्रिपरिषद्मा पेश गर्ने जानकारी दिइन्।
उनका अनुसार प्रतिवेदनको अध्ययनपछि कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ भने सार्वजनिक गर्ने विषयमा पनि सरकारले छलफल गर्नेछ। उनले प्रतिवेदनको पूरै दस्तावेज तत्काल सार्वजनिक गर्न नसकिए निचोड भने सार्वजनिक गरिने सम्भावना रहेको बताइन्।


























