काठमाडौं । उषाकिरण तिमल्सिनाले शंकर पोखरेललाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन्।
बिज्ञापन
पोखरेलले निर्वाचन परिणामपछि सामाजिक सञ्जालमा लेख्दै परिवर्तनको लहरका सामु पार्टीको प्रयास सफल हुन नसकेको भन्दै पराजय स्वीकार गरेका थिए। उक्त स्टाटसप्रति प्रतिक्रिया जनाउँदै तिमल्सिनाले नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरेकी हुन्।
उनले टिप्पणी गर्दै लेखेकी छन्, “आफ्नो जिम्मेवारीबाट राजीनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड। राजनीतिमा सबैभन्दा ठूलो कुरा नैतिकता हो।”
तिमल्सिनाले पार्टी नेतृत्व मात्र होइन, समग्र कमिटीले पनि आत्मसमीक्षा गर्दै पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। समाजको वास्तविक अवस्थाबाट नेतृत्व टाढा रहेको आरोप लगाउँदै उनले वर्तमान पुस्ताको असफलताले पार्टीलाई गम्भीर संकटतर्फ धकेलेको टिप्पणी गरेकी छन्।
बिज्ञापन
“समाजबाट पूर्ण रूपमा बेखबर तपाईं र सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी छ,” उनले लेखेकी छन्। साथै, वस्तुगत विश्लेषणका आधारमा मात्रै अबको बाटो तय गर्न सकिने भन्दै उनले अन्त्यमा ‘आगे जो इच्छा कमरेड’ उल्लेख गरेकी छन्।
उनको यो टिप्पणीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्रको असन्तुष्टि र नेतृत्वप्रति उठिरहेका प्रश्नलाई थप उजागर गरेको छ।


























