विशेष अदालतले अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्धामा पूर्व सचिवसँग डेढ लाख धरौटी माग गरेको छ । विशेष अदालतले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख रुपैंया धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेसँग डेढ लाख धरौटी लाख रुपैंया धरौटी मागेको हो ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ मंसिरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा मुछिएका ५५ प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको थियो । आयोगले गत मंसिरमा पूर्व मन्त्री,सचिवसहित ५५ जना प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड, ७३ लाख, ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो । जसमा अख्तियारले पूर्वअर्थमन्त्री डा रामशरण महत, पर्यटनमन्त्री भीम आचार्य, दीपक अमात्य, राजकुमार श्रेष्ठ र दिवंगत पोस्टबहादुर बोगटीसहित तत्कालीन सचिव सुशील घिमिरे,सुरेशमान श्रेष्ठ,सुमनप्रसाद शर्मा,भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल,मोहनकृष्ण सापकोटा,लोकबहादुर खत्री,सुरेश आचार्य, प्रदीप अधिकारीसहित तत्कालीन अर्थसचिव मधु कुमार मरासिनीसहितलाई प्रतिवादी बनाएको थियो ।यसमध्येका अर्का प्रतिवादी पूर्व सचिव सुशील घिमिरेलाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यस अघि हिजोमात्र विशेष अदालतले तीन जना सचिव,सहसचिवसहित पाँच जनालाई साधरण तारेखमा छाड्न आदेश दिइएको छ न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पाँच जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । अदालतले आरोपितहरूलाई थुनामा राख्नुनपर्ने भन्दै बाहिरै बसेर मुद्दा लड्न पाउने गरी साधारण तारेखमा छाड्ने निर्णय थियो ।
हिजो विशेष अदालतको आदेशबाट अर्थ मन्त्रालयका सहसचिव हाल सचिवबाट अवकाशप्राप्त मधु कुमार मरासिनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, तत्कालीन उपसचिव प्रेम उपाध्याय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव तथा सचिवबाट अवकाशप्राप्त मोहनकृष्ण सापकोटालाई साधरण तारेखमा छाड्न आदेश दिएको थियो । यस्तै गत आइतबारमा पूर्व सचिव सुरेश आचार्य र पूर्व मन्त्री दीपक आमात्यलाई साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

























