नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। भिजिट भिसाका नाममा देखिएको ‘सेटिङ’ को जालो तोड्न भन्दै नयाँ मापदण्ड ल्याइएपनि अझैं भिजिट भिसाका नाममा लुट्ने धन्दा जारी रहेको पीडितहरुले जनाएका छन् ।
बिज्ञापन
गृह मन्त्रालयले कात्तिक १४ गतेदेखि लागू हुने गरी नयाँ मापदण्ड जारी गरे पनि ती मापदण्डले नयाँ टिमलाई छोएको छैन । ।अध्यागमन विभागले २०८० माघ १० बाट लागू गरिएको विवादित ६ बुँदे मापदण्ड खारेज गरी कात्तिक १३ देखि नयाँ मापदण्ड लागू गरेको छ । नयाँ मापदण्डअनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भए यात्रु प्रस्थान गर्न पाउने स्पष्ट व्यवस्था छ। तर, कागजात पूरा हुँदाहुँदै यात्रु अफलोड गर्ने,यात्रुहरुमाथि दुर्व्यहवार गर्ने मापदण्डको खुला उल्लंघन हो। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने यात्रुबाट महिलासँग ३० हजारसम्म असुली गर्दै प्रस्थान अनुमति दिइरहेको भेटिएको छ। असुली विभिन्न ट्राभल एजेन्सी र मेनपावरमार्फत भइरहेको छ।
हालैमात्र ओमन जान लागेका ६० महिलाहरुसँग यसैगरी ३० हजारका दरले रकम माग गरिएको कर्मचारी प्रेसको सम्पर्कमा आएका पीडितहरुले बताएका छन् । केही पीडित महिलाहरुको अनुसार ती यात्रुलाई विना कारण फर्काइएको र पुगेका यात्रुलाई तीन घण्टा विनाकारण रोकी मानसिक तनाव दिएको गुनासो पोखेका छन् । कतिपयलाई जहाज उडेपछि मात्रै प्रस्थान अनुमति, कतिपयलाई थर्काएर फिर्ता। रात्री समूहले करिब ५० यात्रुलाई ‘गेट नो शो’ र ‘विना पत्र तल झर’ भन्दै डर–धम्की दिँदै काममा ढिलासुस्ती गरिएको पीडितहरुको गुनासो छ । गत १७ फ्रेबुअरी अर्थात फागुन ५ गते मंगलबार ९ बजेर २५ मिनेटको फ्लाइटमा विदेश जान लागेका यात्रुहरुसँग ३० हजारका दरले रकम बुझाउन बाध्य हुनुपरेको र रकम बुझाउनेहरुको भीसा समेत चेकचाँज नभइ सिधै उडान गर्न पाउने,रकम नबुझाउनेहरुलाई तनाव दिने गरेको पीडितहरुले बताएका छन् ।
यसअघि पनि अध्यागमन कार्यालयका केही कर्मचारीहरूले बिचौलियासँग मिलेर नेपाली नागरिकहरूलाई अवैध रूपमा विदेश पठाउने काम गरेका थिए। २०८० मंसिरमा अध्यागमन अधिकृत नरबिर खड्कासहित ९ जनाविरुद्ध फर्जी कागजात बनाएर भिजिट भिसा जारी गराएको आरोपमा मुद्दा दायर गरिएको थियो। आरोपितमध्ये विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोसमेत रहेका थिए। उनीहरूले सफाइ पाइसकेका छन् ।
बिज्ञापन
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहेको भएपनि अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरेको थियो ।
यस अघिका महानिर्देशक तिर्थ भट्टराईसहितका विचौलिया र मतियाहरु नै अदालतबाट धरौटीमा छुटेसँगै भिजिट भिसाको धन्दा फेरि शुरु भएको हो । सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित हुँदा यस्तो धन्दाले निरन्तरता पाइरहेको छ । यस अघि एक जना महिलाबाट ४० हजारसम्म असुल्दै आएकोमा अहिले ३० हजार उठाएर विदेश पठाइने गरेको पीडितहरुले बताएका छन् । कतिसम्म ओमनका भिसा भएका यात्रुहरुलाई जरिरा एयरलायन्समा काठमाडौं कुवेतको टिकट हालेर पठाइएको भेटिएको पीडितहरुले बताएका छन् ।

























