कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये कालिका गाउँपालिका अव्वल दह्ररिएको छ । विभिन्न १७ वटा सूचकका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा कालिका गाउँपालिकाले ६६ दशमलव ४२ अंक प्राप्त गरी जिल्लाकै पाँच पालिकामध्ये अब्बल स्थानमा रहेको छ ।
बिज्ञापन
वित्त आयोगले स्थानीय तहको मूल्यांकन गर्दा १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे तथा नगरेको,घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मानेको थियो । यी १७ सूचकका आधारमा कालिका गाउँपालिकाले ६६ दशमलव ४२ अंक सहित पहिलो स्थानमा रहँदा उत्तरगयाँ गाउँपालिकाले ६२ अंक हात पारेको छ ।

यस्तै जिल्लाका पाँच पालिकामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा नौकुण्ड गाउँपालिका तेस्रो स्थानमा रहेको छ । सो पालिकाले ५३ दशमलव ३६ अंक पाउदा एमालेकै नेता पालिका अध्यक्ष रहेको र सदरमुकाम धुञ्जे जोडिएको गोसाइकुण्ड पालिकाले ५२ दशमलव ११ अंक हात पारेको छ । जिल्लाका पाँच पालिकामध्ये सबैभन्दा कमजोर कार्यसम्पादन देखिएको छ आमाछोदिङ्मो गाउँपालिका । सो पालिकाले ४६ दशमलव ७३ अंक हात पारेको छ ।
केन्द्रले गरेको कार्यसम्पादन मूल्याकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका अब्बल ठहरिएको छ । सो पालिकाले ८३ दशमलव ८४ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो,कार्यसम्पादन मूल्यांकनमा । यस्तै कार्यसम्पादनमा ८० कटाउने पालिका जम्मा चार वटा रहेका छन् । जसमा रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ अंक ल्याएर दोस्रो स्थानमा रहँदा गुल्मीको मालिका गाउँपालिकाले ८१ दशमलव ९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८० दशमलव ५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।
बिज्ञापन
यसैगरी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ७८ दशमलव ५० अङ्क प्राप्त गरी पाँचौँ स्थान हासिल गरेको छ भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८ दशमलव १९ अङ्कका साथ छैटौँ स्थानमा परेको छ । मोरङको विराटनगर महानगरपालिका ७८ दशमलव ११ अङ्क सहित सूचीको सातौँ स्थानमा रहँदा डडेलधुराको अमरगढी नगरपालिकाले ७७ दशमलव ७९ अङ्क प्राप्त गरी आठौँ स्थान प्राप्त गरेको छ । यस्तै,उत्कृष्ट १० को सूचीमा दाङको राप्ती गाउँपालिका ७७ दशमलव ४६ अङ्कका साथ नवौँ स्थानमा अटाउन सफल भएको छ भने जाजरकोटको भेरीमालिका नगरपालिका ७६ दशमलव ९६ अङ्क प्राप्त गर्दै दशौँ स्थानमा परेको आयोगले जनाएको छ ।

























