डडेलधुराको अमरगढी नगरपालिका–११ धनघाटमा शनिबार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटनामा परेको छ ।
बिज्ञापन
जिल्ला निर्वाचन कार्यालय, डोटीको गाडी डडेल्धुराको अमरगढी नगरपालिका ११, रडुवा खोलास्थित नजिक दुर्घटना हुँदा निर्वाचन अधिकृतसहित पाँच जना घाइते भएका छन् । डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडक छेउमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बा प्र ०१०० झ ६४९५ नम्बरको गाडी दुर्घटनामा पर्दा सो गाडीमा रहेका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँको भानु नगरपालिका घर भइ नेपाली सेनाको भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय तेजबहादुर अधिकारी घाइते भएका छन्।
पाँचै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


























