घरबाट बाहिर निस्क्यो अनि यसो उत्तरतर्फ हेर्यो, जहिले पनि देखिन्छ – उही ठूलो पहाड देवचुली । यसलाई हेरेपछि यसको पूर्वतर्फ हेर्दै जाऊ वा पश्चिमतर्फ।यो जत्तिको अग्लो, सग्लो पहाड यहाँ वरपर नजिकमा कुनै पनि छैन।फेरि आकारमा पनि झण्डै-झण्डै माछापुच्छ्रे जस्तै छ यो।र, उचाइमा त्यस्तै! यस वरपर यो सर्वश्रेष्ठ अग्लो नै हो।त्यसैले यसलाई नवलपुरको “माउण्ट एभरेष्ट” पनि भन्ने गरिन्छ।
बिज्ञापन
यस्तो घर नजिकैको माउण्ट एभरेष्टमा एकदिन पुग्नुपर्छ, यहाँ चढ्नु पर्छ भन्ने कुरा गणेशलाई लागिरहन्थ्यो।तर कहिले?भन्ने प्रश्नले पनि उनलाई त्यत्तिनै सताइरहन्थ्यो। उनका लागि फेरि उत्तर “जागिरबाट निस्केपछि” भन्ने हुन्थ्यो। त्यतिखेर, अझ अलिक पछि-पछि त, नभ्याएका कामकुरा सारालाई “अब रिटाएर भएपछि गर्ने” भन्ने गर्दथे उनी । सायद धेरै मानिसका हकमानै यो लागु हुनुपर्छ। एवम् रितले जागिरबाट अवकाश भएपछि देवचुलीको चुचुरोमा पुग्ने हतारोले गणेशलाई सताइ नै रह्यो।
उनका केही स्थानीय साथीहरूको पनि जागिर नै त थिएन।तथापि, आ-आफ्ना पेशा त छँदैथियो। उनीहरू पनि फुर्सद नभएरै त होला, यस चुचुरोमा पुगेका रहेन्छन्। एकदिन बातैबातमा “यो टुप्पोमा जाऔँ न!” गणेशका परम मित्र रमनाथले भने र “राम्रो कुरा, मेरो पनि त्यहाँ पुग्ने विचार छ।” गणेशले अन्तर संवादलाई इच्छा ओजमा थप तन्काए।
उनका अर्का मित्र भोजराज पनि यहाँ पुग्ने मनको तिर्सनामा नै बाचिरहेका रहेछन्। उनी पनि यिनै दुई भाइका समिपमा आएका के थिए “ल भोलि नै जाने।म सूर्य र हेमराजलाई फोन गरेर गाडी-घोडा, तिथि-मिति सब मिलाई हाल्छु।” भन्न थाले र तत्कालै तिनीहरूलाई फोन गरे पनि। तर, उनको “भोलि” माघेसक्रान्तिको दिन थियो।यो त माघी हो, चाडको दिन! घरमा पाहुनापाछा आउन पनि सक्ने दिन! यो दिन त हुँदैन भन्दै यी पाँच जनाकै सल्लाहमा माघ दुई गते त्यता जाने योजना बन्यो। चालकसहित सुबिधाजनक रूपमा पाँच जना अट्ने सिट भएको हेमराजको गाडीमा यी पाँच भाइ माघको दोस्रो दिनको करिब सबाबाह्रको साइतमा देवचुली आरोहणका लागि छत्तीसघरबाट निस्के।
बिज्ञापन
यी कुरा गणेशले आफ्नी आमा पुनमायालाई जानुपूर्व बताएका थिए। आमाको आफ्ना छोराछोरीप्रतिको स्नेहभाव वा केयरिङ् प्रवृत्ति उनीहरू आफूजस्तै बूढाबूढी हुँदासमेत उस्तै जीवन्त हुने रहेछ, जो गणेशकी आमाले ” कसको गाडीमा जाने हो ? गाडी चलाउने मान्छे कस्तो छ?” भन्ने जिज्ञासा राखेबाट सजिलै थाहा लाग्छ। गणेशले आमाको जिज्ञासा शान्त पार्न यस क्रममा “हेमराजको गाडीमा जाने हो, चलाउने पनि उही हो।” भन्ने उत्तर दिएका के थिए ” ऊ त बाहिर देशमा पनि गाडी चलाएको मान्छे हो।ठिक छ।” भनी निर्वेद भावमा आमाबाट जानका लागि स्वीकृति प्राप्त गरेका थिए।
त्यस टाकुरोमा वा टुप्पोमा त्यसपूर्व यस भ्रमण दलका सदस्य कोही पनि पुगेका थिएनन् ।त्यसैले यस ठाउँका बारेमा जानकारी राम्रोसँग वा आफैं गए झैँ गरी यिनीहरूलाई हुने कुरै भएन।
तथापि,यी पाँच भाइमध्ये सूर्य दवाडी चाहिँ आफ्ना अर्का एकजना उनका पेटमित्र (विष्णु न्यौपाने) सँग कुनै दिन त्यसपूर्व देवचुली आरोहणमा आएका तर नसकेर बीच बाटोबाटै सो अभियान परित्याग गरेको कुरा भ्रमणका क्रममा बिस्तारै एककान दुईकान मैदानका रूपमा थाहा हुन आयो।
कसैले स्पष्टसँग नभने तापनि यी र यस्तै कारणले हुनसक्छ, त्यस ठाउँमा जाँदा उक्त ठाउँका बारेमा केही बढी जानकार यो समूहमा अरुभन्दा सूर्य नै हुन् कि भन्ने कुरा भ्रमणको सुरुक्रममा अनुभूत भएको थियो र पुग्ने ठाउँ, बीच-बीचका स्थान, बाटो, बास बस्ने ठाउँ , खानपान आदिका सम्बन्धमा उनले नै नेतृत्व गरून् भन्ने गणेशलाई लागेको थियो।
जाँदा क-कसले के के लाने भन्ने विषयमा केही सल्लाह नै भएको थिएन।सबले आ-आफ्ना हिसाबले नै सरसामान लिएर आए।
गणेशले कुनै ठूलो झोला लिएनन्।एक रात बस्ने त हो भनी उनले एउटा सानो औषधि राख्ने हाते व्याग लिए, त्यसमा दुई- चार दिनलाई पुग्ने औषधि कोचे।एउटा दाँत माझ्ने ब्रस र स्यामसुङ्को मोबाइल चार्जरलाई पनि उनले त्यही हाते व्यागको एक कुनामा राखे।
उनले लगाएको कपडा पूरा जाडोमा लगाउने खालकै थियो- शरीरको तल्लो भागमा सबभन्दा भित्र ट्राउजर, त्यसबाहिर कटराइजको बाक्लो पाइन्ट र शरीरको माथिल्लो भागमा भने भित्रबाट बाहिर क्रमशः एक-एक वटा थर्मकोट, बाक्लो उनीको सर्ट र बाक्लै ज्याकेट । खुट्टामा एक जोर बाक्लो मोजा र कपडाको जुत्ता। टाउकामा चाहिँ बाक्लो कानेटोपी लगाएका थिए।
त्यसबाहेक पकेटमा केही पैसा भएको एक-एक थान वालेट, रुमाल र मोबाइल राख्दै जोमसोमतिर पाइने भेडाको उनको एउटा कानेटोपी बेलुका सुत्ने बेलामा लगाउनका लागि एक हातमा हल्लाउँदै गणेश निस्किएका थिए।उनको तयारी सिर्फ यत्ती थियो।
गणेशका साथीहरू भने सबैले एक-एक वटा कालो व्याग आ-आफ्ना पछाडि ढाडमा टेकाएर काँधमा भिरी आएका थिए।यो देख्दा गणेशलाई केही समय त आफूले सर-सामान र झोला नल्याएर गल्ती गरेँ कि भन्ने लागिरह्यो र त्यो परिस्थितिको निरुपण गर्न उनले “तिमीहरूले के के ल्याएका हौ र?” भन्दै आफ्ना साथीहरूसमक्ष तत्कालै सोधखोज पनि गरे।आफूले झोला र अन्य सामान नल्याएर खासै त्रुटी नगरेको निष्कर्षमा उनी तुरुन्तै पुगे। यसपछि देवचुली टाकुरो चढ्ने उनको चित्ताग्रह थप परिपक्व र सुदृढ हुँदै गयो।
कुल एण्ड ऎलेन पेट्रोल पम्पमा दुई हजार रूपैयाँको डिजेल हालेर उक्त्त समूह सवार गाडी त्यस अगाडि बढ्यो। देवचुलीको टुप्पो कस्तो छ?त्यहाँबाट के-के दृश्यहरू कस्ता देखिन्छन्? भन्ने वर्षौंदेखिको गणेशको जिज्ञासाले उत्तर पाउने बेला आउँदै गरेको उनी सम्झन्थे। त्यसबारेको कुतुहलता पनि मेटिन लागेको त्यस क्षण पाँचैजनाका मन खुशीले थप सिंचित भइरहेको अनुभूत उनी गरिरहेका थिए।
“टर्च राखेँ एउटा ” बाबुले भने।यो सुनेर “ला!मैले त राखेको छैन नि!” भनेर गणेश केही क्षण खस्रङ्ग भए। “टिमको नेतृत्व गर्ने मान्छे!टर्च चाहिन्छ है भनेर अरुलाई पनि खबर गर्नु पर्दैन?” बाबुलाई गणेशले अलिक आवेगमा प्रश्न गरे। बाबु भने तत्क्षण चुपचापनै बसे। तर्क पूरा र राम्रो छ भने एकपछि अर्को कुरा गर्ने बाबु तर्क छैन वा कुरा कमजोर छ भने चाहिँ चुपचाप बस्ने गर्छन्।
धारापानीतिर पुगेपछि त्यतै कतै दालमोड,चाउचाउ, मिनरल वाटर आदि खाने कुरा जोहो गर्ने क्रममा सूर्य गाडीबाट झरे र फर्केर आउँदा उनले सोको अलावा दुई-तीन किलो सुन्तला पनि किनेर ल्याए।
मुन्नेबाट सय मिटरजति माथि पुगेका के थिए एउटा इ- भेहिकल (कार) ले आफ्नो देब्रेतिरको दुबै चक्का नालामा खसालेको पाँच भाइले देखे। त्यस कारको चालकले पाँच भाइ सवार गाडीलाई आत्तिएको भावमा रोके र सोधे-“गाडी उठाउने जग छ र?” पाँच भाइ सवार गाडीका चालक हेमराजले-“त्यस्तो औजार त केही छैन, तर पनि केही सहयोग गर्न सकिन्छ कि!” भने।यसपछि हेमराजले घच्याक्क गरी आफ्नो साइडको ढोका खोले र कारतर्फ अगाडि बढे। गणेशसहित चार भाइ पनि त्यसपछि उनको पछिपछि लागे।
“कसरी दुई वटै चक्का नाली मा जान्छ?साइड दिँदानै त होला!यस्तो हुने गरी के साइड दिएको होला!” मनभित्र गणेशले यस्तै कुरा खेलाई रहेको बेलामा ” साइड दिँदा चिप्लिएर दुईटै चक्का नालामा पुग्यो।” त्यस कारका चालकले रा-रातो आँखा र उस्तै रङको अनुहार पाँच भाइतर्फ फर्काउँदै भने।उनको जिउ अलिक अस्थिर थियो, हल्लिरहेको देखिन्थ्यो। “यो त जँड्याहा पो रहेछ कि!” भन्ने पाँच भाइलाई लाग्यो। त्यस कारलाई खासै सहयोग गर्न नसकिकनै पाँच भाइको यो समूह पुनः अगाडि बढ्यो।
त्यहाँबाट माथि जाँदा जङ्गलको बाटो हरियाली भए पनि साँगुरो नै छ। जङ्गल भने सालको रुखले ढपक्क ढाकिएको, एक्लै-दुक्लै हिँड्दा त डरै लाग्ने खालको छ।मोडहरू त्यस्तै छन्। हर्न नलगाई गाडीहरू तीब्र गतिमा आउने पनि गर्छन्। यसले गर्दा त्यहाँ गाडी चलाउँदा विषेश सावधान हुनै पर्छ। अन्यथा ती स- साना गोलाइका घुम्तीहरूमा दुर्घटना हुने जोखिम रहन्छ।
यसरी नै उकालो चढ्दै पाँच भाइ कुम्सोत, पाङ्ग्रे आदि हुँदै अगाडि बढे।
बोझापोखरी नपुगुन्जेलसम्मको यस सडक-खण्ड निकै डरलाग्दो छ।पाङ्ग्रेमा पनि लामै कर्याङ्कुरुङ परेको गोलाइ छ। त्यसअगाडि सडकको तलमाथि दुबैतर्फका पहाडको भिरालोपन अस्वभाविक छ। माटो पनि बोल्डर र ग्राभेल मिसिएको छ। पहाडको भिरालोपन अत्याधिक हुँदा यस्तो माटोमा हावा- हुण्डरी चल्दा वा पानी पर्दा वा झरी हुँदा वा अन्य प्रकारका कुनै कम्पन आदिमा त्यस्तो भू-पिण्ड बरोबर तल झरिरहन्छ। भारी वर्षाको समयमा डेबृस फ्लो रूपको बाढी पनि आउँछ। यस्तो बेला सडकको त्यस खण्ड भएर आवतजावत गर्ने गाडीघोडा, मानिस आदि सबै पुरिने वा बगाइने जोखिम पनि उत्तिकै रहन्छ।
त्यहाँको यस्तो भू- अवस्थालाई स्थिर राख्न पहिरोलगायत माटो, ढुङ्गा आदिको विचलन रोक्न सक्नुपर्छ। यस्ता ठाउँमा सिभिल इन्जिनियरिङसहितको वायो -इन्जिनियरिङको संरचना निर्माण गर्न सकेमा राम्रो हुन्छ भन्ने सोच राख्दै त्यसपूर्व पनि त्यो बाटो धेरै पटक गणेश हिंडेका थिए। यस पटक पनि उनले त्यो बाटो हिंड्दा यस्तै सोचलाई पुनः स्मरण गरे।

यसरी नै अगाडि बढ्दै उनीहरू बोझापोखरी पुगे।
घुम्न गएको, त्यसमा पनि यस पटक त आरोहण गर्न नै गएको!यस्तो बेलाको जीवन शैली चल्दै आएको वा अरुबेलाको भन्दा केही फरक नै हुन्छ। खानेकुरा पनि त्यस्तै ! हल्का भित्रिकोट लगाउने कुरा कैयौंका हकमा स्वभाविक नै हुन्छ।
बोझापोखरीको एक कुनामा पाँच भाइ सवार गाडी पार्क गरेर यो समूह खानपिनमा जुट्यो।
केही स्न्याक्सका साथ भित्रिकोट पहिरिन थाले यिनीहरूले। यसक्रममा ८८४८ पनि त्यहाँ देखा पर्यो। टाइगर पनि ह्वास्स गर्दै तुरुन्तै आइपुग्यो। देवचुली चढ्न गएका बाबु, सूर्य र रमनाथले ८८४८ (सगरमाथा) नै चढे। अरुबेला बाघ देखेर सातो जाने हेमराज र गणेश यस पटक त्यहाँ नयाँ खालको बग्ने बाघसँग भने डराएनन्। त्यसलाई चिरिप्प पारे र आ-आफ्ना घाँटीभित्रका नलिबाट सलल भित्र बगाए।
बाहिरबाट बाक्ला- बाक्ला ज्याकेट लगाएका यी पाँच भाइ भित्रिकोटको पहिरनपश्चात थप बलिया भए। साहसिक देखिए।
त्यसपछि झण्डै एकघण्टा पैदल हिँडेर उनीहरू कमलगढी पुगे।
कमलगढी जहाँ मगरहरूको बस्ती छ।एउटै परिवारका दाजुभाइ,छोराबुहारी, छोरीज्वाइँ मिलेर होटेल चलाएका रहेछन्। खाना पकाउने, खाने र बस्ने, सुत्नेसमेत गर्दा ५-६ वटा भवनहरू त्यहाँ छन्।ती घरहरूका बीचमा खुला ठाउँ, आगन पनि छन्। राँगा, कुखुरा, बोका, खसी आदि काटेपछि मासु भुट्ने, तार्ने, पोल्ने, सेक्ने, गृल गर्ने आदि व्यवस्था पनि त्यहाँ तुरुन्तै मिलाइँदो रहेछ।
बाबु र सूर्यले त्यहाँ होटलसाहुसँग कुरा गरी एउटा जिउँदोमा १४-१५ किलोग्राम तौलको खसी काट्ने चाँजोपाँजो मिलाए। यसैबेला रमनाथले यता उसको घरबाट लगेको खाने कुराको पोको फुकाए।अर्गानिक खानेकुराको अर्गानिक पोको थियो त्यो। राम्रोगरी फुल उठेको भुटेको मकै निकै नै लगेका रहेछन्। यसका अलावा बदाम र मुलाको अचारको साथमा एक बोत्तल पिउने पानी पनि लगेका रहेछन्।
“मलाई विष्णु (रमनाथकी पत्नी) ले अरु पनि लाने हो कि खाने कुरा भनेर सोधेकी थिइन्, मैले भइगयो, यति भए पुग्छ भनेँ।”फुल उठेको मकै गर्याम्- गर्याम् खाँदै, साथै मुलाको अचार मुखमा राखेर जिभ्रो फड्कार्दै रमनाथले भने।
“यो बोत्तल नहराई ल्याउनू है भनेकी छन् विष्णुले।” रमनाथले आफ्नी पत्नीसँगका स्नेहपूर्ण प्रसङ्गलाई अरु विस्तार गरे।
पाँच भाइको समूह त्यहाँ पुग्दासम्म पूरा भोकाएको थियो।रमनाथको खरखजनाले तत्क्षण यिनीहरूका भोक घटाउन निकै सहयोग गर्यो पनि।
“आहा विष्णु भाउजूले कति मीठो हुने गरी मकै भुटेको!बदाम पनि त्यस्तै मीठो छ।मुलाको अचार त झन भन्नै परेन! कति- कति मीठो!पानी पनि आज त निकै स्वादिलो पो छ त!मिठोहरूको हारमा परेपछि पानी पनि आज यस्तो भएको पो हो कि!” भन्दै रमनाथले घरबाट लगेको बोत्तलको पानी पिउंँदै गणेशले मनोवादको शैलीमा विष्णु भाउजूलाई धन्यवाद ज्ञापन गर्न पुगे।
त्यसपछि त्यहाँ खसीको भुटुन तयार भयो।भुटुनसँग चिउरा मोलेर चार भाइ (रमनाथबाहेक) ले खान थाले। भित्रिकोट भने पाँचै भाइले लगाए।उचाइ बढ्दै गएकोले चिसो बढ्दै गएको थियो। भित्रिकोटको दरकार यसर्थ पनि परेको थियो। अरुबेला भित्रिकोट नलगाउने रमनाथ र गणेश यस आरोहणको क्षण भने हारमा हार मिलाउन पनि हुनसक्छ, भित्रिकोटमा झुम्मिन पुगे।
यसैबेला त्यहाँ केटाकेटी (Boy friends-Girl friends) का समूहहरू पनि धमाधम आइरहेका थिए। एकाध समूह मात्र केटा-केटाका थिए। त्यसबाहेक प्रायः सबै समूहमा जोडि पुग्ने गरी केटाकेटीको सङ्ख्या भएको देखिन्थ्यो।
यस्ता केटा-केटीका जोडीहरू समूहभन्दा केही पर गई बसेका अवस्थामा भेटिन्थे। त्यहाँ उनीहरू खुबै गफिएका देखिन्थे। प्रेमील भावले एक अर्कालाई हेर्ने, आँखामा आँखा जुधाउने गरेका हुन्थे।दिलमा दिल मिसाउने, मनमा मन गाँस्ने पनि पक्कै हुन्थ्यो। यसै क्रममा शरीरमा शरीर टाँस्ने गरेको पनि पाइन्थ्यो।
यसरी हिँड्दै जाँदा पाँच भाइका समूहसमेत आफ्ना त्यस्तै क्षणको पूर्वदिप्ती स्मरण गर्न अचानक पुग्थे।आ-आफ्ना अतीतका कहानी थो-थोरै भन्दै गए पनि तिनीहरूले तुरुन्तै विषयान्तर गरे।
फेरि “हाम्रा कारणले यिनीहरूलाई गाह्रो भयो कि!” भन्दै आरोहण समूह तत्कालै त्यस्ता केटा-केटीका जोडि छिल्लिएको, गिल्लिएको, ठेलमठेल गरेर उठबस गरेको ठाउँबाट टाढा भइहाल्दथे।
यसैबीच त्यहाँ ५- ६ जना केटाहरूका एउटा समूह पनि आएकोथियो।त्यो समूह निख्लो थियो। कुनै रस बिनाको थियो। मतलब त्यहाँ कोही पनि केटीहरू थिएनन्।
पाँच भाइहरू आगो ताप्दै थिए र त्यही आगोमा सेक्दै २-४ झिर सेकुवा पनि तयार गर्दै थिए।
समय आफ्नै गतिमा वित्दै थियो। पाँच भाइसँगै आगो ताप्दै गरेका केटाहरूका त्यस समूहका कुनै एकले “जाऔँ उता।” भन्यो।
“होइन, बसौँ न यहिँ। सेकुवा पनि खाऔँ भाइहरू।” पाँच भाइका तर्फबाट बाबुले यस्तो प्रस्ताब राखे।
त्यसपछि ती केटाहरूले स्पष्ट कुरा केही नगरी केही क्षणभित्रै त्यहिँ परिसरमा कतै गए। एकपछि अर्को गर्दै त्यहाँबाट निस्के।
“बस, सेकुवा पनि सँगसँगै खाऔँ भनेको मानेनन्, गए।” बाबुले भने।
“केटाकेटी नै छन्।शर्माए होला, अनि गए।” गणेशले ती केटाहरू त्यहाँबाट जानुको एकपाखे तर्क पेस गरे।
” होइन, भित्रिकोट (रक्सी) नलगाएका रहेछन्। त्यसै भएर सेकुवा खाऔँ भनेको हुँ।रक्सी खाएका थिए भने त म सेकुवा खाऔँ कहाँ भन्ने थिएँ र!” बाबुले सेकुवा खान आफूले अनुरोध गर्नुका पुष्ट्याइँहरू प्रस्तुत गरे।
पाँच भाइ त्यहिँ बसेर सेकुवा खाँदै रहे। सेकुवा भने कतै कतै त नपाकेको पनि पाइयो। यसो हुनु आगो नपुगेरै हो भन्ने सूर्य र हेमराजलाई लाग्यो। त्यसपछि यी दुई भाइले दुई फरक-फरक दिशाबाट दाउरामा दाउराकै मुख एक आपसमा ठोक्काएर आगो बलाए। कोइलालाई झरिलो बनाए।
यस क्रममा दुई भाइले “फूँ-फूँ” गर्दै आ-आफ्ना फोक्सो खुब फुलाए र थुप्रै अक्सिजन बाहिर निकाले।

जाडो पनि यस्तो थियो कि बाक्लो कपडा लगाए पनि स्थानीय हावाले बोकेको चिसो हाम्रो शरीरको बाहिरी पत्रलाई एकपछि अर्को गर्दै छेड्दै भित्र पसेको थियो।अगाडिको आगोपट्टिको भाग तातो भए पनि पछाडि ढाडतिर भने सेरेंठोले भेटिरहेको थियो।पछाडिको भाग पनि तताउनु पर्छ भनेर पाँच भाइ बेलाबखत ढाडलाई आगोतर्फ फर्काउँदथे। यसो गर्दा जुनको प्रकाशमा सिधा अगाडि नजिकै देवचुली त्यहिँ रहेको देखिन्थ्यो। यसबेला त्यस चुलीले उसलाई छिट्टै आरोहण गर्न पाँच भाइलाई चुनैति दिइरहेको कुरा गणेश मनोगत भावमा बुझ्दथे।
त्यहिँ त्यसरी नै बसेर सेकुवा खाईरहँदा ती पहिलेका केटाहरूको समूह त्यहाँ फर्किएर पुनः आए र आगो ताप्न थाले।त्यसमध्येको कुनै एकले “निकै जाडो भयो।” भन्दै दुईजनाको बीचमा घुर्सेर आगोसँगै टाँस्सिन पुग्यो। गणेशले “खाऔँ न बाबु हो सेकुवा!खाऔँ।” भन्दै सेकुवा खान अनुरोध गरेका के थिए त्यसपछि भने तिनीहरूले सेकुवा खान थाले। यी भाइहरूले आत्मैदेखि ती केटाहरूलाई सेकुवा खुवाउने प्रयासले बल्ल सार्थक रूप लियो।पाँच भाइ त्यसपछि निकै खुशी भए।
रमनाथ मासु नखाने, त्यसैले उनले भुटुन- चिउराको समिश्रण लिएनन्। उनका लागि साधा खाना दालभात र तरकारी तयार भयो।मीठो मानेर खाए पनि।भोक निकै लागेको रहेछ। विष्णु भाउजूले पठाइदिएकी मकै, बदाम र मुलाको अचार उनले मात्र खान पाएका थिएनन्। पाँच भाइ सबैले खाँदा त्यो उत्तिखेरै छोप भएको थियो। रमनाथको गोदो त्यसबाट आउन पक्कै सकेको थिएन! त्यो पनि समय अन्तरालमा पच्दै गयो ! धेरै समय पक्कै टिकेन। त्यसैले हुनुपर्छ, यतिखेर उनले खाना निकै दह्रोसँग लिएका थिए।
“भोलि बिहानै ४ बजे उकालो लाग्नु पर्छ। अहिले नौ बजेभित्रै सुत्न पर्छ है!” गणेशले अलिक अगाडि नै यी कुरा भनेका के थिए, त्यसमा बाबुले आफ्नो जोडदार सहमति मिसाएका थिए।सोही अनुसार पाँच भाइ नौ बज्नासाथ ओछ्यानतिर लागे।
सुत्ने कोठामा सुरुमा झोला राख्न जाँदा ओढ्ने ब्लाङ्केट तुलनात्मकरूपमा पातलो देखिएको थियो।
“ओढ्ने लुगा पातलो छ जस्तो छ। हामी लाई एक- एक वटा खाप्ने पनि दिनु पर्छ है!” गणेशले सुत्न जानै लाग्दा भने।
“हुन्छ।पीर मान्नु पर्दैन। खाप्ने कपडा आउँछ।” होटल साहुनीले यस्तो आश्वासन त दिइन् । तथापि, पछि जम्माजम्मी दुईवटा मात्र खाप्ने ओढ्ने आयो।
गणेशले रमनाथको ओढ्ने कपडा ल्याएर खापे र ” तिमी पनि यहिँ आएर नटाँस्सिकन सूत।” रमनाथलाई भने।
अन्ततः रमनाथ गणेशले भने अनुसार नै सुते।
सुत्ने बेलामा यी भाइहरू सबैले आ-आफ्नी पत्नीसित सुत्दाका क्षणहरू स्मरण गरेको कुरा एक आपसमा व्यक्त गर्दै गए। यसै क्रममा सूर्यले के भने कुन्नि! त्यो सुनेर रमनाथ, हेमराज र बाबु खुब हाँसे।
गणेशलाई भने समयमा निदाएन भने पछि निन्द्रा पर्न गाह्रो हुन्छ।त्यसैले उनी आफ्नो निन्द्रा फकाइ रहेका थिए।
परन्तु, यी चार भाइ भने एक- आपसमा पेट मिची-मिची हाँसिरहे।
अब अति भयो भन्ने लागेछ क्यार! “भोलि चार बजे उठ्नु पर्छ।सुतन यार।नहाँस, नबोल।” गणेशले आदेशात्मक शैलीमा अनुरोध गरे।
तथापि, उनी हरू भने थप मच्चिंदै हाँसी नै रहे।
फेरि त्यहाँ सुत्ने बेलामा केही समस्या देखियो। गणेशलाई अँध्यारोमा सुत्न गाह्रो हुने रहेछ। यही क्रममा “बत्ती निभाऊ” भनेर गणेशले के भनेका थिए बाबुले “ला मारे!मलाई उज्यालोमा निद्रै लाग्दैन।” भनिहाले।
यद्यपि, ती सबै भाइ बत्ती जागा राखेरै सुते।
केहीपछि भने रातले आफ्नो यात्रा अगाडि बढाइरहँदा उनीहरूका हाँसो पनि सोही रीतमा मलिन हुँदै गयो। र, अन्तत्वगत्वा सबै भाइ निन्द्राको संसारमा प्रवृत्त भए।
बिहान एकबजेपछि कहिले को त, कहिले को, एकपछि अर्को उठेको, ढोका खोलेको, शौचालय गएको तिनीहरूका आवाजबाट सजिलै थाहा हुन्थ्यो।
गणेश चाहिँ एकैचोटी सबा तीन बजेतिर उठेर शौच गए।त्यसपछि कपडा लगाएर आफू पनि तयार भए र अरुलाई पनि तयार हुन अनुरोध गरे।
सबै उठे।शौचपछि ब्रसस्रस पनि सबैले गरे।
त्यहाँ त्यतिखेर तातोपानीको व्यवस्था थिएन। सूर्य र बाबुले चिसै पानी घटघट गरी पिएको आवाज टाढैबाट सुनिन्थ्यो। स्टिल ग्लासको दुई ग्लास मन्द तातो पानी हर बिहान गणेश पिउँने गर्थे। तर यसबखत त्यहाँ तातो पानीको प्रबन्ध थिएन। त्यस्तो चिसो पानी कसरी पाउने भनी त्यसपूर्व तातोपानी पिएका बिहानीहरूको स्मरण गर्न उनी पुगे।यसरी केही क्षण गणेश नोस्टाल्जिक बने। नोस्टाल्जियामा रमाए।
ती दुई भाइले एक-डेढ बोत्तल नै मिनरल वाटर पिए कि झैँ लागेको बेला “म पनि चिसै भए पनि पानी पिउँछु, जे त पर्ला!” भन्दै गणेशले पनि एक ग्लास जति चिसो पानी पिए।
यसरी पानी पिउँदा गणेशलाई दाँत झनन भयो। हुन त आजकाल उनलाई चिसो चिज मुखमा एक्कासि हाल्दा अलिक बढी नै दाँत झनन हुने गर्छ। यस्तो झन्झनाहटको समस्या उनलाई अलिक बढी नै हुने गरेको देखिएको छ। तत्क्षण पनि चिसो पानी पिउँदा उनलाई त्यस्तै भयो।
बाबुले आफ्नो टर्च लाइट झलल बाले।अरुले पनि आ-आफ्ना मोबाइलका टर्च अन गरे। आ-आफ्ना झोला पछाडि पिंठसम्म आउने गरी काँधमा भिरेर यी भाइहरू देवचुली आरोहणका लागि त्यसको पहिलो आधार शिविर कमलगढीबाट प्रस्थान गरे।
रातको निष्पट अँध्यारो थियो। देवचुलीको टाकुरो देखिने कुनै कुरै थिएन।घडीमा विहानको ४ बजेर मिनेट सुइ ओरालो झर्दै थियो।टा-टाढासम्म ज्योति पुग्ने पावरदार टर्च बालेर अगाडि-अगाडि बाबु हिँडेका थिए।
त्यसपछि क्रमशः हेमराज, सूर्य, रमनाथ र गणेश कुरा गर्दै हिँडेका थिए। यसरी यी भाइहरू बिहानको त्यस अन्धकारमा एकअर्कामा बोलेको सुन्ने तर एकले अर्कालाई खासै नदेख्ने अवस्थामा हिँड्दै अगाडि बढे।

साँझमा त्यहाँ आएर बास बस्ने अरु कोही त्यतिखेरसम्म उठेको देखिएका थिएनन्। ती कि त उठेकै थिएनन् , कि त उठेर त्यस पूर्व नै अगाडि बढिसकेका थिए। यो के भएको होला भन्ने कुतुहलता गणेशको मनमा केही क्षण चलि नै रह्यो।
देवचुली डाँडो कतै देखिएको छैन।सबैतिर निष्पट अन्धकार छ।यसबाट एउटा फाइदा भने पुगेको छ- जाने ठाउँ टाढा र उकालो हुँदा जुन अत्यास सुरुमै लाग्छ, त्यो भने अहिले लागेको छैन।यस अर्थमा अन्धकारले यहाँ यसबेला सहयोग गरेकै मान्नु पर्छ।
सूर्य र हेमराज अगाडि-अगाडि हिँडिरहेका छन्।त्यसभन्दा अगाडि अझ बाबु जोडले हिँडिरहेका थिए।
“होइन, कति कडा हिँडेका हुन् यिनीहरू! हामी त यिनीहरूसँग हिड्न नसक्ने रहेछौँ नि!” गणेशले अलिक अत्तालिएको भावमा यी कुरा रमनाथसमक्ष राखे।
“हो त नि, यिनीहरू त कडा हिँड्ने रहेछन्।” रमनाथले हो मा हो खाप्दै गणेशको कुरालाई पूरा समर्थन गरे।
हिँडाइको यो रीत चली नै रह्यो ।
“यिनीहरू हामी भन्दा दुई-तीन वर्ष कान्छा नै छन्। त्यही भएर छिटो हिँड्न सके।” भन्ने कुरा पछिल्ला दुई भाइलाई लाग्न थाल्यो।
राती नै भन्नु पर्यो, अँध्यारोमा यता नवलपुरतिर हेर्दा प्रगतिनगरदेखि रजहरसम्मका भागहरूमा “झिम- झिम” बिजुली बत्ती बलेको देखिएको थियो।
त्यहाँ हिड्दा एउटा खुट्टा उचालेर सिँढीमा अगाडि राख्यो, अनि फेरि अर्को खुट्टालाई त्यहिँ पुर्यायो। त्यसपछि आधा फड्को तेर्सो हिँड्यो र फेरि खुट्टा उचालेर पुनः सिँढीमा नै राख्यो,अनि फेरि तेर्सो हिँड्यो। सिँढीमा हिड्ने क्रममा यो विधि चलि नै रह्यो।
यसैबेला अलिक अगाडि पुगेर बाबु, हेमराज र सूर्य आराम गरेर सिँढीमै बसे।
रमनाथ र गणेशलाई भने सुरुमै उकालो चढ्दा छातीमा अलिक “च्वास- च्वास” घोचेछ। तथापि, त्यो घोच्ने क्रम बिस्तारै घट्दै गयो। आफूहरू हिँड्ने क्रममा त्यस उकालोसँग एक्लिमिटाइज्ड भइरहेको यिनीहरूले एक अर्कालाई बताइरहेका थिए।
यी दुई भाइ पनि अघिल्ला तीन भाइ बसेका ठाउँमा केही क्षणमा नै पुगे र उनीहरू सँगसँगै बसेर आराम गर्न थाले।
“कति होला अब?केही देखिँदैन त!गाह्रो पो हुन्छ क्या हो! भिर पो छ कि!सिँढी कहाँसम्म होला?” यस्तै जिज्ञासाहरू तिनीहरूका बीच उद्दिप्त हुन थाले।
यसै बेला सूर्यले पुरानो आफ्नो आरोहण परित्यागको कथा स्मरण गर्दै भने-“म र झम्कनाथका छोरा विष्णु यहिँसम्म आएर यस अगाडि जान नसकी फर्केका हौँ।”
यो सुन्दा तिनीहरूलाई केही डर लाग्यो।तथापि , हिम्मत भने हारेनन्।
केहिबेरको आरामपछि पाँच भाइ पुनः अगाडि बढे। अब भने उनीहरूको त्यो हिँड्ने लाइनको क्रम भङ्ग भएको छ। यसबेला सबभन्दा अगाडि गणेश, त्यसपछि क्रमशः रमनाथ, हेमराज, सूर्य र बाबु रहेका छन्। त्यस अगाडिको क्रम जो थियो त्यो यसबेला ठ्याक्कै उल्टिएको छ। सबभन्दा पछाडि रहेर बाबु र सूर्य अलिक बढी नै स्याँ-स्याँ, फ्याँ-फ्याँ गर्दै हिँडेका छन्।
डाँडाको पाखोमा कतै उज्यालो छैन। केबल आ-आफ्ना टर्चबाट निस्केको उज्यालोबाहेक बाँकी संसार त्यहाँ डरलाग्दो निष्पट अँध्यारोको छ।
पाखोको बनपातमा खर्स्याकखुर्सुक गरेको आवाज आउँदा जङ्गली जनावर भए भागून् भन्ने हेतुले यी भाइहरूले बेला- बेलामा चर्को स्वरमा “हा-हु” पनि गर्दै गए।
यसै क्रममा अलिक अगाडि जाँदा सिँढी र रेलिङ दुबै नभएको एउटा ठाउँ बाटोमा यस्तो आयो जहाँ ढलान गरेको थियो। त्यस ढलानको भुइँमा गोला-गोला गिटी धेरै नै रहेछन् जसमाथि जुत्ता राख्नासाथ ती गिटीहरूले रोलरको काम गरेको थियो। त्यसमाथि हिड्दा गणेश झण्डै गुडुल्किएका थिए। उनी त्यहाँ चिप्लिएर लड्नबाट मुश्किलले बचे। र, लगत्तै आफ्नापछि आइरहेका साथीहरूलाई यस ठाँउदेखि बच्न सु-सूचित भने गरे।
भित्री मधेशतिर ठाउँ- ठाउँमा झिमझिम गरी बत्ती बलेको देखिएको छ।आराम गर्ने पार्टी,पौवा (चौतारी नै त होइन) आदि विश्रामस्थल पनि कतै-कतै भेटिएका छन्।
यस्तो देख्दा गणेशले सिढ्नीतिरको रेस्ट, रिभाइभ एण्ड सरभाइभ भन्ने सूचनामूलक सन्देशको खुबै सम्झना गरे।
एकाध ठाउँमा भने घरकै एकतलाबाट अर्को तलामा जाने भर्याङजस्तो धेरै ठाडो सिँढी पनि देखियो।
लगभग आधाआधी बाटोसम्म सिँढी पुगेको रहेछ।
उकालोमा,त्यसपछि अगाडि दुई-तीन सय मिटर लामो सिँढी के थियो, माथि पाखोमा अलिक टाढै हो हुनत, दुई-चार वटा बत्ती झलल बलेको देखियो । त्यो फेरि मान्छेकै हिँडाइको गतिमा सरेको पनि थियो। टर्च बालेर अगाडि- अगाडि मानिसहरू गएका रहेछन्। यी भाइहरूको समूहभन्दा अगाडि पनि आरोहणकारीहरू रहेछन् भन्ने कुरा त्यसपछि पाँच भाइले थाहा पाए।
देवचुलीको चुचुरो अझैँ पनि क्षितिजमा कतै देखिएको छैन।मतलब अझैँ त्यहाँ निष्पट अन्धकारकै साम्राज्य चलिरहेको थियो।भ्रमण दल निरन्तर अगाडि बढिरहेको थियो।
अब भने अपर्झट सिँढी र रेलिङले यी भ्रमणकारीहरूसँग बिदा लियो।
यसबेला कच्ची गोरेटो बाटोको खण्ड आएको छ। बाटो मुश्किलले तीन फुट जति चौडा छ।
भ्रमण दलले पन्ध्र मिनट जति हिँड्ने र त्यसपछि हरेक पन्ध्र मिनटमा पाँच मिनट जति आराम गर्ने गरेको छ।
यसबेला गणेशले पढाइको “पोमोडोरो टेकनिक” लाई खुबै सम्झिएका छन्। यस यात्रामा पनि त्यो टेकनिक प्रयोग भयो है भन्ने उनलाई लागेको छ।
ठाउँ ठाउँमा पहिरो गएर बाटो साँगुरो भएको छ।कतै कतै, एकाध ठाउँमा त यस्तोसम्म थियो कि बाटोको पूरै चौडाइलाई नै निष्ठुरी पहिरोले चुँढेर लगेको थियो र त्यसमुन्तिर फेरि भिर थियो।यस्तो ठाउँमा उफ्रेर बाटो पार गर्नु पर्ने अवस्था पनि आयो।
कतै फेरि उकालो चढ्दा यस्तोसम्म थियो कि माथि पहरोमा ढाड र पछाडि बोकेको झोला ठोक्किएको थियो। यस्तो अवस्थामा उकालो चढ्न निकै गाह्रो भएको पनि थियो।
यसरी नै हिँड्दै जाँदा बाटो स्वभावतः माथितिर लाग्नु पर्नेमा एकाध ठाउँमा ओरालो पनि लाग्यो।यसो हुँदा पहाडको टुप्पो माथि छ, हिँडाइको प्रोग्रेसन भने तलतिर! कतै बाटो त बिराइएन भन्ने कुरा पाँच भाइलाई लाग्यो पनि।
तर हिँड्दै जाँदा अलिक पछि भने बाटो उकालो नै लाग्यो।रातको समय भएको हुँदा यस्तो समस्या आएको थियो जहाँ सबैतिर मट्टे अन्धकार थियो । कहिँ कतै केही नदेखिने थियो।
अब भने बिस्तारै आकाश उज्यालो हुँदै आयो।आकाशको त्यस उज्यालोले सोही परिसरको धर्तीलाई पनि अँगालो हाल्दै बिस्तारै उज्यालो बनाउँदै ल्यायो।
देवचुली डाँडा र यसको टुप्पो छायाभित्रको थुप्प्रोजस्तो आकारमा अगाडि समिपमा देखिन थाल्यो।
यसबेला पाँच भाइको समूह समुद्रको सतहदेखि १८०५ मिटरको एउटा थली परेको ठाउँमा पुग्यो। देवचुली भन्दा १३१ मिटरतल रहेको यस ठाउँलाई तीन कन्यामाई भनिने रहेछ। यहिँनेर एउटा करिब ३० मिटर लामो गुफा पनि छ।
केही क्षण त्यस माईस्थलमा आराम गरेपछि यो भ्रमण दल उकालो लाग्यो। अब बाटो क्रमशः ठाडै उकालोमा परिणत हुँदै गएको थियो। टाकुरो नजिकै देखिए तापनि फेरो मार्दै, गोलाइ र घुम्ती काट्दै जाँदा त्यसपछि पनि झण्डै एक घण्टा नै लागेको थियो।
बाटो सजिलो थिएन। यसको सतह वर्षाद्को पानीको भलले खोलेको थियो। भूक्षय भएर ठाउँ ठाउँमा माटो बगेर बनेका गल्लीहरू देखिन्थे । गहिरा डोराहरू, खोल्सा तथा खाँदहरू पनि त्यहाँ बाटोमा थिए, उबडखाबडहरू त्यस्तै थिए।चढ्न असजिला गौँडाहरू पनि केही थिए।
यसैबेला ५-६ जना केटाहरूको एउटा हुल त्यहाँ आइपुग्यो र यी पाँच भाइलाई उछिन्दै छि-छिटो गरी तिनीहरू अगाडि बढे। रमनाथ अघि- अघि हुँदै आएका थिए र यसपछि त झन उनले आफ्नो गति बढाउँदै ” अब म एकै चोटि टुप्पोमा पुगेर रोकिन्छु।” भन्दै दगुर्न नै थाले।यो देखेपछि गणेशलाई “घर आयो कुकुर बलियो” भन्ने उखानको याद पनि आएको थियो।
यसबेला रमनाथको पछाडि गणेश थिए। अरु तीन भाइ भने बाटोमा निकै पछाडि परेका थिए।
देवचुलीको टुप्पोमा पाँच भाइमध्ये रमनाथ र गणेश पहिला पुगे। अरु तीन भाइसँगै दृश्यावलोकन गर्ने विचार यिनीहरूले गरे। त्यसका लागि झण्डै १५ मिनट यिनीहरूले ती साथीहरूलाई कुरे पनि। यतिबेलासम्म बिहानको सात बजिसकेको थियो।
देवचुलीको टुप्पोमा यो भ्रमण दल पुग्नु अगाडि त्यहाँ बीस-पच्चीस जना जति मानिस पहिले नै पुघि सकेका रहेछन्। केटैकेटाको पनि पाँच भाइको बाहेक एउटा समूह थियो।बाँकी भने प्रायः सबै केटा र केटी साथी (Boy Friends-Girl Friends)का समूह थिए। भर्खरका तीस वर्ष भन्दा मुनिका जोडाजोडी थिए ती ।
छिप्पेका, प्रौढस्तरका त्यहाँ त्यतिखेर यही पाँच भाइहरूमात्रै थिए।
टुप्पोमा पुगेर चारैतिर हेर्न आतुर मनहरू त्यहाँ पुगेपछि निकै खुशी देखिन्थे। तिनीहरूका अनुहार उज्यालो भएबाट यस्तो अनुमान लगाउन सकिन्थ्यो। खुशीले उज्यालो भएको मुहारमा सूर्योदयको प्रकाश पर्दा झन उज्यालो नहुने कुरै भएन। पूर्वमा सानो, गोलो, पहेंलो डल्लोले आफ्नो सुदूरपश्चिमको यात्रा सुरु गर्दा त्यस भूगोलमा प्रफुल्लित प्राकृतिक छटाहरू बीच आफूलाई उभ्याएर फोटो खिच्न सबै उत्साही भए। एक- अर्काको तस्बिर लिन भ्रमण दलका सदस्यहरू हतारिएका थिए। अनि तुरुन्तै एकपछि अर्को गरी फोटो सेसन चली नै हाल्यो ।
दक्षिणतर्फ भित्रिमधेशमा नारायणी नदी वरपरको क्षेत्र कुहिरोले ढाकेको थियो। देवचुली फेदीका बस्तीहरू भने राम्रैसँग देखिएका थिए। सबैले आफ्नो घरपरिवार भएकातर्फ फर्किएर आमा,पत्नी आदिलाई सम्झिए,फोनसमेत गरे। “म यहाँ छु,हेर्नुस् त!” भनेको सुनिन थाल्यो।
१९३६ मिटर अग्लो उक्त देवचुली पहाड त्यस क्षेत्रको सबभन्दा अग्लो पहाड हो।यसको सिधा पूर्व- उत्तरतर्फ बरचुली र पूर्व- दक्षिणतर्फ दैत्यचुली महाभारत पर्वत श्रृङ्खला रहेको छ। यता दलदलेबाट देखिने, देवचुलीको पूर्व-दक्षिण तर्फको पहाड, जसलाई प्रायः सबैले बरचुली भन्ने गर्छन्, त्यो बरचुली नभएर दैत्यचुली रहेछ। बरचुली त दैत्यचुलीदेखि सिधा उत्तरमा रहेको चाहिँ रहेछ, जो दलदलेबाट हेर्दा दैत्यचुली भन्दा थोरै पछाडि, उत्तरमा अलिकता मात्र देखिन्छ।यी कुरा गणेशले त्यहिँ गएपछि देवचुली आरोहणको पहिलो आधार शिविर इन्द्रचोकका बरालबाजे (मो. नं. ९७६८२९२१६२) सँगको वार्तालापपछि मात्रै स्पष्टसँग बुझे।
त्यस चुलीको टुप्पोमा एउटा दूरसञ्चारको टावर छ। यसबेला त्यहाँ भएका जेन्जीहरूमध्ये एक जना त्यस टावरको टुप्पोमा पुगेर केही क्षण बसेका थिए। यसरी बस्दा तिनी पक्कै रोमान्चित त भए होला तर उता तिनै जेन्जीसँग आएका आफ्ना अर्का एक साथीले “ओइ!झर क्या साले!मर्लास् क्या!” भन्दै तिनलाई हपार्दै पनि थिए।
चुलीको पूर्वतर्फ ठाडै, भिर रहेछ । यसलाई तारबार गरेर छेकेको छ।उत्तर-दक्षिण फैलिएको छोटो लम्बाइ भएको त्यही पन्ध्र – बीस फुट चौडा रिजमा नै टेलिफोन टावरसहित अर्को एउटा भ्युटावर पनि रहेछ।यसका अतिरिक्त त्यहाँ टुप्पोमा केही थोरै बस्ने ठाउँहरू पनि छ।
त्यसबाहेक पश्चिमतिर पाखोको रूपमा भिरालो सुरु हुन्छ।यहाँ चारैतिर धुरी परेको टुप्पो छ र केहीतल भने पहाडको पाखोलाई खरैखरले ढाकेको छ। खर सुकेकोबेला आगलागी भयो भने जनधनको क्षतिसमेत हुने देखिन्छ।
यसैबीच केही जेन्जीहरूले पाँच भाइका जेन- एक्ससँग खानेपानी मागे।
“खानेपानी! यो त तु दिइहाल्नु पर्छ,धर्म मिल्छ।” भन्दै गणेशले खानेपानीको अस्थायी सेवा प्रवाह गर्न तत्कालै सुरु गरे।
एकल र समूहगत धेरै फोटोहरू खिचिए। पूर्वतर्फ हेर्दा महाभारत पहाडका श्रृङ्खलाहरू, एकपछि अर्का टाकुराहरू सिङ निकालेर एक अर्कासँग जुध्न तयार भए झैँ लाग्छ। उता उत्तर- पूर्वमा गोरखाको मनास्लु हिमाल, सिधा उत्तरमा अन्नपूर्ण हिमश्रृङ्खला, पोखराको काखको माछापुच्छ्रे हिमाल, उत्तर-पश्चिमका निलगिरी,धवलागिरी आदि हिमश्रृङ्खलाबाट प्राप्त सुन्दरता पनि अत्यन्त रमणीय र मनमोहक छ।
देवचुलीको ठिक पछाडिपटि उत्तरतिर बुलिङ्टार र त्यसको अझ उत्तरमा रिसिङ छ, जसलाई त्यतिखेर हुस्सुले ढाकेकोले पाँच भाइले राम्रोसँग देख्न भने सकेनन्। पश्चिमतिर क्रमशः आँखा घुमाउँदै ल्याउँदा भने ढेड गाउँ , अर्खला, धावाधी, बोझापोखरी आदि गाउँठाउँ देखिन्छन्। पश्चिमतिरका महाभारत पहाडका चुच्चाहरू पनि एक अर्कासँग लड्न चिप्लेकिराले झैँ सिङ निकालेर तयार भएको भान पर्छ।
अब फेरिपछि आउने भनेको त्यस्तै होला भन्ने लागि गणेशले त्यस टाकुरोलाई ३६० डिग्रीको फन्कोमा पटक- पटक घुमे। दुई- चारचोटि नै चक्कर लगाए। त्यहाँबाट देखिने पूरा क्षितिजभर पटक-पटक आफ्ना आँखालाई रोजगार बनाए। धित मार्दै हेरिरहे।
यस टाकुरो छेउमै पुगेर ” यो पहाड कसरी बन्यो होला?कति वर्षमा यस्तो भयो होला!” आदि कुरा मनोवादको शैलीमा गणेशले सोचे पनि।
“होइन! त्यो के हो?राईकोट, अर्खलातिर देखिएको त्यो धमिलो- धमिलो के हो?” रमनाथले अर्को जिज्ञासा तेर्साए।
देवचुलीलाई टाढाबाट हेर्दा जस्तो देखिन्थ्यो, त्यो धमिलो छाया त्यस्तै थियो। “होइन, त्यो त देवचुलीकै छाया हो, हेरन! देवचुली जस्तै छ। दिउँसो यो छाया घट्दै आउँछ र बेलुकी पख पक्का पनि फेरि बढ्छ।” गणेशले भने र भित्रभित्रै “पोखराको फेवा तालमा माछापुच्छ्रे छाया!” भन्ने गित गुनगुनाए पनि।
यसैबेला विभिन्न पोजमा फोटो खिच्नुको अलवा केही छोटा भिडियो पनि बन्न थाले। डाटा प्याकेज लिएर तुरुन्तै फोटो, भिडियो अपलोड गर्ने काम पनि सुरु भयो। फोन र डाटा दुबै कतै चल्ने, कतै नचल्ने भने भइरहेको थियो।
झण्डै डेढ घण्टाजति चुलीमा बसेपछि भ्रमण दल तल झर्यो। भिरमा उकालो चढ्दा त्यति गाह्रो नलागे पनि त्यही ठाउँमा ओरालो झर्दा भने मुश्किल भएको गणेशको विगतको अनुभव रहेछ।त्यहाँ त्यसबेला पनि यस्तै के हुने हो भनी उनलाई केही चिन्ता लागिरहेको थियो।
तथापि, तल झर्दा सुरुमा त त्यस्तो गाह्रो खासै केही भएन।
परन्तु, बिस्तारै गोडामा कैंडा भने लाग्दै गयो। गणेशले यसबेला मुश्किलले हिँडे।
बाबुलाई पनि हिँड्न केही असजिलो भएको देखिन्थ्यो। अलिक भिर र गौंडा भएको जग्गामा त उनी चार हातखुट्टाले टेक्दै, अझ कहिलेकाही त जिउलाई जमिनमा टेकाएर “कपडा मैलिएर के हुन्छ!जिउ जोगाउनु पर्यो नि!” भन्दै ओर्लने गरेका थिए।
सूर्यको हालत चाहिँ बाबुको भन्दा केही विसेक थियो।
फर्कंदा अलिक छिटो भयो।देवचुलीबाट करिब डेढ घण्टाजतिको पैदल यात्रापछि इन्द्रचोकमा आएर बरालबाजेकहाँ भ्रमण दलले कालो चिया पियो। त्यसठाउँ र त्यस वरपर आउने पर्यटकका बारेमा पनि थप जानकारी लिने काम यिनीहरूले त्यहाँ गरे।
इन्द्रचोक राम्रो ठाउँ रहेछ। खेतियोग्य समथर जग्गा भएको पहाडको उच्च ठाउँ हो यो। पारिलो घाम लाग्ने, अन्य पहाडका टुप्पा र टाकुरा धेरै देखिने यो ठाउँ गमनयोग्य रहेछ।
यसपछि भ्रमण दल अधाघण्टाको सरासर हिँडाइमा कमलगढी पुग्यो। यहाँ यस दलले अघिल्लो साँझकै तौरतरिकाले खानपिन गर्यो ।
त्यसपछि फेरि करिब एक घण्टाको पैदल हिँडाइमा बोझापोखरी आएर अघिल्लो दिन त्यहिँ पार्क गरी राखेको गाडी चढेर पाँच भाइहरू दलदलेतर्फ हानिए।
भ्रमणबाट निश्चितरूपमा केही चिजहरू पाइए। उक्त चुचुरोमा समथर जमिन अत्यन्त कम भएको पाइयो।
स्वदेशी पर्यटकहरूको आगमन त्यहाँ राम्रै हुने रहेछ। विदेशी, अझ विषेशगरी भारतीय पर्यटकहरू पनि राम्रै सङ्ख्यामा आउजाउ गर्ने रहेछन्।
यस ठाउँमा पर्यटकहरूको आकर्षण अरु बढाउन जथाभावी संरचना निर्माण गर्नबाट चुलीलाई जोगाउन पर्छ। यताबाट चुलीमा गएर बस्ने, आराम गर्ने ठाउँहरूको विकास पनि गर्नु पर्ने देखिन्छ।
त्यहाँ खानेपानी पुर्याउनु पर्ने र शौचालय बनाउनु पर्ने देखियो। बाटोको बाँकी रहेको खण्डमा सिंढी र रेलिङ बनाउन पनि आवश्यक देखिन्छ।
बाटोमा ठाउँ-ठाउँमा आराम गर्ने विस्राम (Rest, Revive and Survive) स्थलहरू निर्माण गर्नु पर्ने दरकार पनि छ। देवचुलीमा वा तीन कन्यामाई गुफानेर धार्मिक आस्था सुहाउँदो मन्दिर बनाएर पनि धार्मिक पर्यटकलाई तान्न सकिन्छ।
यहाँबाट देखिने दृश्यहरू, त्यस वरपरको बस्ती, बासिन्दा, तिनका संस्कार र संस्कृति आदिबारे सूचना/ जानकारीमूलक बुलेटिन, बुकलेट, लिफलेट आदि उत्पादन र वितरण गर्ने प्रबन्ध मिलाउनु पर्ने आवश्यकता पनि त्यत्तिकै खट्किन्छ।
अतिथि सत्कार गर्न, आफ्ना होटललगायत फुडिङ, लजिङ्सँग सम्बन्धित कुराहरू सफा, सुग्घर राख्ने र यस्ता व्यावसायमा नाफाका साथसाथै सेवाभावसमेत समेट्न सोही अनुसारको जागरणमूलक तालिम होटल व्यवसायी र सरोकारवालाहरूलाई दिनु पर्ने देखिन्छ।
पर्यटन पूर्वाधारको क्षेत्रमा लाग्ने सरकारी, गैरसरकारी र स्थानीय निकाय तथा संघसस्था र व्यक्तिको क्षमता अभिवृद्धि गर्न सरकारले आफ्ना नीति , बजेट र कार्यक्रममा यस सम्बन्धी सवालहरूलाई समेट्नु पर्ने देखिन्छ।
समाप्त!


























